ताजा सामाग्री

रवि सप्तमी र आइतबारको व्रतकथा

रवि सप्तमी र आइतबारको व्रतकथा को फोटो
No Comments , आइतबार, मंसिर १०, २०७४ , by Krishna Pd. Koirala

आइतबार र सप्तमी तिथिको संयोग परेको दिनलाई रवि सप्तमी भन्ने गरिन्छ । यस दिन भगवान सूर्यनारायणको पूजा, अर्चना र व्रत सम्पादन गर्ने गरिन्छ । चराचर जगतका प्रकाशक देवता हुनाले सूर्यलाई सविता भन्ने गरिन्छ । गायत्री मन्त्र तिनै ‘सविता’ को उपासना गर्ने मन्त्र हो । सूर्य साक्षात् सृष्टिकर्ता र विधाता हुन् । उनले केवल पृथ्वी, अन्तरिक्ष र द्युलोकलाई मात्र प्रकाशित तुल्याउने काम गर्दैनन्, अपितु चराचर जगतलाई नियन्त्रण गर्ने काम पनि उनैबाट हुन्छ । यिनी समस्त देवताहरूका प्रशासक हुन् । यिनको दिनकर र भास्करादि अन्य नाम पनि छन् । यिनले सम्पूर्ण जगतलाई उज्यालो बनाउँदै धारण गर्दछन् र सबैलाई कर्म गर्न प्रेरणा प्रदान गर्दछन् । त्यसैले सूर्य सबैका लागि वन्दनीय छन् । संसारका समस्त घटनाहरू भगवान् सूर्य नारायणकै लीलाविलास हो । भगवान् सूर्यले प्रातःकालमा आफ्नो सात्विक शक्ति सञ्चरण गर्दै समस्त चराचर जगतलाई सञ्जीवनी प्रदान गरी उत्साहित र प्रफुल्ल तुल्याउँदछन् ।  यिनीबाट प्रातःकालमा प्राप्त हुने सञ्जीवनी शक्तिका कारण संसार आफ्नो कर्मसृष्टि र सिर्जनाको लीलामा जुट्दछ । प्रातःकालका सूर्यलाई सृष्टिकर्ता ब्रह्माको प्रतीक मानिन्छ ।

मध्याह्न कालमा सूर्यले आफ्नो तामसी स्वभावको प्रदर्शन गर्दछन् । आफ्ना किरणमा भएका तीक्ष्ण र प्रचण्ड प्रकाशलाई चराचर जगतमा सञ्चरण गर्दै सूर्यले आफूमा रहेको तमोगुणबाट सम्पूर्ण दैनिक कर्म सृष्टिको कालिमालाई शोषण गर्दछन् । भगवान् आदित्यले मध्याह्नकालमा आफ्ना रश्मिहरूद्वारा महेश्वर रूपमा दैनिक सृष्टिका विकारहरूलाई शोषित गरेर जगतलाई हृष्टपुष्ट, स्वस्थ र नीरोगी बनाउँदछन् । जगत् कल्याणका लागि भगवान् सूर्यको यो दैनिक विकार शोषणको लीलालाई नै भगवान् भोलेशङ्कर नीलकण्ठको हलाहल पानको प्रतीकका रूपमा लिइन्छ ।

जसरी ईश्वरले बनाएको सृष्टिलाई ईश्वर आफैंले आवश्यकतानुसार आफैंमा विलय गर्नुहुन्छ, ठीक त्यसरी नै सन्ध्याको समयमा सम्पूर्ण सृष्टिलाई दिनभरि प्रकाश र आनन्द सञ्चरण गरेर सायंकालमा अस्ताचलमा गएर आफ्नो राजसी स्वरूप प्रदर्शन गर्दछन् र सारा जगतलाई विश्रामको सन्देश प्रवाह गर्दछन् । सन्ध्याकालका सूर्यलाई क्षीरसागरमा शयन गर्नुहुने भगवान् विष्णुको स्वरूपलाई स्मरण गर्ने गरिन्छ । त्यसैले सूर्यको विशेषता बताउँदै भनिएको छ :-

