ताजा सामाग्री

भगवान् महावीर

भगवान् महावीर को फोटो
No Comments , बिहीबार, चैत १५, २०७४ , by Krishna Pd. Koirala

 

जैन धर्मावलम्बीहरूका २४औं तीर्थङ्कर भगवान महावीरको जन्म ईशापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन ५४३ वर्ष विक्रमपूर्व वैशाली गणतन्त्रका लिच्छिवी वंशका महाराज श्री सिद्धार्थ र माता त्रिशला देवीका सुपुत्रका रूपमा भएको थियो। त्यो यस्तो समय थियो जब भारतवर्ष अन्धविश्वास र पाखण्डको अन्धकारमा चुर्लुम्म डुबेको थियो, भारतवर्षमा यत्रतत्र धर्म र अध्यात्मका नाममा पशुबलि र हिंसाको प्रचलन थियो । एकअर्काका स्वार्थ, अभिमान, इज्जत र प्रतिष्ठाको मिथ्याभिमानले मानवीय मूल्यलाई धूलोमा मिसाउँदै थियो । पारस्परिक सहयोग र सौहार्द्रताका सट्टामा ईर्ष्या र द्वेष हाबी भएका थिए । सामाजिक सद्भाव र वर्ग समन्वयको संस्कृति जातिवाद र वर्ण विभाजनको पिंजडामा थुनिएको देखिन्थ्यो । धर्म, आचरण र संस्कार केही धर्मग्रन्थ र पुस्तकहरूमा मात्र सीमित देखिन्थे । धनको लोलुपता, भौतिक भोगविलासका तुलनामा त्याग र अपरिग्रहको मूल्य नै थिएन । यस्तो अन्धकारमय समयमा क्षितिजमाथि अहिंसा, सत्य, त्याग र दयाका नवकिरणहरू भगवान् महावीरको अवतारका रूपमा प्रस्फुटित भए र ती किरणले समाजका समस्त अन्धकार मेट्ने सफलता प्राप्त गर्ने काममात्र गरेनन्, अझ तिनले सभ्यता र संस्कृतिको सूर्यको रक्षा गरे । यस्तो अन्धकारबाट प्रकाशतर्फ लाने महापुरुषलाई निरन्तर स्मरण गर्न आज विश्वभरि र खासगरी समस्त आर्यावर्तको प्रत्येक कुनामा महावीर जयन्तीको पर्व असाध्यै धूमधामका साथमा मनाइँदै छ ।
भगवान महावीरको जन्मस्थलका बारेमा केही विवाद र मतान्तर रहेको देखिन्छ । यद्यपि वहाँको जन्मकालकै आसपासमा नेपालमा गौतम बुद्ध, इराकमा जराथुस्त्र, प्यालेस्टाइनमा जिरेमिया र ईराजकिल, चीनमा कन्फ्युसियस र लाओत्से तथा यूनानमा पाइथागोरस, सुकरात र प्लेटो जस्ता विश्वचिन्तकहरूको जन्म भएको थियो । ती महान् विद्वानहरूका गहनतम विचारहरूले जन-जनको मस्तिष्कलाई उद्वेलित र आन्दोलित तुल्याउँदै थिए। ठिक्क त्यति बेला हिमालयको काखमुनि समस्त आर्यावर्तको भूमिमा भगवान् महावीर र भगवान बुद्ध आआफ्ना ढंगले तात्कालिक ज्वलन्त सामाजिक, धार्मिक र दार्शनिक समस्या समाधान गर्ने तरखर गर्दै हुनुहुन्थ्यो ।
भगवान् महावीरको बाल्यावस्थाको नाम वर्धमान थियो । भारतवर्षमा तत्काल शासनसत्तामा रहेको उच्च राजकुलमा वहाँको जन्म भएको थियो । बाल्यावस्थादेखि नै वहाँ साहसी, तेजस्वी, ज्ञानपिपासु र अतीव बलसमर्थले युक्त भएकाले ‘महावीर’ नामबाट प्रसिद्ध हुनुभयो । राजघरानामा प्राप्त सुविधानुसार उच्च गुरुकुलमा उहाँको विद्याध्ययन यथासमयमा सम्पन्न भयो । पढाइ सकिएपछि वहाँको विवाह यशोदा नामकी एक जना राजकन्यासित सम्पन्न भयो र प्रियदर्शिनी नामकी एउटी कन्यारत्न पनि जन्मिईन् । भवसागरको बन्धन, राजसुखको लालसा र घरपरिवारको मोहले महावीरलाई धेरै समयसम्म बाँधेर राख्न सकेन, माता-पिताको मृत्युपछि ३० वर्षको मध्य युवावस्थाको वयमा उहाँ राजकाज र घरद्वार त्यागी दीक्षित भई तपस्याका निम्ति बाहिरिनु भयो र त्यसपछि गहन वनहरूमा ज्ञानको खोजी गर्दै वहाँले कठोर तपस्या गर्नुभयो । तपस्याका क्रममा अन्नजल आदि त्याग गर्दै जाँदा वस्त्र र भिक्षापात्रसमेत त्याग गर्नुभयो ।
