ताजा सामाग्री

दाम्पत्य कलह र यसको निवारण

दाम्पत्य कलह र यसको निवारण को फोटो
No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

मानिसको पदप्रतिष्ठा, धनधान्य, अभिमान, मिहिनेत, लडाइँझगडा आदि सबै मनोवृत्तिको साररूप भनेको घर र घरायसी सुखका निमित्त हो । सांसारिक विषयसुखको पहिलो खुडकिलो गृहसुख हो र यसको आधारभूत एकाइ हो दाम्पत्यसुख । संस्कृत भाषामा एउटा सूक्ति छ – न गृहं गृहमित्याहु गृहिणी गृहमुच्यते अर्थात् केवल घरमात्र वास्तविक घर होइन, गृहिणीलाई नै घर भन्ने गरिन्छ ।


पुरुष होस् वा स्त्री दुबैका लागि दाम्पत्यसुख अनिवार्य वस्तु बन्न जान्छ, किनकि धनधान्य र वैभवको रङ दाम्पत्यसम्बन्धको चहकबाट मात्र प्रकाशित र आलोकित हुने गर्दछ । घरबाहिरका अनेकानेक झैझमेला र तनावबाट मुक्त हुन व्यक्तिले स्वर्गीय सुखको कल्पना गरेको हुन्छ, अनि त्यो स्वर्गको आभास उसले खुसी र सम्मृद्धियुक्त घरबाट मात्र अनुभूति गर्न पाउँदछ । तर घरभित्र जेजस्ता भौतिक सुखसुविधाका वस्तु जुटाए पनि वा भोगविलासका यावत् सामाग्री थुपारे पनि पतिपत्नीका बीचमा सुसम्बन्ध छैन भने घरलाई अर्को नरक हो भन्दा फरक पर्दैन । आफ्नो प्रारब्ध र पूर्वजन्मको प्रभाव तथा यस जन्मको कर्मका कारण घरमा स्वर्गको सुखको अनुभूति गर्ने भाग्यमानी व्यक्तिको सङ्ख्या साह्रै थोरै छ । जसले घरमा पूर्ण आनन्द र स्वस्थता महसुस गर्न सकेका छैनन्, तिनले अन्य पदप्रतिष्ठा र सम्पत्ति सबै निरर्थक झैं ठान्ने स्थिति बन्दछ र व्यक्तिगत सिर्जनशीलता र निर्मल मस्तिष्कलाई मनोविकार, कुलत र डिप्रेसनको तहसम्म पुर्याउन बाध्य हुनुपर्छ । कतिले घरको वातावरण आफूअनुकूल नहुनाले आत्महत्या गर्नुपरेको घटना हामीले नसुनेको छैन । हेर्दा एक जोडी पतिपत्नीका बीचको कचमच र कलह एउटा सानो समस्या हो जस्तो लाग्दछ, तर त्यसको प्रभाव तिनका बालबच्चा, अभिभावक र छरछिमेकीले समेत प्रत्यक्ष रूपमा ब्यहोर्नु पर्ने हुन्छ । त्यसैले जुनसुकै दम्पतीको कलह वा झैझगडाले पुस्तौंपुस्तासम्म पिरलो बनाउन सक्छ ।


यस आलेखमा दाम्पत्य सुखलाई बढाउन मद्दत पुग्ने केही सामान्य उपायहरूको उल्लेख गरिएको छ, आशा छ दाम्पत्यसुखबाट वञ्चित दम्पतीले लाभ प्राप्त गर्नु हुनेछ ।

१) चिन्ता, शङ्का, कलह र दैनिक झैझगडाबाट मुक्त हुन प्रत्येक दम्पतीले आफूहरू सुत्ने खाट, पलंग वा चारपाइको चार वटै खुट्टामा चाँदीको पत्र मोडेमा राम्रो हुन्छ ।

२) दाम्पत्य सम्बन्धमा एकआपसमा सामञ्जस्यको कमी भएमा त्यस्ता दम्पतीले प्रत्येक शुक्रबारका दिन पति वा पत्नीलाई सुगन्धित पुष्प (फूल) उपहारका रूपमा प्रदान गरेमा एकअर्काप्रतिको विश्वास र निष्ठाभावमा बृद्धि हुनेछ ।

