ताजा सामाग्री

मकर सङ्क्रान्ति

मकर सङ्क्रान्ति को फोटो
No Comments , सोमबार, माघ १, २०७४ , by Krishna Pd. Koirala

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । यो पर्व माघ महिनाको सुरुवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।

ज्योतिषीय दृष्टिकोणमा सूर्यले धनु राशीबाट मकर राशीमा सङ्क्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर सङ्क्रान्ति रहन गएको हो । सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरु हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्त्व छ । माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखन्न(सुठुनी), खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ । माघे सङ्क्रान्ति आउनुभन्दा एक दुई दिन अगाडि सङ्क्रान्तिको दिनलाई भनेर गाउँघरतिर आफ्नो घरमा भएका गल, बाउसो, खन्ती आदि खन्ने चिजबीज बोकेर नजिकको वनतर्फ लाग्ने मानिसहरूको भिड देख्न पाइन्छ । यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ । उक्त दिन नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ । धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक तबरबाट पनि माघे सङ्क्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ । धार्मिक रूपले यस दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने सात जन्मसम्म पनि ऊ निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ, त्यस्तै वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको सरसफाइ हुने, मौसमअनुरूपका पोषक चिजबीज खाइने तथा निरोगी भइने हुनाले यो सकारात्मक नै देखिन्छ । माघेसङ्क्रान्तिलाई हाम्रो देशमा थरिथरिका जनजातीले किसिमकिसिमले मनाउने चलन छ, यस आलेखमा हाम्रो देशका बेग्लाबेग्लै ठाउँमा बसोबास गर्ने भिन्नभिन्न जनजातीसँग रहेको यस पर्वको सम्बन्ध र त्यसले सञ्चरण गर्ने एकता र सद्भावको सन्देशलाई समेट्ने प्रयास गरिएको छ ।

उपत्यका

यद्यपि उपत्यकामा सबै भागका जनताको उपस्थिति पाइन्छ तापनि यहाँका रैथाने भनेका नेवार जनजातीका मानिसहरू हुन । नेवार समुदायमा विशेष किसिमको एउटा खाद्यवस्तुको नामबाट यस पर्वको नामकरण गरिएको छ । नेवारहरू यस पर्वलाई ‘घ्यूचाकु सँल्हु’ भन्दछन । यस दिन उनीहरू चाकुमा तिल मिसाएर लड्डु बनाई खाने र दान दिने काम गर्दछन् । बिहानै उठेर स्नान गरी घरको सम्पूर्ण भाग सरसफाई गर्ने, देवी देवताको पूजा गर्ने, चोखोनितो गरी विभिन्न परिकारहरू तयार पार्दछन् र घरपरिवारका सम्पूर्ण मानिस जम्मा भएर मिठामिठा परिकारको स्वादमा रमाउँदै, घाम ताप्दै एक आपसमा दुःखसुखका गफमा रमाउँदै, भजनकीर्तन गर्दै यस पर्वलाई मनाउने गर्दछन् । यसै दिन भक्तपुर जिल्लाको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा हुने गर्दछ । तिलमाधव नारायणको मन्दिरमा चढाइएको घिउ सन्तान नभएका महिलाले नुहाइधुवाइ गरी शुद्ध भई खाएमा सन्तान प्राप्ति हुने विश्वास गरिन्छ । माघे सङ्क्रान्तिका दिन नारायणको मूर्तिभरि घिउ दलेर तिल चढाउने र उक्त घिउ–तिल चार दिनपछि झिकेर मन्दिरमा आउने भक्तजनलाई प्रसादका रूपमा वितरण गर्ने परम्परा छ । त्यस्तै उपत्यका नजिकैको पनौतीमा मकर मेला लाग्छ । लिच्छवि कालीन राजा मानदेवको पालादेखि नै सुरु भएको अनुमान रहेको यो मेलामा असङ्ख्य भक्तजनको जमघट हुने गर्दछ ।

पूर्वी नेपाल

माघे सङ्क्रान्तिका दिन इलाम जिल्लाको माइबेनीमा मेला लाग्छ । सदरमुकामबाट तीन किलोमिटर पूर्वमा रहेको माईखोला र जोगमाई खोलाको दोभानमा लाग्ने उक्त मेलामा हजारौं भक्तजनको घुँइचो लाग्नुका साथै मित्रराष्ट्र जनबादी गणतन्त्र चीन र भारतका व्यापारीहरू समेत मेलामा आई पसल राख्ने गरेकाले मेलाको व्यापारिक महत्त्व छ । उक्त मेलामा धाननाच, चण्डीनाच, बालन, संगिनी, मारूनी नाच जस्ता परम्परागत नृत्य हेर्न पाइन्छ ।

