ताजा सामाग्री

मागी विवाह कि भागी विवाह ?

मागी विवाह कि भागी विवाह ? को फोटो
No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

यौन उमेरमा पुगेका केटा र केटीका बीचमा अनुराग बढ्ना साथ उनीहरूले सँगै मर्ने र सँगै बाँच्ने सपना देख्न थाल्नु र प्रणयसूत्रमा बाँधिएर सुखद दाम्पत्यको तानाबुना रच्नु स्वाभाविक नै मान्नु पर्दछ । यसरी सपनाको उडान भर्नेहरूमध्ये केहीको सपना पूर्ण हुन्छ भने केही बिछोडको आँसु पिएर अलग्गिन बाध्य हुन्छन् । कतिपयले प्रेममा असफल भएपछि आफ्नो क्यारियर र स्टाटस नै बरबादसमेत तुल्याएका हुन्छन् । ज्योतिषीहरू यसो हुनुमा ग्रहयोगको खेल मान्ने गर्दछन् । आजको यस आलेखमा त्यस्ता केही ग्रह योगको विवरण प्रस्तुत गरिन्छ, जसका कारण प्रेम जीवन सफल र असफल बन्ने गर्दछ ।

प्रेम मानव जीवनको त्यो महत्त्वपूर्ण आयाम हो, जुन एउटा दिव्य, अलौकिक, वन्दनीय र आमोदपूर्ण परिस्थिति हो । प्रेमले मनुष्यलाई करुणा, माया, अनुराग र स्नेहको अनुभूति प्रदान गर्ने गर्दछ । त्यो प्रेमको स्वरूप जस्तो पनि हुनसक्दछ, चाहे त्यो भक्त र भगवानका बीचको होस्, आमा र छोरा, प्रेमी र प्रेमिका आदि जोसुकैका माझमा किन स्थापित नहोस् । सबै खाले प्रेमभावमा आआफ्नो छुट्टै वैशिष्ट्यता देखिन्छ । ज्योतिषशास्त्रले ग्रहको दृष्टि र युतिसम्बन्धका कारण प्रेमजीवन सफल हुने र प्राप्तिको पराकाष्ठामा पुग्ने विषयमा चर्चा गरेको छ । ग्रह, नक्षत्र र कालको विवेचना गर्ने पूर्वीय दर्शनको विशिष्ट विधा ज्योतिषशास्त्रमा मनुष्यको जीवनको एउटा आयामको मात्र नभएर त्यसमा भूत, भविष्य र वर्तमानका यावत क्रियाकलाप तथा जीवनचर्या, चरित्र, स्वभाव र पूर्वजन्मदेखि सञ्चित रहेका आर्जित कर्मको फलसमेत समेटिएका गहन सूत्रहरू विद्यमान छन् । त्यसैले तिनै स्त्री वा पुरुषको प्रेम सफल हुन्छ, जुन जोडीको गुण, स्वभाव र ग्रहयोग एकअर्काका परिपूरक हुन्छन् । कुनकुन ग्रहको प्रभावले व्यक्ति पारिवारिक दायराभन्दा टाढा पुग्दछ र गृहत्याग गर्न पनि हिच्किचाउँदैन अनि आफ्नो सबै बन्धन र नातागोतालाई बेवास्ता गरी भागी विवाह गर्ने गर्दछ ? यो विषय पनि ज्योतिषशास्त्रका फलादेशमा वर्णन गरिएको हुन्छ ।

प्रेम विवाह गरी दाम्पत्यबन्धनमा बाँधिएका अधिकांश पतिपत्नीले एकअर्कालाई राम्ररी बुझेका हुन्छन् । तिनीहरूको एकअर्काको रूचि, स्वभाव, मन पर्ने र नपर्ने चिजबीज आदिका बारेमा तिनलाई पूर्ण जानकारी हुन्छ । साँच्चै भन्ने हो भने प्रेमविवाह गर्ने पुरुष र स्त्रीका बीचमा भावना र स्नेहको प्रगाढ सूत्रद्वारा जीवन बाँधिएको हुन्छ । तिनको जीवनमा देखा पर्ने हरेक सुख र दुःखमा हरहमेसा दुबैको सहभागिता रहेको देखिन्छ । तर सबै परिस्थितिमा प्रेमविवाह भएका दम्पतिको यस्तै स्थिति भएको देखिंदैन । आवेशमा आएर विवाह गरिहाले पनि तिनीहरूले सम्बन्धविच्छेद गर्नु पर्ने कठिन समय तुरुन्त आइहाल्ने गर्दछ । संस्कार र पारिवारिक पृष्ठभूमिका कारण कतिको विवाह टुटेको त हुँदैन, तर प्रेमविवाह भएका कारण तिनले जीवनभरि निराशा र अन्धकारमा जीवन छिचोल्नु पर्दछ । सारांशमा के बुझ्नु पर्दछ भने विवाह ग्रहको योगका कारणले हुन्छ र वैवाहिक जीवनमा आउने उतारचढावमा पनि ग्रहको चलखेल हुने गर्दछ, भन्ने गरिन्छ नि – ‘देखेकोले हुँदैन, लेखेको चाहिन्छ’

