ताजा सामाग्री

व्रतकथा : आमलकी एकादशी

व्रतकथा : आमलकी एकादशी को फोटो
No Comments , सोमबार, फाल्गुन १४, २०७४ , by Krishna Pd. Koirala

फाल्गुन महिनाको शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भन्ने गरिन्छ । यस एकादशीको व्रतका दिन अमलाको बृक्षको पूजाआजा गर्ने विधिविधान छ । यस एकादशीमा यावत् मनुष्यका जन्मजन्मान्तरदेखि सञ्चित रहेका पापराशिलाई नाश गर्ने सामर्थ्य रहेको कुरा पुराणादिमा वर्णित छ । हजारवटा गाई दान गर्नाले जुन फल प्राप्त हुन्छ, त्यही फल आमलकी एकादशीको  व्रत लिनाले मनुष्यले सजिलै प्राप्त गर्न सक्दछ । अमलाको रुखको उत्पत्ति भगवान् नारायणको मुखबाट भएको मान्यता छ, अतः यस एकादशीका दिन विशेषतः भगवान् विष्णुको  पूजाआजा गर्ने  गरिन्छ । अमलाको रुखको उत्पति सम्बन्धी एउटा कथा विष्णु पुराणमा उल्लेख गरिएको पाइन्छ अनि यस एकादशीको महात्म्य पद्मपुराणको उत्तर खण्डको ४५ औं अध्यायमा वर्णन गरिएको छ ।

आमलकी एकादशीको व्रतकथा

भगवान् श्रीकृष्णलाई सम्बोधन गर्दै युधिष्ठिर प्रश्न गर्दछन् –

महात्म्यं विजयायाश्च श्रुतं कृष्ण महत्फलम् । फाल्गुनस्यार्जुने पक्षे यन्नाम्नि तां वदाधुना ।।

हे कृष्ण हे परमेश्वर हजुरले अघिल्लो अध्यायमा फाल्गुन महिनाको कृष्णपक्षको विजया एकादशीका बारेमा बताउनु भयो, अब मलाई फाल्गुन महिनाको शुक्ल पक्षमा पर्ने एकादशीको नाम र महात्म्यका बारेमा वर्णन गर्नुहोस् ।