उदये ब्रह्मणो रूपं मध्याह्ने तु महेश्वरः ।

अस्तकाले स्वयं विष्णुस्त्रिमूर्तिश्च दिवाकरः ।।

सूर्यको उपासनाका क्रममा सूर्यका विविध रूपको ध्यान र पूजा गर्ने प्रचलन छ, जसमा धाता, अर्यमा, मित्र, वरुण, इन्द्र, विवस्वान्, पूषा, पर्जन्य, अंशुमान्, भग, त्वष्टा, विष्णु आदि सूर्यका बाह्रवटा स्वरूपको चर्चा गरिन्छ ।

आइतबारको व्रतविधान

आइतबारको व्रत लिँदा सामान्यतया रविसप्तमीको दिनबाट वा शुक्ल पक्षको पहिलो आइतबारबाट सुरु गर्नु पर्दछ । व्रतका दिन सकेसम्म रातो कपडा पहिरनु आवश्यक छ । यो व्रत कम्तीमा एक वर्षसम्म लिन सकिन्छ । यदि कुनै कारणले एक वर्ष पूरा गर्न सकिएन भने कम्तीमा १२ वटा आइतबार चाँहि व्रत लिनै पर्दछ । व्रतालुले आइतबारका दिन घाम उदाउनुअघि नै ब्युँझनु पर्दछ । आफ्नो नित्यकर्म सिद्ध्याएर शुद्ध रातो कपडा लगाएर ‘ॐ घृणि सूर्याय नमः‘ यस बीज मन्त्रको कम्तीमा ५ माला जाप गर्नु पर्दछ । एकै पटक जाप पूरा गर्न नसकिएममा व्रतको अवधिभरिमा भए पनि पाँच माला जाप पुर्याएको राम्रो हुन्छ । जाप गरिसकेपछि तामाको लोटी वा कलशमा चोखो जल भर्नु पर्दछ र त्यसमा मह वा चिनी, अबीर, रातो फूल, राता अक्षता, रातो चन्दन, दुबो र सर्स्युँ राख्नु पर्दछ । यसरी तैयार गरिएको जलले तुलसाको मठमा वा गमलामा पूर्व फर्किएर भगवान् सूर्य नारायणलाई निम्न मन्त्र पढ्दै अर्घ्य दिनुपर्दछ ।

एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते ।

अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकर ।।

नमः सहस्रकिरण !  सर्वव्याधिविनाशिने ।

गृहाणार्घ्यं मया दत्तं सन्ध्यया सहितो रवे ।।

अर्घ्य दिंदा तामाको लोटी वा कलशबाट खसेको जलको धाराको माझबाट सूर्यबिम्बको दर्शन गर्नुपर्दछ, प्रदक्षिणा गरेर रातो चन्दनको तिलक लगाउनु पर्दछ, यति गरिसकेपछि त्यस दिन दिनभरि उपवास गर्नु पर्दछ । सकेसम्म भोजनादि गर्नु हुँदैन । नसक्नेले फलाहार गर्नुपर्छ र फलाहार गर्दा पनि चित्त नबुझेमा गहुँका रोटी वा पुरी खान सकिन्छ । यसरी दिनभर व्रत लिएर बेलुका अग्निहोत्रादि नित्यकर्म गरेर नुन र नुनिलो चिजबाहेक अन्य सात्विक भोजन ग्रहण गर्दा हुन्छ । व्रतको समाप्ति अर्थात् अन्तिम आइतवारका दिन हवनपछि ब्राह्मण दम्पतीलाई भोजन गराई यथाशक्ति राता चिजबिज, रातै कपडा एवं दक्षिणासहित प्रसन्न तुल्याई आशिर्वाद ग्रहण गर्नु पर्दछ।

किन लिने आइतबारको व्रत ?

आयु एवं सौभाग्य वृद्धि, सबै किसिमका कामनासिद्धिका लागि तथा नेत्र रोग, कुष्ठ रोग, एवं चर्म रोग निवारणका निम्ति आइतबारको व्रत लिने गरिन्छ । विधिपूर्वक प्रत्येक आइतबारका दिन सूर्यको उपासना गर्दा दैविक, दैहिक र भौतिक तीनै किसिमका कष्टबाट छुटकारा पाइन्छ । यसरी सूर्योपासना गर्ने उपासकको सूर्यको प्रकाश जसरी नै बुद्धि प्रखर र तीव्र हुन्छ । त्यसबाहेक ज्योतिषीय अवधारणा बमोजिम जन्मकुण्डलीमा चौथो, आठौँ र बाह्रौं घरमा सूर्य रहेको अवस्थामा वा सूर्यका साथमा राहु वा केतुको युति भई ग्रहण योग अथवा पितृ दोषको सिर्जना भएमा वा जन्मकालमा औंसी, कृष्णपक्षको चतुर्दशी र शुक्लपक्षको प्रतिपदा तिथि भएमा सिर्जना हुने सूर्यको दुष्प्रभावबाट जोगिन आइतबारको व्रत लिने विधान छ।



