ताजा सामाग्री

पूर्वी नेपालमा शिक्षाको ज्योति फैलाउने बालागुरु षडानन्दको जन्मजयन्ती

पूर्वी नेपालमा शिक्षाको ज्योति फैलाउने बालागुरु षडानन्दको जन्मजयन्ती को फोटो
No Comments , बिहीबार, मंसिर ७, २०७४ , by Krishna Pd. Koirala

क्षमामण्डले भूपभूपालवृन्दैः सदा सेवितं यस्य पादारविन्दम्॥

मनश्चेन्न लग्नं गुरोरङ्घ्रिपद्मे ततः किं ततः किं ततः किं ततः किम्॥

महामना सन्तहरू प्रकृति जस्तै उदात्त भावका हुन्छन् । पृथ्वी, जल, तेज, वायु र आकाश जस्तै परहितका निमित्त सधैँ समर्पित रहन्छन् । मैनबत्तीले झैँ आफू नसकियुञ्जेल उज्यालो ज्योति छरिरहनु उनीहरूको धर्म हो । यस्तै धर्म निर्वाह गरेर सधैँ बाँचे – भोजपुरको दिङ्लाका सन्त आवाल ब्रह्मचारी षडानन्द अधिकारी, जसले राणाकालीन अन्धकार युगमा शिक्षा, संस्कृति र सदाचारको ज्योति जगाई नेपाललाई आलोकित तुल्याएका थिए ।

षडानन्द अधिकारीको जन्म विक्रम संवत् १८९२ साल मार्ग शुक्ल पञ्चमीका दिन नेपालको भोजपुर जिल्लाको दिङ्ला, गडीगाउँमा भएको हो । यिनका पिताको नाम लक्ष्मीनारायण अधिकारी तथा माताको नाम रुक्मिणी हो । षडानन्द उनका मातापिताका कान्छा सन्तान हुन् । गर्भमा हुँदै पिताको स्वर्गवास भएको हुँदा यिनले आफ्ना पिताको लाडप्यार पाउन सकेनन् । अधिकारीको लालनपालन दाजुभाइको रेखदेखमा र आमाको काखमा भएको देखिन्छ । यसरी गर्भे टुहुराका रूपमा जन्म लिएका यी प्रतापी पुरूषलाई मानिसहरू बाला गुरु उपाधिद्वारा पनि सम्बोधन गर्थे ।

जन्मनक्षत्रका आधारमा अभिजित् नक्षत्रमा जन्म भएकाले सुरुमा यिनको नाम खडानन्द राखिएको थियो । बाल्यकालमा यिनलाई खडु पनि भनिन्थ्यो । पछि आबाल ब्रह्मचारीब्रह्मचारी र गुरु षडानन्द भनियो । तथापि यिनका सान्निध्यका शिष्य र भक्तहरु बाला गुरु एवम् गुरु महाराज भन्न रुचाउँथे । षडानन्द बाल्यकालमा सुनेको कुरा आफू गुरु बनेर अरूलाई सुनाउँथे रे । बालक कालमा नै उनले गुरु बनेर पढाएको हुँदा स्थानीय व्यक्तिहरुले उनलाई बाला गुरुभन्दा भन्दै यो नाम प्रसिद्ध भएको हो । उनी बालक कालदेखि नै आजीवन ब्रह्मचर्यमा रहेका हुनाले आबाल ब्रह्मचारी नामले चिनिए । त्यसै गरी ठुला गुरुलाई सम्मान जनाउन गुरु शब्दका अगाडि महाराज शब्द जोडेर भन्ने चलन थियो । तत्कालीन शासक राणाजीहरुले पनि मानेका उनी त्यस समयका ठुला गुरु थिए । त्यसैले उनलाई गुरु महाराज भनिन्थ्यो । अहिले पनि धेरै मानिसहरु उनलाई बाला गुरु र गुरु महाराज नामले नै बढी चिन्दछन् ।