युधिष्ठिरको जिज्ञासालाई शान्त तुल्याउँदै भगवान् श्रीकृष्ण भन्नुहुन्छ –
धर्मपुत्र महाभाग श्रृणु वक्ष्यामि तेधुना । युक्ता पृष्ठेन मान्धात्रा वशिष्ठेन महात्मना ।
फाल्गुनस्य विशेषेण विशेषः कथितो नृप । आमलकीव्रतं पुण्यं विष्णुलोकफलप्रदम् ।
आमलक्यास्तले गत्वा जागरं तत्र कारयत् । कृत्वा जागरणं रात्रौ गोसहस्रफलं लभेत् ।
हे धर्मपुत्र युधिष्ठिर हजुर महान् भाग्यमानी हुनुहुन्छ । म ऋषि वशिष्ठ र मान्धाताका वीचमा भएको संवादका क्रममा वताइएको फाल्गुन महिनाको शुक्लपक्षको एकादशी व्रत जसलाई आमलकी व्रत पनि भनिन्छ, त्यो व्रतका वारेमा बताउँछु । यस व्रतको सम्पादनबाट सजिलै विष्णुलोक प्राप्त हुन्छ । अमलाको वृक्षमुनि गएर रात्री जागरण गर्दा हज्जारौं गाई दान गरेको फल प्राप्ति हुन्छ ।
मान्धातोवाच ।
आमलकी कदा ह्येषा उत्पन्ना द्विजसत्तम । एतत्सर्वं ममाचक्ष्व परं कौतूहलं हि मे ।
कस्मादियं पवित्रा च कस्मात्पापप्रणाशिनी । कस्माज्जागरणं कृत्वा गोसहस्रफलं लभेत् ।
मान्धाता वशिष्ठसँग प्रश्न गर्दछन् – हे गुरुवर वशिष्ठ अमलाको वृक्षको उत्पत्ति कहिले भयो ? ममा यो कौतूहल रहेको छ, मेरो यो उत्कण्ठा मेटाई दिनुहोस् । यसलाई किन पवित्र मानिएको हो ? अमलाको वृक्षले कसरी पापलाई नाश गर्दछ ? र यस वृक्षको फेदमा जागरण गर्नाले कसरी १००० वटा गाई दान गरेको फल प्राप्त हुन्छ ?
मान्धाताको प्रश्न सुनेपछि वशिष्ठ भन्नुहुन्छ –
कथयामि महाभाग यथेयमभवत्क्षितौ । आमलकीमहावृक्षः सर्वपापप्रणाशनः ।
एकार्णवे पुरा जाते नष्टे स्थावरजङ्गमे । नष्टे देवासुरगणे प्रणष्टो रगराक्षसे ।
तत्र देवाधिदेवेशः परमात्मा सनातनः । जगाम ब्रह्मपरममात्मनः पदमव्ययम् ।
एउटा नगरमा सबै वर्गका मानिसहरू मिलेर आनन्दपूर्वक बस्दथे । समस्त नागरिकहरूको एकआपसमा प्रेम भएका कारण नगरमा धर्म र आस्थाको निवास भए झैं प्रतीत हुन्थ्यो । यो नगर चन्द्रवंशी कुलका राजाहरूको शासनाधिकार अन्तर्गत पर्दथ्यो । त्यस राज्यका सबै नरनारी एकअर्काका सुखदुःख, चाडपर्व र रीतिरिवाजमा सामूहिक सहभागिता जनाउँदथे । त्यस नगरमा  विशेषतः भगवान् नारायणको पूजाआराधना हुने गर्दथ्यो र प्रत्येक महिनाका दुबै एकादशीको व्रत सम्पादन गर्ने प्रचलन त्यस नगरमा प्राचीन समयदेखि नै चलिआएको थियो । राजा र प्रजा सबै मिलेर एकादशी व्रतको घडा (कुम्भ) स्थापना गर्दथे र त्यसपछि धूप, दीप, नैवेद्य, पञ्चरत्न आदि यथोपचार सामाग्री जुटाई भगवान् नारायणको भव्य पूजा हुने गर्दथ्यो । एकपटक एकादशी व्रत गरेको समयमा सबै जना मन्दिरमा गई व्रत सम्पादनपछि जागरण गर्दै थिए । रात्रिका समयमा एउटा शिकारी आयो, शिकारीले खानेकुराको अभावमा दिनभरि भोकै बसेर समय बिताउनु परेको थियो । पेसाले एउटा सामान्य व्याधा र आर्थिक रूपमा समेत कमजोर भएकाले त्यस शिकारीले गर्ने नगर्ने जस्ता पनि पापकर्म गरी जीवनयापन गरेको