ताजा सामाग्री

जानीनजानी गरिएका पाप नाश गर्ने व्रत : पापमोचिनी एकादशी

जानीनजानी गरिएका पाप नाश गर्ने व्रत : पापमोचिनी एकादशी को फोटो
No Comments , मंगलबार, फाल्गुन २९, २०७४ , by Krishna Pd. Koirala

प्रत्येक वर्षको चैत्र कृष्ण पक्षको एकादशीलाई पापमोचिनी एकादशी भनिन्छ । पापमोचिनीको अर्थ हुन्छ पापलाई नष्ट गर्ने सामर्थ्य प्राप्त भएको । यस एकादशीको महात्म्य र कथाप्रसंग भिन्नभिन्न पुराणमा बेग्लाबेग्लै किसिमले उल्लेख गरिएको छ । पद्मपुराणमा भगवान् श्री कृष्णले युधिष्ठिरको जिज्ञासा शान्त पार्दै यस एकादशीको व्रत कथा बताउनु भएको छ । युधिष्ठिरले चैत्र वैशाख महिना वसन्त ऋतुको समय हो, यस समयमा कामदेवको प्रबलता बढ्दछ, प्राकृतिक वातावरण पनि कामुकतालाई बढाउने र उत्तेजक बन्न पुग्छ, प्रकृति र इन्द्रियको दास भई वासना र मोहका कारण मनुष्यका कर्तव्य र आचरणमा बाधा उत्पन्न हुने परिस्थिति पनि सिर्जना हुनसक्छ, यसरी नैसर्गिक रुपमा मनुष्य पथभ्रष्ट भई अनेकौं पापको भागी बन्नु पर्छ, यसरी जानी वा नजानी गरेका प्राकृतिक पापको निवारण गर्ने उपाय के छ ? भनी प्रश्न गर्दा भगवान् श्री कृष्णले यस एकादशीको कथा बताउनु भएको हो ।  राजा युधिष्ठिरका यस्ता लोककल्याणकारी जिज्ञासालाई शान्त बनाउँदै भगवान् श्रीकृष्णले आज्ञा गर्नुभयो, हे युधिष्ठिर, तिमीले सोधे झैं नै एक पटक राजा मान्धाताले पनि लोमश ऋषिसित जीवले जानी नजानी गरेको पापकर्मबाट मुक्त हुने उपायका बारेमा प्रश्न गरेका थिए । राजा मान्धाताको प्रश्नको उत्तरमा लोमश ऋषिले राजालाई एउटा कथा सुनाए, त्यही कथा म बताउँदछु ।
हिमालयको एउटा सुरम्य स्थानमा चैत्ररथ नामको सुन्दर वन थियो । त्यहाँ मेधावी नाम गरेका ऋषिपुत्र आफ्नो साधना र लक्ष्य पूर्ण होस् भन्ने उद्देश्यले भगवान् शिवको तपस्यामा लामो समयदेखि लीन थिए । मेधावी च्यवन ऋषिका छोरा थिए, च्यवनले पनि लामो समयसम्म तपस्या गरेका थिए र तपस्यारत रहँदारहँदै धमिराले माटो उठाएर उनको शरीरलाई नै पुरेको थियो, तर ऋषि च्यवनको तपस्याको तेज सूर्यको तेज झैं उनको शरीर पुरिएको माटोको ढिस्को बाहिर निस्केको थियो । उनका पुत्र मेधावीको साधना पनि पिता च्यवनभन्दा कम थिएन । कुनै ऋषिले घोर तपस्या गरी साधना गर्यो भने स्वर्गका राजा इन्द्रलाई आफ्नो पद र सुविधा हरण गर्छन् भन्ने चिन्ता बढ्थ्यो र कुनै पनि वाहना बनाई ऋषिको साधनामा विघ्न पुर्याउने दाउमा इन्द्र लाग्दथे । यस पटक मेधावीको साधनामा भाँजो हाल्न इन्द्रले आफ्नो सभामा रहेका अप्सरामध्ये मञ्जुघोषालाई खटाए । अप्सराको हाउभाउ र कटाक्षलाई साथ दिन कामदेव खटे । भर्खर तरुणावस्थामा प्रवेश गर्न लागेका ऋषिपुत्र, वनको सुरम्य स्थल, वसन्त ऋतुको मनमोहक वातावरण, कामदेवको उपस्थिति र मञ्जुघोषा अप्सरा गायन, नृत्य, भावभङ्गिमा आदिका सामु मेधावीको केही लागेन । उनी अप्सराको ईशारामा नाच्नथाले । आफ्ना कामकर्तव्य