यिनको आठ वर्षको उमेरमा यज्ञोपवीत संस्कार (व्रतबन्ध) भयो । व्रतबन्धपछि यिनी विद्याध्ययनका लागि जनकपुर गए । हाम्रो वैदिक परम्पराअनुसार द्विजातिको ब्रतबन्धभन्दा पहिल्यै गर्नुपर्ने चूडाकर्म, विद्यारम्भ र व्रतबन्धभन्दा पछि अध्ययन सकेर गर्नुपर्ने समावर्तन समेत सबै कर्म व्रतबन्धकै दिन गरिन्छ । व्रतबन्धपछि देशान्तर लाने चलन छ । त्यही देशान्तर जाने समय भएपछि षडानन्द अधिकारी व्रतबन्धस्थलबाटै जनकपुरतिर लागेका हुन् । यसरी घर त्यागेर विद्याध्ययनका लागि जनकपुरसम्म पुग्नुमा यिनकी सहोदर दिदीको प्रेरणा रहेको भन्ने किंवदन्ती पनि छ । षडानन्दले जनकपुरमा ब्रह्मचर्याश्रममा रही गुरुकुल पद्धतिमा १० वर्षसम्म अध्ययन गरे । मिथिलाञ्चल त्यतिबेला पनि ज्ञान र दर्शनका लागि प्रख्यात थियो । त्यहाँ यिनले संस्कृत भाषा तथा साहित्य, व्याकरण र वेदवेदाङ्गको अध्ययन गरेका थिए । त्यसपछि यिनी भारतको वाराणसी गए । बनारसको मुमुक्षु भवनमा बसेर यिनले संस्कृतको उच्च अध्ययन गर्नुका साथै तन्त्र र योगको साधना समेत गरेको देखिन्छ । योग साधनाका क्रममा उनले भारतका विभिन्न स्थानको भ्रमण गरेका थिए । उनले चौबिस पटक गायत्री पुरश्चरण गरेका थिए । यसै क्रममा यिनले वाग्मती नदीको किनारमा रहेको पत्थर घट्टामा बसी तपस्या गरेका थिए । त्यस्तै देवघाट र केही वर्ष पोखराको सेती नदीको किनारमा बसेर पनि अष्टाङ्ग योग साधना गरेको चर्चा सुनिन्छ । यिनी पट्टल बाँधेर योग साधनामा रहँदा भुँइबाट एक हातमाथि आकाशमा समेत उठ्तथे भन्ने किंवदन्ती छ । यिनी आफ्नो अध्ययन पुरा गरी योग साधकका रूपमा स्थापित भएपछि मातृभूमिका लागि पनि केही गर्नुपर्छ भन्ने धारणाका साथमा विक्रम संवत् १९३१ सालमा आफ्नो जन्मस्थल दिङ्ला फर्किए ।

बाला गुरु षडानन्दले विक्रम संवत् १९३२ चैत्रशुक्ल राम नवमी, सोमवारको शुभ साइतमा दिङ्ला, भन्ज्याङको रमणीय उच्च स्थल कैलाशमा स्थानीय जनताको सक्रिय संलग्नतामा नर्मदेश्वर शिव मन्दिर निर्माण गरी विद्यालय स्थापना गरे । गडीगाउँको कैलासमा स्थापित विद्यालय १९५५ सालमा भन्ज्याङमा सारियो । विद्यार्थी सङ्ख्यामा बृद्धि हुँदै गएपछि मन्दिर परिसरमा नै पठनपाठनमा कठिनाइ भएपछि पुनः २०२१/२२ सालमा मन्दिर परिसरदेखि पूर्वको डाँडामा नयाँ भवन निर्माण गरी प्रधान पाठशाला सारियो । उक्त विद्यालय हाल पनि त्यही भवनमा सञ्चालन हुँदै आएको छ । १९३२ सालमा स्थापित विद्यालयको नाम २०१५ सालसम्म पाठशाला थियो । २०१६ सालमा षडानन्द संस्कृत प्रधान पाठशाला नामकरण भयो । २०२१/२२ सालमा षडानन्द संस्कृत महाविद्यालय प्रस्तावित भएको थियो । त्यो प्रस्तावमा मात्र सीमित रह्यो । २०३० सालमा नयाँ शिक्षा योजना लागु भएपछि षडानन्द संस्कृत माध्यमिक विद्यालयका रूपमा अद्यापि सञ्चालन भइ रहेको छ । विद्यालयमा प्रारम्भमा चण्डी, रुद्री, वेद, लघु कौमुदी, अमर कोश, ज्योतिष आदिको पठनपाठन हुने गर्थ्यो । केही समयपछि तह छुट्याएर पढाउने व्यवस्था भयो र आफ्नै पाठ्यक्रम बनाई सो अनुसार परीक्षा लिने व्यवस्था भएको देखिन्छ । ‘जो विद्याको पढनाको इच्छा हुन्छ, सो सुबिस्तासाथ पढून्……………’ भन्ने धर्म पत्रिकाको कथन अनुसार संस्कृतका अतिरिक्त व्यावहारिक जीवनका लागि आवश्यक स्रेस्ता, गणित आदि विषयको पनि पठनपाठन हुने गर्थ्यो भन्ने कुरा अनुसन्धानबाट पुष्टि भएको छ । त्रिभुवन विश्वविद्यालयको स्थापना भएपछि केही वर्ष त्रिविकै पाठ्यक्रमबमोजिम यस विद्यालयमा पढाइ भएको पनि देखिन्छ । नयाँ शिक्षा योजना (२०३०) लागू भएपछि नेपाल सरकारको स्वीकृत पाठ्यक्रम बमोजिम यहाँ पठनपाठनको व्यवस्था छ । बाला गुरुले प्रारम्भका वर्षहरूमा आफैले अध्यापन कार्य सञ्चालन गरेका थिए ।

