ताजा सामाग्री

इच्छाइएको सन्तान कसरी ?

No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

देवताहरूकी आमा अदिति र दैत्यहरूकी आमा दिति एउटै लाम्टो चुसेका दिदीबहिनी हुन् । देवता र दैत्यका पिता प्रजापति कश्यप ऋषि नै थिए, तथापि देवता र दैत्यको स्वभाव एकदम फरक थियो । शास्त्रमा सन्तानप्राप्तिका लागि गरिने यज्ञलाई गर्भाधान संस्कार भनिएको छ । यस यज्ञको आहुतिका साथमा पति/पत्नीको शारीरिक मिलन गरी गर्भाधान गर्ने विधान छ । यस प्रक्रियालाई कश्यपकी माहिली पत्नी अदिति स्वीकार गर्दथिन् र पतिको मनसायबमोजिम सम्भोगका शास्त्रीय विधानलाई पालना गरी शारीरिक सम्पर्क गर्दथिन् । तर दिति यो प्रक्रियालाई एउटा झन्झटिलो प्रक्रिया मान्दथिन् र यस विधानप्रति द्वेषभाव राख्दै मैथुन शारीरिक तुष्टि र आनन्द प्राप्तिको एउटा साधन हो भन्नेमात्र ठान्दथिन् । यस आलेखमा जुन कथाप्रसङ्गको उल्लेख गरिंदैछ, त्यो एउटा कथा वा आख्यानमात्र होइन, प्रत्येक गार्हस्थ्य जीवनको सुख र आनन्दका निमित्त एउटा रहस्य वहन गरेको छ, यस कथाप्रसङ्गले । सन्तानोत्पादन गार्हस्थ्य जीवनको एउटा सुन्दर र अनिवार्य पक्ष हो अनि सन्तानोत्पादन नैसर्गिक प्रक्रिया पनि हो । यद्यपि सन्तानोत्पादनका निमित्त गरिने सहवासको समयमा पतिपत्नीको मनमस्तिष्क र आवेगसंवेगको प्रत्यक्ष प्रभाव भावी सन्ततिको जीवन र चरित्रमा पर्ने गर्दछ । हामीले बुझ्नुपर्दछ, वासना र आनन्दका निमित्त गरिएको यौनिक क्रियाकलापको परिणाम त्यस्तै हुन्छ, जुन दितिका पुत्रद्वय हिरण्याक्ष र हिरण्यकशिपुले ब्यहोर्नु परेको थियो । भागवतको कथाप्रसङ्गअनुसार दितिले सन्ध्योपासनामा बसेका पति कश्यपलाई बलपूर्वक सम्भोगका लागि बाध्य बनाएकी थिईन् । त्यसैको दुष्परिणामका रूपमा हिरण्याक्ष र हिरण्यकशिपुको जन्म भएको थियो । आउनुहोस्, चिन्तन र मनन गरौं, उक्त कथाप्रसङ्गलाई । कामभावनाले पीडित भएकी दितिले त्यस्तो के अनर्थ गरिन् ? प्रदोषकालमा किन सम्भोग गर्नु हुँदैन ? अनुचित सम्भोगका क्रममा गर्भ रहन गयो भने कस्ता सन्तति जन्मन्छन् ? आदि प्रसङ्गको सटीक उत्तर छ, यस कथामा ।

