ताजा सामाग्री

सोनाम ल्होछार २०७४ (मञ्जुश्री नयाँ वर्ष २८५४)

सोनाम ल्होछार २०७४ (मञ्जुश्री नयाँ वर्ष २८५४) को फोटो
No Comments , बिहीबार, माघ ४, २०७४ , by Krishna Pd. Koirala

विश्वका विभिन्न भागमा अवस्थित मानव समुदायले आफ्नो विशिष्ट जीवनशैली, जीवनपद्धति, धर्म, संस्कृति, रीतिस्थिति, चालचलन, रहनसहन, भेषभूषा र भाषाको विकास गरेका हुन्छन् । त्यही विशिष्टताका आधारमा उनीहरूले आ–आफ्ना मौलिक पहिचान, उत्सव र चाडपर्व मनाएर आफ्नो देश, क्षेत्र र जातिको पहिचान र परिचय प्रदान गर्दछन् । यिनै मौलिक चाडपर्वमध्ये एउटा पर्व हो – ल्होसार । यो पर्व विश्वका बौद्ध धर्मावलम्बी मङ्गोल जातिहरूका साथसाथै नेपालमा बसोबास गर्ने समस्त बौद्ध धर्मावलम्बीको धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणको महत्त्वपूर्ण चाड हो । समस्त बौद्ध धर्मावलम्बीहरूले नयाँ वर्षका रूपमा मुख्य र विशिष्ट पर्वका रूपमा ल्होसार मनाए पनि यसलाई मनाउने तिथिमिति र नामकरण भने फरकफरक रहेको पाइन्छ, सोनाम ल्होसार नेपालका तामांगहरूले मनाउने ल्होसार हो ।

तामाङ भाषामा ल्हो भन्नाले वर्ष र छार वा सार भन्नाले नयाँ भन्ने अर्थ लाग्दछ । अर्थात् एकसाल समाप्त भएर अर्को सालको आगमन हुनुलाई ल्होसार भनेर बुझिन्छ । नेपालका तामाङलगायतका हिमाली समुदायले मनाउने नयाँ वर्ष हो – सोनाम ल्होसार, सोनाम अर्थात् किसान, यसकारण यस ल्होसारलाई किसानको ल्होसार पनि भनिन्छ । ल्होसार पर्व बाली लगाउने बेलामा सुरु हुन्छ ।काठमाडौं उपत्यकासँग जोडिएर मन्जुश्रीको नाम आउने गर्छ । मन्जुश्रीलाई तामाङहरूले जाम्बे याङ भन्छन् । उनीहरू तिनै जाम्बे याङले नै विश्वमा पहिलो पात्रो बनाएका थिए भन्ने विश्वास गर्दछन् । त्यही पात्रोअनुसार ल्होसार पर्व मनाउने गरिन्छ । प्रत्येक सोनाम ल्होसारका दिन नयाँ मञ्जुश्री वर्ष प्रारम्भ हुन्छ । यो संवत् नेपालमा प्रचलित विक्रम संवत्भन्दा ७८० वर्ष जेठो मानिन्छ । जाम्बे याङ धर्म प्रचारका क्रममा चीनतिर जाँदा उनले बनाएको पात्रोलाई लिपिबद्ध गरियो । नेपालमा चाहिँ उनले सुरु गरेको संस्कृतिमात्र अवशेषका रूपमा रह्यो । तिब्बतमा आइपुग्दा राजा (ग्याल्बो)ले मान्ने र जनसाधारण (सोनाम) ले मान्ने गरी दुई थरीका ल्होसार मनाउने चलन बस्यो । त्यसैले तिब्बतमा पनि जनताले मान्ने ल्होसार सोनाम ल्होसार नै हो । चंगेज खाँले ल्होसारको दिन तिब्बत विजय गरेछ, जनताले त्यस वर्ष ल्होसार मनाउन पाएनन् । दलाइ लामा (राजा लामा) लाई राजाका रुपमा स्थापना गरेपछि युद्धका कारण ल्होसार एक मिहना ढिला भयो र उनले अबदेखि एक महिनापछि ल्होसार मनाउनू भने । त्यो ल्होसारलाई ग्याल्बो ल्होसार भनिन्छ । ग्याल्बोको अर्थ हुन्छ राजा । तर त्यो ल्होसार जनताले होइन लामा र राजाहरूले मात्र मनाउँछन् ।

