ताजा सामाग्री

सच्चरित्रको प्रभाव

सच्चरित्रको प्रभाव को फोटो
No Comments , बिहीबार, मंसिर १४, २०७४ , by Krishna Pd. Koirala

कमल रिजाल

‘युवामञ्च’बाट

मानवजीवनमा चरित्रले विशिष्ट स्थान ओगटेको हुन्छ । मानिस बरु खान नपाएर केही दिन बाँच्न सक्छ तर चरित्र भ्रष्ट भएर एकैछिन पनि टिक्न सक्दैन । चरित्रवान्हरू जहाँ पनि सुरक्षित रहन सक्छन् वा जहाँ गएर पनि सुरक्षित र्फकन सक्छन् तर चरित्रहीनहरूले आफ्नै घरमै असुरक्षित महसुस गरिरहेका हुन्छन् । बूढापाकाहरू भन्ने गर्छन् छ गेडी सबै मेरी छैन गेडी सबै टेडी । छ चरित्र घरगाउँ, श्रीसम्पत्ति, इष्टमित्र सबै छ । छैन चरित्र केही पनि छैन, यहाँसम्म कि सँगै बाँच्ने सँगै मर्ने कसम खाएर प्रणयसूत्रमा बाँधिन आएका श्रीमान्/श्रीमतीसमेत पर हुन पुग्छन् । सच्चरित्रकै कारण रामले समुद्रमा पुल बाँध्न सकेका छन्, हनुमानजीले आकाशमा उड्ने शक्ति पाएका छन् । त्यस्तै, विभीषणले अष्टचिरञ्जीवीमा स्थान सुरक्षित गरेका छन् भने प्रह्लाद र अङ्गदले बाबुको वैरीलाई समेत आफू अनुकूल बनाएका छन् तर चरित्र भ्रष्ट हुँदा न त्रिलोक विजयी रावण सुरक्षित रहन सकेका छन् न रावणलाई पनि मुठीमा कैद गर्न सक्ने बालीले नै सुरक्षित रहने अवसर पाएका छन् । खोजी पसे इतिहासमा यस्ता दर्जनौँ पात्रहरू पाउन सकिन्छ जसले चरित्र भ्रष्ट भएकै कारण जीवनबाट हात धुन परेको छ ।

‘दग्धारण्या मृगास्तथा’ अर्थात् आचार्य चाणक्यले एक ठाउँमा भनेका छन्- दक्षिणा लिएपछि पुरोहितले यजमानलाई र विद्या प्राप्त गरेपछि शिष्यले गुरुलाई जसरी छोड्छन् त्यसैगरी आगो लागेपछि वनलाई मृगले छोड्छन् । चरित्र पनि त्यस्तै हो । जबतक चरित्रले साथ दिन्छ तबतक संसारले पनि साथ दिइरहेका हुन्छन् जब चरित्रले साथ छोड्छ तब मरेको कुकुरलाई उपियाँले छोडेजस्तो संसारका यावत् चीजहरूले पनि एकएक गरी साथ छोड्ने गर्दछन् । जसरी आगोको मर्यादा त्यतिबेलासम्म रहन्छ जतिबेलासम्म उसले स्वभावगत चरित्रअनुसार तातोपनलाई धारण गरेको हुन्छ र पानीको मर्यादा पनि त्यतिबेलासम्म कायम रहन्छ जतिबेलासम्म उसले पनि आफ्नो स्वभावगत चरित्रअनुसार चिसोपनलाई धारण गरेको हुन्छ त्यसैगरी जीवनले पनि त्यतिबेलासम्म सार्थकता पाउन सक्छ जतिबेलासम्म उसले मानवीय मर्यादाअनुसारको चरित्रलाई धारण गरेको हुन्छ । ‘आचारहीनं नपुनन्ति वेदाः’ अर्थात् चरित्रहीनलाई वेदले पनि पवित्र पार्न सक्दैन वा उसको जीवनलाई सार्थक पार्न सक्दैन भन्ने त नीतिमै उल्लेख छ ।

एकपटक विष्णुभक्त प्रह्लादजीले विश्वजित यज्ञको दीक्षा लिएका थिए । त्यतिबेला उनी जसले जे मागे पनि दिने गर्दथे । यो कुरो चाल पाएर देवराज इन्द्रले ब्राह्मण भेषमा गई चरित्र मागे । उनले तत्कालै सङ्कल्प गरी आफ्नो चरित्र दान गरिदिए । एकछिन पछि उनको शरीरबाट दिव्य ज्योति निस्केर जान लाग्यो । प्रह्लादजीले सोधे-

