ताजा सामाग्री

जमरे औंसी र पितृ विसर्जन

जमरे औंसी र पितृ विसर्जन को फोटो
No Comments , मंगलबार, मंसिर ५, २०७४ , by Krishna Pd. Koirala

आश्विन महिनामा पर्ने औंसी तिथिलाई जमरे औंसी र पितृ विसर्जन भन्ने गरिन्छ । भोलिपल्टदेखि प्रारम्भ हुने नवरात्र (दुर्गा पक्ष) का निमित्त जमरा राखिने भएकाले आमभाषामा यस दिनलाई जमरे औंसी भनिए पनि मूलतः यो पितृपक्षको अन्तिम दिन हो । उत्तराफाल्गुनी नक्षत्र, अर्यमा देवता, सूर्य ग्रह र चन्द्रमाको मिलन हुने यो विशिष्ट दिन हो । यस औंसीका दिन पितृपक्षको अवसर पारी घरघरमा आएका पितृहरू आआफ्ना लोकमा फर्केर जाने गर्दछन् भन्ने मान्यता छ ।

अन्तिम श्राद्ध

यो दिन पितृपक्षको अन्तिम दिन हो । सोह्रश्राद्ध (पितृपक्ष) मा मृत पितृहरूको स्मरणमा प्रतिदिन श्राद्धादि कर्म सम्पन्न गरिन्छ । आमरूपमा जुन तिथिमा आफ्ना पिता, पितामह, प्रपितामहको मरण भएको हो, सामान्य गृहस्थीले यस पक्षमा त्यसै तिथिलाई समातेर श्राद्धादि कर्म सम्पन्न गर्ने गरिन्छ । तर जसको मृत पितृको वास्तविक तिथि थाहा छैन, तिनले पनि यसै दिन आफ्ना दिवङ्गत पितापुर्खाको श्राद्धादि सम्पन्न गर्ने गर्दछन् । त्यस बाहेक पितृपक्षमा जुठो, सूतक वा अन्य विघ्न उत्पन्न भई तोकिएको तिथिमा श्राद्ध सम्पन्न गर्न सकिएन भने पनि यसै दिन श्राद्धादि कर्म सम्पन्न गर्ने नियम पनि छ । प्राविधिक रूपमा यो दिन पनि श्राद्धमा विघ्न उपस्थित भयो भने यसपछि मंसिरको सङ्क्रान्तिपूर्व कुनै उचित दिन ठहर्याएर भए पनि महालय श्राद्ध सम्पन्न गरिदिनु पर्दछ भन्ने शास्त्रीय भनाइ छ । यस्तै यसको भोलिपल्ट आश्विन शुक्ल प्रतिपदाका दिन मातामह श्राद्ध गर्न छुट्याइएको दिन पनि छ, तर सामान्य व्यवहारमा मावली पक्षको श्राद्ध गरिहाल्ने अनिवार्यता नभएकाले पनि यो नै श्राद्ध पक्षको अन्तिम दिन हो ।

पितृ विसर्जन

आयुः पुत्रान्‌ यशः स्वर्गं कीर्ति पुष्टि बलं श्रियम्‌।
पशून्‌ सौख्यं धनं धान्यं प्राप्नुयात्‌ पितृपूजनात्‌ ॥ 

सनातन धर्मशास्त्रमा भनिएको छ – पितृहरूलाई पिण्डदान गर्ने गृहस्थीले दीर्घायु, पुत्र-पौत्रादि, यश, स्वर्ग, पुष्टि, बल, लक्ष्मी, पशु, सुखसुविधाका साधन तथा धनधान्यादि सहजै प्राप्त गर्दछन् । त्यतिमात्र होइन प्रसन्न भएका पितृहरूको कृपाबाट तिनले सबै किसिमका समृद्धि, सौभाग्य, राज्यश्री तथा मोक्षसमेत पाउँदछन् । प्रत्येक वर्षको आश्विन महिनाको कृष्ण पक्षमा दिवङ्गत पितृहरूले पितृलोक छाडी पृथ्वीलोकको यात्रा गर्ने गर्दछन् । उनीहरूले यहाँ भएका आफ्ना छोरानातिले हामीलाई पिण्डदान र तिलाञ्जली दिई सन्तुष्ट तुल्याउने छन् भन्ने आशा गरेका हुन्छन् । त्यसैले सनातन धर्मावलम्बी प्रत्येक गृहस्थीले आआफ्ना पितृहरूका निमित्त पितृपक्षमा श्राद्धतर्पणादि कर्म गरिदिनु पर्दछ र सामर्थ्यअनुसार सम्भव भएको फलमूलादि समर्पण गर्नुपर्दछ भन्ने मान्यता स्थापित भएको हो । समस्त पितृपक्ष पितृहरूका निमित्त छुट्याइएको समय हो । अतः यस पक्षमा घरघरमा पितृश्राद्ध हुने र यसको समापन आश्विन कृष्ण अमावस्याका दिन गर्ने विधान छ । हिजोआज पितृपक्षको समय चल्दैछ । विगत १५ दिनदेखि आजसम्म नै सबैले आआफ्ना पितृहरूको सन्तुष्टिका निमित्त संयमतापूर्वक विधिविधानको प्रयोग गरी पितृयज्ञ सम्पादन गरिरहेका छन् । तर सहरी व्यस्तता, परदेशको वास आदि विविध कारणले पितृपक्षमा श्राद्ध सम्पन्न गर्न कठिनाइ हुनेहरूले पनि आज बिहानै स्नानादि नित्यकर्मबाट निवृत्त भई गायत्री मन्त्रोच्चारणका साथ सूर्यलाई अर्घ्य दिई घरमा पाकेको सात्विक अन्नको प्रयोग गरी पञ्चबली गरी श्रद्धापूर्वक पितृहरूको प्रार्थना गरी हरेक किसिमको माङ्गल्य प्राप्तिका लागि प्रार्थनामात्र गरेमा पनि पितृहरू सन्तुष्ट हुने र आआफ्ना सन्ततिहरूलाई आशीष प्रदान गर्ने मान्यता छ । पञ्चबली भन्नाले गोबली (गाईका निमित्त), श्वानबलि (कुकुरका निमित्त), काकबलि (कागका निमित्त), देवबलि (देवताहरूका निमित्त) र पिपीलिकाबलि (कमिलाहरूका निमित्त) बलि समर्पण गर्नु भन्ने बुझिन्छ ।