ब्रह्माका मानसपुत्र मरिचि र कर्दम ऋषिकी पुत्री कलाका पुत्र थिए – महर्षि कश्यप । दक्ष प्रजापतिका ६० बहिनी छोरीहरूमध्ये यिनले १३ वटीसित एकै पटक विवाह गरेका थिए । कश्यप ऋषिका यिनै पत्नीबाट संसारका यावत् जीवजन्तु र मनुष्यादिको जन्म भएको थियो । एक दिन बेलुकाको समयमा प्रजापति कश्यप सन्ध्योपासनाको तैयारी गर्दैथिए । ठिक्क त्यत्ति नै खेर कामावेशले उन्मत्त भई उनकी जेठी पत्नी दिति सम्भोगको इच्छाले यज्ञशालामा पुगीन् । दितिले पति कश्यपसित आग्रह गरिन् – हजुरकी पत्नीको भूमिकामा रहेका मेरा अरु दिदीबहिनीले मातृत्वसुखको पूर्ण आनन्द लिई रहेका छन्, तर म अहिलेसम्म बाँझी नै छु, त्यसैले मलाई पनि सन्तानसुख प्रदान गर्नुहवस् । पतिधर्मको पालना गर्दै अहिल्यै यत्ति नै वेला मसँग सहवास गर्नुहवस् । पत्नीका कामोन्मत्त कुरा सुनेर शान्तमुद्रामा ऋषिले उत्तर दिए – हे कामिनी ! म तिम्रो इच्छा अवश्य पूर्ण गर्नेछु, किनभने तिमी पनि मेरी सहधर्मिणी हौ । पत्नी जीवनसाथीमात्र होइन, मोक्षकी सँगिनी पनि हुने गर्दछिन्, जुन अधिकार तिमीले मेरी पत्नी भएकी हुँदा स्वतः प्राप्त गरेकी छ्यौ । तर अहिले म नित्यकर्मअन्तर्गत सन्ध्यावन्दन गर्दैछु । त्यसैले केही समय प्रतीक्षा गर । दिति दक्षप्रजापतिकी छोरी हुन्, शिवाङ्गी सतिदेवीकी बहिनी । उनी पनि शास्त्रीय विषयकी पूर्ण ज्ञाता थिईन्, तर कामवाणले ग्रस्त भएकी हुनाले उनले आफूले प्राप्त गरेको ज्ञानलाई कुतर्कका माध्यमले उपयोग गर्ने मनसाय बनाएकी थिईन् । उनले कश्यपलाई पुनः भनिन् – हे पतिदेव ! विवाहका समयमा मेरा पितालाई आफ्ना पत्नीहरूलाई प्रसन्न तुल्याउन ब्रह्माण्डका जेजस्तो वस्तु भए पनि आफ्नो सामर्थ्यले भ्याएसम्म तुरुन्त प्रदान गरेर सन्तुष्ट तुल्याउने छु भनेर हजुरले वाचा गर्नुभएको थियो । त्यसैले तपाईंले अहिले प्रतीक्षा गर्ने आदेश दिएर आफैंले गरेको वाचालाई उल्लङ्घन गर्दै हुनुहुन्छ । कश्यपले दितिका कुरा सुनी त्यसलाई मनन गर्दै सम्झाउने प्रयत्न गरे – प्रिये ! मलाई सारा वाचा र प्रतिज्ञाको सम्झना छ, अनि प्रजापति दक्षलाई प्रदान गरेको वचन भङ्ग भएवापत मलाई प्राप्त हुने पापको समेत ज्ञान छ । अहिले म आफ्नो वचनबाट विमुख हुन खोजेको होइन, कर्तव्यपालनाका लागि केवल केही समय प्रतीक्षा गर्न तिमीलाई आग्रहमात्र गरेको हो । दिति वाचाल थिईन्, पतिका कुरा भुइँमा खस्न नपाउँदै उनले प्रतिप्रश्न गरिहालिन् – हे प्राणनाथ ! हजुरले मलाई कि त तर्कद्वारा सन्तुष्ट तुल्याउनुस् कि मेरो यौनचाहनालाई मत्थर तुल्याउनु हवस् । कश्यपले फेरि पनि सम्झाउने प्रयत्न गरे – जीवनभरिको पुण्यलाई प्रदान गरेर पनि कुनै पति अर्धाङ्गिनी ऋणबाट मुक्त हुन सक्दैन । मोक्षप्राप्तिका लागि इन्द्रियहरूलाई नियन्त्रणमा लिनु आवश्यक छ र यो नियन्त्रणमा पत्नीको सहयोग नभए ऊ सफल हुन सक्दैन । सन्ध्याकालमा भूत, प्रेत, पिशाच, डाकिनी, शाकिनी आदि आफ्ना गणका साथमा शिवजीले विचरण गर्नुहुन्छ । उहाँलाई अरु जीवले देख्न सक्दैनन्, तर उहाँ सबैलाई देख्न सक्नुहुन्छ । महादेवलाई अप्रसन्न बनाउने दुःसाहस स्वयं विष्णु र ब्रह्माले पनि गर्न सक्दैनन् । त्यसैले यस्तो समयमा लोकाचारको ख्याल राखी मलाई संसर्गका लागि बाध्य नबनाऊ । यो समय सम्भोगका लागि उचित वेला होइन । त्यतिवेला दितिको दिमागमा केवल दुईवटा कुत्सित इच्छा मँडारिरहेका थिए – एउटा कामवेग र अर्को आफ्नी बहिनी अनि सौता अदितिभन्दा श्रेष्ठ र बलशाली सन्तानोत्पत्ति । कश्यप ऋषि पुनः सम्झाउन थाले – हे वामाङ्गी ! तिमी प्रजापति दक्षकी सुपुत्री हौ, समस्त सद्गुणले युक्त छ्यौ । तिम्रा लागि दुर्लभ कुनै वस्तु पनि छैन । म तिमीलाई कसरी सर्वश्रेष्ठ सन्तान उत्पन्न गर्ने भन्ने बारेमा बताउन सक्छु । तिमीले याद राख्नुपर्छ, वासना र द्वेषयुक्त भावना सञ्चरण हुँदा मैथुन गर्यो भने त्यसबाट उत्पन्न हुने सन्तान लोकनिन्दाको कारक बन्ने गर्दछन् । यसरी कश्यप र दितिका बीचमा लामोसमयसम्म तर्कवितर्क चलिरह्यो । न ऋषिले नियमित सन्ध्योपासन नै गर्न पाए न दितिको कामवेगलाई तर्कका माध्यमले शान्त तुल्याउन सके । पत्नीको हठका सामु आजसम्म कुन पुरुष टिक्न सकेको छ र ? अन्ततः चाहना नहुँदा नहुँदै कश्यपले सन्ध्याकालमा नै दितिसँग सहवास गर्नै पर्यो । बाध्यतामा परेर कुकर्म गर्नुपर्यो भनेर कश्यपले पछुतो मान्नु त स्वाभाविकै थियो, यौनआवेगमा शान्ति भएपछि सन्ध्याकालमा सहवास गरेको विषयमा दितिलाई पनि पछुतो भयो । कामको प्रबल आवेग मस्तिष्कबाट बाहिरिएपछि पछुतो माने पनि अब हुने परिणाम उनले भोग्नु नै पर्ने थियो । अब वेलामा बुद्धि नआएपछि उनी के नै गर्न सक्थिन् र ? यद्यपि उनले आफ्ना पति कश्यप र देवाधिदेव भगवान् महादेवसँग पटकपटक क्षमा याचना गरिन् । ऋषि कश्यपलाई पहिलेदेखि नै रिस उठीरहेको थियो, अहिले क्षमाका लागि दिति गिडगिडाउन थालेपछि उनको रिसको पारो अझ उचालियो । उनले उल्टै दितिलाई श्राप दिंदै भने – तिमीले मेरो, भगवान् महादेवको र रीति, कुलधर्म एवं संस्कार समस्त मर्यादाको अपहेलना गरेकी छ्यौ । त्यसैले तिम्रो कोखबाट उत्पन्न हुने सन्तानहरू असुर हुनेछन् । तिनले संसारलाई पीडा प्रदान गर्नेछन् । तिनका कुकृत्य र कुकर्मका कारण मनुष्य, यक्ष, गन्धर्व र देवगण तथा स्त्रीपुरुष सबै सन्त्रस्त हुनेछन् । तिमीले जन्माएका सन्तानले वैदिक र सांसारिक मर्यादाको सम्मान गर्न सक्ने छैनन् । पतिको मुखबाट आफूले जन्माउने सन्तानको चरित्र श्रवण गरेर दिति विलाप गर्न थालिन् । उनी अब बारम्बार पति कश्यप र त्रिदेव (ब्रह्मा, विष्णु र महेश) सँग अनेक तरहले क्षमायाचना गर्न थालिन् । कश्यपको रिसको पारो पनि पत्नीको विलाप सुनेर तल झर्न थाल्यो । अनि उनले भने – विलाप नगर प्रिये ! मैले लाख प्रयत्न गर्दा पनि अघि तिमीले मानिनौ र कुत्सित पापकर्ममा मलाई पनि सहभागी तुल्यायौ । तर अहिले तिमीलाई पछुतो भएको छ । त्यसैले तिम्रा सन्तानको संहार यक्ष, गन्धर्व, राक्षस, मनुष्य वा देवता कसैले पनि गर्न सक्ने छैनन् । स्वयं नारायणले मात्र तिनीहरूको संहार गर्नुहुनेछ । पतिका यी कुरा सुनेपछि बल्ल दितिको मन शान्त भयो । उनले भनिन् – मेरा निमित्त यही सान्त्वना काफी छ, मेरा सन्तति कुनै पुण्यात्माको श्राप र वचनका आधारमा नाश हुने रैनछन्, कम से कम भगवान् नारायणका हातबाट मारिएर मोक्ष त प्राप्त गर्ने रैछन् । दितिको यो वचन सुनेपछि कश्यप प्रसन्न भए र उनलाई वरदान दिंदै भने – दिति ! अन्तिममा भएपनि तिमीमा चेतना फर्किएको पाएँ, त्यसैले तिम्रा सन्तान भगवान् नारायणसँग द्वेषभाव राख्ने र विद्रोही स्वभावका उत्पन्न भए पनि तिम्रो एउटा नाति भगवान् नारायणको अनन्य भक्त हुनेछ । ऊ नारायणलाई पनि उत्तिकै प्रिय हुनेछ । उसले पुकारा गर्नासाथ स्वयं नारायण प्रकट हुनुहुनेछ र उसका समस्त मनोकामना पूर्ण गर्नुहुनेछ । उसको प्रताप र प्रभाव बहुचर्चित बन्नेछ, उसैका कारण दैत्यकुलको प्रभाव तिम्री बहिनी अदितिका सन्ततिको भन्दा उच्च हुनेछ । स्वभावले नै ऊ धर्मनिष्ठ हुनेछ । यस वरदानलाई प्राप्त गरेपछि दिति अत्यन्त प्रसन्न भईन् । त्यसपछि सन्ध्याकालमा सम्भोग गर्नाले भएको त्रुटिनिवारणका लागि प्रायश्चित्त गर्ने मनसायले कश्यप त्यहाँबाट बाहिरिए ।