इतिहासलाई नियालेर हेर्ने हो भने विभिन्न प्रकारका जनावरहरूलाई प्रतिनिधित्व गराई वर्ष गणना गर्ने परम्परा नाग्ची ज्योतिष परम्परा विश्वकै पुरानो परम्परा हो । हुन त यस पर्वलाई बौद्ध धर्मावलम्बी मङ्गोल समुदायले नयाँ वर्षको रूपमा मानेको देखिए पनि यो पर्व उनीहरूको धर्म, संस्कृति, जीवन, जन्म, विवाह र मृत्युसँग घनिष्ठ ढङ्गले जोडिएको हुन्छ । यस समुदायमा मानिसको जन्म हुँदा ल्होका आधारमा नै नामकरण गरिन्छ । कुन ल्हो ? के खाम ? के मेवा ? के पार्खा ? भनी विवाहमा पनि दुलाहा र दुलहीको ल्हो र खाम हेरेर/मिलाएर मात्र विवाह गरिन्छ भने मृत्युमा पनि सिन्ची (मृत्यु) ज्योतिष हेरेर मात्र लाश लाने र छुने परम्परा छ । यसरी ल्होसारको विशिष्ट सांस्कृतिक महत्त्व रहेको देखिन्छ । तामाङ जातिहरूको सेलो (सामुहिक नाच) नाच्ने, गाउने, दोहोरी खेल्ने, म्हेन्दोमायालगायत टुङ्ना र डम्फूको तालमा फापरे दोहोरी गाउने परम्परालगायत छ्युवा ग्यान्छ्या (जातीय पोशाक) यही पर्वमा लगाउने  चलन छ ।

नयाँ वर्षलाई स्वागत, अभिनन्दन गर्ने क्रममा स्थान, समय र अवस्थानुसार भिन्नभिन्न समुदायमा विभिन्न परम्परा विद्यमान रहेको पाइन्छ । यसै क्रममा नेपालमा बसोबास गर्ने तामांगहरूले सोनाम ल्होसार माघ महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिका दिन मनाउने गर्दछन् । ‘सोनाम ल्होसार’ को शाब्दिक अर्थ हुन्छ, कृषकहरूले मान्ने ल्होसार । सम्भोटा लिपीअन्तर्गत भोट वर्मेली भाषा परिवारको सम्भोटा भाषामा सोनाम शब्दको अर्थ पुण्य र कृषि भन्ने हुन्छ । बौद्ध धर्मावलम्बी तामाङलगायत संसारभरि बसोबास गर्ने मानव समुदाय कृषि तथा खेतीपातीमा नै निर्भर छन् र कृषिविना सजीव जीवनको कल्पनासम्म गर्न नसकिने भएकाले सङ्ख्यात्मक र व्यापकताको हिसाबले कुनै पनि चाडपर्व कृषिजीवनसित सम्बद्ध हुनु स्वाभाविक नै मान्नुपर्दछ । त्यसैले किसानहरूको नयाँ वर्ष अर्थ वहन गर्ने सोनाम ल्होसार आफैंमा जीवन्त र विशिष्ट पर्व हो । त्यसैले यस पर्वलाई पूर्ण प्राकृतिक र वैज्ञानिक चाड मान्न सकिन्छ ।