ज्योतिषशास्त्रमा प्रेम विवाहका बारेमा स्पष्ट सूत्र र व्याख्याको अभाव छ । तर जीवनसाथीका सम्बन्धमा व्यक्तिको कुण्डलीमा उच्च वा नीच फलको वर्णन अधिकांश ज्योतिषग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।

ग्रहको प्रकृतिअनुसार व्यक्तिको जीवन सञ्चालन भएको पाइन्छ । प्रेम सम्बन्ध कायम गराउने ग्रहहरू चन्द्रमा, शुक्र र राहु हुन् । चन्द्रमालाई मनको कारक मान्ने गरिन्छ । चन्द्रमाको प्रभाव भएका व्यक्तिहरू प्रायशः भावुक प्रकृतिका हुन्छन् । यिनको जीवनमा आशा र निराशाले क्षणक्षणमा घच्घच्याइरहेको हुन्छ । शुक्रलाई यौनभावना र विलासिताको कारक ग्रह मानिन्छ । त्यस्तै राहुले उच्छृङ्खल क्रियाकलापमा सहभागिता जनाउँदछ । अतः प्रेमविवाह हुन्छ वा हुँदैन भन्ने जान्नका लागि यी तीनवटा ग्रहको जीवनकुण्डलीको भूमिका र किशोरावस्था र प्रारम्भिक युवावस्थामा यिनको महादशा वा यिनीहरूसँग सम्बद्ध योगिनीको दशावधिको विश्लेषण हुनु आवश्यक मानिन्छ । कुण्डलीका १२ वटा कोठाले व्यक्तिको जीवनका विविध आयामलाई समेटेको पाइन्छ । कुण्डलीको पाँचौं भाव हृदयसित सम्बन्धित हुन्छ । यसै भावबाट विद्या, बुद्धि, सन्तति र प्रेमभावनाको विश्लेषण गरिन्छ । कुण्डलीको सातौं भावले साझेदारी र दाम्पत्य जीवनको प्रतिनिधित्व गर्दछ । आठौं भावलाई आयुगृह मान्ने गरिन्छ । व्यक्तिमा रहेको यौनवासनाको केन्द्र पनि यही घरलाई मान्ने गरिन्छ । अतः प्रेमविवाहका बारेमा निर्क्यौल गर्नुअघि यी भाव र यिनका भावपतिको विश्लेषण गर्नु जरुरी छ । सामान्यतया लग्नकुण्डली, नवमांशक, त्रिंशांशक वा चतुर्थांशक कुण्डलीको मालिक चन्द्रमा, शुक्र वा राहु छ भने प्रेमजीवनप्रति आकर्षण हुन्छ, सूर्य, मङ्गल, बृहस्पति वा शनि छ भने प्रेमविवाहप्रति विकर्षण हुन्छ र बुध वा केतु छ भने प्रेम गर्ने तर सफल नबनाउने धाेकेबाज प्रवृत्ति हुन्छ । यसबाहेक कालसर्प योग र राहु ग्रहको सम्बन्ध प्रेमजीवनमा प्राप्त हुने गर्दछ । कुनै कालसर्प योग भएका केटा वा केटीको त्यस्तै योग भएको केटा वा केटीसित उठबस र साहचर्य हुनासाथ गहिरो अनुराग उत्पन्न हुने गर्दछ । यो अनुराग प्रेममा परिणत विवाह हुँदा कालसर्प योगको दोष कट्टी हुनुका साथै सुखद दाम्पत्यजीवन प्राप्त हुने गर्दछ । त्यस्तै प्रत्येक व्यक्तिको २७ मध्ये कुनै एउटा नक्षत्रमा जन्म भएको हुन्छ । ती नक्षत्रका स्वामी ग्रहको प्रभाव कुनै न कुनै ढंगले व्यक्तिको जीवनमा परेको हुन्छ । तीमध्ये केही नक्षत्र यस्ता छन्, जसमा जन्मलिने जातकको प्रेम अवश्य हुन्छ, तर सफल हुने सम्भावना क्षीण भएको देखिन्छ । ती नक्षत्रमा भरिणी, रोहिणी, आर्द्रा, पूर्वाफाल्गुनी, हस्ता, स्वाती, पूर्वाषाढा, श्रवण, शतभिषा पर्दछन् । यीबाहेक अश्लेषा नक्षत्र त्यस्तो नक्षत्र हो, जसको प्रेमसम्बन्धका कारण किशोर वयमा नै विवाह हुने सम्भावना हुन्छ, तर वैवाहिक जीवन जटिल भएको देखिन्छ । केही नक्षत्रहरू यस्ता छन्, जुन नक्षत्रका जातको प्रायः प्रेमविवाह भएको देखिंदैन, तर भइहालेमा तिनको प्रेमजीवन सफल र उदाहरणीय भएको पाइन्छ । ती नक्षत्रमा कृतिका, मृगशीरा, पुनर्वसु, तिष्य, उत्तराफाल्गुनी, चित्रा, विशाखा, अनुराधा, उत्तराषाढा, धनिष्ठा, पूर्वाभाद्रा र उत्तराभाद्रा पर्दछन् । त्यस्तै ज्येष्ठा र रेवती नक्षत्रमा जन्मिएका जातक प्रेम र स्वार्थका बीचमा सङ्घर्ष गर्ने स्वभाव हुन्छ । अतः प्रेमबन्धनमा बाँधिए पनि यिनीहरू आफ्नै कारणले त्यसबाट पन्छन चाहने प्रवृत्तिका हुन्छन् ।

