ताजा सामाग्री

किन मनाइन्छ होली ?

किन मनाइन्छ होली ? को फोटो
No Comments , शुक्रबार, फाल्गुन १८, २०७४ , by Krishna Pd. Koirala

 

सनातन हिन्दू संस्कृतिमा रङ्गीन पर्व होलीको आफ्नै धार्मिक तथा पौराणिक मान्यता छ । चलनचल्तीमा होली भनिने फागु पूर्णिमा एउटा प्राचीन उत्सव हो । उत्तरी भारतको अधिकांश क्षेत्र तथा नेपालको मधेशमा होली पर्व सबैभन्दा ठूलो र विशिष्ट चाडका रुपमा मनाउने गरिन्छ । हामी र हाम्रा यावत् चाडपर्व र उत्सव कृषि जीवनमा आधारित छ । समयचक्रमा ऋतुपरिवर्तनका साथमा हाम्रा मानसिक उतारचढाव र कामधन्दाको चपेटालाई दृष्टिगत गरी हाम्रा कतिपय व्रतउत्सव र चाडपर्वको आयोजना हुने गर्दछ । यसै क्रममा उराठलाग्दो चिसो मौसमलाई विदा गर्दै वसन्तको सिर्जनात्मक बिहानी बोकेर आउने एक साता लामो पर्व फागु उत्सव हो र यसको उत्कर्षको दिन नै फागुपूर्णिमा हो । प्रत्येक वर्षको फाल्गुन शुक्ल पक्षको पूर्णिमा तिथिलाई फागु पूर्णिमा, होली, चीरदाह, फगुवा आदि नामले चिनिन्छ । सबै जाति, सबै धर्म र सम्पूर्ण संस्कृतिप्रेमीको यो सिङ्गो चाड नेपाल, भारतलगायत सनातन हिन्दू धर्मावलम्बीहरू बसोबास गर्ने विभिन्न क्षेत्रमा अत्यधिक उत्साह उमङ्ग र हर्षोल्लासका साथमा मनाइन्छ । धार्मिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक आदि सबै दृष्टिकोणबाट फागू पूर्णिमाको विशिष्ट महत्त्व देखिन्छ ।
 
पौराणिक महत्त्व
होली पर्वसँग जोडिएका विभिन्न कथा र आख्यान विभिन्न पुराण, किम्वदन्ती र दन्त्यकथामा रहेको देखिन्छ । तीमध्ये बहुप्रचलित कथा हो – प्रह्लादभक्ति कथा । प्रायशः सबै पुराणमा यस कथाको वर्णन छ । राक्षसहरूका राजा हिरण्यकाशिपुको जन्म ऋषि कश्यप र दक्षपुत्री दितिको कोखबाट भएको थियो । ऊ आफ्नो भाइ हिरण्याक्षको बध विष्णुले गरेको हुँदा विष्णु र वैष्णवजनको विरोधी थियो । उसका चार भाइ छोरा थिए – ह्राद, अनुह्राद, संह्राद, प्रह्लाद । ती मध्ये प्रह्लाद विष्णुभक्त थिए । आफ्नो शत्रुको भक्ति गरेको भन्दै हिरण्यकशिपुले सुरुमा ललाइफकाई, अनुशासनमा राखी अनेक प्रयत्न गरी प्रह्लादलाई विष्णुभक्तिबाट विमुख गराउने प्रयास गर्यो । तर प्रह्लादमा रहेको आध्यात्मिक भावना मेटिएन । त्यसपछि उसले शत्रुको उपासना गर्ने आफ्नो छोरालाई नै मार्ने विचार गर्यो । विष खुवायो, हात्तीले कुल्चायो, पर्वतबाट खसाल्यो, सर्पले टोकायो, तैपनि प्रह्लाद मरेनन् । केही उपाय नलागेपछि हिरण्यकशिपुले आफ्नी बहिनी होलिकाको सहायता लिई प्रह्लादलाई डँढेलोमा पोलेर मार्ने योजना बनायो । होलिकाले ब्रह्माबाट आगोमा नडढ्ने वरदान पाएकी थिई । होलिका प्रह्लादलाई काखमा लिई ठूलो दावानल (डँढेलो) भित्र पसी, तर अभिमानी, अहङ्कारीलाई वरदानको सत्यताले काम दिन सकेन, भक्त प्रह्लादलाई अग्निले जलाएन तर पापिनी होलिकालाई अग्निले जलाएर भष्म पारिदियो । हिरण्यकशिपुलाई पनि पछि भगवान विष्णुले पछि नरसिंह अवतार लिएर मारे । हिरण्यकशिपुकी बहिनी होलिका दहन भई प्रह्लाद सुरक्षित भएकोमा खुसीले ठूलो उत्सव गरियो, अविर जात्रा भयो, त्यही नै होली पर्वको सुरुवातको कारण बन्नपुग्यो । सत्यका पक्षपोषक भक्त प्रह्लाद सकुशल रहेर असत्यको प्रतीक होलिका नाश भएको उत्सवमा भक्त प्रह्लादलाई सगुन खुवाएर, सिन्दुर र अवीर दलेर, दूवो, फूल छर्किएर महोत्सव मनाइयो ।
 