तिब्बती पात्रो चान्द्रवर्षमा आधारित पञ्चाङ्ग गणना गरी प्रत्येक वर्ष (लो) को बाह्रौं (पौष/माघ) महिनाको समापनमा पर्ने माघ शुक्ल पक्षको प्रतिपदा तिथिका दिन सोनाम ल्होसार पर्व पर्दछ । यस दिनदेखि सूर्य, चन्द्र, ग्रह, नक्षत्र, तारालगायत सौर्य मण्डलका ग्रहहरू दक्षिणी क्रान्तिवृत्तमा पर्ने मकर रेखाबाट उत्तरी क्रान्तिवृत्तको कर्कट रेखातर्फ सर्न थाल्दछन् । दिन लामा र रात छोटा हुँदै जान्छन् । पृथ्वीमा तातोपनाको महसुस हुन्छ । चराचुरुङ्गीहरूले पनि बासस्थान परिवर्तन गर्दछन् । झारपात, रुखबिरुवा, उम्रन थाल्छन् । कृषकहरू पनि वर्ष दिनसम्म पुग्ने खाद्यपदार्थको जोहो गर्न आफ्नो खेतबारीमा खनजोत गर्न थाल्छन् । यस दिन सोनाम ल्होसार पर्व मनाउने समुदायमा तिब्बतका कृषकवर्ग, नेपालका तामाङ जनजाति, भारतको कस्मिर प्रान्तमा बसोबास गर्ने लद्दाख र ह्योल्मो जनजाति पर्दछन् । त्यसबाहेक यो नववर्षको खुसियाली चीन, मङ्गोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस्, थाइल्याण्ड, श्रीलङ्का, ताइवान, भुटान, मलेसिया, सिङ्गापुर आदि राष्ट्रमा पनि मनाउने गर्दछन् ।

‘लोछार वा सार’ भन्नाले नयाँ वर्ष भन्ने अर्थ लागेतापनि यसको ज्योतिषशास्त्रसँग घनिष्ठ सम्बन्ध हुने हुन्छ । मञ्जुश्री खगोलशास्त्रका आधारमा चन्द्रमा, सूर्य, नक्षत्र, ग्रह, उपग्रह र पृथ्वीको गतिस्थितिको गणित फलको आँकलन हो । मुख्यतः ल्होसार अनुगामीहरूको समाजमा ‘लो’ गन्ने परम्परा नाग्ची र कारची ज्योतिषशास्त्रको आधारमा गरिन्छ । नाग्ची भनेको मञ्जुश्री खगोलशास्त्र चीनबाट प्रचार भएको र कारची भनेको कालचक्र परम्परा भारतबाट प्रचार भएको ज्योतिषशास्त्र । यी दुवै ज्योतिषशास्त्रलाई निर्माण गरी स्वतवैदूर्य नामक ज्योतिषशास्त्र रचना भएको छ । महिनाको ल्हो गणना गर्दा (तागदावा) बाघमहिना पौष, खरायो महिना माघ गर्दै गरुड, सर्प, घोडा गर्दै १२ महिना गन्ने प्रचलन छ । दिनको वर्ग गणना गर्दा ६ वटा वर्ग पुरुष र ६ वटा वर्ग स्त्रीमा छुट्याइन्छ । पुरुष महिना उदय भएमा, परेवा तिथि – बाघ, द्वितीया – खरायो गनेर लानुपर्दछ । तर स्त्री महिना परेमा बाँदर – परेवा, चरा -द्वितीया गरेर ३० वटा तिथि अर्थात् औँसीको दिनमा गोरुमा लगेर टुङ्ग्याइन्छ । १ दिनमा २४ घण्टा हुन्छ र त्यस समयमा २।२ घण्टाको ल्होले भोग गर्दछ । समयनुसार रातको ११ बजेदेखि १ बजेसम्म मुसा वर्ग, १ बजेदेखि ३ बजेसम्म गोरु वर्ग गर्दै बाह्र वटा वर्गले १ दिन १ रात भोग गर्दछन् । बाह्र वर्गसँग ५ खाम पनि सँगै हुन्छन् । जसमा काष्ठ, अग्नि, पृथ्वी, फलाम र जल तत्त्व गरी पाँचवटा खाम (तत्त्व) हुन्छन् । यी तत्त्वहरू पुरुष र स्त्री हुन्छन् अर्थात् यीङयाङ खामलाई ब्रह्माण्डको वस्तुस्थितिसँग तुलना गरिन्छ भने सजीव प्राणीहरूको विभिन्न अङ्गसँगै ५ इन्द्रियसँग र शरीरमा लाग्ने रोगहरूसँग तुलना गरिन्छ । जसमा काष्ठ (कलेजो, आँखा), अग्नि (मुटु, जिब्रो), माटो (फियो, ओठ), फलाम (फोक्सो, नाक), जल (मिर्गौला, कान) लाई लिइन्छ । यी माथिका १२ वटा वर्गहरू ५ वटा तत्त्वसँग मिलन हुँदै जाँदा ५ फन्को पूरा गर्दा पुनः त्यही वर्ग र त्यही तत्त्व ६० वर्षमा दोहोरिन्छ जसलाई १ राप्लो (संवत्सर) भनिन्छ ।