यसैगरी माघे सङ्क्रान्तिका दिन झापा जिल्लाको प्रसिद्ध धार्मिक नदी कन्काईमा हिन्दू धर्मावलम्बीले मकर स्नान गर्छन् । सङ्क्रान्तिदेखि पाँचदिनसम्म कन्काई नदीको वरिपरि रमाइलो मेला लाग्ने र किराँत परम्परा एवं संस्कृतिअनुरूप धाननाच देखाइने प्रचलन छ । कन्काई नदीलाई भगवती शीतला माईका रूपमा मान्ने गरिएको हुँदा आफ्नो मनोकाङ्क्षा पूरा गर्न भाकल गर्ने नेपालको पूर्वी क्षेत्र तथा भारतको सिलिगुडी, दार्जिलिंग र सिक्किम क्षेत्रका नेपालीभाषी भारतीय पनि कन्काई नदीमा आएर मकर स्नान गरी पूजाआजा गर्ने, परेवा उडाउने र बत्ती बाल्ने गर्छन् ।

सुनसरी जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्रमा माघे सङ्क्रान्तिका दिन बिहानैदेखि हजारौं हिन्दू धर्मावलम्बीले स्नान गरी भगवान विष्णुको पूजा आराधना गर्छन् । हिन्दू धार्मिक विश्वासका आधारमा उक्त स्थानमा त्यस दिन मकर नुहाई शरीर स्वच्छ बनाएमा मोक्ष पाउने विश्वास गरिन्छ ।

तराई

यस पर्वलाई तराईका जिल्लाहरूमा मैथिलीले तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन् । यस पर्वमा परिवारका अग्रज र आमा–बाबुले आफ्ना सन्ततिलाई सख्खर र तिल खुवाई उनीहरूबाट बुढेसकालमा सेवा गर्नुपर्ने बचन लिने गर्छन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । यी परिकार पूजापाठ गरी सर्वप्रथम घरका देवदेवीलाई चढाइन्छ । मिथिलाञ्चलमा भक्तजनले माघे सङ्क्रान्तिका दिन बिहानै चोखो भई प्रसन्न मुद्रामा भगवती मन्दिरका प्रवेशद्वार तथा आ–आफ्नो घर–आँगनमा कमलको फूलजस्तै चित्र बनाई श्रृङ्गार गर्छन् । कतिपय धर्मावलम्बीले बिहान नुहाएर भगवतीको उपासना गर्ने र कतिपयले भगवतीको प्रतिमासामु तेल, चामल, सख्खर आदि चढाएर आफूभन्दा कान्छो मानिसको हातमा दिने चलन छ । धार्मिक मान्यताअनुसार भगवान र भगवती दुवैलाई सम्मान र श्रद्धाका साथ पूजाआजा गरी भगवतीलाई सिन्दूर, चुरा र तिलको लड्डु चढाउने गरिन्छ भने भगवानलाई मिठाई, फलफूल र तिलको लड्डु अनिवार्य रूपमा चढाई खिचडीको भोग लगाइन्छ । यस पर्वमा खिचडी खान अनिवार्य भएकाले यसलाई खिचडी पर्व पनि भनिन्छ । यो पर्वमा ब्राह्मण भोजनको पनि व्यवस्था गरिन्छ । ब्राह्मणलाई दान गर्नका लागि तिल तथा सख्खरबाट बनाइएको लड्डुको प्रयोग गरिन्छ । यस पर्वमा तिल तथा चिउराको प्रयोग अत्यधिक हुने भएकाले यसलाई तिलवाच्युरा पनि भन्ने चलन छ । यसबाहेक चामल, खिचडीका सामग्रीहरू जस्तै मासको दाल, अरवा चामल, नुन, बेसार, तरकारी, घिउ र दही दान गरिन्छ । कतिपय सम्पन्न व्यक्तिले जुत्ता, छाता, ठूलो रूमाल र कम्बल पनि दान गर्छन् । उक्त दान आफ्ना लागि वा पितृहरूका लागि पनि दान गर्ने परम्परा रहिआएको छ । खासगरी मैथिल महिलाका लागि तिला सङ्क्रान्ति पर्वको अझ बढी महत्व छ । यसै दिनदेखि कन्याहरू सुयोग्य वर प्राप्तिको कामनाले तुसारी पर्व मनाउन थाल्छन् भने विवाहित महिला पृथ्वी पर्व मनाउने गर्छन् । यस पर्वमा नवविवाहित दुलहाको घरबाट दुलहीको माइतमा तिल वा चिउराको कोसेली र जाडोमा लगाउने लुगा पठाइ दिने परम्परा पनि छ । यस प्रथालाई मैथिलीमा जडाउर भनिन्छ । धेरैजसो मिथिलावासी यसै दिनदेखि माघ स्नान सुरू गर्छन्, अर्थात् माघ महिनाभर एकाबिहानै नुहाएर घिउखिचडी खान्छन् ।

