ताजा सामाग्री

बुध प्रदोष व्रत

बुध प्रदोष व्रत को फोटो
No Comments , शनिबार, मंसिर १६, २०७४ , by Krishna Pd. Koirala

बुधबारका दिन बेलुका सूर्यास्तको समयमा त्रयोदशी तिथि परेको दिन लिइने व्रतलाई बुध प्रदोष व्रत भन्ने गरिन्छ । नैमिसारण्यमा उपस्थित ऋषिहरूलाई विभिन्न पौराणिक आख्यान र कथाप्रसङ्ग उल्लेख गर्दै सूतजीले बुधप्रदोषको चर्चा गर्दै भनेका छन् – बुध प्रदोष व्रतको सम्पादन गर्नाले समस्त मनोकाङ्क्षा पूर्ण हुने गर्दछन् । पुराणमा चर्चा गरिएअनुसार बुधबार प्रदोष परेका बेला भगवान् शिव प्रसन्न भएर कैलाश पर्वतमा नृत्य गर्ने गर्नुहुन्छ । त्यसैले बुध प्रदोषका दिन व्रत गर्दा धनसम्पत्ति प्राप्त हुनुका साथै दुःख र दारिद्र्यको नाश हुन्छ र सबै मनोकामना पूर्ण हुन्छन् । बुधप्रदोषको व्रत लिनाले दुईवटा लैना गाई एकै पटक दान गर्दा पाइने पुण्य प्राप्त हुन्छ । त्यस्तै यस पुण्य दिनमा व्रत लिनाले र भगवान् भोलेनाथको आराधना गर्नाले हरहमेशा व्यक्तिले भगवान् शिवको कृपा प्राप्त गर्दछ, इहलोकमा सुखसम्मृद्धि प्राप्त गरी अन्त्यकालमा मोक्षप्राप्ति हुन्छ । घरपरिवारमा खुसियाली, सुस्वास्थ्य र सुखसम्पत्तिले निवास गर्दछ । प्रेमजीवनको सफलताका लागि पनि बुधबार परेको प्रदोष व्रतबाट व्रत प्रारम्भ गरी लगातार २१ हप्ता व्रत बसी उद्यापन गर्ने नियम छ । त्यस्तै कालसर्प दोष लगायत समस्त सर्पबाधा, नागनगिनी, डाकिनीशाकिनी, भूतप्रेत आदिको बाधा पनि नष्ट हुन्छ । सारांशमा बुधवारका दिन परेको प्रदोष व्रत सौभाग्य र दाम्पत्य जीवनको सुखशान्तिका लागि हो ।  यस्तो महत्ता र गरिमा रहेको बुध प्रदोषको व्रतकथा निम्नानुसार छ –