मुसा, सुँगुर र गोरु :

आदिवासीहरू जब कृषि समाजमा प्रवेश गरे उनीहरूका लागि बालीनाली लगाउने समयतालिका आवश्यक पर्यो । जसअनुसार १२ वर्षको एक युग मानियो । यी १२ वर्षलाई चरा, कुकुर, बँदेल, मुसा, गोरु, बाघ, बिरालो, सर्प, गरुड, घोडा, भेडा, बाँदर आदि १२ वटा जीवजन्तुको प्रतीकद्वारा चिनाउने गरिन्छ । मुसा चाहिँ जेठो ल्हो मानिन्छ । कान्छो ल्होको नाम चाहिँ बँदेल (सुँगुर) हो । भनाइ के छ भने अन्नको सबैभन्दा पहिले जगेडा मुसाले गर्यो । मुसाबाट मान्छेले अन्नबाली थाहा पाए । मंगोलहरू मुसा खाने जाति हुन् । मुसा खोज्दै जाँदा प्वालमा उनीहरूले अन्न फेला पारे । मुसाको प्वालमा फेला पारेको अन्न फाल्दाखेरि त्यो उम्रियो, फल्यो । त्यसबाट खेतीको सोच विकास भयो । अन्नको संरक्षकको रुपमा मुसालाई मान्नुको सामाजिक विश्वास यस्तो रहेको छ ।

मंगोलहरू मन्चु, मङ र हाङ तीन भागमा विभाजित भएका छन् । कोरियाली, जापानीहरू मन्चु खलक हुन् । मन्चुहरूको मुख्य मासुजन्य भोजन गोरु हो । तिब्बत हुँदै हिमाली भूभागबाट आएकाहरूको मुख्य भोजन पिठो भयो । उनीहरूले मासुजन्य भोजनमा चौंरी, भेडा, च्यांग्रा खाने गर्छन् । हाङहो नदी पछ्याउनेहरू हान भए । चिनियाँहरू आफूलाई हान भन्छन् । हानहरू चाहिँ धान फल्ने र सुँगुर पाइने बाटोबाट आएका कारण उनीहरूको खाद्यमा धान र सुँगुर भयो । उनीहरूलाई हिन्दूहरूले किरात नाम दिएका हुन् । गोरु चाहिँ तीनैथरि मंगोलहरूको साझा मासुजन्य भोजन हो ।

ल्होसारपछि खेतीपाती सुरु

ल्होसार मनाउने क्रममा कोदोको पिठोबाट १२ जीवजन्तुको प्रतीक बनाएर पानीमा पकाउने गरिन्छ । त्यो पकाइएको १२ वटा जीवलाई काटेर परिवारको मूलीले सबैलाई बाँडेर खाने र खुवाउने काम हुन्छ । जुन ल्हो चल्दैछ त्यसको प्रतीकलाई सबैभन्दा ठूलो बनाइन्छ र अरु ११ वटा जीवजन्तुलाई चाहिँ सानो बनाएर पकाउने गरिन्छ । ल्होसारको दिनदेखि नयाँ बिउ राख्न सुरु हुन्छ । ल्होसारको दिन बेस्सरी हिउँ पर्नुपर्छ भन्ने विश्वास गरिन्छ । हिउँ पग्लिएपछि नयाँ बिउ राख्दा राम्ररी उम्रिन्छ, त्यो वर्ष अन्नको सह धेरै हुन्छ भन्ने विश्वास छ । ल्होसार मानिसकेपछि किसानहरू खेतीपातीमा लाग्ने गर्छन् ।

