ताजा सामाग्री

कसरी लिने सन्तोषी माताको व्रत ?

कसरी लिने सन्तोषी माताको व्रत ? को फोटो
No Comments , मंगलबार, मंसिर ५, २०७४ , by Krishna Pd. Koirala

सन्तोषी माता भगवान् गणेशकी सुपुत्री हुन् । यिनलाई पनि आद्याशक्ति जगन्माताको एउटा स्वरूप मानी पूजा र उपासना गर्ने विधान छ । प्रत्येक हप्ताको शुक्रबारका दिन सन्तोषी मातालाई प्रसन्न तुल्याउन व्रत लिने चलन छ । यस दिन व्रत लिने व्यक्तिले फलाहारका रूपमा चना र सक्खरको प्रयोग गरिन्छ । यस व्रतमा अमिलो खानु ठूलो त्रुटि मान्ने गरिन्छ, त्यसैले यस दिन कुनै किसिमका अमिलो चिजबीज चलाउनु र खानु पूर्णरूपेण निषेध गरिएको पाइन्छ । अतः सन्तोषीमाताको व्रत गरेको दिन व्रतालुले मात्र होइन, घरपरिवारका कुनै पनि सदस्यले अमिलो पदार्थ खानु चलाउनु हुँदैन । देवी सन्तोषीको उपासना गरी यिनलाई प्रसन्न तुल्याएमा घरपरिवारमा दुःखदारिद्र्य नष्ट हुनुका साथै समस्त मनोकाङ्क्षा पूर्ण भई परिवारमा सुख, समृद्धि र सन्तुष्टि प्राप्त हुन्छ । मातापिता गणेेश र ऋद्धिसिद्धि भएकाले यिनको भक्ति र उपासनाबाट घरमा आयस्रोत बढ्न थाल्छ, धनधान्य, स्वर्णादि बहुमूल्य धातु र रत्नको बृद्धि हुन्छ भने कलह र क्लेशको अन्त्य हुनुका साथै दरिद्रता दूर हुन्छन् । सुख र शान्तिको आगमन हुन्छ । बालबच्चाहरूका बालग्रह र रोगव्याधिको शमन हुन्छ । मनका समस्त शोक, विपत्ति, चिन्ता समाप्त हुन्छन्, माता सन्तोषीको नाम लिनासाथ सुखसम्मृद्धि र प्रसन्नताको प्रवेश हुन्छ ।

व्रतविधि

एकपाउ (न्युनतम एकाइमा २५ प्रतिशत थपेर) अर्थात् सवा जोडिएको पैसा, आना, सुका, रुपियाँको सक्खर र चना किनेर सन्तोषीमाताको व्रत सम्पादन गर्ने विधान छ । धनको कमी छ भने सवा पैसाकै भए पनि कुनै आपत्ति हुँदैन । सक्खर घरैमा छ भने त्यो पनि मिसाउनु पर्दछ, जोगाउन वा वचत गर्न खोज्नुहुँदैन, किनभने सन्तोषीमातालाई सक्खर असाध्यै मनपर्छ, उनी गुलियोकी भोकी देवी हुन्, वचत गर्न खोज्दा देवी असन्तुष्ट भई क्रुद्ध हुन्छिन् र चिताएको परिणामको उल्टो फल प्राप्त हुन्छ । देवी भावनाकी भोकी छन्, धेरथोरको वास्ता गर्दिनन् । त्यसैले जेजति सामाग्री जुटाउन सकिन्छ, श्रद्धा र प्रेमका साथमा जुटाई प्रसन्नचित्तले व्रत लिनुपर्दछ । कथाको प्रारम्भमा पूजास्थलमा चना र गुडले भरिएको डालोमाथि पवित्र जलले भरिपूर्ण एउटा ठूलो कलशको स्थापना गरी त्यसलाई अबीर र केशरीले सिङारेर पूजा गरिदिनु पर्दछ । यो व्रत सम्पादन गर्नेले कथा भन्दा वा सुन्दा हातमा सक्खर र भुटेको चना लिनुपर्दछ । कथामा उपस्थित श्रोताले बीचबीचमा ‘सन्तोषी माताको जय’, ‘सन्तोषी माताको जय’ भन्दै जय-जयकार भन्नुपर्दछ । कथाको समाप्तिमा त्यसरी हातमा लिएको चना र सक्खर गाईलाई खुवाउनु पर्दछ । कलशमा राखिएको सक्खर र चना प्रसादका रुपमा भक्तजनहरूलाई वितरण गर्नुपर्दछ । अन्त्यमा पूजा र आरती गरेर कलशको जल तुलसीको मठमा वा तुलसीको फेदमा सेलाई दिनुपर्दछ | दियो वा खोरीमा घिउको वर्तनमा भिजाएको बात्ती बालेर सन्तोषी माताको “जय-जयकार” गर्दै कथाको समाप्तिमा नरिवल फोर्नुपर्दछ । व्रत गर्ने व्यक्तिले कथा सुनेर अथवा कथा पाठ गरिसकेपछि प्रसाद लिनु र त्यस दिन एक छाक मात्र भोजन गर्नुपर्दछ । व्रतको उद्यापनमा साढे दुई (अढाई) सेर (एक धार्नी) खाजा (अर्नी), घिउमा मुछेको पिठोको पुरी, खीर, चनाको तरकारी आदिको नैवेद्य तैयार गर्नु पर्दछ । उक्त दिन आठ जना १२ वर्षमुनिका बालकहरू भेला पारी भरपेट भोजन गराउनु पर्दछ । तिनलाई दक्षिणाका रूपमा रुपैंयापैसा दिनु हुँदैन । पैसा पाएपछि तिनले पसलमा गई अमिलो किनेर खाने खतरा हुन्छ । त्यसैले दक्षिणाका रूपमा कुनै फल वा वस्त्रादि वितरण गर्नुपर्दछ । त्यस्तै केटाहरू जम्मा पार्दा सकेसम्म घरपरिवारका अर्थात् देवर, जेठाजु र नजिकैका छिमेकीका छोरानातिलाई जम्मा पार्नु पर्दछ । आफ्नै गोत्रका दाजुभाईका छोराहरू नभेटिए ब्राह्मण, अन्य नातेदार र पारिवारक सम्बन्ध राम्रो भएका केटाहरू जम्मा पार्नुपर्दछ । उद्यापनमा सहभागी भएका बालकहरूले त्यस दिन दिनभरि अमिलो पदार्थ खानु हुँदैन । कुनै किसिमका अमिलो पदार्थको सेवन नगरून् भन्ने उद्देश्यले सकेसम्म ती केटाहरूलाई दिनभरि घरैमा राख्नु वा निगरानीमा राख्नु पर्दछ । यसरी विधिविधानका साथमा व्रत लिनाले माता सन्तोषी अतीव प्रसन्न हुन्छिन् र मनोवाञ्छित आशीर्वाद र वरदान प्रदान गर्दछिन् ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!