जनस्तरबाट व्यवस्थित यो विद्यालय नेपालको पहिलो विद्यालय हो । भनिन्छ, यस पाठशालामा त्यस भेगका विद्यार्थीका अतिरिक्त नेपालको गुल्मी, सल्यान, प्युठानसम्मका र भारतको सिक्किम तथा असम (आसाम) समेतका विद्यार्थीहरू आई अध्ययन गर्दथे । यस विद्यालयमा वेद, व्याकरण, ज्योतिष तथा साहित्यको अध्यायन अध्यापनका लागि छुट्टा छुट्टै कक्षाकोठाको व्यवस्था गरिएको थियो । त्यसै गरी विद्यार्थी र शिक्षकहरूको अध्ययनका लागि पुस्तकालयको व्यवस्था समेत गरिएको थियो । अद्यापि केही दुर्लभ ग्रन्थहरू त्यहाँ सुरक्षित रहेका छन् ।

कुनै पनि कुराको निर्माण गर्नु तथा कुनै परम्पराको थालनी गर्नु जति चुनौतीपूर्ण हुन्छ, त्यति नै त्यसको संरक्षण तथा अनन्त कालसम्म सञ्चालन गर्ने व्यवस्था गर्नु पनि चुनौतीपूर्ण हुन्छ । आबाल ब्रह्मचारी गुरु षडानन्दले निर्माण तथा स्थापना गरेका मन्दिर, विद्यालय, पुस्तकालय, बरबगैंचा आदि कार्यहरू सुचारु रहुन् र दीर्घ कालसम्म तिनको संरक्षण होस् भन्ने उद्देश्यले उनले करिब १०००/१२०० मुरी अन्न उब्जनी हुने एउटा बृहत् गुठीको स्थापना गरेका थिए । २०३६ सालको नापी अनुसार सो गुठीको क्षेत्रफल १७५३ रोपनी रहेको बुझिएको छ । उक्त गुठीलाई कानूनी मान्यताका लागि तत्कालीन सरकारबाट लाल मोहोर गराएका थिए । यिनले गुठीको आम्दानीबाट मन्दिरको संरक्षण र पूजनादि कार्य, पुजारी, शिक्षक/अध्यापक, टहलुवा, नगर्ची आदि कर्मचारी र कामदारलाई पारिश्रमिक, विद्यार्थीलाई छात्रवृत्ति र पर्वपर्वमा हुने विशेष पूजा र पुराण प्रवचनका लागि खर्च ब्यहोर्ने कुरा खुलाएर स्पष्टसँग शिलापत्र, ताम्रपत्र आदिमा लेखेर अभिलेखीकरण समेत गरेका थिए । उक्त अभिलेख राख्न काठमाडौंबाट रत्नमान शाक्य नामका कलाकारलाई दिंग्ला लगिएको थियो । अभिलेखमा व्यवस्थापनका नियम र रीतिका अतिरिक्त गुठियार र दाताहरूको नामावली समेत राखिएको थियो ।

