ताजा सामाग्री

पिशाचयोनि र ब्रह्महत्याको दोष नाश गर्ने : जया एकादशी

पिशाचयोनि र ब्रह्महत्याको दोष नाश गर्ने : जया एकादशी को फोटो
No Comments , आइतबार, माघ १४, २०७४ , by Krishna Pd. Koirala

भगवान् श्रीकृष्ण र युधिष्ठिरका संवादका बीचमा यस भीमा एकादशीको कथाप्रसङ्ग उल्लेख गरिएको छ । भीमा एकादशीको अर्को नाम जया एकादशी पनि हो । युधिष्ठिर भगवान् श्रीकृष्णसमक्ष प्रश्न गर्दछन् –

साधु कृष्ण त्वया प्रोक्तमादिदेवो भवान्प्रभो

स्वेदजा अण्डजाश्चैव उद्भिज्जाश्च जरायुजाः

तेषां कर्त्ता विकर्त्ता त्वं पालकः क्षयकारकः

माघस्य कृष्णपक्षे तु षट्तिला कथिता त्वया

शुक्ले च का भवेद्देव कथयस्व प्रसादतः

किं नाम को विधिस्तस्याः को देवस्तत्र पूज्यते

हे कृष्ण हजुरले यस संसारमा जेजति प्राणिहरू छन्, स्वेदज, उद्भिज, अण्डज, जरायुज आदि ती सबैको कर्ता र विकर्ता हजुर नै हुनुहुन्छ भनी बताउनु भएको छ । हजुरले यसअघि माघ महिनाको कृष्णपक्षको षट्तिला एकादशीको कथाप्रसङ्ग उल्लेख गर्नुभयो । माघ महिनाको शुक्ल पक्षमा पनि अर्को एकादशी पर्दछ, त्यस एकादशीको कथा विस्तार गर्नुहोस् । त्यस एकादशीको नाम के हो ? त्यसलाई पालना गर्ने विधि के छ ? त्यस एकादशीमा कुन देवताको पूजा गर्नुपर्छ ? यी यावत् जिज्ञासा मेरा मनमा मँडारिरहेका छन् । यसरी युधिष्ठिरले आफ्ना जिज्ञासा राखेपछि भगवान् श्रीकृष्ण भन्नुहुन्छ – 

कथयिष्यामि राजेन्द्र शुक्ले माघस्य या भवेत्

जया नामेति विख्याता सर्वपापहरा परा

पवित्रा पापहन्त्री च कामदा मोक्षदा नृणाम्

ब्रह्महत्यापहन्त्री च पिशाचत्वविनाशिनी

हे राजन् माघ महिनाको शुक्लपक्षको एकादशीका प्रसङ्गमा तपाईंलाई विस्तारपूर्वक बताउने छु । माघ महिनाको शुक्लपक्षको एकादशीको नाम जया एकादशी हो । यो एकादशी सबै किसिमका पापहरण गर्नमा प्रख्यात एकादशी मानिन्छ । उक्त एकादशी पवित्रतम र पापहन्त्री एकादशी हो । यस जया (भीमा) एकादशीको व्रत लिनाले सम्पूर्ण कामनाहरू पूर्ण हुन्छन् र अन्त्यकालमा मनुष्यहरूले मोक्ष प्राप्त गर्दछन् । ब्रह्महत्या सरहका पापहरूलाई पनि नाश गर्ने र पिशाचत्वको नाश गर्ने एकादशी जया एकादशी हो । यस प्रसङ्गमा भगवान् श्रीकृष्णले युधिष्ठिरलाई एउटा कथाप्रसङ्ग उल्लेख गर्नुभयो । भगवान् श्रीकृष्ण भन्नुहुन्छ – 

