ताजा सामाग्री

पूर्वीय संस्कारमा विवाह पद्धति

No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

– अच्युतप्रसाद पौडेल ‘चिन्तन’

योग्य सन्तान तयार गरी सिर्जनालाई सञ्चालन गर्ने क्रममा पूर्वीय दर्शनमा विवाह संस्कारलाई निकै महत्त्व ढंगले हेरिने गर्छ  । जीवात्माहरूको उदय ‘पुं’ र ‘प्रकृति’को संयोग हो । असल दाम्पत्यसुख, पतिपत्नीको आदर्श चरित्र, सामाजिक बन्धन, सामाजिक सन्तुलन, सच्चरित्रता आदिबाट नै आदर्शसमाजको निर्माण हुने गर्छ । संसारमा उदय भएका र हुने सबै वस्तु, जीवहरू स्त्री र पुं तत्त्वको संयोगले नै भएका हुन्, हुनेछन् । कतिपय परिवेशमा विवाह भनेको जोडी मिलन हो भनिए पनि पूर्वीय संस्कृति र संस्कारमा जोड मिलनको संयोग मात्र नभएर देवत्व प्राप्ति, मोक्ष प्राप्तिसमेतलाई विवाह संस्कार एउटा असल आधार मानिएको छ । विवाहमण्डपमा अग्निदेव साक्षी रहनु, मन्दिरपरिसरमा देवदेवीलाई साक्षी राख्नु, वैदिक विधिपूर्वक कन्यादान गर्दा सारा ब्रह्माण्डलाई साक्षी राखिनु, ग्रह, गुण, तारा लग्न, बेला, मुहूर्त, घडी, पला, शुभ समय पारी ज्योतिष शास्त्रअनुसारसमेत, वास्तुपद्धतिअनुरुप यज्ञमण्डप निर्माण गरी समाजका सारा व्यक्तिहरूलाई देखाई, सुनाई बाजागाजासहित गरिएको बिहे केवल जोडी मिलन मात्र नभएर एउटा नैतिक र कानूनी बन्धनसमेत भन्ने स्पष्ट हुन्छ । भग, अर्यमा, सूर्य, इन्द्रआदिले दम्पतीजीवन, गृहस्थजीवन सुखमय, शालीन, सभ्य, नैतिक, चारित्रिक, कुशल र योग्य गराई सफल दाम्पत्य जीवन र यसले प्राप्त गर्ने सुख ऐश्वर्यका साथै भविष्यको उज्ज्वल र दैवीगुण सम्पन्न पारेर आफ्नो परिवेश स्थापित गर्नेसमेत वैवाहिक संस्कारबाट आशा गरिन्छ । परमेश्वर शिवको अर्द्धनारीश्वर रुपझैँ दम्पती जोडीलाई अलग अंगको रुपमा नहेरी एउटै पूर्णाङ्गका रुपमा हेर्ने गरिन्छ  । जीवनमा सुख भोगदेखि अन्त्यमा परमात्मा प्राप्तिसम्मलाई मार्गप्रशस्त हुने बिहेसंस्कार, जीवनको थप भारवहन क्षमताको प्रारम्भिक संकेत पनि हो । संस्कृतिमा रहेको षोड्श संस्कारमध्ये विवाहलाई ज्योतिषीय पद्धतिमा समेत हेर्ने गरिए जीवन बढी सुखमय हुने गर्छ । असल दाम्पत्य जीवनबाट मात्र धर्म, अर्थ, काम र मोक्ष अर्थात् जीवनका चार प्रमुख पुरुषार्थ प्राप्ति हुने कुरा मनुस्मृति, वास्तुशास्त्र एवं ज्योतिषशास्त्रले ठोकुवा गरेको छ । हाम्रो समाजमा अहिले पारिवारिक तनाव, कलहदेखि सम्बन्धविच्छेदजस्ता परम्पराले पनि जरो गाड्न थालेको छ । विवाहपूर्व जन्मकुण्डलीको अध्ययन नहुनु अष्टकुट (वर्ण, तारा, योनी, ग्रहमैत्री, गण, भकुट, नाडी आदि) विचार नगरी मांगलिकसमेत दोषका कारण दाम्पत्य जीवन तनावपूर्ण हुन सक्छ । अष्टकुट मिल्दैमा पनि विवाह सफल नभएका र कुण्डलीको सप्तम भावलाई बढी ध्यान दिइनु पर्ने देखिन्छ । विवाहको कारक ग्रह शुक्र एवं वृहस्पतिसमेतलाई ध्यान दिइनुपर्ने तथा अतिरिक्त ग्रहको दृष्टि, ग्रहको स्थिति र अन्तर सम्बन्ध हेरिनुपर्ने हुन्छ । सामान्यतया सप्तम भावमा ग्रहहरू अशुभ रहनाले, सप्तमेश अशुभ ग्रहसँग बस्नु या अशुभग्रहबाट प्रभावित हुनुलाई नराम्रो भन्ने गरिन्छ । ग्रहको बल, अवस्था, स्वभावअनुसार शुभ, अशुभ हुनेहुँदा सम्पूर्णमा तुलनात्मक अध्ययन गरेर त्यसका उपचार पद्धतिलाई अपनाएर बिहे गर्न सकिएमा दाम्पत्य जीवन चिर स्थायी र लक्ष्यउन्मुख हुन्छ । बिहेपछि पनि ज्योतिषीय राय परामर्श रहेमा उपचारात्मक प्रक्रियामा जान सजिलो पर्छ र केही हदसम्म जोखिमहरूलाई न्यून गराउन सकिन्छ । बिहे लक्ष्मीनारायण, उमामहेश्वर, सीताराम, राधेश्याम आदि जोडीजस्तै मांगलिक बनाउन हरतरहले प्रयास गरिएमा विवाह संस्कार थप वैज्ञानिक पनि हुन सक्छ ।  विवाह व्रतबन्ध आदिमा आजभोलि बाहिरी खानपानमा अधिक महत्त्व दिने गरेको र वैदिक विधिले गरिने यज्ञ कार्यमा कम चासो राख्ने गरेको पाइएको छ । हतारमा कार्य सक्ने फुर्सदमा पछुताउने परम्पराले कर्मबाट प्राप्त फल शुभ हुँदैन । शुभमुहूत, लग्न, बेला, सबै समय मिलाएर विवाह कार्य गर्न सके दाम्पत्य जीवन सफल बन्छ । प्रेम, सद्भाव पनि यथेष्ट रुपमा हुन्छ । विवाहमा लोकोक्तिलाई पनि हेरिनु पर्छ  । सगोत्री विवाह, नाताभित्रको विवाह, अनावश्यक भडकिलो खर्चिलो विवाह, शास्त्रनिषेध विवाहले जीवन सफल हुँदैन । कुलपरम्परा, स्थानीय परिवेश, स्थानीय वातावरण, रीतिस्थितिलाई चाहिँ स्वीकार गर्नैपर्छ  ।

साभार :   न्युज् अफ् नेपाल

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!