त्रेता युगमा पनि होली पर्वको महत्व दर्शाउने अर्को आख्यान भेटिन्छ । रघु राजाको पालामा ढुण्डा नामकी राक्षसनी थिई । त्यस दुष्टले नवजात बालकहरूलाई मार्दथी । राक्षसनीको यस्तो चाला देखेर पीडित प्रजाहरूको वेदनालाई शमन गर्न राजा रघुले नारद ऋषिसँग उपाय सोधे । राजाले ऋषिबाट फागुन शुक्ल पूर्णिमाका दिन सबै केटाकेटी मिलेर हाहाहुहु र नाचगान गर्दै दोबाटो/चौबाटोमा आगो बालेमा उक्त राक्षसनीको शक्ति नाश हुन्छ भन्ने थाहा पाए । ऋषिको आज्ञाअनुसार त्यसो गर्दा ढुण्डाको नाश भएको र त्यही खुसियालीमा यो पर्व मनाउने प्रचलन सुरु भएको भन्ने पनि मानिन्छ ।
 
द्वापर युगमा अत्याचारी कंसकी सहयोगी पुतनाको बधसँग पनि यो उत्सवलाई जोड्ने गरिन्छ । कालनेमि कंसको अत्याचारबाट आक्रान्त बन्न पुगेकी पृथ्वीदेवी गाईको रूप लिएर क्षीरसागरमा पुगीन् र भगवान् विष्णुको स्तुति गरिन् । पृथ्वीको आर्तनाद सुनी विष्णुले पृथ्वीको भार हरण गर्ने आश्वासन दिए र कंसकी बहिनी देवकीको गर्भबाट जन्म लिएर पृथ्वीतलमा अवतार लिने बताए । कंसका मित्र वसुदेवको विवाह कंसका पिता उग्रसेनको भाइ देवककी छोरी देवकीका साथमा भएको थियो । उग्रसेनको छोरो कंसले काकाकी छोरी देवकीको वरियात अन्माउँदा दुलहादुलहीको रथ आफैं हाँकेको थियो । त्यसै बेलामा आकाशवाणी भयो, –‘हे कंस, तँ आज जसको रथ हाँकेर खुसी भइरहेको छस्, त्यसैको आठौं गर्भद्वारा तेरो मृत्यु हुनेछ ।’ यस्तो आकाशवाणी सुनेर कंस चिन्तित भयो र जसको गर्भबाट जन्मने सन्तान आफ्नो शत्रु हुन्छ, त्यही बहिनीलाई मारिदिएमा टण्टै साफ भन्ने उद्देश्यले देवकीलाई मार्न खड्ग उचाल्यो । कंसको त्यस्तो चाल देखेर वसुदेवले दुई हात जोरी ‘विवाहको दिनमा स्त्रीहत्या गरी पापको भागी नबन, त्यसमाथि देवकी त तिम्री बहिनी पनि हुन् । बरु यसले जन्माएका सबै बच्चा जन्मनासाथ तिमीलाई सुम्पने छु’ भनेर नवविवाहिता पत्नीको प्राणयाचना गरे । त्यसपछि वसुदेवले वाचा गरेबमोजिम देवकीको गर्भबाट जन्मेका ६ वटा वच्चाहरू कंसलाई सुम्पिए । ती सबै बच्चालाई कंसले ढुङ्गामा