आइतबारको व्रतकथा

कुनै गाउँमा एउटी बुढी आमै बसोबास गर्ने गर्दथिन् । तिनको नियम थियो, प्रत्येक आइतवारका दिन बिहानै स्नानादि गरी गोबरले घर लिपेर भोजन तैयार गरी भगवान् सूर्यनारायणलाई भोग लगाएरमात्र भोजनादि ग्रहण गर्ने । यस नियमको पालना गरी अनुष्ठान गरेकाले उनको घरपरिवारमा सुखसन्तोष थियो र अनेक किसिमका धनधान्य र सुखसुविधाले भरिपूर्ण थियो, उनको परिवार । भगवान् श्रीहरिको कृपाले घरमा कुनै किसिमको विघ्न वा दुःख थिएन । ती बृद्धाको घरमा गाई थिएन, त्यसैले व्रतपालना गर्न उनी छिमेकबाट गोबर ल्याउने गर्दथिन् । यो क्रम चलिरहेको थियो, केही दिन बितेपछि उनले गोबर ल्याउने घरकी छिमेकी महिलाले विचार गरिन् – यी बृद्धा सधैं मेरो घरबाट गोबर लिएर जान्छिन् र धर्मकर्म गर्छिन्, उनको घरमा सुखैसुख र आनन्द छ, त्यसैले अब म गोबर लान दिन्न, बरु आफ्नो गाईलाई घरभित्र बाँध्न थाल्छु ।


छिमेकीले गाईलाई गोठभित्र बाँधेर थुनेपछि एकाबिहानै आमैले गोबर लान पाइनन् । छिमेकी नउठुन्जेल एक पटक त पर्खिएर गोबर ल्याउने विचार पनि गरिन् । तर ईर्ष्यालु छिमेकीले कुनै हालतमा गोबर नदिने भनेपछि उनले एउटा आइतबारका दिन घर लिप्न पाइनन् । उनको सूर्योपासनाको क्रम भङ्ग भयो । उनले त्यस दिन न त भोजन नै बनाइन्, न भगवानलाई अर्पण नै गरिन् । नियमिततामा विघ्न आएकाले उनले आँफूले पनि केही खाइनन् । बरु उनले निराहार व्रत लिने प्रण गरिन् । रात पर्यो उनी भोकै सुतिन् ।  रातको समयमा सपनामा उनले भगवान् सूर्यनारायणको दर्शन पाइन् । सूर्यले उनलाई भोजन नबनाएको र भोग नलगाएको कारण सोध्नुभयो । बृद्धाले गोबरको अभावमा नित्यकर्म सम्पादन हुन नसकेको र व्रतमा विघ्न सिर्जना भएकाले आफूले त्यसो गरेको विवरण बिन्ती बिसाइन् । आफूमा अगाध श्रद्धा र भक्तिभाव राख्ने ती सरल स्वभावकी बृद्धाको अवस्था बुझेर सूर्यनारायणले आज्ञा गर्नुभयो –  ‘हे  माता ! म तपाईंको भक्तिभावबाट अत्यन्त प्रसन्न भएको छु, अब म तपाईंलाई एउटा यस्तो गाई दिन्छु, जसले तपाईंका समस्त इच्छाहरू पूर्ण गर्नेछ । तपाईं जसरी नै प्रत्येक आइतबारका दिन व्रत सम्पादन गर्ने प्रत्येक नरनारीसँग म अत्यन्त प्रसन्न हुने गर्दछु । मेरा भक्तहरूको स्वास्थ्य रक्षा गर्नु मेरो पहिलो कर्तव्य हो, त्यसबाहेक निर्धनलाई धन र बाँझी स्त्रीहरूलाई पुत्र प्रदान गरेर दुःख नष्ट गर्दछु । मेरा भक्तजनहरूले जीवनकालभरि धनधान्य र सुखसम्मृद्धिका साथमा जीवन बिताएर अन्त्यकालमा मोक्ष प्राप्त गर्दछन् ।’ स्वप्नमा यसरी वरदान दिएर भगवान अन्तर्धान हुनुभयो । बृद्धा ब्युँझिइन्, सपनामा सूर्यले दिएको वरदान साँच्चिकै साकार भयो, उनका आँखा खुल्दा आँगनमा एउटा अति सुन्दर गाई र बाछो उभिइरहेको दृश्य देखियो । त्यसरी आफ्नै आँगनमा गाई र बाछो देखेर अति प्रसन्न भएकी आमैले तिनलाई घरबाहिर बाँधि दिईन र घाँसपात गरिदिइन् । दिउँसो उनकी छिमेकी स्त्रीले ती आमैका घरमा पनि गाई र बाछो ल्याइएको थाहा पाइन्, उनको डाहा र रिसको पारो अझ चुलियो । उनी ईर्ष्यालु भई गाई र बाछो हेर्दै थिइन्, त्यसै बखतमा गाईले गोब्र्यायो, त्यस गाईले त सुनको गोबर पो गोब्र्याउँदो रहेछ । यो दृश्य देख्दा त उनको मनमा अझ खपिनसक्नु भयो । यसो वरपर हेरिन्, कसैले देखेको छैन भन्ने चाल पाएर  उनले तुरुन्त त्यो सुनको गोबरको थाप्रो टिपेर आफ्नो गाईको गोबरसँग साटिदिइन् । अब ती छिमेकीको काम कतिबेला त्यस गाईले गोब्र्याउँछ, रुङ्ने र साट्ने हुनथाल्यो । ती सोझी बृद्धालाई छिमेकी स्त्रीको कुटिलता र चलाखीको अत्तोपत्तो थिएन ।


