ताजा सामाग्री

कसरी हुनसक्छ, विवाह ?

No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

विवाह योग्य उमेर भएका केटा र केटीमध्ये कसैकसैको ठिक्क समयमा विवाह भइहाल्छ र उनीहरू जीवनका उन्नतिप्रगतिका अन्य विविध आयामतर्फ पाइला चाल्न थालिहाल्छन्, तर कतिपय योग्य केटा वा केटीको विवाह समयमा हुन सक्दैन । कहिले आफूले योग्य ठहर्याएको वर वा कन्याका साथमा विवाह गर्ने मनस्थिति हुँदा अर्को पक्षले आलटाल गरिरहेको हुन्छ भने कहिले योग्य केटा वा केटीले आफूलाई विवाहको प्रस्ताव गरेको बेला सबै पक्षबाट उपयुक्त वर वा कन्या प्राप्त हुँदा पनि आफ्नो व्यक्तिगत समस्या वा आकांक्षा बाधक बनिदिन्छ र विवाह हुन सक्दैन । यसरी समयमा विवाह नहुनु पनि ज्योतिषीय दृष्टिकोणले असहज परिस्थितिका रूपमा व्याख्या गर्ने गरिन्छ । यस आलेखमा कुनै केटा वा केटीको विवाहमा आउने विघ्न तथा बाधा निवारणका लागि शास्त्रोक्त केही उपायहरूको वर्णन गरिएको छ ।

सुयोग्य पतिप्राप्तिको उपाय :—

यदि कुनै कन्याको विवाहमा कुनै कारणले अनावश्यक विलम्ब हुँदैछ भने कन्या स्वयंले २१ दिनसम्म निम्न मन्त्रलाई प्रतिदिन २१ पटक पाठ गर्नुपर्दछ । पूरै एक्काईस दिन नै पाठ गर्ने समय, स्थान र आसनको निश्चितता हुनु आवश्यक छ, जस्तै सुरुको दिन कुनै कन्याले बिहान ७।०० बजे पूजा कोठामा पूर्व फर्केर १०८ पटक मन्त्रको जाप गरेकी रहिछन् भने पूरै एक्काईस दिन नै बिहान ७।०० बजेकै समयमा उक्त स्थानमा पूर्व फर्केर पाठ गर्नुपर्दछ, स्थान, समय र बसाइ परिवर्तन गर्नु हुँदैन ।

मन्त्र जाप गर्ने विधि :—

दुर्गा यन्त्र

आफ्नो अगाडि भगवती दुर्गाको मूर्ति वा तस्बीर स्थापना गर्नुपर्दछ । पूजास्थलको मध्यभागमा भुइँको पूजा गरी धान ओछ्याउने, धानमाथि टपरीमा चामल राख्ने चामलमाथि एउटा काँसको वा तामाको अम्खोरा वा घडा स्थापना गरी उक्त अम्खोरा वा घडालाई शुद्ध जलले भरि बनाउने, घडाको मुखमा आँप, बर, पीपल, समी र डुमरीको पात राख्ने, त्यसमाथि काँस वा तामाको थाली राखी त्यसमाथि रातो रेशमको कपडाको आसन ओछ्याई कात्यायनी देवीको यन्त्र (दुर्गायन्त्र) स्थापना गर्नुपर्दछ । उक्त यन्त्र पूजाका सरसामाग्री बेच्ने पसलमा किन्न पाइन्छ, अथवा यहाँ चित्रमा देखाइए जसरी आफैंले कुनै रातो कपडामा पहेंलो केसरीले कोरेर बनाउन सकिन्छ । त्यसपछि पूजास्थलको पूर्वोत्तर भागमा एउटा छुट्टै करुवा वा अम्खोरा राखी कलश, पूर्वपट्टिको बीच भागमा दियो र पूर्वतर्फको दक्षिण भागमा गणेश देवताको स्थापना गर्नुपर्दछ । सबैभन्दा पहिले दियो बाली चन्दन, अक्षता र फूलले पूजा गरी प्रार्थना गर्नु पर्दछ । त्यसपछि कलशलाई त्यसरी नै पूजा गरी कलशको जलमा गङ्गा आदि नदी र तीर्थहरूको पूजा गर्नुपर्दछ, त्यस्तै भगवान् गणेशको पूजाआजा गरी आफूले गरेको संकल्पबमोजिमको कार्य आगामी २१ दिन पर्यन्त विधिविधानबमोजिम निर्विघ्न समाप्ति होस् भनी गणेशसँग आशीर्वाद लिनुपर्दछ । यसरी दियो, कलश र गणेशको पूजा गरिसकेपछि वेदीको मध्यभागमा रहेको दुर्गायन्त्रलाई त्यसरी नै पूजा गरी धूपबाती गरी नैवेद्य र अन्य पूजासामाग्री समर्पण गर्नुपर्छ । कलशको थालीमा ब्रह्मा, विष्णु, महेश, प्रजापति, अष्टदिक्पाल, अष्टमातृका, अष्टवसु, कुलदेवता, ग्रामदेवता, गोष्ठदेवता आदिको स्मरण र पूजा गरी मन्त्र जाप प्रारम्भ गर्नुपर्दछ । मन्त्र जाप पूर्ण भएपछि आरती, पुष्पाञ्जली गरिदिनु पर्छ ।