जमरे औंसी

पितृ विसर्जनको भोलिपल्टदेखि नेपालीहरूको महान् चाड बडादसैं प्रारम्भ हुन्छ । सामान्यतया घटस्थापना (आश्विन शुक्ल प्रतिपदा) देखि महानवमी (आश्विन शुक्ल नवमी) सम्म नौ दिनको समयावधि हुन्छ । तर कुनै वर्ष तिथिछिन्न भएका कारण यो समय आठ दिनमा नै समाप्त हुने गर्दछ । नियमअनुसार घटस्थापनाका दिन नै विधिवत दुर्गाको स्थापना, प्रतिष्ठा र पूजा प्रारम्भ हुने भए पनि कथंकदाचित आठ रात्रीपछि नै दशमी (विजया दशमी) पर्ने रहेछ भने अमावस्याका दिन नै जमरा राख्ने प्रचलन पनि छ । त्यसैले आश्विन महिनाको औंसीलाई जमरे औंसी पनि भनिएको हो । औंसीकै दिन वा भोलिपल्ट घटस्थापनाका दिन जुन दिन जमरा राखिए पनि यस अमावस्यालाई जमरे औंसी नै भन्ने गरिन्छ ।

तान्त्रिक महत्ता

श्राद्ध कर्ममात्र होइन, यस अमावस्याको तान्त्रिक दृष्टिले पनि छुट्टै महत्त्व छ । भोलिपल्ट शारदीय नवरात्र (बडा दसैं) प्रारम्भ हुने भएकाले आद्याशक्ति जगज्जननी माता दुर्गाका उपासक र तान्त्रिकहरूले यस औंसीको रात्रीकालमा विशिष्ट तान्त्रिक साधना पनि गर्ने प्रचलन छ ।

सोह्रश्राद्धभित्र श्राद्ध गर्न पाइएन, के गर्ने ?

प्रेतपक्षं प्रतीक्षन्ते गुरुवाञ्छासमन्विताः ।

कन्यागते सवितरि पितरो यान्ति वै सुतान् ॥

ततो वृश्चिकसम्प्राप्तौ निराशाः पितरो गताः।

पुनः स्वभवनं यान्ति शापं दत्वा सुदारुणम् ॥

(माधवीयम्)

पितृपक्षमा श्राद्ध गर्न विघ्न उपस्थित भएमा र गर्न नसकिएमा पनि महालय श्राद्ध गर्नै पर्दछ । विना महालय श्राद्ध अन्य एकोद्दिष्टादि श्राद्ध परिआएमा पनि सुरुमा महालय श्राद्ध गरेपछि मात्र एकोद्दिष्ट श्राद्ध सम्पन्न गर्नु पर्दछ । त्यसरी पितृपक्षमा महालय श्राद्ध हुन नसक्दा तलका नियमको अनुसरण गरी महालय श्राद्ध सम्पन्न गरिदिनु पर्दछ :-

१) आश्विन शुक्लपक्षको प्रतिपदादेखि पञ्चमीसम्म पितृपक्षकै अङ्ग मान्ने प्रचलन छ । त्यसैले सम्भव भएसम्म ती पाँचदिन मध्ये वार्षिक बारेको वेला उनमासिक श्राद्ध जुराउन प्रयोग गरिने सूत्रको प्रयोग गरी महालय श्राद्ध गर्नु पर्दछ, अर्थात् प्रतिपदादेखि पञ्चमीभित्रको त्यस्तो दिन महालय श्राद्धका लागि उचित हुन्छ, जुन दिन नन्दा तिथि (प्रतिपदा), शुक्रबार, व्यतिपात योग र त्रिपुष्कर योग परेको हुँदैन ।

२) उक्त अवधिमा पनि श्राद्ध गर्न कठिनाइ भयो भने कार्तिकको अमावस्या (गाई तिहारे औंसी) का दिन महालय श्राद्ध गर्नु पर्दछ ।

३) गाई तिहारे औंसीका दिन पनि महालय गर्न असम्भव भयो भने मंसिर लाग्ने सङ्क्रान्तिका दिनभित्रको (यावद् बृश्चिकदर्शनम्) पूर्ववत् जुराएर कुनै दिन श्राद्ध सम्पन्न गरिदिनु पर्दछ ।

४) महालय श्राद्धमा विघ्न आइरह्यो भने जबसम्म यो श्राद्ध सम्पन्न हुँदैन, त्यतिन्जेल आफ्ना दिवङ्गत पितृहरूको छिन्नेतिथिको श्राद्ध (एकोद्दिष्टादि श्राद्ध) र अन्य आभ्युदयिक (बृद्धि) श्राद्धादि नहुने भएकाले महालय श्राद्ध गरुन्जेल यी श्राद्ध पनि रोकिन्छन् । अतः महालय श्राद्ध अनिवार्य रूपमा गर्नुपर्ने शास्त्रीय विधान छ ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!