  

समय आएपछि दितिको शरीरमा गर्भाधानका लक्षणहरू देखिन थाले ।  उनले पति कश्यपको श्रापलाई सम्झिरहेकी थिईन् त्यसैले गर्भमा रहेका छोराहरूका बारेमा पहिले नै थाहा पाएकी थिईन् । उनलाई जानकारी थियो – यस गर्भबाट जन्मने बालकहरू अत्याचारी हुनेछन्, भगवान् नारायणसित द्वेषभाव राख्नेछन् । त्यसैले उनले आफ्नो योगबलको प्रयोग गरी ती बालकहरूलाई १०० वर्षसम्म गर्भबाट बाहिर आउनै दिईनन् । दितिले बलपूर्वक यसरी गर्भ रोकेका कारणले तीनै लोकमा अनेकानेक उपद्रव र प्राकृतिक प्रकोप हुन थाल्यो । दसै दिशा अन्धकार भयो । पृथ्वीको सन्तुलन बिग्रियो, परिणामस्वरूप जमिन थर्थराउन र काम्न थाल्यो । विभिन्न अपशकुनहरू देखिन थाले । यस अव्यवस्थाबाट सर्वसाधारण प्राणिमात्र होइन, स्वर्गलोकका देवताहरू पनि डराए । उनीहरू रक्षाको गुहार खोज्दै ब्रह्माको शरणमा पुगे । ब्रह्माले यस्तो उपद्रव हुने कारण के हो ? थाहा पाइसकेका थिए । यो कुरो उनले देवताहरूलाई पनि बताए । देवताहरूले यस उपद्रवबाट जोगिने उपायको अवलम्बन गर्न बिन्ती गरे । देवताहरूको अनुरोधलाई मनन गर्दै ब्रह्मा दितिको घरमा पुगे र उनलाई सम्झाई बुझाई फकाए । त्यसपछिमात्र दितिले गर्भमा थुनेर राखेका पुत्रहरूलाई गर्भबाट मुक्त पारिन् । लामो समयसम्म गर्भमैं बन्दी बनेका दितिका दुई भाइ छोरा जन्मिए । तिनको नाम हिरण्याक्ष र हिरण्यकशिपु रहन गयो । हिरण्याक्षको संहार गर्न भगवान् नारायणले वाराह अवतार ग्रहण गर्नुभयो र हिरण्यकशिपुबाट आफ्नो भक्त प्रह्लादको रक्षा गर्न नृसिंह रूप धारण गर्नुभयो ।