अहिंसा र अपरिग्रहको वहाँ साक्षात प्रतिमूर्ति हुनुहुन्थ्यो । वहाँ सबैलाई समान मान्नुहुन्थ्यो र कसैलाई पनि कुनै दु:ख दिन चाहनु हुन्नथ्यो । आफ्नो नवीनतम सोचमा आधारित रहेर उहाँले विश्वसमक्ष एउटा नूतन विज्ञान प्रस्तुत गर्नुभयो :- परितृप्तिको विज्ञान । समाजविकासको आधुनिक युगमा विज्ञानले जतिजति नयाँ खोजी वा आविष्कार गरेको छ, तिनले मान्छेका तिर्सना, आवश्यकता र चाहनामा कमी आएको पाइँदैन, बरु तिनले मानवमात्रका लालसालाई अझ बढ़ोतरी गर्दैछ । मान्छेसँग मात्र होइन, इच्छा र आवश्यकता त प्रत्येक जीवसँग जोडिएको हुन्छ । जब व्यक्तिले आफूलाई मनखुसी सञ्चालित गर्दछ, तब निरन्तर नयाँ-नयाँ आवश्यकता र अभाव सिर्जना भइरहन्छन् । तिनै खाँचा, आवश्यकता र अभाव नै प्रत्येक मानिसका निमित्त दुःख र कष्टको भण्डारगृह (Store) बन्नपुग्छ । इच्छाले आवश्यकतालाई र आवश्यकताले इच्छालाई निरन्तर जन्म दिई रहन्छन् । भगवान् महावीर यस अन्तहीन क्रमलाई समाप्त गर्ने ईच्छा राख्नुहुन्थ्यो । वहाँका विचारमा ‘प्राणीले आफ्नालागि सुख चाहेको हुन्छ, दु:ख कसैलाई पनि प्रिय हुँदैन, त्यसैले संसारको कुनै पनि प्राणी बध्य अर्थात मरणयोग्य हुन सक्दैन।’ उहाँको यो सिद्धांत अहिंसाको सर्वश्रेष्ठ सिद्धान्त बन्न पुग्यो । उहाँको विचारमा कुनै जीवजन्तु र प्राणिलाई शारीरिक ढङ्गले कष्ट दिनु मात्र अहिंसा हो भन्ने सीमित परिभाषालाई चिर्दै मन, वचन  र कर्मद्वारा कसैलाई आहत गर्नु पनि अहिंसा नै हो । अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रहलाई पूर्णतया आफ्नो जीवनमा उतारेर महावीर ‘जिन’ अभिधाद्वारा सम्बोधित हुनुभयो । उक्त ‘जिन’बाट नै जैन शब्दको निर्वचन भएको हो, जसको अर्थ हुन्छ :- ‘जसले आफूलाई जित्छ, त्यो नै  जैन हो’ । यसरी जो कामजयी, तृष्णाजयी, इन्द्रियजयी र भेदजयी हुनसक्छ, त्यो नै जैन हो । भगवान् महावीरले आफ्ना इन्द्रियहरूउपर विजय प्राप्त गर्नु भएकाले उहाँ जितेन्द्रिय बन्न सफल हुनुभयो ।
भगवान् महावीरका विचारहरूलाई कुनै देश, काल, परिवेश, धर्म, संस्कृति वा सम्प्रदायको घेरामा बाँधेर थुन्न सकिंदैन । उहाँद्वार प्रतिपादित सिद्धान्त प्राणीमात्रको धर्म हो । महावीरले धर्मको मर्म अनेकान्त र अहिंसा हुन्छ भन्नु भएको छ । उहाँको विचारमा ‘धर्मको हृदय अनेकान्त छ र अनेकान्तको हृदय समता हो, समताको  अर्थ हो – परस्पर सहयोग, समन्वय, सद्भावना, सहानुभूति र सहजता ।’ वहाँ भन्नुहुन्छ – ‘सबैका कुरालाई शान्तिपूर्वक सुन्नुपर्दछ, त्यसो गर्नाले घृणा, द्वेष र ईर्ष्याको स्वतः हुन्छ ।’ वहाँले साधन र साध्य दुबैको पवित्रता र शुद्धिमा  जोड दिनुभएको छ । २० औं शताब्दीमा भगवान् महावीरले प्रतिपादन गरेको सिद्धान्तलाई अनुसरण गरी महात्मा गांधीले उक्त सिद्धान्तलाई राजनीतिमा समेत सफल प्रयोग गर्नु भएको देखिन्छ ।