विद्यालय र मन्दिर परिसरको पश्चिमपट्टि षडानन्दले एउटा विशाल बगैंचा निर्माण गराएका थिए । जुन बगैंचामा विभिन्न जातका फलका बिरुवाहरू, विभिन्न याममा फुल्ने फुलहरू, स्थानीय जङ्गलमा पाइने विभिन्न बोट बिरुवाहरू विभिन्न स्थानबाट झिकाएर लगाइएका थिए । भनिन्छ, यस बगैंचामा १०८ प्रजातिका बोट बिरुवा रोपिएका थिए । बगैंचा संरक्षणका लागि काठमाडौं तथा भक्तपुरबाट प्राविधिक झिकाई तेलिया इँट र सुर्कीको विशाल पर्खाल बनाएर घेरिएको थियो । भित्री बगैंचाको दक्षिण पश्चिम र बजारको उत्तर पूर्वमा बाहिरी बगैंचा बनाइएको थियो, जुन अवशेषका रूपमा आज पनि देख्न पाइन्छ ।

षडानन्दले भन्ज्याङ बजार परिसरको बाहिरी बगैंचामा सुन्दर पार्वती कुण्ड (ठुलो पोखरी) निर्माण गराए । त्यस कुण्डमा विभिन्न जातका माछाहरू पालिएका थिए । साथै बाहिरी र भित्री बगैंचामा सीता कुण्ड, गौरी कुण्ड, हनुमान कुण्ड आदि कुण्डहरूको निर्माण गराएका थिए । विद्यालय र मन्दिर परिसरको पूर्वमा रहेको नारायण चोकको नजिकमा नारायण धारो तथा भन्ज्याङबाट फालीकोटतिर जाने बाटामा राम धारो र लक्ष्मण धारो जस्ता धाराहरू पनि बनाइएका थिए । उनले सामूहिक, सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न चौरहरू र गौचरनहरूको पनि व्यवस्था गरेका थिए । तीमध्ये नारायण चौर र गौचरन अझै पनि छन् । षडानन्दले विद्यालय र मन्दिर परिसरतिर आउजाउ गर्नका लागि आसपासमा बाटो निर्माण गराए । मन्दिर परिसरदेखि भन्ज्याङ बजारसम्म ढुङ्गा छापेर मोटर दौडन सक्ने खालको फराकिलो बाटो बन्यो । नारायण धारो, राम धारो जाने आउने बाटो र गडीगाउँदेखि टुँडीखेलको नजिकबाट भन्ज्याङ आउने चौडा बाटो समेत यिनकै निर्देशनमा बनेका थिए ।

बस्ती विस्तार भएपछि तथा शैक्षिक एवम् सामाजिक गतिविधि बढेपछि सुरक्षाको पनि विशेष आवश्यकता पर्छ । तसर्थ यिनले तत्कालीन शासकहरूसँग हारगुहार गरेर छोटी जङ्गी अड्डा स्थापना गराए र सिपाहीहरूलाई परेड खेल्न गडीगाउँको डाँडामा टुँडीखेल बनाउन लगाए । त्यो टुँडीखेल अहिले पनि यथावत् छ ।

षडानन्दले एउटा विशाल वनको स्थापना गराएका थिए । जसमा स्थानीय रूपमा पाइने जामुन, गोगन, काफल, किम्बु, कटुस, ऐँसेलु, चिउरी, चिलाउने, पात्ले, ढाल्ने, झिँगनी, ओखर, भोर्लो, चाँप, समी, लप्सी, बडहर, कटहर, खनिउँ, भलायो, गायो, थल कमल, कोइरालो, काब्रो, चुवा, चमेली आदि र अन्य विभिन्न रुखहरू थिए । साथै यहाँ रुद्राक्षको वन सघन रूपमा हुर्काइएको थियो । यी बोट बिरुवा धार्मिक तथा सामाजिक रूपमा दैनिक आवश्यकतासँग आबद्ध थिए । पछि आएर यो वन रुद्राक्ष वनका रूपमा चर्चित हुन पुग्यो । यसलाई ‘जगेडा वन’ पनि भनिन्छ । यसलाई सामुदायिक धारणा अनुरूप संरक्षित ‘नेपालको पहिलो सामुदायिक वन’ मानिन्छ ।