हाम्रा शास्त्र र विधानमा सन्तान प्राप्तिलाई पनि एउटा यज्ञको मान्यता छ ।  सन्तान प्राप्तिका निमित्त पतिपत्नीको जुन सम्मिलन हुन्छ, त्यसका निमित्त केही निश्चित नियम पनि बनाइएको छ, यी नियम त्यत्तिकै र लहडका भरमा चलेका होइनन् । हाम्रा अग्रज र ज्ञानमूर्ति ऋषिमुनिले गहन अनुसन्धान र शोधका आधारमा तिनलाई लोककल्याणका उद्देश्यले स्थापना गरेका हुन् । सबैलाई चेतना भया – कामवासनाको पूर्तिको उद्देश्यले मात्र ठहरिएका गर्भबाट उत्पन्न सन्तानमा कुनै न कुनै विकृति हुन्छ । यसरी गर्भ रही हाल्यो भने गर्भपतन गर्नु झन् ठूलो अपराध हुन्छ । गर्भश्राव प्राणिहत्यासरह हो । जानीजानी गर्भश्राव गराउने मातापिताले जीवनकालमा नै त्यसको परिणाम भोग्नुपर्छ । सुखको आकाङ्क्षा राखी गर्भश्राव गराउने मातापिताले बुढ्यौलीमा एकान्तवास र डिप्रेसनको सिकार हुनुपर्छ । मरणकालमा दीर्घरोगको सामना गर्दै सन्तानबाट विछोड भई जीवनयापन गर्नुपर्ने बाध्यता सिर्जना हुन्छ । यो यथार्थ तर अप्रिय परिणाम भोग्नै पर्छ । सुरुमा सुख र आनन्दका लागि जीवहत्या गरी पछि जतिबेला सुख र आनन्दको खाँचो हुन्छ, त्यतिवेला निराश हुनुपर्ने बाध्यता सिर्जना तिनले आफ्नै कारणले गरेका हुन्छन् ।


अब यहाँ केही ज्योतिषीय पक्षको विवेचना गरिन्छ, जसका कारण सन्तान प्राप्तिमा कठिनाइ उत्पन्न हुन्छ :-


जन्मकुण्डलीमा पाँचौं भावलाई सन्तान स्थान भन्ने गरिन्छ । तपार्इंको कुण्डलीको पाँचौं भावमा शुभ ग्रहको उपस्थिति छ वा त्यस घरमा शुभ ग्रहको दृष्टि छ भने उक्त प्रभावका कारण विनाप्रयास स्वस्थ र बुद्धिमान् सन्तान प्राप्त हुने गर्दछन् । तर पञ्चम भावमा दुष्ट, बलहीन, अस्त, बक्री वा नीच राशिमा रहेको ग्रह छ भने दम्पतीका सन्तानप्राप्तिका उपाय निष्फल हुन्छन् । सन्तान भइहाले भने पनि तिनको स्वास्थ्य, शारीरिक विकास र बौद्धिक विकासमा असन्तुलन देखिने सम्भावना हुन्छ । सन्तानका माध्यमबाट अनेकानेक कष्ट र पीडा खेप्दै शोक ब्यहोर्नुपर्ने अवस्था पनि भोग्नु पर्ने हुन्छ ।


पाँचौं भावमा बसेको बलवान् सूर्यले तपार्इंको एउटा पुत्रलाई राज्य र कुलको गौरव बन्ने अनुकूलता प्रदान गर्छ । त्यस्तै चन्द्रमाको प्रभावले तपार्इं द्वितीय क्रममा जन्मेको सन्तानका माध्यमबाट तपार्इंको भाग्योदयको सम्भावना हुन्छ । अनि मङ्गल जति बलवान् भए पनि तपार्इंको पहिलो सन्तान पुत्र छ भने त्यसका माध्यमबाट तपार्इंले शोक ब्यहोर्नु नै पर्दछ । तर त्यसपछि जन्मने सन्ततिको उन्नतिप्रगति उच्चस्तरको हुन्छ । बुध ग्रहले सुन्दर र चलाख सन्तानको लक्षण बताउँदछ भने बृहस्पतिले स्वस्थ र विद्वान् सन्तानको सङ्केत गर्दछ । शुक्र ग्रहको प्रभावले विज्ञ, हँसिला र ज्ञानगरिमाले युक्त सन्तानको सुख प्राप्त हुन्छ, त्यस्तै शनिश्चरले कम्तीमा एउटा बलशाली पुत्र प्रदान गर्दछ । राहु र केतु तपार्इंको कुण्डलीको पाँचौं भावमा स्वतन्त्र बसेका छन् भने महत्त्वाकाङ्क्षी, सुन्दर र धूर्तबुद्धि भएका चलाख सन्तान उत्पन्न हुन्छन् । तर राहु र केतु अन्य ग्रहसँग युतिसम्बन्ध बनाई बसेको अवस्थामा वा सूर्य वा चन्द्रमा राशि वा लग्नको मालिक भई पाँचौं घरमा राहु र केतु स्वतन्त्र नै भए पनि यिनले सन्तान प्रदान गरेको देखिंदैन वा भइहाले भने पनि कन्या सन्ततिको बाहुल्य हुन्छ, अनि भएका सन्तानबाट पनि सन्तानसुखको प्राप्ति हुनसक्दैन । त्यस्तै चन्द्रमा र शनिको युति छ भने सन्तानप्राप्तिमा बाधा हुन्छ । मङ्गल र शनिको युति छ भने सन्तानको दुर्घटनामा परी ज्यान जाने सम्भावना हुन्छ । बृहस्पति र शुक्रको युतिका कारण पुत्र विमुख भई छोरीका घरमा बुढ्यौली बित्ने सम्भावना हुन्छ । पाँचौं भावमा शुभअशुभ जेजस्तो अवस्थिति भए पनि तपार्इंको कुण्डलीमा बृहस्पति ग्रह बलवान् भएन भने पनि सन्तानप्राप्तिमा बाधा हुन्छ । त्यस्तै बृहस्पति बसेको घरबाट पाँचौं भावमा रहेको अशुभ ग्रहको प्रभावबाट पनि सन्तानप्राप्तिमा कठिनाइ हुने वा तिनको उन्नतिप्रगतिमा अनेकानेक कठिनाइ र समस्या आउने देखिन्छ । त्यस्तै पाँचौं भावको पाँचौं भाव अर्थात नवम भावमा पनि अशुभ ग्रहको उपस्थिति छ भने सन्तानबाधा उत्पन्न हुने गर्दछ ।