३) यदि पति र पत्नीमा परस्परमा तँ तँ र म म को स्तरमा वाक्युद्ध र झैझगडा नै हुन्छ भने त्यस्ता पति वा पत्नीले प्रत्येक बुधबारका दिन प्रातःकालमा केही समयका निमित्त मौन व्रत धारण गर्नु राम्रो हुन्छ ।

४) शुक्रबारका दिन सेतो रङको मिठाइ ल्याएर जीवनसाथीलाई खुवाएमा दुबै जनाको प्रेमभावमा बृद्धि हुन्छ । त्यस्तै शुक्रबारका दिन कुनै सुगन्धित द्रव्य (सेन्ट, परफ्युम आदि) किनेर पति वा पत्नीलाई उपहार दिएमा समेत दाम्पत्य जीवनमा प्रेमभाव रही रहने बताइन्छ ।

५) शुक्लपक्षको प्रदोषका दिन गुड (सक्खर) को शिवलिङ्ग बनाएर दक्षिणासहित ब्राह्मण वा शिवालयमा लगी दान गर्नाले दाम्पत्यसुखमा बृद्धि हुन्छ ।

६) यदि दाम्पत्य जीवनमा सामञ्जस्य सौहार्दताको अभाव खट्किएको देखिन्छ भने त्यस्ता दम्पतीले प्रत्येक बिहीबारका दिन रामजानकीको मन्दिरमा गई दर्शन र पूजा गर्नुका साथै भक्तजन, भिखारी र ब्राह्मणलाई गुलियो खाद्यसामाग्री प्रसादका रूपमा वितरण गरेमा एकअर्काका भावनामा आकर्षित भइन्छ र घरमा सुखसम्मृद्धिमा बृद्धि हुन्छ ।

७) रिसाहा, घमण्डी, एकोहोरो र उग्र स्वभावकी पत्नी छन् भने त्यस्तो पतिले ससुरालीबाट प्राप्त धनले चाँदी किनेर त्यसमा मोती वा लग्नअनुकूलको कुनै रत्न जडान गरी धारण गरेमा पत्नीको स्वभाव नम्र हुन्छ ।

८) शनिबारका दिन जामुनो (फल) को ११ वटा पात टिपेर दुबै दम्पतीले शयन गर्ने ओछ्यानको सिरानेमुनि राखिदिएमा एकआपसको कलह र झैझडाबाट मुक्ति पाइन्छ र दाम्पत्य प्रेम बढ्न थाल्दछ ।

९) पति कुनै महिलाप्रति आशक्त भएको छ वा घरबाहिर बढी समय यापन गर्छ भने प्रत्येक शुक्रबारका दिन विहानै झिसमिसेमा उठी स्नानादिबाट निवृत्त भई लोकल गाईको बाछीको गहुँत ल्याई पतिले लगाउने लुगाफाटामा छर्किने गर्नाले पतिले घरपरिवारमा समय यापन गर्न थाल्दछ र एकआपसको प्रेमभावनामा बृद्धि हुन्छ ।

१०) घरपरिवारमा सबै किसिमको सुख, सुविधा र वैभव जुटाउनका निमित्त विधिवत् वैभवलक्ष्मीको उपासना गर्नु उपयुक्त हुन्छ ।

यी दाम्पत्यसम्बन्धलाई सुमधुर, प्रेमयुक्त र सुखमय बनाउने केही घरायसी टिप्सहरू हुन् । यीमध्ये सहजताका साथमा पूरा गर्न सकिने कुनै एउटा वा सबै उपाय जुनसुकै दम्पतीले प्रयोग गर्दा राम्रो हुन्छ । यी उपाय अवलम्बन गर्दा गर्दै पनि एकआपसको तनाव अन्त्य हुँदैन भने दुबैको कुण्डली (चिना वा जन्मपत्रिका) लिई ज्योतिषीकहाँ गई दाम्पत्यसुखमा बाधा पुर्याउने ग्रहको स्वस्तिशान्ति गर्नु राम्रो हुन्छ । अस्तु ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!