अङ्ग देशमा ‘चम्पा नगरी’ नामको एउटा सानो नगर थियो । त्यस नगरमा चन्द्रधर नामको एउटा धनी वैश्यले नीति र धर्मको पालना गर्दै आफ्नो गृहस्थी सम्हालेर निवास गरेको थियो । ऊ भगवान् आशुतोष शिवशङ्करको परम भक्त थियो, तर नागमाता मनसादेवी उसँग उसको पूर्वजन्मको दोषका कारण रिसाएकी थिईन् । चन्द्रधरकी पत्नीको नाम चन्द्रकला थियो । धनधान्य र सुखसम्मृद्धिको कमी त थिएन, तर उसका घरमा सर्पको बाधा हुनाले सन्तानको सुस्वास्थ्य र उन्नतिप्रगतिमा बाधा परेको देखिन्थ्यो । उसका सन्तान हुँदै नभएका त होइनन्, तर उसका सन्तानको जन्म भएपछि पाँचवर्षको उमेर नपुग्दै नागले डँस्नाले मृत्यु हुने गर्दथ्यो । एउटा दुईवटा मात्र होइन उसका छ/छ जना पुत्रले सर्पबाधाका कारण कालकवलित हुनु परेको थियो । वैश्यले सन्ततिपक्षको आयुको कामना गरेकाले त होइन, उसको अटल शिवभक्तिको प्रभावले हुनसक्छ वा अन्य कुनै कारणले उसको सातौं पुत्र अहिलेसम्म जीवित नै थियो अनि किशोरावस्थाको उमेर पनि पार गरिसकेको थियो । चन्द्रधरको कान्छो छोराको नाम ‘लक्ष्मीचन्द्र’ थियो । अन्य छ/छ जना पुत्रको बाल्यावस्थामा नै मृत्यु भएकाले चन्द्रधरलाई यस पुत्रप्रति त्यत्ति मोह जाग्न सकेको थिएन । जे हुन्छ, शिवकृपाले हुन्छ भनी ऊ सधैं शिवभक्तिमा एकनाशले तल्लीन हुने गर्दथ्यो । छोरोले युवावस्थामा प्रवेश गर्न लागेकोमा चन्द्रधरकी पत्नी चन्द्रकला भने उत्साहित देखिन्थिन् । उनी समय मिल्नासाथ अब छोराको विवाह गरी दिनुपर्छ भन्ने आशय व्यक्त गरिहाल्थिन् ।

त्यसवेला भारतवर्षको पश्चिममा अवन्तिका नाम गरेको अर्को एउटा देश पनि थियो । त्यस देशको राजधानी उज्जयिनी नाम गरेको सहरमा अर्को एक जना साधुचन्द्र नामको एउटा धनाढ्य व्यापारी बसोबास गर्दथ्यो । जस्तो नाम त्यस्तै चरित्र र आचरण थियो, साधुचन्द्रको । ऊ दिनैपिच्छै महाकाल शिवको मन्दिरमा गई दिनदुःखी र गरिबगुरुबाको सेवासत्कार नगरी आफ्नो दिनचर्या सुरु गर्दैनथ्यो । साधुचन्द्रकी एउटीमात्र पुत्री थिई । रूपलावण्य र शिलस्वभावका दृष्टिले ऊ अद्वितीय नै थिई । बाल्यावस्थादेखि नै उसमा पिताका धार्मिक र परोपकारी स्वभावहरूले विकसित हुने अवसर पाएका थिए । उसले पनि किशोरावस्थाको वयसन्धि भर्खरै पार गरेकी थिई । साधुचन्द्रमा शुक्लपक्षको चन्द्रमा झैं शारीरिक र भौतिक अङ्गहरू विकसित हुँदै गरेकी छोरीको असल घरघरान र कुलकुटुम्बमा विवाह गरिदिने चिन्ता बढ्न थालेको थियो । उसले चम्पा नगरीका चन्द्रधरका पुत्र लक्ष्मीचन्द्रको विवाहयोग्य उमेर भएको कुरा आफन्तहरूबाट सुनेको थियो । चन्द्रधरको शीलस्वभाव र आचरणका बारेमा ऊ राम्ररी जान्दथ्यो । पिता र परिवारको अनुशासन एवं चरित्रको प्रभाव छोराछोरीको जीवनमा जस्ताको त्यस्तै आउने गर्दछ भन्ने कुरामा ऊ विश्वास गर्दथ्यो । त्यसैले ऊ चन्द्रधरको छोरा लक्ष्मीचन्द्रलाई आफ्नी कन्या सुम्पने मनसायमा पुगी सकेको थियो । साधुचन्द्रकी छोरीको नाम ‘विगुला’ थियो । उसले पनि लक्ष्मीचन्द्रको रूपलावण्य र चालचलनका बारेमा आफ्ना सखीसङ्गतिमार्फत थाहा पाएकी थिई । भौतिक रूपमा देख्न नपाए पनि विगुलाको मनमा लक्ष्मीचन्द्रप्रति अनुराग जागिसकेको थियो ।