पश्चिम नेपाल

चर्चित माघे सङ्क्रान्ति मेला रूरू क्षेत्र रिडीमा तीन दिनसम्म लाग्छ । धेरै भक्तजनको उपस्थिति रहने उक्त मेला जेठी, माईली र कान्छी सङ्क्रान्तिका रूपमा तीन दिन लाग्ने गरेको हो । मेलाको पहिलो दिन बिहानैदेखि कालीगण्डकी नदीमा स्नान गरी हृषिकेश मन्दिरमा पूजाअर्चना गर्नेको घुइँचो लाग्छ । कालीगण्डकी नदीमा स्नान गरी हृषिकेशको दर्शन गर्दा चार धाम गए बराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वासले पनि पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत भक्तजन उक्त मेलामा आउँछन् । ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण तानसेन बजारदेखि ३६ किलोमिटर दक्षिण–पश्चिममा पर्ने गुल्मी, पाल्पा र स्याङजा जिल्लाको सङ्गमस्थलबाट बग्ने पवित्र कालीगण्डकी नदी र गण्डकीको तिरमै पुरानो हृषिकेश मन्दिर छ ।

देवघाट

देवघाटमा हरेक वर्ष लाग्ने मकर सङ्क्रान्ति  मेला बाँसको लिंगो गाडेर शुभारम्भ गरिन्छ । भारतको इलाहावादको प्रयागभन्दा विशिष्ट र हरिद्वार, ऋषिकेशको तुलनामा निकै मनोरम र ठूलो महत्व बोकेको देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न स्वर्गबाट देवता आउने जनविश्वास छ । धार्मिक र पर्यटकीय महत्व बोकेको देवघाटमा तीन दिन मेला लाग्छ । मेलासँगै गलेश्वर आश्रममा लक्ष्यहवन गरिन्छ ।

थारू समुदाय

थारू समुदायमा यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ । थारुहरू यस पर्वलाई माघी भन्दछन् । पूर्वका थारुले मिथिलाञ्चलमा मनाए झैं नै यस पर्वलाई मनाउने गरेको देखिए पनि खासगरी राप्तीपश्चिमका थारुहरूको मौलिक संस्कृति समावेश भएको यो पर्व सबैभन्दा ठूलो र विशिष्ट पर्व हो ।

थारुसमाजमा पुस मसान्तका दिन सुँगुर काटेर यो पर्व सुरु हुन्छ, त्यस दिनलाई जितामरना दिन भनिन्छ । उक्त दिन घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँड–रक्सीका साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । भोलिपल्ट बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ । यसलाई माघलहान भन्ने गरिन्छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ । माघ २ गते खिचडी बनाई खाने चलन रहेको छ । यो दिनलाई खिचरहवा भनिन्छ । माघी पर्वलाई नयाँ वर्र्षको रूपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने प्रचलन छ । पश्चिम नेपालमा गाउँको विकास कसरी गर्ने भन्ने उद्देश्यले बैठक बसेर सामूहिक रूपमा गत वर्षको काम कारबाहीबारे छलफल गरिन्छ । वर्षको एकपटक बस्ने गाउँको सो भेलालाई भुरा खेल–ख्याला भन्ने गरिन्छ । वैठकले गाउँको चौकीदार, फलामको काम गर्ने लगायत अगुवासम्मको छनोट गर्छ । माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपातीलगायत यावत् अन्य व्यवहारहरूको नवीकरण गरिन्छ ।