पारिवारिक जमघट

ल्होसार मुख्यतः ७ दिन विशेष रुपमा मनाइन्छ । घरपरिवार, नातागोताका बीचमा भेटघाट र खानपान चल्छ । दाजुभाइमध्ये सबैभन्दा जेठोको घरबाट भेटघाट र खानपान सुरु हुन्छ र पालैपालो सबै दाजुभाइको घरमा पालैपालो गरिन्छ । यस्तो क्रम दुईतीन महिनासम्म चलिरहन्छ । हिन्दूहरूका लागि जसरी दशैंतिहारको महत्त्व छ, तामांगलगायत ल्होसार मनाउने जनजातिमा ल्होसारको त्यति नै ठूलो महत्त्व छ । ल्होसार धर्मसँग नजोडिएको कृषि संस्कृति हो । तर, ग्याल्बो ल्होसारलाई चाहिँ लामाहरूले धर्मसँग जोड्ने गर्छन् ।

ल्होसार कसरी मनाइन्छ ?

ल्होसार विश्वकै पुरानो पर्व हो । मञ्जुश्रीले प्रारम्भ गरेको पात्रो गणनाको समय २८५० वर्षभन्दा बढी भैसकेको छ । यसै पात्रोका आधारमा यो पर्व मनाइने भएकाले ल्होसारको प्राचीनता पनि त्यत्ति नै वर्ष पुरानो रहेको विश्वास गरिन्छ । सुरुमा ल्होसार शुक्ल पक्षको परेवादेखि पूर्णिमासम्म विभिन्न धार्मिक र सांस्कृतिक विधिविधानको पालना गरी मान्ने गरेको इतिहास छ, तर हिजोआज प्रायशः एक दिन मनाउने चलन छ । नयाँ कपडा लगाउने, मिठो खाने, मनोरञ्जन गर्ने तरिका अन्य समुदायले मान्ने चाडबाडजस्तै देखिए तापनि ल्होसार पर्व आउनु ८/१० दिन अगावै गुम्बा, घर, धर्मशाला, चौतारा आदि सरसफाई गरी रङ्गरोगन गर्ने, ध्वजापताका (लुङ्दार) टाङ्ने र सजाउने काम गरिन्छ । चान्द्र गणनाबमोजिम तिब्बती बाह्रौं (पौष) महिनाको उनन्तीसौं दिन (माघ कृष्णपक्षको चतुदर्शी, ञीशुगु) का दिन गुम्बामा लामा, भिक्षु तथा गाउँभरिका भद्रभलादमी र महिला भेला भई ग्याब्सी पूजापाठ गर्ने, लामानृत्य (छ्याम) नाच्ने, पुरानो वर्ग (लो) को बिदाइ गर्ने र अशुभको प्रतिमूर्ति (तोरस्होर) फाल्ने गरिन्छ । त्यसै दिन साँझमा गुम्बा, पाटी, चौतारा र घरमा भएका पुराना फोहोरहरू बढारेर फोहोरसँगै मुला, जाँडको छोक्रा, पैसा, माटाका फुटेका भाँडाकुँडा, फाटेको लुगा, फाटेका जुत्ताचप्पल तथा भुतप्रेतलाई मनपर्ने सामानहरू जम्मा पारी च्यातिएको नाङ्लोमा राखी लामा धर्मगुरुहरूको मन्त्रोच्चारण र स्वस्तिवाचनका साथमा पटाका र ताली, चुट्की पड्काउँदै जलाउने र फाल्ने काम गरिन्छ । त्यसै दिन ल्होसारको भोज्य पदार्थ नौ प्रकारको गेडागुडी पकाएर गुथुग्पा खाने चलन छ । त्यसरी गुथुप्का खाँदा बाँकी रहेको जुठो र फोहोर पनि पुनः दोबाटोमा नै लगेर सेलाउने चलन छ ।