कुण्डलीमा कुन ग्रहको पीडाबाट आफूले सन्तानको पूर्णसुख नपाएको हो यकिन गर्नु पर्दछ र सन्तानप्राप्तिका लागि योग्य ब्राह्मणको सहयोग लिई अनुष्ठानको आयोजना गर्नुपर्दछ । यहाँ ग्रह र तिनको सामान्य उपायको वर्णन गरिएको छ :-


सूर्य :- सन्तानप्राप्तिमा सूर्य ग्रहको बाधा छ भने माणिक्य रत्न (पाँच क्यारेट) को सुनको औंठी बनाई धारण गर्ने र भगवान् विष्णुसम्बद्ध (हरिवंश, भागवत, विष्णुपुराण आदि) पुराणको आयोजना गरी तल लेखिएको सन्तानगोपालको उपाय अवलम्बन गरेमा पुत्रप्राप्तिको योग बन्न सक्दछ ।


चन्द्रमा :- जन्मकुण्डलीको पाँचौं भावमा चन्द्रमाको प्रभाव कमजोर छ भने प्रत्येक सोमबार वा पूर्णिमाको विधिवत् व्रत लिने, मोती रत्न ४ क्यारेटको चाँदीको औंठी बनाई धारण गर्ने र प्रत्येक वर्ष लघुरुद्राभिषेकको आयोजना गरी तलको सन्तानगोपालको उपाय अवलम्बन गरेमा सन्तानसुखको सम्भावना बन्न सक्छ ।


मङ्गल :- त्यस्तै पाँचौं भावमा मङ्गल ग्रहको बिगार परेको छ भने गणेशजीको व्रत सम्पादन गर्ने, मुगा रत्न ८ क्यारेटको सुनको औंठी बनाई धारण गर्ने र तलको सन्तानगोपालको उपाय अवलम्बन गरेमा बल्ल सन्तान लाभको सम्भावना हुन्छ ।


बुध :- सन्तानस्थानमा बुध ग्रहको प्रभाव कमजोर छ भने माता दुर्गाको उपासना गर्नु पर्दछ । प्रत्येक नवरात्रीमा कम्तीमा चार पटक सम्पुट सहित दुर्गासप्तशतीको पाठ गरी काँसोको पात्र ब्राह्मणलाई दान गर्ने, पन्ना रत्न ६ क्यारेटको सुन वा चाँदीमा औंठी बनाई धारण गरी तलको सन्तानगोपालको उपाय अवलम्बन गरेमा सन्तानलाभको आशा गर्न सकिन्छ ।


बृहस्पति :- पञ्चमभावमा गुरु बृहस्पतिको अशुभ प्रभावले सन्तानप्राप्तिमा कठिनाइ छ भने कुलदेवता, ग्रामदेवता र पैतृक कर्मको सम्पादनमा जोड दिनुपर्दछ । तान्त्रिक विधिअनुसरण गरी धामी, झाँक्री वा कुलधामीको संस्कार लिने परिवार भए तिनको पनि सल्लाहलाई अनुसरण गर्दा बृहस्पति ग्रह खुसी हुने मान्यता छ । त्यसबाहेक कम्तीमा ५ क्यारेटको पुष्पराज रत्न जडान गरी सुनको औंठी बनाई धारण गर्ने र प्रत्येक वर्ष कम्तीमा २१ जना बृद्धबृद्धालाई जम्मा पारी खिर भोजन गराई तलको सन्तानगोपालको उपाय अवलम्बन गरेमा सन्तान प्राप्तिको सम्भावना हुन्छ ।


शुक्र :- शुक्रको दोषले सन्तानको बाधा उत्पन्न भएको छ भने लैनो गाई बाछोसहित ब्राह्मणलाई कम्तीमा तीन पटक दान गर्ने र दुबै दम्पतीको तौलमा नघट्ने गरी घाँस, चारो, चोकर वा दाना लोकल गाई पालनपोषण गर्ने कुनै किसानलाई वा गौशालामा गई दान गर्नु पर्छ । यो कम्तीमा ६ वर्षसम्म लगातार वा आजीवन गरेको जाति हुन्छ र यत्ति गरी तलको लेखिएको सन्तानगोपालको उपाय अवलम्बन गरेमा मात्र सन्तानप्राप्तिको सम्भावना हुन्छ ।


शनिश्चर :- शनिश्चर ग्रहको पीडाबाट सन्तानको प्राप्तिमा कठिनाइ भएको छ भने महामृत्युञ्जय मन्त्रको प्रतिदिन जाप गर्ने, लगातार सातवर्षसम्म वर्षमा एक पटक शनिमृत्युञ्जय स्तोत्रको १०१ आवृत्ति पाठ गराउने र रुद्रीपूजा गरी हवन गर्ने काम गर्नुपर्छ । शनि ग्रहका लागि कम्तीमा ३ क्यारेटको नीलम, निली वा जामुनिया रत्न चाँदीको औंठी बनाई धारण गर्ने तथा तल लेखिएको सन्तानगोपालको उपाय अवलम्बन गरेमा सन्तानसुख भोग्ने अवसर मिल्नेछ ।


राहु र केतु :- राहु र केतुको बाधाबाट सन्तानउत्पत्तिमा बाधा छ भने सन्तानोत्पत्तिको प्रयास गर्नु निरर्थक हुन्छ । सामान्यतया राहु र केतुका लागि क्रमशः शिवजी र मातृशक्तिको उपायको अवलम्बन गर्ने गरिन्छ । राहुका लागि गोमेद मणि र केतुका लागि वैदूर्य मणि धारण गर्ने विधान छ ।


