ताजा सामाग्री

वैभवलक्ष्मी व्रत : विधिविधान र व्रतकथा

वैभवलक्ष्मी व्रत : विधिविधान र व्रतकथा को फोटो
No Comments , शुक्रबार, माघ २६, २०७४ , by Krishna Pd. Koirala

सनातन धर्मअन्तर्गत शुक्रवारका दिन माता लक्ष्मी वा मातृशक्तिको उपासना गर्न व्रत लिने चलन छ । शुक्रबारका दिन लिइने माता लक्ष्मीको व्रतलाई वैभव लक्ष्मी व्रत भन्ने गरिन्छ । यस दिन स्त्री पुरुष दुबैले श्रद्धा भक्तिपूर्वक माता लक्ष्मीको उपासना र पूजाअर्चना गरी सेतो फूल, सेतो चन्दन, चामल र खिर चढाएर प्रसाद ग्रहण गर्ने गर्दछन् । यस दिन व्रत लिनेले सङ्कल्प गरेको अवधिभरि कुनै दिन पनि माछामासु, जाँड, रक्सी, लसुन, प्याज, अन्य व्रत गर्दा खानु हुँदैन भनेर निषेध गरिएका सामाग्री खानु हुँदैन साथै घरमा त्यस्ता चिजबीज प्रयोगसमेत गर्नु हुँदैन ।  व्रतको अवधिभरि झुठो बोल्नु हुँदैन, ब्रह्मचर्यमा रहनु पर्दछ, कसैको निन्दा वा द्वेष गर्नु हुँदैन । गरीब, गुरुबा, पति, सासुससुरा, अन्य मान्यजन, दीनहीन, अपाङ्ग कसैको अपमान गर्नु हुँदैन । अन्यायका माध्यमबाट कमाएको अन्न, जल, सम्पत्तिको उपभोग गर्नु हुँदैन । प्रत्येक दिन सम्भव भएसम्म गाईलाई केही खान दिएर मात्र आफूले भोजनादि ग्रहण गर्नु पर्दछ । व्रतका दिन साँझमा एक छाक हविष्यान्न भोजनका साथमा माता लक्ष्मीलाई भोग लगाइएको खिर खानु पर्दछ ।

व्रत विधि

व्रत लिने व्यक्तिले विहीबारकै दिनदेखि चोखोनितो गरी शुक्रबार झिसमिसेमा उठी स्नानादि नित्यकर्मबाट निवृत्त भएर नित्यपूजा गरी घरको पूजा कोठामा वा ईशान कुनामा माता लक्ष्मीको मूर्ति, यन्त्र वा प्रतिमा राखी उक्त प्रतिमाको पूर्वी भागमा क्रमशः उत्तरबाट कलश, दियो र गणेशको स्थापना गर्नुपर्दछ । त्यसपछि तामाको वा काँसको कचौरामा पानी, कुस, तामाको पैसा, तिल, जौ, गङ्गाजल राखेर उक्त जलले आफूलाई र पूजास्थलमा छर्किनु पर्दछ । त्यसपछि त्यसरी बनाइएको तिलानीबाट कुसको टुक्रा, जौ, तिल र पानी हातमा लिएर सङ्कल्प (वाचा) गर्नु पर्दछ । सङ्कल्प गर्दा एक, सात, एघार, एक्काईस वा एक सय एघार जति सकिन्छ आफ्नो अनुकूलले म यत्ति हप्तासम्म माता लक्ष्मीको व्रत विधिपूर्वक लिनेछु भनी वाचा गर्नु पर्दछ । त्यसपछि आफूले जति हप्ता व्रत लिन्छु भनेर प्रतिज्ञा गरेको छ, उक्त समयसम्म विधिविधान पूर्वक व्रत लिनु अनिवार्य छ । सङ्कल्प गरेपछि बीचमा कुनै विघ्न जस्तै महिनाबारी, जुठो, सूतक वा अन्य विघ्न आएमा पनि पूजाआजा नगरी ठाडो विधिले सङ्कल्प गरेको समय पूर्ण नहुन्जेल व्रत लिइरहनु पर्दछ । अन्तिममा शुक्रबारका दिन वैदिक विधिविधान पूर्वक यज्ञ गरी व्रत समापन गर्नु पर्दछ । व्रत समापन गर्ने दिन अर्थात् अन्तिम शुक्रबारका दिन माता लक्ष्मीलाई समर्पण गर्न खिर पकाउनु पर्दछ । पूजा समाप्त भएपछि आफ्नो घरको मूल दैलोमा जटाविनाको नारिवल (गरी नरिवल) फुटाएर आजदेखि मेरा घरका समस्त अलच्छिन र दुःखकष्ट नाश भएर जाऊन् भनी माता लक्ष्मीसँग प्रार्थना गर्नुपर्दछ । त्यसपछि कम्तीमा सातजना कन्या केटी वा सौभाग्यवती स्त्रीलाई कुमकुमको चन्दन लगाउँदै पायसका साथमा दानदक्षिणा र भेटी दिएर वैभवलक्ष्मीको व्रतकथाको पुस्तक एक/एक प्रति उपहारका रूपमा प्रदान गर्नुपर्दछ । त्यसपछि ती कन्याकुमारी वा स्त्रीहरूको गोडामा ढोगी आशीर्वाद ग्रहण गर्नुपर्दछ । अनि माता लक्ष्मीको धनलक्ष्मी स्वरूपको छविको वन्दना गर्दै मनै मनमा प्रार्थना गर्नु पर्दछ र भन्नु पर्छ – ‘हे माता धनलक्ष्मी ! मैले वैभव लक्ष्मीको व्रत पूर्ण गर्ने जुन सङ्कल्प गरेकी थिएँ, त्यो आज पूर्ण भएको छ । हे माता, हाम्रो मनोकाङ्क्षा (कुनै विशेष भाकल गरेको छ भने त्यो भाकललाई समेत सम्झँदै) पूरा गर्नुहवस् । हाम्रा प्रत्येक विपत्तिको नाश गर्नुहवस् । हामी सबैको कल्याण होस् । यो व्रत लिनेमध्ये जसको सन्तान छैन, त्यसले मनले चाहेजस्तै छोरा वा छोरी प्राप्त गरोस् । सौभाग्यवती स्त्रीको अटल सौभाग्य कायम रहोस्  । कुमारी केटीहरूले मनले चाहेजस्तै पति प्राप्त गरून् । जसले हजुरको यो चमत्कारी वैभवलक्ष्मीको व्रत लिन्छ, त्यसका समस्त दुःखकष्ट र विपत्ति हरण गर्नुहवस् । संसारमा जेजति दुःख, कष्ट र वेदनामा रहेका व्यक्तिहरू छन्, ती सबैको कष्ट हरण गर्नुहवस् । सबैले सुख पाऊन् । हे माता हजुरको महिमा अपरम्पार छ । हजुरको जय होस् ।‘ यति भनिसकेर माता लक्ष्मीलाई पुनः प्रणाम गरी फूलपाती र माता लक्ष्मीको प्रतिमा वा मूर्ति जे सुरुमा थापेको छ, त्यो कुनै गङ्गागामिनी ठूलो नदीमा लगेर सेलाएपछि व्रतविधि पूर्णरूपमा समापन हुन्छ ।

अब यस व्रतको व्रतकथा सुन्न तलको भिडियोमा क्लिक् गर्नुहोला

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!