एक पटक उज्जयिनी नगरीमा महाकुम्भ पर्व चल्दै थियो । उक्त अवसरमा चम्पानगरीबाट पनि धेरै तीर्थयात्री भगवान् महाकालको दर्शन र नर्मदा नदीको स्नान गर्न त्यहाँ आएका थिए । तिनै तीर्थयात्रीमध्ये एक जना साधुचन्द्रका आफन्त पनि थिए । ती आफन्त उसलाई भेट्न घरमा आएका बखत साधुचन्द्रले आफ्नो मनमा गुम्सिएको कुरा बताउँदै भन्यो – ‘तपाईंका नगरमा बसोबास गर्ने चन्द्रधरका छोरा लक्ष्मीचन्द्रको चालचलन र रूपलावण्यको चर्चा खुब सुन्दैछु । पारिवारिक हैसियत र कुलधर्म हामीसँग मिल्दोजुल्दो नै छ, त्यसैले उनलाई मेरी छोरी कन्यादान गरिदिने कुरा मेरो मनमा मँडारिंदै छ । कसमार्फत म यो सन्देश पठाउँ भनी चिन्तित थिएँ । संयोगले तपाईंसँग भेट भयो । चन्द्रधरलाई मेरो यो सन्देश पुर्याई उनीहरूको के प्रतिक्रिया हुन्छ ? त्यसको जानकारी कसै गरी मलाई पठाउने व्यवस्था गरिदिनुहुन म तपाईंसमक्ष आग्रह गर्दछु ।’ ती आफन्तले साधुचन्द्रको आग्रहलाई स्वीकार गरे ।

चन्द्रधरलाई साधुचन्द्रको प्रस्ताव मनपर्यो, सन्देश पाउना साथ उसले पनि तिनै आफन्तमार्फल पुत्र लक्ष्मीचन्द्रको जन्मकुण्डली उज्जयिनी पठाइदियो । कुण्डली पाएपछि आफ्ना कुलपुरोहितलाई डाकी दुबै वर र कन्याको जीवन, भाग्य र भविष्यको विवेचना गरियो । पुरोहितले निष्कर्ष सुनाउँदै भने – वर र कन्याको कुण्डली निकै मिल्दोजुल्दो छ, जोडी राम्रै हुनेछ, तर चन्द्रधरको पुत्रको कुण्डलीमा कुलको दोष देखिन्छ, उसका घरमा नागको बाधा छ । यस बालकको विवाहपछिको पहिलो रातमा नै सर्पको डँसाइबाट मृत्यु हुने सम्भावना छ । पिता र पुरोहितका बीचमा भएको कुराकानी विगुलाले पनि सुनिरहेकी थिई । उसको मनमा जसप्रति अनुराग जागेको छ, उसैलाई विवाह गरिदिने कुराकानी भइरहँदा ऊ निकै उत्साहित भएकी थिई । तर ब्राह्मणका पछिल्ला वाक्य सुन्दा निराशा भयो । उसले ब्राह्मणलाई नम्र स्वरले प्रश्न पनि गरी – गुरुजी ! मेरो कुण्डलीमा विधवा हुने योग छ कि छैन ? । ब्राह्मणले कन्यातर्फ हेर्दै उत्तर दिए – बालिके ! तिम्रो कुण्डलीमा त अखण्ड सौभाग्यवती योग छ, तर यस केटाको अल्पायुष्य योग भएकाले तिम्रो यस केटासित विवाह सम्भव छैन ।

