ताजा सामाग्री

पारिवारिक सुखसम्मृद्धिका निमित्त गोविन्द द्वादशी

पारिवारिक सुखसम्मृद्धिका निमित्त गोविन्द द्वादशी को फोटो
No Comments , मंगलबार, फाल्गुन १५, २०७४ , by Krishna Pd. Koirala

आज गोविन्द द्वादशी हो । भगवान् गोविन्दप्रति समर्पित छ, यो दिन । भगवान् गोविन्दको कृपा प्राप्त गर्नका निमित्त आजका दिन खासगरी वैष्णवजनहरूले व्रत लिने गर्दछन् । जुन व्रतले सबै किसिमका सुखसम्मृद्धि र वैभवलाई प्रदान गर्दछ र कलियुगका समस्त पापहरूलाई शमन गर्दछ, त्यो पवित्रतम व्रत गोविन्द द्वादशी हो । आजका दिन ब्राह्मणहरूलाई दान, पितृहरूलाई तर्पण, हवन, यज्ञादिको ठूलो महत्त्व छ । फाल्गुनको शुक्लपक्षको एकादशीको ठिक दोस्रो दिन यस गोविन्द द्वादशीको व्रत लिने गरिन्छ, जसमा पूजा, सदाचार, शुद्ध आचारविचार, पवित्रता आदिको विशेष महत्त्व हुन्छ । यो द्वादशी तिथिबृद्धि भई दुई दिन परेको छ भने पछिल्लो अर्थात् जुन दिन प्रदोष परेको छ, त्यस दिन यो गोविन्द द्वादशी व्रतको सम्पादन गर्ने नियम छ । अन्य व्रतहरूजस्तै यस व्रतले पनि धनधान्य र सुखसम्मृद्धि प्राप्त हुन्छ र रोगनाश भई सुस्वास्थ्य र आरोग्यबृद्धि हुने गर्दछ भन्ने मान्यता छ । यस व्रतको सम्पादनबाट  मानवजीवनका समस्त रोगव्याधिहरू निर्मूल भई समस्त सांसारिक सुखलाई निर्बाध भोग गर्न पाई अन्त्यमा वैकुण्ठलोक प्राप्त भई मोक्ष प्राप्त गर्न सकिन्छ । यस व्रतको व्रतविधि र नियम भगवान् श्रीकृष्णले शरशय्यामा मृत्युको प्रतीक्षा गर्दै गरेका भीष्मपितामहलाई बताउनु भएको थियो र उनले नै यस व्रतको सर्वप्रथम पालना गरेका थिए भन्ने पौराणिक मान्यता छ । यस व्रतको फल एकादशीको व्रतको फल सरह हो ।
कुनै समयमा एउटी अहिर वंशकी कन्या अर्थात् ग्वालिनी युवतीले  गोविन्द द्वादशीको व्रतलाई नियमनिष्ठाका साथमा पालना गरेकी थिईन् । त्यसको पुण्यप्रभावले उनले मोक्ष प्राप्त गरिन् र त्यसपछि उनी स्वर्गकी सुन्दरी अप्सराहरूकी अधीश्वरी भएर उर्वशीका रूपमा स्वर्गको सुख भोग्दी भईन् । यो व्रत कलियुगका आममानिसले भोग्ने दैनिकीसित सम्बद्ध छ । मानसिक विकार, कार्यमा बाधा, उन्नतिप्रगतिमा अवरोध, आर्थिक विषमता, रोगव्याधिको प्रकोप र खिन्नता जस्ता विकारहरूको निवृत्तिका लागि यस व्रतको सम्पादन गर्नु वाञ्छनीय हुने गर्दछ । त्यसै पनि फाल्गुन महिनाको शुक्लपक्षमा पर्ने द्वादशीलाई परम पूजनीय द्वादशी मान्ने गरिन्छ । पद्मपुराणको उत्तर खण्डको ४५ औं अध्यायको एउटा प्रसङ्गमा यस द्वादशीको एक दिन पहिले पर्ने एकादशी आमलकी एकादशीको महात्म्य बताउने क्रममा यस द्वादशीको महिमाको समेत उल्लेख भएको छ । उक्त प्रसङ्गमा उल्लेख गरिएको छ –
फाल्गुने शुक्लपक्षे तु पुष्येण द्वादशी यदि । भवेत् सा च महापुण्या महापातक नाशिनी ।
यसरी आमलकी एकादशीको महात्म्यका क्रममा पनि यस गोविन्द द्वादशीको पुण्यको चर्चा गरिएको छ । त्यसैले पनि यो गोविन्द द्वादशी पुण्यदायी द्वादशी हो ।  यस व्रतमा ओम् नमो नारायणाय नमः, श्रीकृष्णाय नमः, सर्वात्मने नमः आदि भगवान् विष्णुका विभिन्न नाममन्त्र वा विष्णुसहस्रनाममा उल्लिखित नाममन्त्रद्वारा भगवान् नारायणको पूजाआजा गर्ने गरिन्छ । प्रातः ब्रह्ममुहूर्तमा उठी नित्यकर्म र स्नानोपरान्त सन्ध्यावन्दनादि नित्यकर्म सकेर पूजावेदीमा दीप, कलश र गणेशको पूजन गरी कुनै प्रतिमा वा छविचित्रमा भगवान् विष्णु र माता लक्ष्मीको प्रतिष्ठा गरी षोडशोपचार विधिले भगवान् लक्ष्मीनारायणको पूजाअर्चना गर्नुपर्दछ । यसरी पूजा गरिसकेर ब्राह्मणहरूलाई सिधा, दक्षिणा प्रदान गरी भोजन गराएपछि आफूले पनि भोजन गर्नुपर्दछ । विधिपूर्वक व्रतको सम्पादनपछि भगवान् लक्ष्मीनारायणमा समर्पण गर्दै परिवारका सबै सदस्यले एकसाथ भगवान् गोविन्दसँग आयु, ऐश्वर्य, सुख र सम्मृद्धिका साथै धर्म, अर्थ, काम र मोक्षका निमित्त प्रार्थना गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!