भोलिपल्ट तिब्बती बाह्रौं (पौष/माघ) महिनाको तीसौं दिन (माघ कृष्ण अमावस्या) का दिन बिहानै नुवाइधुवाई गरी दिनभरि घरको छ्योश्याम (पुजाकोठा) मा ल्होसारका विभिन्न प्रकारहरू (खाप्से, छेमार, फलफुल, याङछ्याङ्, ङोफु (जमरा) छेरिल आदि मिलाएर सजाउने गरिन्छ र टोटलाको फूलको माला उनेर पुजाकोठा सजाइन्छ । त्यस दिनको रात औसीको रात तथा पुरानो वर्षलाई विदाइ गर्ने रात्री भएकाले घरवरिपरि चारै दिशामा मार्मे (दियो/बत्ती) बाल्ने गरिन्छ । छ्योसाम (पूजाकोठा) मा मैदाको पिठो मुछी देब्रेहातको साहिली औला चोबेर औंलाको चक्रले वर्षभरि सह होस् भन्ने कामना गर्दै चक्रछाप हाल्ने गरिन्छ । औंसीको भोलिपल्ट बिहान ५ बजेबाट नयाँ ल्हो उदय भएको मानिन्छ ।

नयाँ ल्होको प्रथम दिन (माघ शुक्लपक्षको परेवाको दिन) प्रत्येक घरको मूली बिहानै उठी नुहाइधुवाइ गरी धारा वा कुवामा गई तीन टुक्रा ढुङ्गा चाङ लगाएर नैनीघ्यूको ३/३ वटा टीका लगाई ल्होसारका परिकार खाप्से, फलफूल, खादा र धूपबत्ती गरेर तीनपटक पानीको स्रोतलाई नाग राजा र जलदेवता सम्झी ढोग्ने चलन छ । ल्होसारकै अवसरमा उत्तरायण प्रारम्भ हुने विश्वासले त्यसपछि उत्तरपूर्व (ईशान) कोणपट्टि फर्केर शुद्ध पानी भरी पुजाकोठामा लगी छ्योपा (तिङ) मा उक्त पवित्र जल हाल्ने गरिन्छ । यसरी जल भर्दा वर्षभरि नागद्वारा हुने भय, एलर्जी, घाउखटिरा, सुनिने, टाइफाइट जस्ता पानी र नागद्वारा हुने रोगव्याधि र असरबाट छुटकारा पाइन्छ भन्ने जनविश्वास छ । त्यस दिन अमृत योग पारेर घरमूली र अन्य मान्यजनले आफूभन्दा मुनिका जहान र बालबच्चालाई आशीर्वाद प्रदान गर्नुका साथै खादा गुतिदिने र यथाशक्य दानदक्षिणा दिने गरिन्छ । त्यसपछि नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै ल्होसारका लागि तैयार गरिएको भोज्य पदार्थ खाने, रामरमाइलो गरी नाचगान गर्ने र गुम्बा तथा मन्दिरमा जाने गरिन्छ । धार्मिक र सामाजिक कार्यबाहेक अन्य कार्य गर्दा वर्षभरि अशुभ र हानि हुने भएकाले तामाङ समुदायमा ल्होसारका दिन कुनै पनि नयाँ कामकारोबार गर्न निषेध गरिएको छ ।

ल्होसारको दोस्रो दिन (माघ शुक्ल द्वितीयाका दिन) आफन्तहरूसँग भेटघाट गर्ने, मान्यजनको घरमा गई आशीर्वाद, खादा, छेछ्याङ (अमृत), छेमार (पिठोको सगुन) ग्रहण गर्ने चलन छ । यसरी आशीर्वाद ग्रहण गर्दा मान्यजनले टासी देलेग फुन्सुमछोग ज्याबाडान्बा ( मङ्गलमययुक्त यो नयाँ वर्ष बितोस्) र आशीष थाप्नेले ताग्तुदेवा फुन्सुमछोग या थुजेछ (शुभकामना सफल होस्)  भन्ने गरिन्छ ।