मगर जाति

नेपालका मगर जातिहरूमा माघे सङ्क्रान्तिलाई मुख्य पर्वको रूपमा धुमधाम सँग मनाउने चलन छ्र । पूर्व र पश्चिमका मगरहरूमा सामान्य भिन्नता भए पनि माघे सङ्क्रान्ति लाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृपूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ । बालकहरू धनुकाँड खेल्दै माघे सङ्क्रान्तिमा रामरौस गर्छन् । बिना वनतरुल दिदी बहिनीलाई पूजा गर्न नमिल्ने मान्यता भएकोले पुस मसान्तमा दाजुभाइ तरुल खोज्न जान्छन् । घरमा बसेकाहरू धान कुट्दै, सख्खर तथा घरतरुल खनेर पर्व मनाउने तयारी गर्छन् । पहिलो दिन बिहान दाजुभाइले नुहाएर खाली पेटमा कुलकुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई निस्रोले पुज्ने गर्छन् । पूजा गर्दा थालमा अलिकति चामलका साथ विभिन्न तरुल, पुरी, मिठाई आदि खानेकुरा र दक्षिणा राखेर दिने चलनलाई निस्रो भनिन्छ । त्यसपछि वंशजका साथै विवाह गरेर छिमेकी गाउँठाउँमा पुगेका दिदीबहिनीलाई निस्रो बाँड्छन् । दोस्रो दिन युवतीहरू माघ खान (वनभोज जस्तै) समूह–समूहमा बाँडिएर गाउँभन्दा टाढा बर्खे गोठतिर लाग्छन् । दाजुभाइले निस्रोमा टक्राएको चामल र विभिन्न खानेकुरा बोकेका उनीहरू साथमा खाना पकाउने भाँडाकुँडा पनि लान्छन् । निस्रोमा आएको खानेकुरा र चामल त्यही दिन सिध्याउने चलन रहेकाले उनीहरू दिनभरिमा पाँच छ पटकसम्म त भातका विभिन्न परिकार बनाएर खान्छन् । पहाडका गाउँघरमा धानको उत्पादन थोरै भएर पनि होला, चामलको भातको चिज हुन्छ, त्यसैले त्यो दिन युवतीहरू अमन भइञ्जेलसम्म चामलबाट पकाइने विभिन्न परिकारको स्वाद लिन्छन् । कहिलेकाहीं घरबाट धनुकाँड खेल्दै त्यहाँ पुगेका युवाहरू रमाइलो र ठट्टा गर्ने पनि गर्छन् । साँझमा गाउँको चौतारामा भेला भएर युवायुवती दुबैथरी होम्पई (परम्परागत जातीय नृत्य) नाच्छन् । यसमा डोकोलाई सारी–चोलो, पोते–तिलहरी र चुरा लगायतका गहनाले सजाइन्छ । यो नृत्य र मेला हेर्न सबै गाउँको चौतारीमा भेला हुन्छन् । युवायुवतीको होम्पई नाच सिद्धिएपछि बूढापाकाको पैसारूपैचारु नाच सुरु हुन्छ । माघे सङ्क्रान्ति  पर्व मनाउने क्रममा अन्तिम दिन गाउँभरिका पुरुष भेला भएर तारो हान्ने चलन छ ।

शरीर स्वस्थ राख्नु अति आवश्यक छ । आन्तरिक रूपले शक्ति प्राप्त गर्न पनि विभिन्न पोषक र उपयोगी परिकारहरू उपभोग गरी शरीर तन्दुरुस्त, फूर्तिर्लो पार्ने गरिन्छ । त्यसैले पनि माघे सङ्क्रान्ति पर्व सबैका लागि महत्वपूर्ण हुन पुगेको हो। अझ सहरी क्षेत्रका तुलनामा ग्रामीण भेगमा माघे सङ्क्रान्तिले तरुल, सख्खर, खुँदो, चाकु, चिउरासँगै त्यस मौसममा उपलब्ध हुने पोषक वस्तुहरू खाने र रमाइलो गर्ने गरिन्छ। यसबाट शरीरमा आरोग्य पाप्त भई परिवारमा मेलमिलापको वातावरण सिर्जना हुन्छ । आयु, आरोग्य, रूप र गुण अभिवृद्धिको प्रतीक भएर प्रत्येक वर्ष आउने यो पर्व हर्षोल्लासको वातावरणमा मनाइन्छ ।

सम्बन्धित शीर्षकहरू:
केहि पनि भेटिएन!

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!