पछार्दै मार्यो । सातौं गर्भ देवकीको गर्भबाट रोहिणीको गर्भमा सारियो । देवकीको आठौं गर्भबाट कृष्णका रूपमा भगवान् नारायणले अवतार लिए । मथुरामा रहेको कंसको कालकोठरी जेलमा जन्मिएका कृष्णलाई वसुदेवले मध्यरातमा गोकुल पुर्याए र नन्द र यशोदाकी छोरीका रूपमा अवतीर्ण भएकी नवदुर्गा भगवतीलाई लिएर फर्किए । भगवान् विष्णुले मायाको सिर्जना गरी पाले, पहरेदार र नागरिकको चेतना ढाकिदिएकाले एवं रात्रीकालको घटना भएकाले वसुदेवले पुत्र कृष्णलाई मथुराको जेलबाट गोकुल पुर्याएको रहस्य कसैलाई थाहा भएन । वसुदेव गोकुलबाट फर्किएपछि मात्र पाले ब्युँझिए । कंसलाई देवकीको आठौं शिशुका रूपमा कन्या जन्मिएको सूचना दिइयो । कंस अत्तालिंदै कारागृहमा आयो र ती कन्यालाई खुट्टामा समाती आकाशमा घुमाउँदै ढुङ्गामा पछार्ने चेष्टा गर्यो । ती कन्या योगमाया भगवती थिईन्, कंसले पछार्नासाथ ती आकाशमा पुगिन् र आफ्नो अष्टभुजा स्वरूपको दर्शन दिंदै भनिन् – ‘रे दुष्ट तेरो शत्रु गोकुलमा जन्मिसकेको छ ।’ कंस छक्क पर्यो र आफ्ना सहयोगी र मतियार बोलाई गोकुलमा गई त्यहाँ भएको नवजात शिशु सबैलाई मारेर आउने ऊर्दी जारी गर्यो । कंसकी अर्की बहिनी पुतना थिई, त्यसको स्तनमा विषको धारा बग्दथ्यो । सबैभन्दा पहिले पुतनालाई गोकुल जान खटाइयो । भोलिपल्ट विहानै पुतना गोकुल पुगी । आफ्ना कारणले गाउँभरिका नवजात बच्चाहरूको प्राण सङ्कटमा परेको ठानी भगवान् कृष्णले जोडजोडले रुँदै पुतनालाई आफूतर्फ आकर्षित बनाए । पुतनाले कृष्णलाई तानेर काखमा राखी स्तनपान गराई । उसको स्तनमा रहेको विष भगवान् कृष्णका निम्ती अमृतसरह भयो । पुतनाको प्राणपखेरु नउडुन्जेल कृष्णले पुतनाको स्तनपान गरे र अन्त्यमा पुतनाको मृत्यु भयो । समस्त गोकुलवासी हर्षित भए अनि गोकुलमा नन्द र यशोदालगायत समस्त व्रजबासी ग्वालाहरूले अवीर, केशरी, दही, तेल, बेसार, छ्यापाछ्याप गरी धुमधामका साथ उत्सव मनाए । त्यही परम्परा आजसम्म पनि होलीका रूपमा कायम रहेको विश्वास विशेषतः भारतको वृन्दावन र व्रजक्षेत्रमा रहेको पाइन्छ ।
 