थियो । खासमा त्यो व्याधा मन्दिरमा केही खानेकुरा होला र यसो आँखा छली चोरेर खान पाइन्छ कि भन्ने आशाले आएको थियो । मन्दिरमा धेरै मानिस भएका कारण उसले खानेकुरा चोरेर खाने अवसर त पाएन नै, उसलाई मागेर पनि खान सकिन्छ भन्ने बुद्धि पनि आएन । यसरी मन्दिरबाट मानिसहरू आआफ्ना घर जालान् अनि केही खानेकुरा चोरेर खानुपर्ला भन्ने मनसायमा ऊ एउटा झाडीमा छलिएर र लुकेर बसिरह्यो । एकादशीको दिन भएकाले मन्दिरमा भेला भएका श्रद्धालु रातभरि भगवान् नारायणको नाम सङ्कीर्तन र भजन गर्दै बसे, यसरी त्यस शिकारीले पनि भोको अवस्थामा नै त्यो रात जागै रहेर बिताउनु पर्यो ।
प्रातःकाल भएपछि सबैजना आफ्नो घरतर्फ गए । उज्यालो भएकाले चोरी गर्ने कुरै भएन, शिकारी पनि निराश हुँदै आफ्नो घरतर्फ लाग्यो । लगातारको भोक खप्न नसकेर केही समयपछि उसको मृ्त्यु भयो । त्यो व्याधा रातभरि जागरण गरेर बसेको त्यो झाडी अमलाको वन थियो । अमलाको झाडीमा उसले रात बिताउनु परेको थियो । यसरी आमलकी एकादशीको रात उसले जानीनजानी अमलाको वृक्षमुनि जागरण गरेर छर्लङ्ग काटेको थियो । यस्ता रीतले त्यस शिकारीले जानी/नजानी आमलकी एकादशीको व्रत पूर्ण गर्ने अवसर पायो । त्यसै व्रतको प्रभावले उसले पुण्य कमाउन पायो र उसबाट भएगरेका समस्त पापहरू पखालिएको हुँदा त्यसरी भरजन्म व्याधावृत्ति गर्ने शिकारी पनि पुण्यात्मा बन्न सफल भयो । यसै कारणले अर्को जन्ममा ऊ एउटा राजकुलमा जन्मन सफल भयो । राजकुलमा जन्म लिएको त्यो व्याधा असाध्यै वीर, धार्मिक, सत्यवादी र विष्णु(भक्त हुनपुग्यो । धर्मका सबै अङ्ग भक्ति, परोपकार, श्रद्धा र दानादि कार्यमा उसको रुचि थियो । एकपटक ऊ शिकार खेल्न भनी कुनै विकराल वनमा गएको थियो । ऊ त्यहाँ डाकाहरूको घेरामा पर्यो । राजकुमार एक्लै थियो तर डाकाहरू ठूलो सङ्ख्यामा थिए । डाकाहरूले उसमाथि अक्रमण गरे, अनेक किसिमका युद्ध भए । तर उसलाई डाकाहरूको त्यत्रो ठूलो जत्थाले पनि हराउन सकेन । अन्त्यमा उसलाई मार्ने उद्देश्यले डाकाको सरदारले टाढैबाट शस्त्र प्रहार गर्ने विचार गर्यो, तर सरदारको त्यस शस्त्रको पनि उसमा कुनै असर परेन । राजकुमार आफैंलाई अचम्म लाग्यो र अझ केही समयपछि त डाकाहरू उसलाई छोडेर स्वयं एक आपसमा पो लडाईं गर्न थाले । त्यसै बेला एउटा यस्तो दिव्यशक्ति प्रकट भयो, जसले सम्पूर्ण डाकाहरूलाई मारिदियो र अन्तर्धान भयो । यस घटनाबाट छक्क पर्दै पछिल्लो जन्ममा राजकुलमा जन्मने अवसर पाएको त्यस व्याधाले अचम्म मान्दै प्रश्न गर्यो – ‘यसरी मेरो रक्षा गर्ने को हो ? ।’ यसको  उत्तरमा भविष्यवाणी भयो – ‘हे बालक ! अहिले तेरो रक्षा भगवान् नारायणले गरिरहनु भएको छ । अनि आफ्नो रक्षाकवचका रूपमा साक्षात् ईश्वरलाई प्राप्त गर्ने सोभाग्य तैंले अघिल्लो जन्ममा विनाजानकारी आमलकी एकादशीको  व्रत गरेको हुनाले प्राप्त गरेको होस् ।’