ल्होसारको तेस्रो दिन (माघ शुक्ल तृतीयाका दिन) टाढाटाढा बसोबास गर्ने आफन्तकहाँ जानेआउने क्रम सुरु हुन्छ । त्यसदिन स–परिवार सार्वजनिक स्थलमा भेला भई छेलो हान्ने र धनुवाण हान्ने खेल खेल्ने तथा सेलो नाच्ने, संस्कृति झाँकी प्रदर्शन गर्ने एवं अन्य विविध धार्मिक/सामाजिक नाटक प्रदर्शन गर्ने कार्य हुन्छ । त्यसै दिन बेलुका गुम्बामा भेला भई सामुहिक कुलपूजा, धर्मपाल पूजा, लामागुरुहरूद्वारा बुद्धशासन र प्रवचन एवं स्थानीय देवदेवीका मन्दिरमा सामुहिक पूजाआजा गर्ने चलन छ । यसरी पूजा गर्दा सहभागी प्रत्येकले हातमा पिठो वा सातु बोकी एकै स्वरमा तीन पटक किकी सोसो ल्हाग्पाल्लो (देवताको जय जय होस्) भन्दै आकाशै सेताम्मे हुने गरी पिठो उडाउँछन् । यसरी पिठो उडाउँदा व्यक्तिको आयु, स्वास्थ्य, शक्ति, भाग्य र विजयको अभिबृद्धि हुन्छ भन्ने धारणा रहेको पाइन्छ ।

ल्होसारमा प्रयोग गरिने परिकारहरू

गुथुग्पा : अघिल्लो वर्षको ल्होसार मानेपछि आफ्ना खेतबारीमा उब्जिएका नौ प्रकारका गेडागुडीलाई गुथुग्पा भन्ने गरिन्छ । केराउ, मटर, चना, मुगिदाल, भटमास, मुला, च्याउ, सिमी र हरियो सागसब्जी राखी आटा वा मैदाको मसिना डल्ला बनाई एकआपसमा बाँड्ने र त्यस डल्लोलाई फुटाएर आफ्नो भाग्य परीक्षण गर्ने गरिन्छ । आटाको डल्लामा नुनको ढिका, खुर्सानी, घ्यु, कोइला, कपास, सिन्का, राखेर आ–आफ्नो भागद्वारा खोलेर हेर्दा त्यसभित्र त्यसभित्र नुन परेमा दीर्घायु, खुर्सानी परेमा बिरामी, कोइला परेमा अभागी, कपास परेमा धनी, सिन्का परेमा चिन्ता बढ्ने आदि फलादेश गर्ने चलन पनि छ ।

खाप्से : खाप्से एक किसिमको खाद्य पदार्थ हो । यसलाई मैदाको पिठो मुछेर त्यसमा, चिनी, मिश्री, मह, घिउ, सुकुमेल, कालोजिरा मिसाएर तेलमा तारेर दोर्जे, दोर्जे ग्याडाम, धर्मचक्र/तारा आदि विभिन्न कलापूर्ण आकृति बनाइन्छ । यसलाई १५ दिनसम्म सजाएर राख्नु पर्दछ र यसलाई सुस्वास्थ्यको प्रतीक मानिन्छ ।

छेमार : चामल वा गहुँको सातुमा चिनी, मिश्री मह, दुध, दही, घिउ, ल्वाङ, सुकुमेल, अलैँची र जाइदाना मिलाएर नमुछी काठको कलात्मक बाकसमा वा नहुँदा बटुकामा चुली पारेर राख्ने र चुलीमाथि गहुँ वा जौको बाला गाड्ने गरिन्छ । जौ वा गहुँको बालाको अभावमा मसिना सिन्कालाई पाँच वटा भिन्नाभिन्नै रङ्गले रङ्ग्याएर आटाको जौ बनाई तेलमा तारेर राख्ने चलन छ । यसरी बनाइएको चुलीलाई नै छेमार भन्ने गरिन्छ । घरमा ल्होसार मान्न आउने परपाहुनालाई चम्चाले चुलीको एकापट्टिबाट कोट्याउँदै सगुनका रूपमा वितरण गरेमा दिने/लिने दुबैको आयुबृद्धि हुन्छ भन्ने मान्यता छ ।