काठमाण्डौका नेवार समुदाय होलीको फरक किंवदन्ती छ । पौराणिक कालमा सिंह सार्थबाहु नामका व्यापारी धेरैजना साथीहरू लिएर ल्हासा पुगेका थिए । त्यहाँ उनीहरूको व्यापार राम्रै जमेको पनि थियो । तर व्यापारभन्दा पनि स्थानीय तरुनीहरूको मायाजालमा लठि्ठएर सार्थबाहुका साथीहरू घर फर्कन चाहँदैनथे । तर सार्थबाहु घर जान नपाएर नियास्रिएका । सार्थबाहुले नियमित मत्स्येन्द्रनाथको प्रार्थना गरी घर फर्कन पाऊँ भनी बिन्तीभाउ गरे । एक रात मत्स्येन्द्रनाथ प्रकट भए र ती तरुनीहरू राक्षसनी भएको बताए । त्यसैले फर्किने बेला ती तरुनीहरूलाई पछाडि फर्किएर नहेरी सरासर अघि बढ्न सुझाव दिए । पछाडि हेर्नेलाई ती राक्षसनी तरुनीहरूले खाइदिने जानकारी पनि गराए । सार्थबाहुले आफ्ना साथीहरूलाई यही कुरा बताए र घर फर्कन आग्रह गरे । घर फर्कने क्रममा भगवान् मत्स्येन्द्रनाथले दिएको आदेश उल्लङ्घन गर्ने युवाहरू राक्षसनी तरुनीको भोजन भए र मरे । तरुनीतिर नहेरी फर्किनेहरू सकुशल काठमाण्डौ घर आइपुगे । यसरी लामो समय हराएका युवाको पुनः आफ्नै घरमा आगमन भएकोमा स्वागत गर्दै समस्त गाउँवासीले अवीरजात्रा गरे । यो दिनको सम्झनामा चकद्य यात्रा तथा महोत्सव आयोजना गरी होली मनाउने गरिएको कुरा ‘नेपालका चाडपर्वहरू’ नामक पुस्तकमा उल्लेख गरिएको छ ।
 
सामाजिक महत्त्व
फागु पूर्णिमा शिशिर ऋतुको समाप्तिको दिन हो । चान्द्रमासको गणनाबमोजिम यस पूर्णिमाको भोलीपल्टदेखि चैत्र महिना र वसन्त ऋतु प्रारम्भ हुन्छ । शिशिर ऋतुमा कठ्याङ्ग्रिएको प्राकृतिक परिवेश र मानवमनको शुष्कता समाप्त भई वसन्त ऋतुमा हुने नैसर्गिक परिवर्तनसँग यो पर्व जोडिएको पाइन्छ । वसन्त ऋतुलाई ऋतुहरूको राजा मान्ने गरिन्छ । वसन्तको रमणीय वातवरणमा शिशिर ऋतुको चिसो सिरेटो कम हुँदै जान्छ, दिन लामा हुँदै जान्छन्, चराचुरुङ्गी चीरविर-चीरविर कराएर, हिउँदभरि उजाड र नाङ्गा रहेका रुख विरुवाले पालुवा फेरेर र फूलफूल्ने विरुवाहरू ढकमक्क फूलेर वसन्तको आगमन तथा सामाजिक जनजीवनमा नै उमङ्ग र उल्लासको सङ्केत गर्दछन् र प्रकृतिका प्रत्येक क्षेत्रमा नयाँ सिर्जना र उल्लासमय वातावरणको आगमन हुन्छ । हिउँद महिनामा कृषितर्फ गहुँ, तोरी, दलहन र गेडागुडी उत्पादनको महिना हो । नेपालको तराई क्षेत्रमा यसरी नवउत्पादित गेडागुडी वरपरको पराल, झ्यासझुस र पतकर बालेर त्यसमा राखी पोलेर खाने प्रचलन पनि छ । खासगरी मैथिली संस्कृतिको उर्वर भूमि धनुषा, महोत्तरी, सिराहा, सप्तरीलगायत मिथिलाञ्चलमा होलीका दिन घर, सडक सबैतिरको फोहोर एक ठाउँमा थुपारी आगो बालिन्छ । सरसफाइको उत्सवको रुपमा पनि मनाइने यो कर्मलाई सम्मत जलाउने भनिन्छ । यसरी पोलेको गेडागुडी र अन्नलाई संस्कृतमा होलका र मैथिलीमा होराहा भन्ने गरिन्छ । विशेषतः फागु उत्सवमा गहुँ, चना, जौ आदिको आहुति दिएर डढेको खरानी प्रसाद स्वरुप लिने परम्परा पनि छ, आगोमा पोलेको अन्नादि बढी पौष्टिक हुन्छ र त्यसको सेवनबाट शरीर निरोगी र फुर्तिलो पनि बन्छ, अनि बाटाघाटामा थुपारिएका पराल, पातपतिङ्गर र फोहोर डढाउने र हटाउने कार्यले गाउँघरको वातावरण सफा भई स्वस्थकर र हीतकर बन्न पुग्छ अनि पर्व मनाउने क्रममा आपसी द्वेष, रिसराग, ईर्ष्या र कलह बिर्सिएर अवीर, रङ आदि एकआपसमा दलेर भाइचारा बढ्नाले सामाजिक वातावरणमा समेत शुद्धि हुन्छ र घरघरमा पाक्ने फुलौरा, तरुवाजस्ता परम्परागत खानपानले होलीको विशिष्टता कायम राख्दछ । त्यसैले कृषिजीवनमा यस पर्वको छुट्टै महत्त्व देखिन्छ ।
 