र लक्ष्यउद्देश्य सबै बिर्सिए । एक वर्षसम्म अप्सरालाई भोग गरेपछि ऋषिपुत्र झल्याँस्स ब्युँझिए । आफ्नो लक्ष्यमा विचलन आएकोमा उनलाई हीनताबोध भयो । दिक्क माने, घोरिए, निराश भए अनि पथभ्रष्ट भएको कारण खोज्दै जाँदा अप्सरालाई दोषी ठहर्याए र क्रोधित हुँदै तुरुन्त श्राप दिइहाले, हे मञ्जुघोषे, तैंले मेरो सिद्धि र साधनाको मार्गमा अवरोध सिर्जना गरिस्, त्यसैले तैंले तुरुन्त पिशाचिनी बन्नु परोस् । ऋषिको तपस्याको सबै पुण्य समाप्त भैसकेको थिएन । उनको श्राप लाग्न सक्थ्यो, त्यसैले श्राप पाएकोमा अत्तालिंदै र दुःखित हुँदै मञ्जुघोषा ऋषिका गोडामा परिन् र आफ्नो कुनै गल्ती नभएको एवं राजा इन्द्रकी दासी भएकाले स्वामी इन्द्रको आदेश पालना गर्ने क्रममा आफूले गल्ती गर्नु परेको तथ्य बताउँदै मुक्ति पाउन अनुनय विनय गरिन् । त्यसपछि अप्सरामात्र होइन, आफ्नो क्रियाकलाप पनि त अप्सरालाई सहयोग गर्ने खालको रहेको अनुभूति गर्दै मेधावीले अप्सरालाई क्षमा गरे र दिएको श्रापबाट उम्कनका लागि विधिपूर्वक चैत्र कृष्ण एकादशीको व्रतको पालना गर्नुपर्ने बताए । एक संवत्सरसम्म वासना र भोगमा निमग्न भएका कारण ऋषिको तेज पनि लोपोन्मुख थियो, त्यसैले ऋषिले पनि यस एकादशीको उपवास गरे । यसरी चैत्र महिनाको कृष्णपक्षमा पर्ने एकादशीको व्रत र उपवास निष्ठापूर्वक गर्नाले ऋषिपुत्र मेधावी र मञ्जुघोषा अप्सरा दुबै जनाको पाप नष्ट भयो । व्रतको प्रभावले अप्सरा अझ सुन्दरी र लोभलाग्दी बनेर इन्द्रको सभामा फिर्ता गईन्, ऋषिपुत्र मेधावी पुनः साधना र तपस्यामा लीन भए । यसरी जानीनजानी गरेका काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यका कारण उत्पन्न हुने यावत् पापराशिलाई निवारण गर्न सक्ने भएकाले यस एकादशीको नाम नै पापमोचिनी एकादशी रहन गयो ।
यस व्रतलाई के कसरी पालना गर्न सकिन्छ भन्ने विषयमा भविष्योत्तर पुराणमा वर्णन गरिएको छ । यस व्रतमा भगवान विष्णुको चतुर्भुज रूपको पूजा गर्नुपर्छ, व्रत लिने व्रतालुले अघिल्लो दिनदेखि नै एक पटक मात्र सात्विक भोजन गर्नुपर्छ र मनबाट भोगविलासको भावनालाई त्यागेर हरिमा मन लगाउनु पर्छ । एकादशीका दिन सूर्योदय कालमा स्नान गरेर व्रतको सङ्कल्प गर्नुपर्छ । त्यसपछि षोडशोपचार विधिले लक्ष्मीसहित भगवान् विष्णुको पूजा गर्नुपर्छ । पूजापछि लक्ष्मीनारायणको चित्र ला प्रतिमासामु बसेर भगवानका दिव्यनामको सङ्कीर्तन, कथाप्रसङ्ग र श्रीमद्भागवतका कथाको पाठ अथवा श्रवण गर्नुपर्छ । एकादशी तिथिका दिन जागरण गर्नाले व्रतको फल अझ धेरै पाइन्छ, त्यसैले सम्भवभएसम्म रात्रिकालमा पनि निराहार रही भजनकीर्तन गर्दै जागरण गर्नुपर्छ । द्वादशीका दिन प्रातःकालमा स्नानादि नित्यकर्म गरी लक्ष्मीनारायणको विधिपूर्वक पूजा गरी ब्राह्मणलाई भोजन गराई दक्षिणा सहित विदा गर्नुपर्छ र आफूले पनि भोजनादि गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!