चिना हेरेको धेरै दिनसम्म साधुचन्द्रले कुनै जवाफ नपठाएपछि चन्द्रधरले पुनः जिज्ञासा राख्दै उज्जयिनीमा अर्को सन्देश पठायो । चन्द्रधरको जिज्ञासाको उत्तर कसरी दिने भन्ने दुविधामा पर्यो, साधुचन्द्र । केही दिनदेखि बाबु चिन्ताग्रस्त रहेको देखेपछि विगुलाले बावुसित चिन्तित हुनुपर्ने कारणका बारेमा सोधी । बावुले आफ्नो चिन्ताको विषय के हो ? स्पष्टसँग छोरीसमक्ष राख्यो । बावुका कुरा सुनेपछि विगुलाले भनी – ‘पिताजी, कसैको भाग्य र जीवन ब्राह्मणले निर्धारण गर्दैनन्, यसको नियन्त्रण र सञ्चालनको सामर्थ्य त महाकाल शिवको इच्छामा हुन्छ । हामीले सधैं सत्कर्म र सदाचार गरेका छौं, कुटुम्ब र वर पनि हाम्रो अनुकूल छन् । अनि गुरुबाले मेरो अखण्ड सौभाग्य छ भनेर पनि भन्नु भएको छ । त्यसैले कुनै चिन्ता नगरी हजुरले मेरो विवाहको निर्णय गरे हुन्छ । मेरो नियति नै दुःख पाउने गरी तोकिएको रहेछ भने अन्तै विवाह गरे पनि त मैले त्यो भोग्नै पर्दछ ।’ छोरीका यस्ता प्रौढ कुरा सुनेपछि उसले विवाहको टुङ्गो गरेको सन्देशका साथमा चन्द्रधरलाई खबर पठायो ।

केही समयपछि उचित मुहूर्तमा विगुला र चन्द्रधरको विवाह सम्पन्न भयो । बेउलीका रूपमा चम्पा नगरीमा विगुलाको भव्य स्वागत गरियो । उज्जयिनीका पुरोहितले विवाहको पहिलो रातमा सर्पबाधा हुन्छ भन्ने कुरा गरेको विगुलाका घर र माइती दुबै पक्षलाई थाहा थियो । त्यसैले नववरबधूको मधुरात्रीका लागि शयनकक्ष र कोठाको व्यवस्था हुँदै थियो । शयनकक्ष निर्माण गर्दा सर्प त के बाहिरको हावा पनि नपस्ने गरी सचेतताका साथमा मजबुतीका साथमा गरिन लागिएको थियो । सहरका नामी वैद्य र झारफुक गर्ने तान्त्रिकहरूलाई पनि त्यस रात त्यहीं बस्ने व्यवस्था मिलाइएको थियो । दुबै पतिपत्नी शयनकक्षमा प्रवेश गरे । उनीहरूलाई व्यवस्थापन पक्षको सम्पूर्ण जानकारी थियो, त्यसैले कुनै किसिमको डर, भय वा त्रास थिएन । लामो समयसम्म प्रणयालाप गर्दै ती निदाए । भोलिपल्ट नवविवाहिता बधू विगुला ब्युँझदा उसको पति लक्ष्मीचन्द्र मरिसकेको थियो । सर्पले टोकेको स्पष्ट झल्को आउने गरी उसको लास नीलोकालो भइसकेको थियो । वास्तवमा नागमाता मनसादेवीले बेउलाकी आमाको रूप धारण गरी कालीगढलाई हावा नछिर्ने कोठा बनाउनु हुँदैन, एउटा सानो प्वाल राखिदिनु भनी अह्राएकी थिईन्, यो कुरो कसैलाई थाहा थिएन, त्यसै प्वालबाट मनसादेवीको आदेशमा नागराज वासुकीले प्रवेश गरी लक्ष्मीचन्द्रलाई डसेकाले उसको मृत्यु भएको थियो ।