बाला गुरु षडानन्दले दिङ्ला भन्ज्याङमा बजार बसाई साप्ताहिक हाट बजार र वार्षिक रूपमा मेला लाग्ने थिती बसाए । सो भन्ज्याङमा अहिले पनि बाला चतुर्दशी (मार्ग कृष्ण चतुर्दशी) का दिन सद्बिज छर्ने मेला लाग्छ । त्यस्तै चैत्र शुक्ल नवमीका दिन राम नवमी मेला लाग्छ । प्रत्येक शनिवार हाट लाग्ने व्यवस्था समेत छ । अहिले पनि पर्व पर्वमा ती मेला र साप्ताहिक हाट लाग्ने गर्दछन् । शनिवारको हाट तथा मेलामा गृहस्थी जीवनसँग सम्बन्धित स्थानीय उत्पादन चामल, दाल, चिउरा, सागसब्जी, घिउ, कुराउनी, सक्खर तथा फलफुलहरू किनबेच हुने गर्दछन् । त्यस्तै स्थानीय सिपबाट उत्पादित डोका, डाला, थुन्से, डेली, ठेकी, गुप्ते, दुधेरो, भुने, भकारी, मान्द्रो, नाङ्लो, ढकी, महला, घुम, नाम्लो, खकन, दाम्लो, फिपी, पिचा, मुर्चुङ्गा, मादल, बिनायो, राडी, पाखी, लुकुनी, खुकुरी, कर्द,चकमक, कोदालो, कोदाली, फाली, करुवा आदि र यस्तै अरू स्थानीय भाँडाकुँडाको समेत प्रशस्त किनबेच हुन्छ । यसरी नै मेलामा बालन, भजन, सँगिनी आदि गाएर रातभर जाग्राम बस्ने चलन पनि छ ।

बाला गुरु षडानन्दले समाज सुधारको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन् । उनले दिङ्ला र त्यसको आसपासका क्षेत्रमा वि.सं.१९४० सालतिरै सती प्रथा उन्मूलन गराएका थिए । त्यस्तै छुवाछुत प्रथा गलत हो भन्ने सन्देश पनि प्रसार गरेका थिए । राज्यबाट सती प्रथा र दास प्रथा उन्मूलन गर्ने प्रेरणा चन्द्र शमशेरले यिनैबाट पाएका थिए, भनिन्छ । पानी चल्ने र नचल्ने भनी छुवाछुत भएको समाजमा स्थानीय मेलामा सबै जातजातिका मानिसहरूको सहयात्राको सुरुआत पनि यिनले गरे । संस्कृत भाषा बाहुनले मात्र पढ्ने भाषा नभएर सबै जातजातिले पढ्ने व्यवस्था समेत भयो । समाजमा हुने फजुल खर्च नियन्त्रण गर्न १०८ बटुकहरूको सामूहिक व्रतबन्ध स्थानीय नारायण चौरमा गराई सामूहिक कार्य गर्ने व्यवस्था समेत गरे । विद्यालयबाट शिक्षा हासिल गर्नु त छँदै छ, त्यसका अतिरिक्त आध्यात्मिक एवम् नैतिक ज्ञान समेत प्रदान गरी समाजमा सदाचार फैलाउने उद्देश्यले चौमासा पुराण र पर्वपर्वमा नैतिक प्रवचन दिने व्यवस्था समेत भएको थियो ।

आबाल ब्रह्मचारी षडानन्दले राजयोग, हठयोग आदि अष्टाङ्ग योग साधनाका साथै चौबिसपल्ट गायत्री पुरश्चरण (विधिपूर्वक चौबिस लाख पटक गरिएको गायत्री मन्त्रको जपलाई एक पुरश्चरण भनिन्छ) गरी अष्टसिद्धि तथा गायत्री साधना समेत गरेका थिए । षडानन्द उच्च तहसम्मको विद्याध्ययन, अष्टाङ्ग योग साधना र गायत्री उपासनाबाट प्राप्त सिद्धि र क्षमताबाट भारतीय विद्वद् समाजमा भलीभाँती परिचित थिए । उनको अद्भुत शक्ति, साधना र योगबलको उच्च मूल्याङ्कन गर्दै वाराणसीको विद्वद्सभामा बद्रिकाश्रम ज्योतिर्मठका शङ्काराचार्यले श्री १०८ को उपाधि प्रदान गरेका थिए । वि.सं. १९६६ सालमा धर्म पत्रिका मार्फत विद्यालयको सञ्चालन, व्यवस्थापन तथा मन्दिरको पूजापाठ, मेलापर्व आदि सञ्चालनको सम्पूर्ण व्यवस्था मिलाएपछि उनी काठमाडौं, टेकुको पचली घाटमा अवस्थित आश्रममा फर्किए र वि.सं. १९७३ सालको जेष्ठ शुक्ल त्रयोदशीका दिन योग साधनामा रहँदा रहँदै यिनी ब्रह्मलीन भए ।

