ताजा सामाग्री

भ्यालेन्टाइन डे : मनपरेको मान्छेलाई के गिफ्ट दिने ? (भिडियो सहित)

भ्यालेन्टाइन डे : मनपरेको मान्छेलाई के गिफ्ट दिने ? (भिडियो सहित) को फोटो
No Comments , बुधबार, फाल्गुन २, २०७४ , by Krishna Pd. Koirala

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, यो सनातन संस्कृति र हिन्दूहरूको आफ्नो र मौलिक पर्व होइन, तर विगतका केही वर्ष यता यो दिन युवाहरूको विशेष पर्वका रूपमा नेपालमा पनि धुमधामका साथमा मनाउन थालिएको छ । अहिलेको युवा पुस्ताले इलेक्ट्रोनिक र साइबर पुस्ताका रूपमा आफ्नो आधुनिकतम परिचय बनाउँदै गर्दा खास गरी फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम, भाइबर, स्काइपि आदि सोसल साइटमा भ्यालेन्टाइन डेको रौनक देख्न पाइन्छ । यस दिनको आगमन हुनुभन्दा एक वा दुई हप्ताअघि नै युवायुवतीका आ–आफ्ना स्ट्याटस र चित्रमा भ्यालेन्टाइन डेको रङ पोतिन थालिसकेको हुन्छ, तिनका प्रणय भावले भरिएका कथन, गीत, कविता, मुक्तक र तुक्काहरू जताजतै छताछुल्ल हुन थालेका हुन्छन् । तर प्रेम र प्रणयको चर्चा धेरै पहिलेदेखि अर्थात् मानवविकास सँगसँगै प्रारम्भ भएको हो । पूर्वीय दर्शनअन्तर्गतका वेद, पुराण, उपनिषद् र अन्य धार्मिक ग्रन्थमा पनि प्रेम र प्रणयको चर्चा यत्रतत्र भएको देखिन्छ, तर सनातन संस्कृतिले प्रेम र प्रणयसम्बन्ध तथा वैवाहिक जीवनलाई अनुशासन र मर्यादाको कसीमा राखेरमात्र चर्चा परिचर्चा गरेको देखिन्छ । प्रेमप्रस्तावकै चर्चा गर्ने हो भने भगवान् श्रीकृष्णलाई रुकमिणीले ब्राह्मणका हातमा पठाएको प्रेमपत्रलाई हामीले बिर्सनु हुँदैन । यसरी प्रणय दिवस धेरै पहिलेदेखि नै मनाउँदै आएका उदाहरण र तथ्य खोज्दै जाने हो भने प्रशस्त भेटिन्छन् । अहिलेको प्रणय दिवसको परिवेश पूर्वीय दर्शन र यहाँको संस्कृति होइन । यो पच्छिमा मुलुकको सामाजिकता र संस्कारको अनुकरणबाट भित्रिएको पर्व हो । सर्वव्यापी किंवदन्तीअनुसार भ्यालेन्टाइन डे ईस्वी सन् २६० तिर प्रेमको प्रचार गर्ने रोमका एक पादरी भ्यालेन्टाइनको नामबाट यो दिवस मनाउन थालिएको हो।

तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस ‘भ्यालेन्टाइन डे’ को इतिहासलाई पूर्वावलोकन गर्दा एक जना रोमका सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरू मार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे । सम्राट्को आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङ्घन गरे । यसरी एउटा सामान्य नागरिक र सर्वसाधारणले आफ्नो आदेशको उल्लङ्घन गरेको सम्राट्लाई सह्य हुने कुरो भएन र तिनलाई राजाले मृत्युदण्ड दिए । यसरी प्रेम र विवाहको चर्चा गर्ने पादरी भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिन फेब्रुअरी महिनाको चौध तारिक परेको थियो । त्यसै हुनाले उक्त दिन ‘भ्यालेन्टाइन्स डे’ का रूपमा प्रख्यात भयो र यो दिन संसारभरि प्रणय दिवसका रूपमा स्थापित हुनपुग्यो । त्यसैले विवाह र प्रेमका पक्षधर प्रेमिक पादरी भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष  फेब्रुअरी १४ का दिन विश्वका करोडौं प्रेमीप्रेमिकाले प्रेम दिवसका रूपमा मनाउने गरेका हुन् । अहिले आएर विश्वव्यापी मान्यता पाएको यस दिवसले नेपाली युवामा समेत जरो गाडिसकेको छ । देश र संस्कृतिको परिधि र सीमा नाँघ्दै नेपाली युवामाझ लोकप्रियता पाएको छ । प्रेमीप्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रूपमा यस दिनलाई लिइन्छ । वास्तवमा ‘भ्यालेन्टाइन डे’ मनाउनुमा अप्ठेरो छैन, तर हाम्रो संस्कृतिको संरक्षणमा समेत ख्याल राख्नुपर्ने हुन्छ । ‘भ्यालेन्टाइन डे’ मा प्रेमप्रेमिकाबीच सबैभन्दा धेरै रातो रङको गुलाफको फूल आदानप्रदान हुन्छ । यो दिन विश्वभरि करोडौँ डलरको गुलाफको फूलको व्यापार हुने गर्दछ ।