जाप गर्नुपर्ने मन्त्र :-

कात्यायनी महामाये महायोगिन्यधीश्वरि । नन्दगोप सुतम् देवि पतिम् मे कुरुते नमः ॥

एक्काईस दिनसम्म यसै विधिको पालना गरी जाप समाप्त भएपछि बाईसौं दिनका दिन ब्राह्मणको सहयोग लिई अग्निस्थापना विधिले यज्ञ सम्पन्न गरी रुद्राभिषेक र यज्ञाहुति गर्नु पर्दछ । समापनका दिन शुद्ध घिउ र चिनी मिसाएर चरु (जौ, तिल, चामल, फलफूल र सुगन्धित द्रव्य मिसाई बनाइएको हवन सामाग्री) ले दशांश हवन गर्नुपर्दछ । दशांशको अर्थ दश प्रतिशत हो । अर्थात् २१ दिनसम्म १०८ का दरले प्रतिदिन जप गर्दा २२६८ जाप पूर्ण हुन्छ । यसको दश प्रतिशत अर्थात् २२७ पटक हवन गर्नुपर्दछ । हवन गर्दा माथिको मन्त्रका साथमा स्वाहा शब्दको उच्चारण गर्दै हवन गर्नुपर्दछ । पूर्ण श्रद्धा, निष्ठा र विश्वासका साथमा यस कार्यलाई सम्पादन गर्ने कन्याले आद्याशक्ति जगन्माता भगवती कात्यायनीको अनुपम कृपा र आशीर्वाद प्राप्त गरी आफ्नो अनुकूल, सुयोग्य र इच्छित वर प्राप्त गर्दछिन् । यस अनुष्ठानलाई भगवान् श्रीकृष्णकी पट्टरानी रुकमिणीले सर्वप्रथम सम्पादन गरेको प्रसङ्ग भविष्योत्तर पुराणमा उल्लेख गरिएको छ ।

सुयोग्य पत्नीप्राप्तिको उपाय :—

यदि कुनै अविवाहित युवकको कुनै कारणविशेषले विवाहमा विलम्ब र बाधा उत्पन्न भएको छ भने उसले तलका मध्ये कुनै उपायको अवलम्बन गरेमा उसको चाँडै विवाह सम्पन्न हुन्छ, उसले सुन्दर, सुयोग्य र इच्छामुताबिक आचरण गर्ने सुशील कन्या प्राप्त गर्दछ ।

उपाय नं. एक —

पत्नीं मनोरमां देही मनोवृत्तानुसारिणीम् ।। तारिणीं दुर्गसंसार सागरस्य कुलोद्भवाम् ।।

यस भन्ने मन्त्रलाई प्रतिदिन १०८ पटकका दरले २१ दिनसम्म माथि कन्याले सुयोग्य वरप्राप्त गर्न अपनाएको विधिले अनुष्ठान सम्पन्न गरे वा गराएमा उसले सुयोग्य पत्नी प्राप्त गर्दछ ।

उपाय नं. दुई :—

माथि उल्लेख गरिएको मन्त्रको सम्पुटका साथमा आश्विन वा चैत्रको नवरात्रमा प्रत्येक दिन एक आवृत्तिका दरले नौ दिनमा नौ आवृत्ति दुर्गासप्तशती (चण्डी) पाठ आफू स्वयंले वा ब्राह्मणद्वारा गरेगराएमा पनि उसको विवाहमा आएको विलम्ब वा बाधा हट्छ ।

उपाय नं. तीन :—

दुर्गा सप्तशती चण्डीको सुरुमा रहेको अर्गलास्तोत्रको १०८ आवृत्ति पाठ कुनै शक्तिपीठ (गुह्येश्वरी, दन्तकाली, शैलेश्वरी, कामाक्षापीठ, विन्ध्याचल आदि) मा गएर आफैंले वा ब्राह्मणद्वारा गराएमा पनि सुयोग्य र सुशील कन्या प्राप्त हुन्छे । यसरी पाठ गर्दा दुर्गापक्ष वा कृष्णपक्षको अष्टमी/चतुर्दशीमा गर्नुपर्दछ ।

उपाय नं. चार :—

स देवि नित्यं परितप्यमानस्त्वामेव सीतेत्यभिभाषमाणः । धृतव्रतो राजसुतो महात्मा तवैव लाभाय कृतप्रयत्नः॥

बाल्मीकि रामायणको सुन्दरकाण्डको ३६औं सर्गको ४६औं श्लोकमा माथि लेखिएको मन्त्र छ । विवाहको इच्छा भएका कुनै पनि युवकले यस मन्त्रको जाप गरी श्री हनुमान् जीको पूजाआराधना गरेको खण्डमा पनि विवाहमा आएको विघ्न र दाम्पत्य जीवनको असहजता नाश भई सुखद दाम्पत्य जीवन प्रारम्भ गर्न मद्दत मिल्छ । यस मन्त्रलाई कुनै पनि शुक्लपक्षको पहिलो मङ्गलबारका दिनदेखि प्रारम्भ गरी प्रतिदिन बिहान हनुमानको प्रतिमा सामु शुद्ध घिउको वर्तनमा उत्तरतर्फ फर्काई दियो बाली प्रतिदिन १०८ पटक २१ दिनसम्म पाठ गर्नुपर्दछ । प्रत्येक मंगलबारका दिन चमेलीको तेल र सिन्दूर हनुमानको मन्दिरमा वा हनुमानको मन्दिर नजिकै छैन भने शिवजीको मन्दिरमा चढाउनु पर्दछ । २१ दिन पूर्ण भएपछि अग्निस्थापना विधिले यज्ञसम्पादन गरी दशांश हवन गर्नुपर्दछ ।

माथि बताइएका यी विधि प्रामाणिक र अनुभूति प्राप्त साधनाहरू हुन् । त्यसैले यी विधिको पालना गर्दा पूर्ण श्रद्धा, विश्वास, लगनशीलता, सदाचार र ब्रह्मचर्यको पालना गरी पूर्ण गर्नुपर्दछ । अनुष्ठानको अवधिभरि शुद्ध सात्विक र शाकाहारी भोजन गर्नु वाञ्छनीय छ ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!