शिक्षासम्बद्ध बाला गुरुको उपदेश

बाला गुरु षडानन्दको योगदान

शिक्षा— त्यो समयमा विद्या पढ्नमा इच्छा भयाका ब्राह्मण क्षत्र्यादिहरूका छोराहरू समेतलाई, जो विद्या पढनाको इच्छा हुन्छ सो सुविस्तासाथ पढून् भन्ना निमित्त पाठशाला राखेको छु भनी शीला तथा धर्मपत्रिका (१९६६) को व्यवस्था गरिदिने यी दूरदर्शी सन्तले सबै जातिका छोराले जे चाहन्छन् त्यो पढ्न पाउँछन् भनेर उदारतापूर्वक सबैका लागि शिक्षाको बाटो खोलिदिए । २००७ सालको परिवर्तनपछि त्यहाँ पढेर धेरै चेलीहरू पनि विदुषी बनेका छन् । त्यहाँ पढ्ने र गुरु महाराजाको सिदा ग्रहण गर्ने कोही पनि निरुद्योगी बनेनन् । दिङ्लाको पाठ्यशैली पनि प्रशंसित थियो । विद्या कमाउन कि काशी जानू कि दिङ्ला जानू भन्ने लोकोक्तिका साथ विद्यार्थीको धुइरो लाग्थ्यो । गुठी जग्गाबाट आएको धानद्वारा छात्रवृत्तिको व्यवस्था मिलाइएको थियो । त्यतिले नपुग भए हप्तामा एक दिन विद्यार्थीलाई भिक्षाटनका निमित्त चारै दिशा पठाइन्थ्यो । संस्थागत रूपमा सबै जातिका मानिसलाई सबै प्रकारको शिक्षा सर्वप्रथम देशभित्र प्रदान गरियो ।

सामाजिक सुधार— पल्लोकिराँत, वल्लोकिराँत र माँझ किरातको विभाजनमा रहेको त्यस भूभागमा विशेषतः राई, तामाङ, दमाई, कामी, सार्की, लिम्बू आदि जातजातिका मानिसको बाहुल्य थियो । शिक्षाको न्यानो घाम लाग्न नपाएका समाजमा एक दुई टाठाबाठाले प्रभुत्व जमाउँदै जाँदा शोषण, दमन जस्ता विकृति र विसङ्गतिले प्रोत्साहन पाउने नै भयो । यसलाई अन्त गरेर शुद्ध समाज निर्माणतर्फ पनि गुरु महाराज अग्रसर बने । आध्यात्मिक मार्गमा सबैलाई हिंडाएर सिङ्गो समाजलाई डोर्याउने प्रयत्न गरे । पढ्न, पूजा गर्न, कथा सुन्न सबै वर्गका मानिसलाई आहह्वान गरियो । सबै जातिका मानिसले मन्दिरमा पसेर बिना भेदभाव पूजा गरे । त्यसैले उनी सबैका गुरु महाराज बने र उनले भनेको सबैले मान्दै जाँदा समाजमा व्यापक सुधार आयो । उनको लोकप्रियता र सिद्धिका डरले राणा सरकारले पनि उनलाई छुन सकेन । उनकै सिफारिसलाई स्वीकार्दै सतिप्रथा समाप्त गर्न कर लागेको थियो ।

सांस्कृतिक उत्थान— गुरु महाराजले पाठशाला स्थापनागरेर विद्यार्थीहरू भेला गरी पढाउन थालेपछि पूर्वी नेपालमा शिक्षा, संस्कृति र सदाचारको ज्योति उदायो । शिखरशैलीमा ठूलाठूला भव्य मन्दिरहरू पनि बने । साँझ सबेर जनताहरू भेला भएर सामूहिक रूपमा पूजापाठ गर्दै अन्तरात्मालाई निर्मल बनाउन थाले । एकादशी, रामनवमी, कृष्णाष्टमी जस्ता तिथिपर्वमा व्रत बस्ने, कथा सुन्ने जस्ता सामूहिक कार्य हुनथाल्यो । सबैका घरघरमा एवं पँधेरामा तुलसी रोपियो र तुलसीको जल ग्रहण गर्न थालियो । घरघरमा पाञ्चायन देवताको पूजा गरेर शफ्घण्ट बजाउन थालियो र मानिसहरू आध्यात्मिक हिसाबले अनुशासित बने ।