श्रूयतां राजशार्दूल कथा पौराणिकी शुभा

पङ्कजे च पुराणेऽस्या महिमा कथितो मया

एकदा नाकलोके वै इन्द्रो राज्यं चकार ह

देवास्तत्र सुखेनैव निवसन्ति मनोरमे

गन्धर्वास्तत्र गायन्ति गन्धर्वः पुष्पदन्तकः

चित्रसेनस्तु तत्रैव चित्रसेनसुता तथा

पुष्पदन्तस्य पुत्रोऽसौ माल्यवान्नाम नामतः

पुष्पदन्त्याश्च रूपेण माल्यवानतिमोहितः

तया ह्येवं कटाक्षैश्च माल्यवांश्च वशीकृतः

लावण्यं रूपसम्पन्नं तस्या रूपं निशामय

नन्दन वनमा उत्सव चल्दै थियो। त्यस उत्सवमा सबै देवता, सिद्ध, सन्त र दिव्यपुरूष उपस्थित थिए। त्यस समय गन्धर्व गायन गर्दै थिए र गन्धर्वकन्या नृत्य प्रस्तुत गर्दै थिए। सभामा माल्यवान् नामक एउटा गन्धर्व र पुष्पवती नामकी एउटी गन्धर्वकन्याको नृत्य हुदै थियो। त्यसै बीच पुष्यवतीको नज़र जसै माल्यवान्उपर पर्यो, ऊ त्यस गन्धर्वप्रति मोहित भई। पुष्यवती सभाको मर्यादालाई बिर्सिएर माल्यवान् आफूतर्फ कसरी आकर्षित हुन्छ भन्ने ध्येयले नृत्य गर्न थाली। माल्यवान्ले पनि गन्धर्वकन्याको भङ्गिमालाई देखेर आफ्नो होस गुमायो र गायनको मर्यादा उल्लङ्घन गर्यो, परिणामतः उसले बेसुरको अलाप गाउन थाल्यो। त्यसैवेला स्वर्गका राजा इन्द्र पुष्पवती र माल्यवान्का अमर्यादित कृत्य देखेर क्रोधित भए र उनले दुबैलाई स्वर्गबाट वञ्चित हुने र पृथ्वीमा बसोवास गर्ने तथा मृत्युलोकमा अति नीच पिशाच योनिमा जन्म हुने श्राप दिए । यस्तो श्रापका कारण तत्काल दुबै जना पिशाच बने र हिमालय पर्वतमा एउटा वृक्षमा दुबैको निवास हुनथाल्यो। त्यहाँ पिशाच योनिमा रहदा यी दुईलाई अत्यन्त कष्ट अनुभव भयो। एक पटक माघ शुक्ल पक्षको एकादशीका दिन दुबै अत्यन्त दु:खी थिए । त्यस दिन ती दुईले केवल फलाहारमात्र गरेका थिए। रात्रिको समयमा दुबैलाई असाध्यै जाडो हुँदैथियो, अत: दुबै रातभर सँगै बसे तथा जागा नै रहे। जाडोका कारण प्रातःकालमा कठ्याङ्ग्रिएर दुबैको मृत्यु भयो र नजानिकन जया एकादशीको व्रतको पालना हुन पुग्यो, यसरी जया एकादशीको पालना भएकाले अन्ततोगत्वा दुबैले पिशाच योनिबाट मुक्ति पाए। त्यसपछि माल्यवान् र पुष्पवती पहिलेभन्दा पनि सुन्दर भए तथा स्वर्गलोकमा उनीहरूको स्थान पुनः प्राप्त भयो। देवराज इन्द्र दुबैलाई देख्नासाथ छक्क परे र उनले पिशाच योनिबाट कसरी मुक्ति प्राप्त भयो भनी जिज्ञासा राखे। माल्यवान्ले यो भगवान विष्णुलाई प्यारो लाग्ने जया एकादशीको प्रभावले भएको कुरा बताए। हामी दुबै जया एकादशीको प्रभावले पिशाच योनिबाट मुक्त भएका हौं। इन्द्र यस्ता कुरा सुनेर अतीव प्रसन्नता जाहेर गरे र उनले भने – हजुरहरू जगदीश्वरका भक्त हुनुहुन्छ त्यसैले अबदेखि मेरा निम्ति आदरणीय हुनुहुन्छ, अतः हजुरहरू अब स्वर्गमा आनन्दपूर्वक विहार गर्नुहवस् ।

यस एकादशीको महत्त्व उल्लेख गर्दै भगवान् श्रीकृष्ण फेरि भन्नुहुन्छ –

एतस्मात्कारणाद्राजन्कर्त्तव्यो हरिवासरः

जया तु राजशार्दूल ब्रह्महत्यापहारिणी

सर्वदानानि तेनैव सर्वयज्ञा अशेषतः

दत्तानि कारिताश्चैव जयायास्तु व्रतं कृतम्

कल्पकोटिर्भवेत्तावद्वैकुण्ठे मोदते ध्रुवम्

पठनाच्छ्रवणाद्राजन्नग्निष्टोमफलं लभेत्

यसरी माल्यवान् र पुष्पवतीका कथा सुनाएर भगवान् श्रीकृष्णले बताउनु हुन्छ – जया एकादशीका दिन जगतपति जगदीश्वर भगवान विष्णु नै सर्वथा पूजनीय हुनुहुन्छ। जो श्रद्धालु भक्तले यस एकादशीको व्रत लिने गर्छन्, तिनले दशमी तिथिदेखि नै एक समय मात्र आहार गर्नुपर्छ। सत्विक आहारामा विशेष ध्यान दिनुपर्छ । एकादशीका दिन भगवान विष्णुको ध्यान गर्दै सङ्कल्प गर्नुपर्छ र त्यसपछि धूप, दीप, चन्दन, फल, तिल एवं पञ्चामृतले विष्णुको पूजा गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!