ताजा सामाग्री

शताब्दीकै दुर्लभ चन्द्र ग्रहण (माघ १७, २०७४, जनवरी ३१, २०१८)

शताब्दीकै दुर्लभ चन्द्र ग्रहण (माघ १७, २०७४, जनवरी ३१, २०१८) को फोटो
No Comments , बुधबार, माघ १७, २०७४ , by Krishna Pd. Koirala

माघ १७ गते बेलुका चन्द्र ग्रहण लाग्दैछ, यसलाई लगभग विश्वका अधिकांश भूभागबाट देख्न सकिन्छ । चन्द्रमामा परेको पृथ्वीको यो छाया विश्वको अधिकांश भूभागमा मुख्यतः उत्तरपूर्व युरोप, एसिया, अष्ट्रेलिया, उत्तरपूर्व अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिकाको उत्तरपश्चिम पाटो, प्रशान्त महासागर, एटलान्टिक महासागर, हिन्द महासागर, आन्ध्र महासागर र अन्टार्कटिकाका प्रायशः भूभागमा देखिनेछ ।

नासा (NASA) ले जनाए अनुसार यस दिन चन्द्रमा अन्य समयका तुलनामा ठूलो आकारको देखिने छ । यस पटक चन्द्रमा सधैंभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो भएर देखा पर्ने बताइएको छ । यसरी बेलाबेलामा ठूलो र चम्किलो हुने चन्द्रमालाई सुपरमुन (Super Moon) भन्ने गरिन्छ । यसरी सुपर मुनको उदय भएको समयमा चन्द्रमा लगायत समस्त आकाशमण्डलको रङ नीलो हुने गर्दछ । विगत पौष १७ गते (जनवरी ०१, २०१८) को पूर्णिमाका दिन पनि यस्तै ठूलो आकारको चन्द्रमा उदाएको थियो । तर यस पटक सुपर मुन उदाउँदा अर्को विशेषता थपिएको छ, त्यो हो सुपरमुनमा ग्रहण । ब्ल्युमुन (Blue Moon) मा ग्रहण लाग्दा अर्को एउटा विशेषतासमेत थपिन्छ, त्यो हो – सधैं चन्द्रमामा ग्रहण लाग्दा त्यसमा भएको सेतो भाग कालो भागमा बदलिन्थ्यो भने यस पटक ग्रहण लाग्दा चन्द्रमाको नीलो रङ रातो लालिमामा परिणत हुन्छ । नासाले यस्तो अवस्थाको ब्लड मून (Blood Moon) भनी नामकरण गरेको छ । त्यसैले यस पटकको ग्रहण विशेष ग्रहण हो । यस किसिमको ग्रहण सन् १८६६ पछि १५२ वर्षको अन्तरालमा पहिलो पटक लाग्दैछ ।

यस पटकको चन्द्र ग्रहण खग्रास चन्द्रग्रहण छ । ग्रहणको दानको शास्त्रमा विशेष चर्चा छ । त्यसरी दान गर्दा जसको कुण्डलीमा सूर्यसँग राहु वा केतुसँगै बसेर पितृदोष जनाउने ग्रहण योग सिर्जना भएको छ अथवा चन्द्रमासँग राहु वा केतुसँगै बसेर मातृदोष जनाउने ग्रहण योग बनेको छ, तिनले अवश्य दान गर्नु पर्दछ । राशिमा चन्द्रमाको विशेष अधिकार र भूमिका हुने कर्कट राशि जुन चन्द्रमाको आफ्नै घर मानिन्छ, बृष राशि जुन चन्द्रमाको उच्च राशि हो र बृश्चिक राशि जुन चन्द्रमाको नीच राशि हो, यी तीनवटा राशिका जातकहरू अर्थात् कर्कट, बृष र बृश्चिक राशि हुनेहरूले अवश्य दानादि शुभकर्म गर्ने प्रयास गर्नुपर्दछ भनी ज्योतिषीहरू बताउँदछन् ।

यस पटकको ग्रहणको समय सारणी र फल कस्तो छ त ?

नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा तैयार गरिएको विवरणअनुसार ग्रहण लाग्ने दिन माघ १७ गतेको चन्द्रोदय बेलुका ०५ बजेर ५५ मिनेटमा हुनेछ । यो समय काठमाडौंको अक्षांश र देशान्तरका आधारमा तय गरिएको हो । त्यसपछिमात्र ग्रहण लागेको अवस्था देखिने छ । यस पटक चन्द्रमा उदाउँदा उदाउँदै ग्रहण लागिसकेको हुन्छ, त्यसैले यस्तो अवस्थालाई ग्रस्तोदित चन्द्र ग्रहण भन्ने गरिन्छ । बेलुका ०७ बजेर १६ मिनेटमा ग्रहणको मध्यभाग हुनेछ । जबकि चन्द्रमालाई ग्रहणले पूरा ढाक्ने समय त्यसअघि नै बेलुका ०६ बजेर ३६ मिनेटमा र पूरा ढाकेको अवस्थाबाट क्रमशः ग्रहण घट्दै जाने क्रम बेलुका ०७ बजेर ५३ मिनेटदेखि सुरु हुनेछ । चन्द्रमाले ग्रहणबाट उन्मुक्ति पाउने समय बेलुका ०८ बजेर ५७ मिनेटमा हुनेछ । चन्द्रोदयदेखि ग्रहणसमाप्ति नहुन्जेलसम्मको जम्मा अवधि ०३ घण्टा ०२ मिनेटको हुनेछ । यसलाई सर्वपर्वकाल भन्ने गरिन्छ । बेलुका ०५ बजेर ५५ मिनेटपछि ग्रहणको दोष लाग्ने हुँदा त्यसभन्दा ३ प्रहरअगाडि अर्थात् ०९ घण्टा अघिदेखि नै अर्थात् यस दिन बिहान ०८ बजेर ५५ मिनेट देखि बालबृद्ध र आतुरलाई बाहेक अरुलाई भोजनादि निषेध हुने गर्दछ ।

यस पटकको ग्रहण राशिअनुसार कर्कट राशिमा र नक्षत्रअनुसार तिष्य (पुष्य) नक्षत्रमा लागेको छ । त्यसैले कर्कट राशि र विशेषतः पुष्य (तिष्य) नक्षत्रका जातकहरूका लागि ग्रहण लागेको समयका अतिरिक्त अघिपछिको ०६ महिनाको अवधि विशेष कष्टकर समयका रूपमा रहने छ । हेरौं, ज्योतिषशास्त्र अनुसार यसपटक विभिन्न राशिमा पर्ने ग्रहणको फल कस्तो हुन्छ :-

मेष – व्यथा

बृष – श्रीप्राप्ति

मिथुन – क्षति

कर्कट – घात

सिंह – व्यय

कन्या – लाभ

तुला – सुख

बृश्चिक – माननाश

धनु – कष्ट

मकर – स्त्रीपीडा

कुम्भ – सुख

मीन – चिन्ता

सारांशमा यस पटक बृष, कन्या, तुला र कुम्भ राशिका व्यक्तिहरूका लागि यो ग्रहण शुभकारक र कल्याणकारी रहने छ भने अन्य राशिलाई यस पटकको ग्रहण जुरेको छैन अर्थात् अशुभ फल प्राप्ति हुन्छ । तलको भिडियोमा ग्रहण लाग्ने वैज्ञानिक आधार र ज्योतिषीय विवेचनाका साथमा ग्रहण लागेको अवस्थामा सिद्ध गर्न सकिने केही महत्त्वपूर्ण मन्त्रहरूको जानकारी प्रस्तुत गरिएको छ, हेर्न नबिर्सनु होला ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!