हिजोआज सन्तानोत्पत्तिका यस्ता कतिपय सरल उपाय छन्, जसको प्रयोगबाट असल, सुशिक्षित, स्वस्थ र कर्तव्यनिष्ठ सन्तति प्राप्त गर्न सकिन्छ, जसलाई समयमा नै अवलम्बन गरी तपाईं पनि भावी दिनमा सन्तुष्ट र आनन्दित बन्न सक्नुहुन्छ । सन्तानप्राप्तिमा कठिनाइ छ भने निम्न उपायको अवलम्बन गरी सन्तानबाधालाई हटाउन सकिन्छ :-


१) स्वस्तिशान्ति र जाप :- सर्वप्रथम जुन ग्रहको पीडाका कारण सन्तान प्राप्तिमा कठिनाइ उत्पन्न भएको हो, त्यस ग्रहको माथि बताइएको विधिले यथोपचार शान्ति गर्नुपर्दछ । उुक्त ग्रहको वैदिक मन्त्र, बीज मन्त्र र तान्त्रिक मन्त्रको यथाविधि जाप, हवन कार्य गर्नुपर्दछ । त्यस्तै जुन ग्रहको पीडा छ, उक्त ग्रहअनुकूल हुने गरी रत्न धारण गरी अन्य साधारण उपायको नियमलाई पनि पालना गर्दा राम्रो हुन्छ ।


२) सन्तानगोपाल मन्त्रको जाप :- सन्तानगोपाल मन्त्र आकारले सानो भए पनि यो सन्तानप्राप्तिको महत्त्वपूर्ण सूत्र हो । यस मन्त्रलाई दैनिक निश्चित सङ्ख्यामा जाप गरी एक लाख पच्चीस हज्जारको सङ्ख्या पूर्ण नहुन्जेल जाप गर्नु पर्दछ । भरिसक्य आफैंले जाप गरेको जाति हुन्छ । आफूले गर्दा अशुद्ध हुन्छ वा समयाभाव छ भने ब्राह्मणद्वारा जाप गराउनु पर्दछ । जापको समाप्तिमा हवन र पूर्णाहुति गरिदिनु पर्दछ । यस मन्त्रको जापद्वारा धेरै सन्तानहीन दम्पतीले सुन्दर सन्तति प्राप्त गरेको उदाहरण प्रशस्त भेटिन्छ । मन्त्र यस प्रकार छ :-

ॐ श्रीं ह्रीं क्लीं ग्लौं देवकीसुतं गोविन्द वासुदेव जगत्पते देहि मे तनयं कृष्ण त्वामहं शरणं गतः।


३) सन्तानगोपाल मन्त्रको जापविधि :- दुबै दम्पतीले प्रातःकालमा स्नानादि नित्यकर्मबाट निवृत्त भई मन, वचन र कर्मद्वारा पवित्र भई सुरुमा जाप गर्ने अधिकार प्राप्तिका लागि सङ्कल्प गर्नुपर्दछ । जापको प्रयोजनका लागि तुलसीको मालाको प्रयोग गर्नुपर्दछ । पूजाघर वा देवालयमा बाल्यावस्थाका श्रीकृष्णको प्रतिमा वा मूर्ति राखी पूजा गर्नुपर्दछ । सुरुमा दीप, कलश, गणेशको पूजा गरी षोडशोपचार पद्धतिले पूजा गर्दै उक्त प्रतिमा वा मूर्तिमा चन्दन, अक्षता, फूल, तुलसीपत्र र न्यौनी घिउ (मक्खन) यथाविधि समर्पण गर्नुपर्दछ । पूजाको समापनमा कर्पूरले आरती गरिदिनु पर्दछ । भगवान् श्रीकृष्णको पूजाविधि समाप्त गरिसकेपछि आरती गर्नुअघि सन्तानगोपाल मन्त्रको यथासङ्ख्या जाप गर्नुपर्दछ । सन्तानप्राप्तिका लागि अन्त्यमा पूर्णाहुति र ब्राह्मणको सहयोग लिई पुत्रेष्टि यज्ञ सम्पादन गर्नुपर्दछ ।


४) सन्तानगोपाल यन्त्रको उपयोग :- अहिले पूजाभण्डार वा त्यस्तै कुनै पसलमा सन्तानगोपाल यन्त्र किन्न पाइन्छ । यस यन्त्रलाई किनेर गुरुपुष्य योगका दिन पूजा र प्रतिष्ठा गरी घरमा राखेमा पनि सन्तान प्राप्तिमा सरलता आउँछ । यसरी सन्तानगोपाल यन्त्रको स्थापना र प्राणप्रतिष्ठा गरी सन्तानगोपाल स्तोत्रको पाठ गरेमा कुलीन र सद्गुणले युक्त सन्तानको लाभ हुन्छ । यसरी उत्पन्न भएका सन्तान मातापिताको सेवामा दत्तचित्त रहन्छन् भनी शास्त्रमा उल्लेख गरिएको छ । घरमा सन्तानगोपाल मन्त्रको जाप र पूर्णाहुति गर्न असमर्थ दम्पतीले गुरुपुष्य योगका दिन कुनै गौशालामा सन्तानगोपाल यन्त्रको प्राणप्रतिष्ठा गरी बाछो सहितको गाई दान गरी सन्तानगोपाल स्तोत्रको १०८ आवृत्ति जाप गरेमा पनि उक्त अनुष्ठानको फल प्राप्त गर्दछन् भन्ने मान्यता छ ।