तल प्रेम जीवन सफल वा विफल के हुने हो ? केही ज्योतिषीय योगको चर्चा गरिएको छ ।

१) सातौं भावमा बसेको ग्रह कमजोर छ, नीच छ वा षष्ठम, अष्टम वा द्वादश भावमा गएर बसेको छ भने त्यस्ता जातकको प्रेमजीवन असफल हुन्छ । त्यस्तै उक्त भावको मालिक द्वितीय, पञ्चम वा नवम भावमा छ भने इच्छित पति वा पत्नी वरण गर्ने योग सिर्जना हुन्छ ।

२) सातौं भावको मालिक र राहु वा केतुको युति छ भने स्त्री भए एकभन्दा बढी व्यक्तिसित उसको प्रेम हुनसक्छ, तर पुरुषमा प्रेमभाव प्रकट गर्ने सामर्थ्य देखिंदैन र एकतर्फी प्रेममा निराश हुने सम्भावना हुन्छ । कुण्डलीमा शुक्र र राहु वा केतुको युति हुँदा अनिच्छित यौनसम्बन्ध हुने सम्भावना हुन्छ ।

३) पञ्चमेश र सप्तमेशको दृष्टि वा युति कुनै सम्बन्ध छ भने अथवा पञ्चमेश पञ्चम, सप्तम, नवम वा एकादश भावमा गएर बसेको छ भने तिनको प्रेमजीवन सफल हुन्छ ।

४) कुण्डलीको पाँचौं वा नवौं भावमा शुक्र वा चन्द्रमा बसेको छ भने वा जुनसुकै भावमा शुक्र र चन्द्रमाको युतिसम्बन्ध छ भने पनि मानिसलाई प्रेमिल बनाइदिन्छ ।

५) पाँचौं भावमा मङ्गल ग्रह बसेमा वा पाँचौं र एघारौं भावका मालिक एकअर्काको राशिमा राशिपरिवर्तन गरी बसेमा वा युतिसम्बन्ध बनाई बसेमा पनि प्रेम विवाहको योग सिर्जना हुन्छ ।

६) लग्नमा राहु ग्रह भएका जातकहरूको पनि प्रेमविवाह भएको देखिन्छ । राहुको मुख्य प्रभाव वा कालसर्प योग भएको जीवनसाथी प्राप्त गरेमा मात्र यिनीहरूको प्रेमजीवन सार्थक हुने गर्दछ ।