छिमेकी स्त्रीको यो नयाँ दैनिकीलाई जगत्साक्षी भगवान् सूर्यनारायणले पनि नियालिरहनु भएको थियो । लामो समयसम्म ती चलाख छिमेकीका कपटपूर्ण कर्मद्वारा बृद्धा ठगिएको ठगियै भइन् । अनि जगदीश्वर सूर्यले एक दिन सन्ध्याकालमा आफ्नो मायाद्वारा ठूलो हुरीबतासको सिर्जना गर्नुभयो । आमैले आँधीबेरीले गाई र बाछोलाई नोक्सान पो गर्ने हो कि भन्ने भयले ती बृद्धाले ती वस्तुभाउ घरभित्र लगेर बाँधिन् । अर्को दिन प्रातःकालमा बल्ल ती बृद्धाले गाईले सुनको गोबर गोब्र्याएको दृश्य देखिन्, उनको आश्चर्यको सीमा रहेन । त्यसपछिमात्र ती आमैले हरेक दिन गाईबाछालाई घरभित्र नै बाँध्न थालिन् । बृद्धाले गाई र बाछा भित्र बाँध्न थालेपछि छिमेकी स्त्रीको आयस्रोत घट्ने भयो । उनी ईर्ष्या र डाहले अझ पिरोलिन थालिन् । दुई चार दिन प्रतीक्षा गरिन्, आमैले त्यसपछि कहिल्यै पनि घरबाहिर गाई र बाछालाई छाडिनन् । केही उपाय नदेखेर तिनले बुढीआमैलाई दुःख दिने उद्देश्यले राजाका सभामा गएर उजुर गरिन् – ‘महाराज ! मेरो छिमेकमा एउटी बृद्धासँग यस्तो गाई छ, जुन गाई हजुरहरू जस्ता राजाहरूसँग मात्र हुनुपर्ने हो, किनकि त्यस गाईले प्रत्येक दिन एक थाप्रो सुनको गोबर गोब्र्याउने गर्छ । त्यसैले हे महाराज !  हजुरले नै त्यो गाईलाई अधिग्रहण गरी दरबारमा ल्याएर राख्नु उचित हुन्छ । त्यस गाईले गोब्र्याउने सुनको थाप्रोले देशको विकास र प्रजाको संरक्षणमा टेवा पुग्छ । आखिर त्यस बृद्धालाई त्यत्रो सम्पत्तिको के काम छ र ?’ राजाले स्त्रीका उजुरमाथि विचार गर्दा उनलाई ती कुरा जायज लाग्यो । उनले तुरुन्त आफ्ना सिपाहीलाई आदेश दिए – ‘जाओ, त्यो गाई र बाछो लिई आओ ।’