पर्यावरणीय संरक्षण— देशदेशान्तर घुमेर पर्यावरण र मानव जीवनको महत्त्व राम्ररी बुझेका गुरु महाराजले १०८ प्रजातिका वनस्पतिका बोट बिरूवा रोपेर सुन्दर बगैंचा निर्माण गर्ने र बाटोघाटो, पाटीपौवा, पानीपँधेरो, पोखरी जस्ता पर्यावरणीय महत्त्वका सार्वजनिक स्थलहरू निर्माण गरेर जनसेवामा समर्पण गरे । पौराणिककालदेखि नै रूद्राक्षारण्य मानिंदै आएको धरान पिण्डेश्वरबाट रूद्राक्षका बिरूवा लगेर रोपियो, रूद्राक्षारण्य बनाइयो । सबैले आ(आफ्ना घर आँगनमा तुलसी, बेल, अमला, रूद्राक्ष र पारिजात रोपेर सेवा गर्न थाले । वनस्पतिले वातावरणलाई शुद्ध र निर्मल पारिदिए । आज तिनै रूद्राक्षका रूखमा फलेका दानाहरू बेचेर मानिसहरूले आर्थिक लाभसमेत लिन थालेका छन् । आज दिङ्ला रूद्राक्षको उद्गमभूमि मानिएको छ । गुरु महाराजले बनाएको सुन्दर बगैंचा र जगेडाका वनहरू आजसम्म पनि कायमै छन् ।

भौतिक समुन्नति— त्यो समयमा त्यस्तो विकट ठाउँमा भारतबाट सिमेन्ट लगेर, इँटा तथा घर बनाउने कालिगढहरू बाहिरबाट झिकाएर, कलात्मक शैलीका प्रस्तर मूर्ति निर्माण गर्न लगाएर दूरदर्शी सन्तले जुन प्रकारको भौतिक समुन्नति गरे त्यो आजसम्म पनि उदाहरणीय छ । गुरु महाराजको आहृवान अनुसार त्यहाँको भौतिक समुन्नतिका निमित्त जनता सधैं श्रमदान गर्न तत्पर रहने भएकाले नै मठमन्दिर, विद्यालय, छात्रावास, पाटी, पोखरी, धारो, बाटो, हाटबजार आदि निर्माण कार्य सम्पन्न भएका हुन् । उनकै आह्वानमा धनीमानीहरूले गुठीका लागि धेरै जग्गा प्रदान गरे । जसको आम्दानीले आज पनि विद्यालय र पूजा आदि चलिरहेको छ ।

कुशल व्यवस्थापन— मन्दिर, पाठशाला, गुठी आदि स्थापन गर्नुभन्दा पनि त्यसको दीर्घकालसम्म सुसञ्चालन वा व्यवस्थापनको प्रबन्ध मिलाउन कठिन कार्य मानिन्छ । यस कार्यमा बाला गुरु षडानन्दको दूरदृष्टि रहेको पाइयो । वि. सं. १९६६ सालमा तयार पारेर अभिलेखालयमा राखिदिएको धर्मपत्रिकाले मन्दिर सञ्चालन, पाठशाला सञ्चालन र गुठी सञ्चालनका सम्पूर्ण विविध विधान लेखेर राखिदिएको पाइयो । त्यसको सङ्क्षिप्त रूपको शिलालेख आजसम्म पनि पाठशालाको मण्डप घरमा राखिएको छ ।