प्रक्रिया र परम्परा
होली पर्वको सुरुवात प्रत्येक वर्षको फाल्गुन महिनाको शुक्लपक्षको अष्टमी तिथिबाट सुरु हुन्छ । त्यस दिन असत्यमाथि सत्यको विजय भएको मान्यताका साथ प्रतीकात्मक रूपमा चीर उठाउने गरिन्छ । भारतको वृन्दावन र व्रजक्षेत्रमा त्यसै दिनदेखि रङ्ग छ्यापाछापको क्रम सुरु हुन्छ । काठमाण्डौ उपत्यकाको वसन्तपुरमा भने चिरोत्थान अर्थात् फाल्गुन शुक्ल अष्टमीका दिन २५ फिट अग्लो काठको लिङ्गो ठड्याई विभिन्न रङ्गीन कपडाले त्यसलाई बेरी टुप्पामा एक किसिमको झल्लरी छाताजस्तो बनाई ठड्याइन्छ र एक सातापछि होली पूर्णिमाको रात्रिकालमा त्यसलाई जलाउने गरिन्छ । यसै कार्यलाई चीरदाह भनिने र चीरको खरानीको टीका लगाउँदै फागुका अनेकौं गीत नृत्य र खास गरी व्यङ्ग्य गीत गाउँदै खरानीलाई प्रसादका रूपमा घर लैजाने चलन छ । काठमाण्डौ उपत्यकामा चीरदहनअघि धुमधामका साथमा एकआपसमा रङ्ग दलेर होली मनाइन्छ भने तराई क्षेत्रमा होलीपूर्णिमाका दिन राती चीरदाह गरी भोलीपल्ट होली उत्सव मनाउने गरिन्छ ।
 
सारांशमा फागु पर्व हर्ष, उल्लास, खुसियाली अनि आमोदप्रमोदको पर्व हो । वसन्त ऋतुको आगमनसंगै रङ्ग खेलेर उल्लासपूर्ण रूपमा मनाइने यस पर्वलाई मेलमिलाप, आपसी भाइचारा र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा लिइन्छ । पुरानो मनोमालिन्य, शत्रुता र वैरभावलाई बिर्सेर घर-घरमा गई शुभकामना आदानप्रदान गर्दै भोजभतेर गरी हर्षोल्लासका साथमा मनाइने यो फागुपर्व काठमाडौंमा मल्लकालदेखि आरम्भ भएको कुरा इतिहासले पुष्टि गरेको छ । बडो हर्षोल्लासका साथ मनाइने फागुपर्व विजयउत्सवको नमूना हो । यसरी मनमस्तिष्क र समग्र समाजको प्रदूषण हटाई नवीन चेतना, उत्साह र नयाँ कार्यशैलीप्रति प्रेरणा दिने पर्व फागुपर्वले हाम्रा घरआँगनीमा सामाजिक एकता र सद्भाव कायम राख्न प्रेरणा देओस् भन्ने सन्देश प्रदान गर्ने गरेको प्रमाणित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!