लक्ष्मीचन्द्रको मृत्यु भएपछि सारा घर र नगरमा हल्लखल्ल भयो । विवाहको उत्सवमा रमाई रहेका सारा जन एकाएक शोक र मूर्च्छामा परिणत भए, वातावरणमा रोदन र विलापको कोलाहल व्याप्त भयो । सर्पदंशबाट मृत्यु भएका व्यक्तिको दाह संस्कार गर्नु हुँदैन भन्ने शास्त्रीय मान्यता छ, त्यसरी मरेका व्यक्तिलाई जलप्रवाहमा विसर्जन गरी सद्गत गर्नु पर्दछ । लक्ष्मीचन्द्रको शवलाई पनि चम्पा नगरीको नजिकै रहेको धनश्री नदीको तटमा लगियो । परिवारका सबै सदस्यका साथमा सारा नगरवासी मलामीका रूपमा नदीका तटमा आए । केराको थामको प्रयोग गरी एउटा चिता बनाइयो । लक्ष्मीचन्द्रको मृतदेहलाई रामनामी गुताई उक्त चितामा राखियो । विवाहको पहिलो रातमा नै विधवा बन्न पुगेकी विगुला विलाप गर्दै त्यसै चिताका छेउमा बसी । सारा नगरवासीले उसलाई त्यसो नगर्न आग्रह गरे । तर ऊ मान्दै मानिन । पतिसितै आफू पनि सती हुने भनी उसले पतिको लासलाई आलिङ्गन गरिरही । कसैको केही नलागेपछि विगुला र उसको मृत पतिलाई त्यही केराको थाम प्रयोग गरी बनाइएको डुँगाजस्तो नाउमा राखी नदीको पानीमा हुत्याइदिए ।

विगुलाले त्यस समयमा विवाहमा लगाएका पहिरन नै लगाएकी थिई । उसको निधारमा रातो सिन्दूर जताततै लत्पतिएको देखिन्थ्यो । नदीको प्रवाहमा बग्दाबग्दै विगुला र उसको मृत पति चढेको त्यो डुँगा समुद्रमा पुग्यो । धेरै दिन बितिसकेको थियो । यस अवधिमा उसले केही पनि खान पिउन पाएकी थिईन । लासबाट दुर्गन्ध आउन थालेको थियो । औंसा परेकाले शरीरको मासु गलेर झर्न थालिसकेको थियो । केवल कङ्कालमात्र शेष थियो । कङ्कालमात्र बाँकी भए पनि विगुलाले आफ्ना पतिलाई निरन्तर अँगालोमा लिएर एक भक्तिले भगवान् महाकाल शिवको नामोच्चारण गरिरहेकी थिई ।

यसरी विगुलाको एकभक्ति र पातिव्रत्यबाट भगवान् शिव प्रसन्न हुनुभयो । उहाँले नागमाता मनसादेवीलाई बोलाएर आदेश दिनुभयो – ‘मनसे ! जाऊ लक्ष्मीचन्द्रको शरीरमा रहेको सर्पविषको शोषण गरेर आऊ । विगुलाले जुन दिनदेखि केही नखाई उपवास गरेकी थिई, त्यो दिन बुध प्रदोषको दिन थियो । उसको एक पक्ष (पन्ध्र दिन) सम्मको निरन्तरको उपवासले कैलाशमा रहेको समस्त पुण्य उसको शरीरमा समाहित भएको छ । अब वैधव्य दोषमात्र होइन, उसले कुनै किसिमका सांसारिक बाधालाई व्यहोर्नु पर्दैन ।’ मनसादेवीले भगवान् शिवलाई नम्र भई बिन्ती गरिन् – ‘हे देवाधिदेव महादेव ! पूर्वजन्ममा यसका पिता चन्द्रधरले मेरा सन्तति नागहरूलाई एक्काईस पटक मारेको थियो । त्यसैको बदला लिन मैले यस जन्ममा उसका कुलका एक्काईस जना व्यक्तिलाई डँसेर मार्ने योजना बनाएकी छु । मैले उसको विष शोषण गरें भने मेरो सङ्कल्प भङ्ग हुन्छ । त्यसैले मैले प्रभुको आज्ञालाई पालना गर्न सक्दिन ।’ फेरि शिवले मनसादेवीलाई सम्झाउँदै भन्नुभयो – ‘हे नागमाते ! मैले यी सबै कुरा थाहा पाएको छु । मेरो प्रियतम प्रदोष व्रतको ठूलो महिमा छ । अझ बुधबारका दिन परेको यस व्रतको प्रभावले सर्पबाधा र सर्पदोषजन्य समस्त दोषहरू नाश हुन्छन् । यदि कसैले बुधबारका दिन परेको प्रदोषको समयमा जानेर वा अन्जानमैं व्रत बस्यो भने उसको मात्र होइन, उसका कुलका सातपुस्ता, मावली कुलका सात पुस्ता र ससुराली कुलका सात पुस्ताभित्रका समस्त पापराशि र दोषको शमन हुन्छ । विगुलाले अहिले जुन उपवास गरेकी छ, त्यसको प्रभावले चन्द्रधरका पूर्वजन्मका समस्त सर्पबाधा नष्ट भएका छन् । त्यसैले तिमीले उसको विषदोहन गरेमा तिम्रो सङ्कल्पमा विघ्न भएको ठहरिने छैन ।’