७) सातौं भावमा भएका राहु र केतुले जुनसुकै ग्रहसँग युति सम्बन्ध कायम गरी बसेको अवस्था छ भने बहुविवाहको योग सिर्जना हुन्छ । यस्ता जातकको अन्तर्जातीय वा बेमेल विवाह भएको परिस्थितिमा मात्र वैवाहिक जीवन सफल भएको देखिन्छ । त्यस्तै षष्ठेश, अष्टमेश वा द्वादशेश सातौं भावमा आई बसेमा पनि यही प्रसङ्ग लागू हुन्छ । अनि सप्तमेश ६, ८, १२ मा गई बसेमा पनि बहुविवाहको सम्भावना हुन्छ । शनि वा बृहस्पति एक्लै सातौं भावमा बसेको छ र त्यसलाई कुनै शुभ ग्रहले देखेको छैन भने त्यस्ता जातकको किशोरअवस्था वा प्रारम्भिक युवावस्थामा गरेको विवाह भङ्ग भई पुनर्विवाह हुने सम्भावना हुन्छ ।

८) सातौं भावमा चन्द्रशनिको युति छ वा चन्द्रमाद्वारा दृष्ट शनि छ भने त्यस्तो जातकले दाम्पत्य कलह र निराशा भोग्नुपर्दछ ।

९) दाम्पत्य जीवनमा मङ्गल ग्रहको महत्त्वपूर्ण भूमिका हुन्छ । १, ४, ७, ८, १२ भावमा बसेको मङ्गलले माङ्गलिक योग सिर्जना गर्दछ । यस्तो योग भएमा व्यक्तिको दाम्पत्य जीवन सफल हुँदैन । तर यस्तो मङ्गलमा शनि, चन्द्रमा वा बृहस्पतिको पूर्ण दृष्टि वा युति सम्बन्ध छ भने उत्तर युवावस्थामा यिनीहरूको प्रेमविवाह हुने सम्भावना हुन्छ र यिनीहरूको दाम्पत्यजीवन सफल र सार्थक रहेको पाइन्छ । त्यसैले माङ्गलिक योग हुने जातकले २८ वर्षको उमेर पार गरेपछि विवाह गर्नु भनिएको हो ।

१०) प्रेमभावना उत्पत्ति हुनुमा गोचर कुण्डलीको पनि महत्त्वपूर्ण भूमिका हुन्छ, उदाहरणका लागि किशोर वयमा गोचरको सातौं भावमा बृहस्पति वा केतु आएमा प्रेमसम्बन्ध कायम हुन्छ र शनि वा राहु आएमा प्रेमसम्बन्ध टुट्ने गर्दछ । तर बृहस्पति र केतु एकसाथमा आएमा पनि प्रेमसम्बन्ध टुट्ने सम्भावना हुन्छ ।

११) लग्नेश बृहस्पति वा मङ्गल भएमा वा लग्नमा चन्द्रमा, राहु, मङ्गल वा शुक्र ग्रह भएका जातकले अाफ्नो प्रेमविवाह गर्न बाधा छ भन्ने ठाने भने परिवारको दायरा मिचेर भए पनि विवाह गरिछाड्छन् ।

सारांशमा ग्रह योगका कारण नै वैवाहिक सम्बन्ध स्थापना हुने गर्दछ । तपाईंको जीवनमा खराब ग्रह वा योगिनीको समयावधिमा वा स्वामीपत्नी योगको समयमा विवाह वा प्रेम जे भए पनि त्यसबाट तपाईंलाई सन्तुष्टि हुँदैन । त्यस समयमा स्थापना भएको सम्बन्ध जत्तिबेला पनि भत्किन सक्छ । अनि शुभ ग्रहको योगमा कायम भएको प्रेमसम्बन्ध वा वैवाहिक जीवन जत्ति नराम्रो भए पनि सन्तोषजनक कायम हुन्छ । यसबाहेक गुणमिलान र नाडीदोषका कारण पनि वैवाहिक र प्रेमजीवनमा निराशा भएको पाइन्छ । त्यसैले प्रेम आवश्यक वस्तु हो, तर आवेग र लहडमा गरिएको परिणाम नकारात्मक रहने भएकाले प्रेमलाई दाम्पत्यसम्बन्धमा लिएर जानुअघि एक पटक योग्य ज्योतिषीको परामर्श लिनु वाञ्छनीय देखिन्छ । अस्तु ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!