सिद्धि र साधना— आबालब्रह्मचारी षडानन्द अधिकारी १२ वर्षसम्म बाग्मती तटमा बसेर कठोर साधनाका साथ गायत्रीमाताको उपासना गरी सिद्धि प्राप्त गरेका सिद्धपुरूष हुन् । उनी कुशल योगसाधक पनि थिए । उनी साधना र तपोबलद्वारा उठेका सन्त थिए । उनी वीतरागी भएकाले लोककल्याणका मार्गमा लागेका थिए । उनको स्वार्थ नै लोकसेवा थियो । त्यसैले उनी जे चिताउँथे त्यो पुग्थ्यो र केही चामत्कारिक दृश्य पनि लोकले देख्ने गरेको थियो । बाला गुरु षडानन्द र स्वर्गद्वारी महाप्रभु समकालीन साधक र सन्त थिए । यिनीहरू दिङ्ला र स्वर्गद्वारीमा बसेर ध्यानमा रहेको बेला परस्परमा कुराकानी गर्थे भन्ने भनाइ छ । कुनै समय षडानन्द बिरामी भएको कुरा स्वर्गद्वारी प्रभुले थाहा पाएर आफ्ना चेलाका हात औषधि पठाए । षडानन्दले पनि आफ्ना चेला पठाए । दुवैथरी चेलालाई बीचबाटोमा सम्पर्क गराएर औषधि आदानप्रदान गरेको अनि भक्तका घरमा आयोजना गरिएका ठूलाठूला माङ्गलिक कार्यहरूमा विपत्ति उत्पन्न गरिदने आँधीबेरी आउन लागेको बेला साधना र सिद्धिद्वारा तर्काइदिएको र भोजभतेरमा पकाएको वस्तु सकिन आँट्यो र पुन पकाएर ख्वाउन सम्भव छैन भन्ने लागेमा सो ठाउँमा गई भाँडो छोएर यतिले सबैलाई राम्ररी पुग्छु भनिदिंदा पुगेको थियो भन्ने भनाइ पनि त्यत्तिकै प्रचलित छ । उनी ठूला योगसाधक पनि थिए । उनले हठयोगलाई बढी आत्मसात् गरेका थिए । धारामा गएर नुहाउनु भन्दा पहिले मलमलको २ ।३ मिटर लामो रूमाल मुखबाट खाएर तत्कालै मलद्वारबाट निकाल्थे अरे । उनका लागि अरू योगाभ्यास सामान्य मानिन्थ्यो । त्यसैले त्यहाँ पढ्ने सबैले योगको महत्त्व र महिमा बुझेर गए र जीवनभर आरोग्यतापूर्वक शान्त एवं सुखी जीवन बिताए ।

जनश्रुति— सन्त षडानन्द लोकले मानेका साक्षात् देवता नै थिए । त्यसैले उनलाई जान्नेहरू मर्दापर्दा उनका समीपमा गएर दुःखेसो गर्थे । उनी पनि आफ्नो ज्ञान विवेक, बुद्धि र सीप खर्चेर हुनेसम्म मद्दत गर्थे । उनले खाएको बाँकी अन्न बालकहरूलाई खुवायो भने पढ्न आउँछ भनेर गाउँवासी साना नानीहरूलाई सन्तकै आश्रममा ल्याएर ख्वाउने, आशीर्वाद दिलाउने, फुकी माग्ने र जलसिञ्चनद्वारा शरीर शुद्धि गर्ने कार्यहरू गर्थे । भनिन्छ— पानीमा रूमाल ओछ्याएर त्यसमाथि बसी सजिलैसँग अरूण नदी तर्थे अरे । भनिन्छ— वि. सं. १९२८ मा उनी दूरदर्शी, अन्तर्दृष्टि, र अनन्तदृष्टि भएका युगपुरूष थिए । त्यसैले उनका साधना र सफलताका कुरालाई आज जनश्रुतिकै आधारमा भए पनि सर्वत्र चर्चा गरिन्छ ।

स्थानीय जनतामा जागरण— कुनै कार्यको प्रभाव र प्रेरणा तत्काल जनतामा पर्नसक्यो भने त्यस कार्यको सफलता मानिन्छ । षडानन्दले प्रारम्भ गरेका धर्म, संस्कृति, शिक्षा, सदाचार, सामाजिक कार्य र अन्य गतिविधि लोकले मन परायो र आफ्ना दैनिक क्रियाकलाप पनि सोही अनुसार गर्न थालियो । उनीहरूको जीवन भावात्मक रूपले, आर्थिक रूपले र भौतिक रूपलेसरल बन्दै गयो । भूमिमा उर्वराशक्ति बढ्यो । तत्पश्चात्, खोटाङ, ओखलढुङ्गा, चार्खुले मानिसहरू दिङ्लातर्फ छोरी दिन आकषिर्त हुन थाले । छोराछोरीलाई पढ्न, पठाउन, बाबुआमालाई असल र राम्रा काममा अभिप्रेरित गर्न र बूढाबूढीलाई धर्मकर्मको मार्गमा हिंडाउन यिनै सन्तले अभिप्रेरित गरेका थिए । त्यसैले त्यस समाजले उनलाई जागरणका प्रतीक मानेका थिए । उनका प्रभाव र प्रेरणामा नपरेको भए त्यो किराँतभूमि आर्यभूमिमा परिणत हुने थिएन । सनातन वैदिक धर्म र संस्कृतिले विजय हासिल गर्ने थिएन ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!