भगवान महावीरले गृहस्थ जीवन र त्यसका कर्तव्यलाई पनि स्वीकार गर्नुभएको पाइन्छ । वहाँ भन्नुहुन्छ – अपरिग्रहपछि पनि गृहस्थीका निमित्त केही कर्तव्य र आवश्यकता रहने गर्दछन्, ती आवश्यकता पूर्ति गर्न प्रत्येक गृहस्थीले न्यायपूर्वक धनार्जन गर्नुपर्दछ । त्यस धनले परिवारका आवश्यकता पूर्ण गरी धेर भएको धन ती व्यक्तिहरूलाई वितरण गर्नुपर्दछ, जसलाई त्यसको आवश्यकता हुन्छ । वहाँले प्रदान गरेका सिद्धान्त र ज्ञानको भण्डार विशाल छ, तर उहाँ केवल समताको सिद्धान्तको बढी चर्चा गर्नुहुन्थ्यो । उहाँ सबै मानवलाई समान मान्नुहुन्थ्यो, धनी र गरीव, मालिक र दास, विद्वान र मूर्ख, उच्च र निम्न जात आदिको भेदभावले उहाँका विचार र सिद्धान्तमा प्रवेश गर्न पाएनन् । त्यस्तै उहाँ तत्कालीन समाजमा रहेको वर्णव्यवस्थालाई जन्ममा आधारित बनाएर स्वीकार गर्न मान्नुहुन्नथ्यो । वहाँले बताउनु भएको थियो, ”कुनै पनि व्यक्तिले जाति अथवा वर्णभन्दा उच्च वा नीच हुँदैन, गुण र कर्मका आधारमा त्यसको महत्ता र लघुताको अङ्कन हुन्छ।”  महावीर स्त्री-समानताका प्रबल पक्षपाती हुनुहुन्थ्यो । स्त्रीलाई समान मान्दै वहाँले आफ्ना विचार प्रस्तुत गर्नु भएको थियो, स्त्री करुणा र वात्सल्यका प्रतिमूर्ति हुन् र स्त्रीलाई हीन, कमजोर र उपेक्षित मान्नु अनुचित हुन्छ, अनि स्त्रीको दमन, हेयदृष्टि र दासता पनि हिंसा हो । व्यवहारिक रूपमा वहाँले स्त्री र शुद्रलाई आफ्नो धर्मसङ्घमा समान अवसर प्रदान गर्नुभएको थियो । वहाँले प्रत्येक आदर्शलाई ‘बाँच र गर` सिद्धान्तको कसीमा तौलेर व्याख्या गर्नुभयो र भन्नुभयो ‘भनाइ र गराइमा फरक हुनु हुदैन’ । त्यसैले पनि उहाँ अनुकरणीय आदर्शका रूपमा अभिनन्दनीय र वन्दनीय हुनुभयो ।
एउटा यस्तो व्यक्ति जसको भाग्यमा अभाव र असफलतामात्र हुन्छ अनि उसले गरेका प्रयास र पुरुषार्थ सफल हुँदैनन्, त्यस्तै उसका प्रत्येक महत्त्वाकाङ्क्षा फलीभूत बन्न सक्दैन, त्यसले आपत्, विपत् र निराशाका बाहुल्यका कारणले पीड़ित र अभावबाट आहत भएर वैराग्य र सन्यास धारण गर्नु सामान्य कुरा हो र त्यस अवस्थामा उसको त्याग उल्लेख गर्न योग्य वा अनुकरणीय बन्न सक्दैन । तर वर्द्धमान नामको कुनै ठूलो राजघरानाको युवराज, जसका चारैतिर भोगविलास र वैभवले चम्मर हल्लाउँदै सेवा गर्दथे, सुविधाले जसको गोडा धुने गर्दथ्यो अनि ऐश्वर्यले जसको नित्य आरती गर्दथ्यो, त्यो व्यक्तिले आफ्नो राजपाट, सुखसुविधा, ऐश्वर्य र भोगविलासलाई चटक्क त्यागेर वैराग्य धारण गरी जोगी हुनपुग्छ भने त निस्सन्देह त्यो घटना अलौकिक, असाधारण र अविस्मरणीय बन्न पुग्छ, अनि उसका ती क्रियाकलाप अनुकरण नगर्ने त प्रश्न नै उठ्दैन । वैभवलाई त्याग्न सक्ने, विलासबाट विरक्त हुने, आत्मसाधनका माध्यमले आत्मज्ञान र कैवल्यज्ञान प्राप्त गर्ने यस्ता राजकुमार नै वर्द्धमानबाट ‘भगवान् महावीर’ बन्न पुग्छन र यस्ता महामानवको जन्मदिन नै आज विश्वभरि महावीर जयन्तीका रूपमा मनाइँदैछ । १५ अक्टोबर सन् ५२७ ईशापूर्वको लक्ष्मीपूजा (दीपावली) का दिन अहिलेसम्मका अन्तिम अर्थात् चौबीसौ तीर्थङ्कर भगवान् महावीरले ७२ वर्षको आयुमा आफ्नो भौतिक शरीर भारतवर्षको विहार राज्यको राजधानी पटनाबाट अन्दाजी ९३ किमी दक्षिणपूर्वमा पर्ने पावापुरी नामक स्थान लौकिक शरीर त्याग गरी दिव्यात्मा प्रवेश गर्दै निर्वाण प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!