विष्णुको मुखबाट अमलाको उत्पत्ति

विष्णु पुराणमा उल्लेख भएअनुसार एक पटक भगवान विष्णुले  थुक्दा वहाँको मुखबाट चन्द्रमाजस्तै एउटा बिन्दु प्रकट भयो र पृ्थ्वीमा झर्यो । त्यसै  बिन्दुबाट  आमलक अर्थात्  अमलाको महान् रुखको उत्पति भएको हो । यसै कारणले भगवान् विष्णुको पूजाआजा गर्ने क्रममा अमलाको प्रयोग गर्ने गरिएको हो ।
तत्र देवाधिदेवेशः परमात्मा सनातनः । जगाम ब्रह्मपरममात्मनः पदमव्ययम् ।
ततोस्य जाग्रतो ब्रह्ममुखाच्छशिसमप्रभः । ष्ठीवनाद्विन्दुरुत्पन्नः स भूमौ निपपात ह ।
तस्माद्विन्दुसमुत्पन्नः स्वयं धात्रीनवो महान् । शाखाप्रशाखाबहुलः फलभारेण नामितः ।
सर्वेषां चैव बृक्षाणामादिरोहः प्रकीर्तितः ।  ब्रह्मणाथ ततः पश्चात्संसृष्टाश्च इमाः प्रजाः ।
भगवान् विष्णुको श्रीमुखबाट प्रकट भएकाले अमलाको बृक्षलाई सर्वश्रेष्ठ मान्ने गरिन्छ अनि यस फलको नामोच्चारण गर्नासाथ वा यसको स्मरणमात्र गर्दा पनि गाई दान गरेजत्तिकै फल प्राप्त हुन्छ । यो फल भगवान् विष्णुका निमित्त अत्यन्त प्रिय वस्तु हो भन्ने गरिन्छ । प्रसिद्ध आयुर्वेदिक औषधी त्रिफलामा हर्रो, बर्रो र अमलाको प्रयोग हुन्छ, औषधीय गुण भएकाले अमलालाई पनि महत्त्वपूर्ण फल मान्ने गरिएको हो । अतः यस फलको सेवन गर्नाले स्वास्थ्य र अध्यात्म दुबै दृष्टिकोणबाट तीन गुणा शुभ फलको प्राप्ति हुन्छ ।
वास्तवमा आमलकी एकादशीको ठूलो प्रभाव छ । जानी वा नजानी यस एकादशीको व्रत लिने व्यक्तिले सहजै सायुज्य मुक्ति प्राप्त गर्दछ । पद्मपुराणमा भनिएको पनि छ –
फाल्गुने शुक्लपक्षे तु पुष्येण द्वादशी यदि । भवेत्सा च महापुण्या महापातकनाशिनी ।
विशेषस्तत्र कर्त्तव्यः शृणुध्वं द्विजसत्तमाः । आमलकीं च संप्राप्य जागरं तत्र कारयेत् ।
सर्वपापविनिर्मुक्तो गोसहस्रफलं लभेत् । एतद्वः कथितं विप्रा व्रतानां व्रतमुत्तमम् ।

फाल्गुन महिनाको शुक्लपक्षमा द्वादशीका दिन पुष्य नक्षत्र पनि युक्त भएको छ भने यो ठूलो पुण्य प्राप्ति गराउने र ठूलाठूला पातकहरूलाई नाश गराउने दिन हुन्छ । विशेषगरी त्यस रात अमलाको रुखका छेउमा गएर रातभरि जागरण गर्नु पर्दछ । त्यसबाट सबै किसिमका पापहरू नाश हुन्छन् । हज्जारौं गाई दान गरेको फल प्राप्ति हुन्छ । यसरी जानेर बुझेर वा नजानी यस एकादशीको व्रत लिने व्यक्तिले सहजै सायुज्य मुक्ति प्राप्त गर्दछ । त्यस्तै यस एकादशीको व्रतकथा सुन्ने, पढ्ने र सुनाउने व्यक्तिका जन्मजन्मान्तरमा जानी नजानी गरेका समस्त पापराशिको नाश हुन्छ ।

पठनाच्छ्रवणाच्चैव वाजपेयफलं लभेत् ।
व्रतमेतद्धुराधर्षं सर्वपापप्रमोचनम् ।
श्रीमन्नारायण ।।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!