५) नियमको पालना :- हामी आधुनिक युगको सांसारिक जीवन यापन गरिरहेका छौं । दौडधूप र व्यस्तता हाम्रो नियति हो । आफ्नाबारेमा समेत राम्ररी सोच्ने फुर्सद नभएको वर्तमान युगमा दम्पतीलाई सुरुमा सन्तानको चिन्ता नै हुँदैन । समय भड्किएपछि चाहेजस्तो सन्तान नहुँदा अनि धामीझाँक्री, वैद्य, डाक्टर, ज्योतिषी, तान्त्रिक र माताजीकहाँ धाउन थाल्दछौं । यो हाम्रो नियमितता भइसकेको छ । सुरुमा पदप्रतिष्ठा, बन्दव्यापार, धनसम्पत्ति र वैभवका पछि कुद्दछौं, सन्तानका बारेमा त्यसपछिमात्र सोच आउँछ । अब यहाँ सन्तानोत्पादनका लागि यौनसमागम र संसर्ग गर्दा पालना गर्नु पर्ने केही नियमहरूको उल्लेख गरिन्छ :-


क) शास्त्रले गर्भाधानका लागि वर्षमा केवल एक चोटि उचित मूहूर्त र समय निर्क्यौल गरी यौनसंसर्ग गर्ने नियम उल्लेख गरेको छ । अहिले आनन्द र मज्जाको विषय बनेको छ, यौन क्रिया । त्यसैले आनन्द र मोजमज्जाबाट रहन गएको गर्भबाट जन्मिने सन्तान कस्तो हुन्छ, त्यसको भविष्य र चरित्रको आकलन गर्न सकिंदैन ।


ख) महिनाबारी (ऋतुकाल) को सातौं दिनदेखि बीसौं दिनसम्मको समय गर्भाधानका लागि उचित हुन्छ । तर ११ औं र १३ रौं दिनको गर्भ अनिष्ट हुन्छ भन्ने मान्यता छ ।


ग) पुत्रको इच्छाले गर्भाधान गर्ने हो भने ऋतुकालका ८, १०, १२, १४, १६ र १८ औं आदि जोडी दिन उपयुक्त हुन्छ । त्यस्तै पुत्रीको इच्छाले गर्भाधान गर्ने हो भने ऋतुकालको ९, १५, १७, १९ औं आदि विजोडी दिन उपयुक्त हुन्छ । सामान्यतया शुक्लपक्षमा रहेको गर्भबाट सुन्दर, हँसिला, बुद्धिमान् र योग्य छोराछोरी जन्मने सम्भावना हुन्छ । तर कुनैकुनै ग्रन्थमा कृष्णपक्षको गर्भबाट छोरा र शुक्लपक्षको गर्भबाट छोरी जन्मन्छन् भनेर लेखिएको पाइन्छ । त्यस्तै पुत्रप्राप्तिका लागि गणेश, सूर्य वा शिवजीको र पुत्रीप्राप्तिका लागि मातृशक्तिको आराधना गर्दा मनोवाञ्छित सन्तान लाभ हुन्छ भन्ने मान्यता पनि छ । पति वा पत्नीको जन्मकुण्डलीमा सूर्य, मङ्गल, बृहस्पति वा शनिश्चर ग्रह बलवान् भएमा पुत्र जन्मने र चन्द्रमा, बुध, शुक्र, राहु ग्रह वलवान् भएका बेला पुत्री सन्तति जन्मने मान्यता छ । केतुको पालोमा गर्भ रहेमा आमालाई कष्ट हुन्छ । 



घ) रजोदर्शन दिवाकालमा भएको छ भने त्यसै दिनलाई पहिलो दिन मानी गणना गर्नु पर्दछ । रात्रीकालमा महिनाबारी भएको छ भने रातीको समयलाई तीन भाग लगाउने सुरुको दुई भागमा पर्यो भने अघिल्लो दिन एक दिन र पछिल्लो भागमा पर्यो भने पछिल्लो दिन एक दिन भनी गणना गर्ने । निदाएको बेला रजोदर्शन भयो र बिहान बिउँझिएपछि थाहा पाइयो भने पछिल्लो दिनलाई नै पहिलो दिन मान्नु पर्दछ । छोइछिटो बार्ने नियम पनि यही हो । महिनाबारी हुनुअघि सात दिन र महिनाबारी भएको सात दिनसम्म सन्तानेच्छाले यौनक्रियामा संलग्न हुनुहुँदैन । महिनाबारी हुनु अघिपछिको छ वा सात दिनको अवधिलाई स्वास्थ्यविज्ञानले गर्भ नरहने सुरक्षित समय हो भन्ने गर्दछ, तर त्यसवेला पनि गर्भ ठहरिएर सन्तान जन्मेका प्रमाण भेटिन्छन् । तर त्यसरी गर्भ रहन गई जन्मिएका सन्तान लुलालङ्गडा, विक्षिप्त, अपाङ्ग र सुस्त मनस्थितिका हुन्छन् ।


ङ) हस्ता, स्वाति, अश्विनी, मृगशिरा, अनुराधा, धनिष्ठा, ध्रुव संज्ञक नक्षत्रहरू (तीनैवटा उत्तरा र रोहिणी) एवं ज्येष्ठा नक्षत्रमा शुभतिथि र शुभवारका दिन ऋतुमती स्त्रीले कपालसमेत नुहाउनु पर्दछ ।


च) गण्डान्त तिथि (पञ्चमी, दशमी, पूर्णिमा र औंसी), गण्डान्त नक्षत्र (अश्विनी, अश्लेषा, मघा, ज्येष्ठा, मूल र रेवती), गण्डान्त लग्न (मेष, कर्कट, सिंह, बृश्चिक, धनु र मीन) आदिमा गर्भाधानका निमित्त यौनक्रिया गर्नु हुँदैन ।


छ) पूर्णिमा, अमावस्या, प्रतिपदा, अष्टमी, एकादशी, चतुर्दशी, सूर्यग्रहण, चन्द्रग्रहण, जन्माष्टमी, रामनवमी, होली, शिवरात्री, नवरात्री आदि पर्वमा र श्राद्धका दिन यौनकर्म निषिद्ध छ । त्यस्तै प्रदोषकाल (सूर्यास्तपछिको लगभग साढे एक घण्टाको अवधि), क्षयतिथि (तिथि टुटेको दिन) र मासिक धर्म भएको सात दिनसम्म गर्भधारणको कामनाले समागम गर्नु हुँदैन ।