‘तिमी को हौ र किन जादै छौ ?’ ज्योतिले विनम्रतापूर्वक निवेदन गर्‍यो- ‘महाराज ! म चरित्र हुँ । हालसम्म हजुरको साथमा थिएँ । अहिले उपहारमा कसैलाई दिनुभएकोले जाँदैछु ।’ त्यसैगरी केही क्षणपछि अर्को दिव्य आकृति निस्केर जान लाग्यो । प्रह्लादले फेरि सोधे- ‘तिमी को हौ नि ?’ उसले उत्तर दियो- ‘म हजुरको कीर्ति हुँ । जब चरित्रले नै हजुरलाई छोडेर गयो भने मेरो यहाँ के काम, त्यसैले जाँदैछु ।’ फेरि एकैछिनपछि एउटी दिव्य महिला निस्केर जान लागिन् । प्रह्लादले आश्चर्य मान्दै सोधे- ‘होइन तपाईँ चाहिँ को हुनुहुन्छ नि ।’ उनले उत्तर दिइन्- ‘म तिम्रो राज्यलक्ष्मी हुँ । जब चरित्र र कीर्तिले नै छोडिसकेका छन् भने मेरो यहाँ के काम । त्यसैले म पनि जाँदैछु ।’ जबतक चरित्र साथमा थियो सबै थिए जतिबेला चरित्रले बिदा लियो सबै एकएक गरी गए ।

चरित्र भनेको शील पनि हो र स्वभाव पनि हो । सबैको यही शील, स्वभाव र चरित्रले नै संसार थामेको छ । ‘यद् भयात् वाति वातोऽयं’ अर्थात् उपनिषद् भन्छ- यसैको आधारमा वायु वहेको मात्र छैन चन्द्रसूर्यलगायत समग्र ग्रहनक्षत्र र पृथ्वीको स्थिति तथा गति अडेको छ । एकैछिन मात्र प्रकृतिले आफ्नो शील, स्वभाव र चरित्रलाई छोड्ने हो भने संसारको अवस्था कस्तो होला कल्पनासम्म पनि गर्न सकिन्न । धन्य स्वार्थको म्याराथनमा उत्रेको मानिसले जति नै शील, स्वभाव र चरित्रलाई लत्याउने प्रयास गरे पनि प्रकृतिले आफ्नो शील, स्वभाव र चरित्रलाई बिदा दिएको छैन र कम्तीमा बाँच्नेसम्म अवसर पाइएको छ तर दुःखसाथ भन्नै पर्छ एवं रीतले मानवमतिले चरित्रभ्रष्टको गतिलाई बढाउँदै जाने हो भने एकदिन त्यस्तो अवस्था पनि नआउला भन्न सकिन्न जुन दिन प्रकृतिलाई समेत चरित्र हत्या गर्न बाध्य हुन नपरोस् ।

अब आयो चरित्र रक्षाको कुरो । यसका लागि त्यति टाडा जानै पर्दैन । स्वकर्तव्यबोध मात्र गर्ने हो भने पनि धेरै हदसम्म चरित्रवान् बन्न सकिन्छ । सत्यसाइ बाबा भन्नुहुन्छ, चरित्रवान् हुनका लागि जिब्रोबाट समेत सिक्न सकिने धेरै गुण छन् । जस्तो हामीलाई थाहा छ जिब्रो आफ्नो सीमा नाघेर बाहिर आउँदा पनि आउँदैन र बत्तीसवटा बलिया र तिखा काँडाहरूका बीचमा रहेर पनि न हडबडाइकन आफ्नो कर्तव्य निर्वाह गरिरहन्छ । उसले आफ्नो अर्को पनि भन्दैन र ठूलो सानो, यस्तो त्यस्तो, राम्रो नराम्रो वा धेरैथोरैको कुरो उठाएर विभाजनको रेखा पनि कोर्दैन । सबैलाई समान ठान्छ र जस्तोसुकै कठिन परिस्थितिलाई पनि यथासम्भव पचाएर दायित्व निर्वाह गरिरहेको हुन्छ । कतिपय अवस्थामा नजिकै रहेका काँडाले घोचेर उसको कोमल अङ्गलाई क्षतविक्षत बनाउने काम पनि गर्दछ । तैपनि कसैलाई केही भन्दा पनि भन्दैन र कसैसित कुनै गुनासो पनि गर्दैन । मानिसले पनि त्यसैगरी आफ्नो सीमालाई बुझेर जतिसुकै अप्ठ्यारो स्थितिको पनि सामना गर्दै स्वकर्तव्य निर्वाह गरिरहने हो भने संसार निःसन्देह आजको जस्तो भयावह हुने छैन । त्यस्तो अवस्थामा सबैले एकअर्काको सहयोगी बनेर संसारलाई स्वर्ग बनाउन सक्छन् वा स्वर्गीय सुखको आधार बनाइरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!