शिवाज्ञालाई शिरोधार्य गरी मनसादेवी विगुला पुगेको समुद्रको तटमा धोबिनीको रूप धारण गरी उपस्थित भईन् । उनको अनुहारमा देदीप्यमान तेज थियो । उनले विगुलालाई भनिन् – ‘बालिके ! तिम्रो निष्ठा र भक्तिका कारण भगवान् भोलेशङ्कर प्रसन्न हुनु भएको छ । नाउ किनारामा ल्याऊ र त्यो लाश मलाई देऊ, म तिम्रो पति जीवित तुल्याइदिन्छु, तिमी शिव नामोच्चारण गर्दै नृत्य गर ।’ विगुलाले पन्ध्र दिनदेखि केही पनि खाएकी थिइन, उसको मनमा केवल पतिको स्मृतिमात्र बाँकी थियो । पतिका लागि उसले जेजस्तो पनि गर्न सक्थी, त्यसैले पतिलाई सम्झँदै शिवशिव भन्दै नृत्य गर्न थाली । पतिको स्मृतिमा उन्मत्त भई नाचिरहेकी विगुलालाई आकाशबाट सारा देवता, नाग, यक्ष र गन्धर्वहरूले हेरिरहेका थिए । समस्त देव समुदाय द्रवित भयो । मनसादेवीको हृदय पनि रसायो । विगुला नाच्न थालेपछि मनसादेवीले लक्ष्मीचन्द्रको शरीरको विषलाई शोषण गरिन् । लक्ष्मीचन्द्र निदाएर उठे झैं ब्युँझियो, यसरी विगुलाको अखण्ड पतिभक्ति, शिवोपासना र बुधप्रदोषको प्रभावले उसको जीवनले मुस्कुराउने मौका पायो । प्राप्तिको यो पराकाष्ठा बाल्यावस्थादेखि नै महाकाल शिवको भक्तिको प्रेरणा र बुधप्रदोष व्रतको प्रतिफलबाट प्राप्त भएको थियो । स्कन्दपुराणमा स्पष्टसँग उल्लेख गरिएको छ, जो भक्तजनले बुधबार परेको प्रदोषव्रतबाट थालनी गरी प्रत्येक प्रदोष व्रतको उपवास गर्दछ र प्रदोष परेको दिन शिवपूजा गरी मध्याह्न कालमा एकाग्र चित्तले प्रदोष व्रतको कथा श्रवण गर्दछ, त्यसले सय जन्मसम्म कहिल्यै पनि दरिद्रताको दर्शन गर्नु पर्दैन, नागनागिनी, डाकिनीशाकिनी, भूतप्रेत आदिको बाधा हुँदैन । जीवनभरि सुखसुविधा र धनधान्यले भरिपूर्ण रही अन्त्यमा शिवसान्निध्य प्राप्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!