ज) शास्त्रमा उल्लेख भएको मर्यादाको उल्लङ्घन गरी गर्भाधान गर्नु हुँदैन । त्यस्तै नक्षत्रको सन्धिकालमा गर्भाधान गर्नु हुँदैन । मातापिताको मृत्यु तिथि (जुनसुकै पक्षको भए पनि) र आफ्नो पति वा पत्नीको जन्मतिथिमा पनि यौन संसर्ग गर्न निषेध मानिएको छ । दिवाकालमा यौन संसर्ग गर्नु हुँदैन । यसो गरेमा आयु र बुद्धि दुबै पक्षको नाश हुन्छ ।


६) सन्तानप्राप्तिका निमित्त ओछ्यान (शय्या) को नियम :- गर्भाधानलाई शास्त्रमा यज्ञको मान्यता प्रदान गरिएको छ । सन्तानप्राप्तिको कामनासहित गरिने समागममा भोगविलासको भावना होइन यज्ञको भावना राख्नुपर्दछ । पतिपत्नीले समागम गर्नुअघि देवता र कुलपितृको प्रार्थना र आह्वान गर्नुपर्दछ :- 

हे ब्रह्माण्डमा विचरण गरिरहेका सूक्ष्म रूपधारी पवित्र आत्माहरू ! हामी दुबै पति-पत्नी हजुरहरूको प्रार्थना गर्दछौं – हाम्रो घरमा जन्म लिई हामीलाई कृतार्थ तुल्याउनु हवस् । हामी दुबै आफ्नो शरीर, मन, प्राण र बुद्धिलाई हजुरहरूसरह योग्य तुल्याउने छौं ।


यसरी प्रार्थना गरी पहिले पुरुष शय्या (ओछ्यान) मा जाओस् । उसले ओछ्यानमा उक्लँदा आफ्नो दाहिने खुट्टा पहिले राख्नु पर्दछ । त्यसपछि स्त्रीले देब्रे खुट्टा सुरुमा राखी ओछ्यानमा प्रवेश गर्नु पर्दछ । सुतेको अवस्थामा पतिको देब्रे भागमा पत्नी र पत्नीको दाहिने भागमा पतिले सुत्ने गर्नुपर्दछ । पतिपत्नी शयन गर्ने खाट, पलङ्ग वा ओछ्यानको सिराने कि त पूर्व दिशामा कि दक्षिण दिशातर्फ हुनु अनिवार्य छ । यौनक्रियामा सक्रिय हुनुअघि कमसे कम १५ मिनेटजति प्रेमालाप र छेडखानी गर्नु राम्रो मानिन्छ । यस क्रममा यौनपूर्वका क्रियाकलाप चुम्बन, मर्दन आदि गर्नु उपयुक्त हुन्छ । त्यसपछि तल लेखिएको मन्त्रको पाठ गर्नु पर्दछ :-

अहिरसि आयुरसि सर्वतः प्रतिष्ठासि धाता त्वां दधातु विधाता त्वां दधातु ब्रह्मवर्चसा भवेति ब्रह्मा बृहस्पति र्विष्णुः सोम सूर्यस्तथाऽश्विनौ भगोऽथ मित्रावरुणौ वीरं ददतु मे सुतम् 

(हे गर्भ ! तिमी सूर्यसमान तेजस्वी हौ, तिमी मेरो आयु हौ, तिमी सबै किसिमबाट मेरा प्रतिष्ठा हौ, धाता अर्थात् सबैका पोषक ईश्वरले तिम्रो रक्षा गरून् । ब्रह्मा, बृहस्पति, विष्णु, सोम, सूर्य, अश्विनीकुमार र मित्रावरुणले कृपा गरी मेरो गर्भमा ब्रह्मतेजले युक्त एउटा वीर पुत्ररत्न प्रदान गरून् ।)

यौनक्रीडाका क्रममा कुनै किसिमको रिसराग, द्वेष, चिन्ता, शङ्का, किचलोको भावना मनमा दुबै दम्पतीले आउन दिनुहुँदैन । पति वा पत्नी कुनै दीर्घरोगको जोखिममा रहेको अवस्थामा उक्त रोगको प्रकोप सन्तानमा पनि पर्ने सम्भावना हुन्छ, त्यसैले उक्त अवस्थामा सन्तान नजन्माएको नै बेस हुनेछ । समागम गर्नुअघि पतिपत्नी दुबै मानसिक तवरमा स्वस्थ, प्रसन्न र एकअर्काको अनुरागमा आबद्ध हुनुपर्दछ । शारीरिक र मानसिक रूपमा अशुद्ध भएका बेला (जस्तै जुठो, सुतक आदिमा) रहन गएको गर्भबाट जन्मने शिशुमा गर्भावस्थादेखि नै कुनै अशुभ सङ्केत देखिने खतरा हुन्छ । पति वा पत्नीले व्रत लिने गरेको छ भने व्रतको एक दिनअघि र व्रतको दिन पनि सहवास गर्नु शास्त्रसम्मत हुँदैन । डराएको वा आत्तिएको अवस्थामा, भोकप्यास र तिर्खा लागेको बेला र मादक पदार्थ सेवन गरी मातेको बेला यौनसंसर्ग भई जन्मिएका सन्तान अपाङ्ग वा सुस्त मनस्थितिका हुने डर हुन्छ । दुबै सन्ध्याकाल (प्रातः सूर्योदय अघिपछिको एक/एक घण्टाको समय, सायं सूर्यास्त अघिपछिको एक/एक घण्टाभित्रको समय) मा यौन संसर्ग गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!