त्यस दिन पनि आइतबार नै परेको थियो । आमै आफ्नो प्रातःकालको नित्यकृत्य सिद्ध्याएर भोजन गर्न लागेकी थिईन्, त्यत्तिकैमा राजाका सिपाहीहरूले उनका गाई र बाछा खोलेर लगे । आमैले रोक्ने प्रयास गरिन्, अनुनय, विनय र अनेक तरहले विलाप गरिन्, रोइन्, कराइन्, तर उनको जोड चलेन । त्यस दिन बृद्धाले गाईको वियोगका कारण भोजन गर्न पनि सकिनन् र रातपरेपछि पनि सुँक्क् सुँक्क गर्दै ईश्वरसँग आर्तपुकारा गरिरहिन् । उक्त गाई र बाछा पुनः प्राप्त होस्, बरु राजालाई आवश्यक छ भने आफूसँग भएको सबै धनसम्पत्ति र गाईले दिनैपिच्छे गोब्र्याउने सुनको थाप्रो सबै उनले लगेहुन्थ्यो भन्ने कामनाले आमैले भगवान् सूर्यनारायणसित प्रार्थना गरिरहिन् । राजा सिपाहीले गाई ल्याएको समाचार सुनेर असाध्यै प्रसन्न भए, बिहान छिट्टै उठेर गाईले गोब्र्याएको सुन हेर्ने रहर थियो उनमा । तर भोलिपल्ट राजाले सोचेजस्तो भएन । उनी उठ्दा त सारा महल गोबरैगोबरले भरिएको देखियो । यस्तो दृश्य देखेर राजा अत्तालिए, सिपाहीलाई तुरुन्त सरसफाइ गर्ने आदेश दिए । जति सफा गरे पनि फेरि जताजतै गोबरैगोबर देखिन्थ्यो । दिनभरि राजाको चिन्ताको विषय बन्यो, उक्त गाई र महलभरि छरिएको गोबर । रात्रीकालमा अब के उपाय होला भनी राजा घोरिंदाघोरिंदै निदाए । राजा पनि धार्मिक स्वभावका थिए, उनलालाई सपनामा दर्शन दिएर सूर्यनारायणले आज्ञा गर्नुभयो – ‘हे राजन् ! ती गाई र बाछा जहाँबाट ल्याएको हो, त्यही पुर्याइदिनुहोस्, तपाईंको कल्याण हुनेछ । मैले बृद्धाले निष्ठा र श्रद्धासाथ लिएको आइतबारको व्रतको प्रभावबाट प्रसन्न भएर उनलाई उक्त गाई र बाछो प्रदान गरेको थिए ।


भोलिपल्ट ब्युँझनासाथ राजाले गाई र बाछा बृद्धाका घरमा पुर्याउन आदेश दिए, साथै ती बृद्धा भक्तलाई ससम्मान पालकीमा राखी तथा छिमेकी कुटिल स्त्रीलाई पाता कसेर घिसार्दै लिई आउन उर्दी पनि गरे । राजाले यसरी आदेश गर्नासाथ राजाको महलबाट फोहोर  स्वतः हट्यो । त्यस दिनपछि राजाले नगरवासीहरूलाई उर्दी जारी गरे – ‘समग्र राज्य र आआफ्नो सुखसम्मृद्धिका निमित्त तथा समस्त मनोकामना पूर्तिका निम्ति आइतबार (रविवार) का दिन व्रत लिनुपर्छ ।’ राजाज्ञापछि त्यस राज्यका सबै नरनारीले त्यसपछि आएको रविसप्तमीको शुभमुहूर्तदेखि प्रारम्भ गरी विधिवत् आइतबारको व्रत लिनथाले । व्रत गर्नाले नगरका नागरिकहरू सुखी जीवन व्यतीत गर्न थाले । त्यस राज्यभित्र कुनै पनि रोगव्याधि तथा प्रकृतिको प्रकोप हुन छाड्यो ।  सारा जनता सुखपूर्वक भगवानको भजनकीर्तनमा समय बिताउन थाले । अन्त्यकालमा राजालगायत समस्त देशवासीले क्रमशः मोक्ष प्राप्त गर्दा भए ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!