अब कुन रङको गुलाफको फूलको प्रतीक के हो यसबारेमा केही जानकारी लिनु उपयुक्त हुन्छ :-

रातो गुलाफ : शान्ति, प्रेम र क्षमताको प्रतीक

रातो गुलाफ प्रेम र मनोभावनाको प्रतीक हो । ‘भ्यालेन्टाइन डे’ मा सबैभन्दा धेरै रातो रङको गुलाफको आदानप्रदान हुन्छ । यसलाई प्रेमी वा प्रेमिकालाई दिंदा प्रेमप्रस्तावका रूपमा दिइएको देखिन्छ, अतः रातो गुलाफ स्वीकार गर्नु भनेको प्रेम प्रस्ताव स्वीकार गर्नु हो ।

गुलाफी गुलाफ : मित्रता र मुटुको धड्कनको प्रतीक

यो रङको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ । ‘भ्यालेन्टाइन डे’ मा गुलाफी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ अर्थात् मेरो मुटु तिम्रो लागि हो भन्नु हो ।

पहेंलो गुलाफ : मित्रताको प्रतीक

पहेंलो गुलाफलाई मित्रताको प्रतीक मानिन्छ । ‘फ्रेन्डसिप डे’ अर्थात् मित्रता दिवसका दिन पहेंलो गुलाफ प्रदान गरिन्छ, यद्यपि हिजोआज मित्रताको प्रतीकका रूपमा ‘भ्यालेन्टाइन डे’ मा पनि यसको प्रयोग हुन थालिसकेको छ ।

सेतो गुलाफ : साँचो प्रेम र स्वच्छ हृदयको प्रतीक

सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयको प्रतीक हो । त्यसैले स्वच्छ मन, कल्पना र भावनाले ओतप्रोत भई कसैलाई सेतो गुलाफ दिइयो भने उसले सहजै स्वीकार गर्ने चलन छ । अतः स्वच्छ अनुराग र सफा मन भएको मित्रताकाे सन्देश प्रदान गर्न सेतो गुलाफको महत्त्वपूर्ण भूमिका हुन्छ ।

कालो गुलाफ : विदाइको प्रतीक

कालो गुलाफलाई विदाइको प्रतीक मानिन्छ । यदि कुनै कारणवश प्रेमसम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाफ दिएमा आफ्नो काम पूरा हुन्छ भन्ने मान्यता छ ।

प्रेम व्यक्त गर्न फूलहरू मात्र नभएर अन्य प्रतीकहरू पनि प्रचलित छन् । यस्ता प्रतीकहरूमध्ये एउटा वाणले हृदय चिरेर गएको प्रतीक सबैभन्दा प्रचलित छ । प्रेमीप्रेमिकाहरूका लागि हृदयभन्दा राम्रो प्रतीक अरू हुन सक्दैन । कसैलाई यो उपहार दिनुको अर्थ तपाईंले उसलाई सर्वस्व सुम्पन चाहनुहुन्छ भन्ने हो । यो सङ्केतले तपाईंको हृदय उसको प्रेमको वाणले घाइते भएको छ भन्ने देखाउँछ । प्रेम पक्षी (लडबर्ड) पनि प्रेमको प्रतीक हो । प्रेमप्रेमिकाको साथ विना अर्थात् जोडी नभइकन यो पन्छी बस्न सक्दैन भन्ने धारणा छ । त्यस्तै ईशाइ धर्ममा प्रेम पक्षी (लडबर्ड) लाई निर्मलता र प्रेमको प्रतीकका रूपमा लिने गरिन्छ । त्यसै कारणले ‘भ्यालेन्टाइन डे’ का दिन लडबर्डको प्रयोग अत्यधिक हुने गरेको हो ।

अब कुन राशिका प्रेमी वा प्रेमिकालार्इ के उपहार दिन सकिन्छ र तिनको प्रकृति कस्तो हुन्छ जानकारी लिन तलको भिडियोमा क्लिक् गर्नुहोस् ।

सम्बन्धित शीर्षकहरू:
केहि पनि भेटिएन!

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!