ड्यासिल : चिनी, मिश्री, मह, घिउ, किसमिस, नरिबल, ल्वाङ, सुकुमेल मिसाएर दुधमा पकाइएको एक किसिमको सुख्खा किसिमको खिर (ढकने) लाई ड्यासिल भन्ने गरिन्छ । ल्होसारमा यसरी ड्यासिल पकाएर खाएमा ज्ञान र शक्ति बढ्छ भन्ने परम्परा रहेको छ ।

याङ्छ्याङ : चामल वा गहुँको छ्याङ् (जाँड) मा चिनी, मिश्री, मह मिसाएर घोली त्यस घोलमा तात्तातो नौनी घिउ हालेर त्यसलाई एउटा काँसे बटुकामा राखी त्यो घिउ जमेपछि बनेको भोज्य पदार्थलाई याङ्छ्याङ भन्ने गरिन्छ । यसरी तैयार भएको याङ्छ्याङ ल्होसार पर्व मान्न आउने परपाहुनालाई एउटा सानो चम्चाले पन्ध्र दिनसम्म वितरण गर्ने गरिन्छ । यसरी याङ्छ्याङ खानाले वर्षभरि सह हुने विश्वास छ, तामाङ समुदायमा ।

छेरिल : गहुँको सातुमा हल्का चिनी, मिश्री, मह, दुध, दही, घिउ, सुकुमेल, ल्वाङ, जाइदाना, अलैँची आदि आवश्यकताअनुसार मिसाएर बनाएको ससाना रिल्बु (डल्ला) लाई छेरिल भन्ने गरिन्छ । यसरी छेरिल बनाएर ल्होसारमा सजाउने गरिन्छ, पछि ल्होसार मान्न आउने परपाहुनालाई एकएकवटा छेरिलका डल्ला वितरण गर्ने चलन छ । यसरी छेरिल खाएमा आत्मबल बढ्छ, यसलाई सत्त्व र प्राणको प्रतीक मान्ने गरिन्छ ।

ङोफू : ङोफू भनेको गहुँ, जौ, वा, मकै र धान गरी पाँच किसिमका अन्न उमारेर बनाइएको जमरा हो । ल्होसारमा जमराको प्रयोग गरेमा अनिकाल, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, अतिवृष्टि, अनावृष्टि आदि अकालबाट कृषकलाई जोगाउँछ भन्ने मान्यता रहेको पाइन्छ । यसरी जमरा उमार्दा एक महिना अगाडि नै अन्नको बिउलाई सफासँग धोएर २ वटा गमलालाई घाम लाग्ने ठाउँमा राखी त्यसमा जमरा उमार्नु पर्दछ । यसरी बिउ राखेको ठिक एक महिनापछि ङोफू (जमरा) सजाउनु पर्दछ ।

बाबरग्याङ : तामाङ जातिको विशेष रोटी सेलरोटी नभई बाबर रोटी (बाबरग्याङ) हो । यसलाई कुलपूजा वा पितृपुर्खाको सम्झना गर्ने सिलसिलामा चढाउने चलन छ ।

यस बाहेक ल्होसारको अवसरमा कन्दमूल फलफूलहरू रितेमे (वनतरुल) लगायत सखरखण्ड, पिडालु, आलु, गिठ्ठो र भ्याकुरलगायत घरतरुल खाने र सजाउने, त्यस्तै आलुम (गहुँ वा कोदोको पानी रोटी), फोल्दोङ (गहुँ वा फापरको पिठोद्वारा बनाइएको नासपाती वा स्याउ आकारको फल) आदि पनि बनाउने, सजाउने र खाने तथा वितरण गर्ने गरिन्छ । फोल्दोङलाई स्वर्गको कल्पवृक्ष मान्ने गरिन्छ ।

यसरी विश्वकै प्राचीन र प्राकृतिक पर्व ल्होसार नेपाल लगायत विश्वभरिकै मङ्गोल मूलका व्यक्तिहरूका लागि सबैभन्दा ठूलो चाड हो भने नेपाली संस्कृतिको अभिन्न, अमूल्य र अद्वितीय निधि हो ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!