ताजा सामाग्री

आज हनुमान् जयन्ती

आज हनुमान् जयन्ती को फोटो
No Comments , शनिबार, चैत १७, २०७४ , by Krishna Pd. Koirala

हनुमान (हनुमान्, अञ्जनेय र मारुति पनि) परमेश्वरको भक्तिका सबैभन्दा लोकप्रिय अवधारणाहरु मध्ये र प्राचीन आर्य महाकाव्य रामायणका सबैभन्दा महत्वपूर्ण चरित्रहरु मध्ये एक पात्र हुन । हनुमानलार्इ अाशुतोष भगवान् शिवजीको ११औँ अवतार रुद्रावतार (रुद्र – भगवान शिवको अवतार) को प्रतीकका रूपमा पनि लिने गरिन्छ । यो अवतार भगवान् भोलेशङ्करको सबैभन्दा बलियो र बुद्धिमान् अवतार मानिन्छ । उनको सबैभन्दा प्रसिद्ध उपलब्धी भनेको बाँदरसेनाको महानायक तथा अग्रणी र राक्षसराज रावणसितको युद्धलार्इ मान्ने गरिन्छ । उनलाई बजरङ्ग बली पनि भनिन्छ, यसको प्रतीकात्मक अर्थ हो – उनको शरीर वज्रसमान थियो । उनी पवनपुत्रका रूपमा पनि प्रसिद्ध छन्, किनभने पवनदेव (हावाको देवता) ले हनुमानको पालन-पोषणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
हनुमान् : शव्दको विवेचना

संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान् शब्दको उत्पत्ति भएको हो । हनुको अर्थ चिउँडो हो  जुन हन् धातुबाट निर्माण हुन्छ । ‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भने पनि हुन्छ । अतः हनुमान शब्दको अर्थ वेगवान् र गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि हो । त्यसैले पनि हनुमान भगवान् रामका परम भक्त हुन पुगेका हुन् भन्ने विश्वास गरिन्छ । भगवान् रामको जीवनमा घटित घटनाहरूमा वर्णित हनुमानको व्यक्तित्व र विशेषताका कारण उनलाई सर्व प्रतिष्ठित ‘देवता’ बनाइदियो । दुष्ट आत्माको प्रकोपबाट बचाउने शक्तिको नाम हनुमान् हो । पहिले बाँदरलार्इ तुच्छ प्राणिका रूपमा गणना गरिन्थ्यो र बाँदरको नामस्मरण गर्दा वा दर्शन गर्दा अशुभ मानिन्थ्यो । रामचन्द्रको अवतारपछि र रामायण युगदेखि हनुमानको चारित्रिक वैशिष्ट्यका कारण वानर जातिलाई पनि मङ्गलकारी प्राणिका रूपमा लिन थालियो । परिणामतः हनुमान् मंगलमूर्ति  सङ्कटमोचकका रूपमा पुजिन थाले । त्यसैले अहिले सबैले चाहे ती बाल, बृद्ध वा वनिता नै किन नहुन्, भय र डरबाट मुक्ति प्राप्त गर्न हनुमानको भक्तिअाराधना गर्ने र हनुमान चालिसाको पाठ गर्न थाले । अझ हिन्दी साहित्यमा सन्त तुलसीदासको अागमनपछि त उनी सनातन धर्मावलम्बीका मुख्य अाराध्यदेवताहरूमध्ये पर्न थाले ।
हनुमान वायुका छोरा मानिएका छन् । उनले जुनसुकै रूप धारण गर्न सक्थे । उनी रामका परमभक्त हुन् । शतरुद्र संहितामा हनुमानलाई एकादश रुद्रमध्ये एघारौँ रूप मानिएको छ । वैदिक संहिताको अध्ययन गर्ने हो भने रुद्रहरू रामकथाको विकास हुनुअघि नै अस्तित्वमा आइसकेका थिए ।­­ त्यसैले रामायणभन्दा पहिले पनि हनुमानको अस्तित्वको आभाष प्राप्त हुन्छ, तरपनि रामायण नै हनुमानका विषयमा अाधिकारिक जानकारी दिने स्रोत र ग्रन्थ हो । विशेषगरी भारतका प्रत्येक अखाडाहरू (जिमखाना वा कुस्ती खेल्ने ठाउँ) र शारीरिक स्वास्थ्य केन्द्रमा हनुमानका मूर्तिहरू स्थापना गरिएका हुन्छन् । त्यसबाहेक गाउँको सीमा क्षेत्रमा पनि हनुमान् मन्दिर बनाइएको हुन्छ । स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानको चर्चा गर्दै जगतमा उनीभन्दा ठूलो अर्को प्राणि छैन भनी वर्णन गरिएको छ । त्यहाँ हनुमानका विशेषताहरूको उल्लेख गर्दै ब्रह्मवादिता, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा अग्रणी हनुमान् नै हुन् भनी उल्लेख गरिएको छ ।
हनुमान र शनि
शनिको बक्र दृष्टिबाट ब्रह्मा, विष्णु, महेश्वर सबै डराउने गर्दथे भन्ने प्रसङ्ग विभिन्न पुराण र अन्य धार्मिक ग्रन्थामा उल्लेख गरिएको पाइन्छ । तर हनुमान् त्यस्ता देवता हुन्, जसमाथि शनिको बक्रदृष्टिको प्रभाव परेन । अझ उनले अाफ्ना भक्तहरूमा पनि शनिको पीडा नहुने वरदानसमेत प्राप्त गरेका थिए भन्ने कथा पनि प्रचलनमा छ ।रामायणको प्रसिद्ध खलपात्र रावण एउटा ब्रह्मवेत्ता ब्राह्मण र ज्योतिषी पनि थियो । उसले आफ्नो प्रथम पुत्र जन्माउने वेलामा सकेसम्म सबै ग्रहहरूलाई आफ्नो अनुकूल बनाउने प्रयास गर्यो । कतिसम्म भने शनिश्चरलाई समेत अनुकूल बनाउन शनिको पृष्ठ भागमा खुट्टा राखेर र अरू ग्रहहरूको गतिलाई रोकेर उसले पहिलो सन्तान इन्द्रजीतको जन्म गराउने उद्देश्य लिएको थियो । यो कुरो नारदले चाल पाए । उनले प्रकृतिविपरीत केही पनि हुन सक्दैन र हुनदिनु पनि हुँदैन भनेर रावणलाई शत्रुको पिठ्युँमा चढेर होइन छातीमा खुट्टा टेकेर प्रहार गर्नुपर्दछ भन्ने सल्लाह दिए । नारदको यो उपायले काम गर्यो र रावणले शनिको गति परिवर्तन गरिदियो । अब शनिको वक्रदृष्टि सीधै रावणमाथि पर्न गयो, जसबाट रावणको पतन सुरु भयो भन्ने गरिन्छ । तर रावण हार मान्ने स्वभावको थिएन, अाफूमाथि नारदको कुटिल चालले शनिको बक्रदृष्टि परेको चाल पायो र उसले शनिलार्इ एउटा अँध्यारो कोठामा थुनिदियो । माता सीताको खोजी गर्ने क्रममा जब हनुमान लङ्कामा पुगे, तब उनले त्यहाँ बन्दी बनेका शनिलाई मुक्त बनाए । उनीमाथि शनिको वक्रदृष्टिको कुनै दुष्प्रभाव देखिएन । अाफूलार्इ थुनामुक्त बनाएको हुँदा शनि हनुमानप्रति प्रसन्न भए । उनले वरदान माग्न अाग्रह गरे । भक्तवत्सल हनुमानले अाफूमा जस्तै अाफ्ना भक्तहरूमा कुदृष्टि नराख्न आग्रह गरे । ‘शनि’ ले ‘तथास्तु’ भने ।
हनुमान र सिन्दुर लेपन
हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ, सिन्दूरको सम्बन्धमा आयुर्वेदको यो मत छकि यसले हड्डी एवं मांशलाई सुसँगठित शरीर निमार्णमा अहं भूमिका खेन्दछ । रामको दरबारमा सीताले हनुमानजीलाई एउटा दिव्य हार दिनुभयो । त्यो हार पाएपछि हनुमानले हारलाई चुँडालेर फुटाएर हेर्न थाले तब दरबारका अधिकारीहरूले हनुमानलाई सोधे । हनुमान भन्नुहुन्छ कि यो हारभित्र भगवान्-राम र सीता छ कि छैन ? ती अधिकारीहरू भन्छन् तिम्रो हृदयभित्र पनि त राम र सीता छैनन् होला नि अनि हनुमानले आफ्नो हृदय च्यातेर आत्मामा रामसीता देखाइदिनुभयो । त्यस्तो दृश्य देखेर सीताले हनुमानको शरीरमा सिन्दूर र तेल लगाएर शरीरलाई जोडी पहिलेको भन्दा पनि तेजिलो शरीर बनाइदिएको कथा प्रसङ्गले पनि हनुमानको शरीरलाई सिन्दूर र तेल लेपन गर्नुको महìव अझै बढेको प्रस्ट हुन्छ ।
हनुमान र बाँदर रूप
वास्तवमा बाँदर जाति विंध्य पर्वतमालाको दक्षिणमा निवास गर्ने एक वनचर जाति थियो भन्ने विश्वाश गरिन्छ । बाँदर, रीछ, जययु, यी सबै ‘टाटेम’ (चिहृन) जातिहरू थिए । जसरी उत्तर भारतमा एउटा ऋषिको सन्तान एक गोत्र हुन्छ, त्यसरी नै दक्षिण भारतमा एउटा चिहृन (टाटेम) हुन्थ्यो । यिनीहरू पशुपक्षी नभएर मनुष्य थिए । यथार्थमा हनुमान बाँदर गोत्रीय आदिवासी थिए । बानर उसको ‘टाटेम’ थियो । यिनीहरू बानरको भेषभूषा बनाई राख्दथे । एउटा कृत्रिम पुच्छर पनि पछाडि झुण्ड्याउँथे । आधुनिक भारतको आदिवासीहरूमा यस्तो ‘टाटेम’ या गोत्र वर्तमान छ । रामायणकालीन बानर मनुष्यजस्तै सम्पन्न थिए । मानवको भाषा नै बोल्दथे, वस्त्र लगाउँथे । पुरुष-स्त्री सम्बन्ध, धर्म अधर्म विचार पनि यिनीहरूकोमा थियो ।
हनुमानको विभिन्न स्वरूप
पञ्चमुखी हनुमान
धनशमशेरको ग्रन्थ बृहत्पूर्णश्चयार्नवमा पञ्चमुखी हनुमानको ध्यान यसप्रकार दिइएको छ । पाँचमुखी हनुमान अन्त्यन्त तेजस्वी पराक्रमी, पञ्चतत्त्व र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै कार्य पूर्ण हुन्छन् । पूर्वतर्फको बानर रूप भएका हनुमान करोडौँ सूर्यको जस्तो तेज भएका कुच्चिएको वा टेढो अनुहार भएका कोमल देखिने भएका रामचन्द्रको भक्त समान हुन्छ । दक्षिणतर्फको नृसिंह रूप भएका हनुमान- अद्भूत स्वरूप भएका, उग्र स्वभावका कान्तियुक्त, डरलाग्दो, सम्पूर्ण डर र त्रासलाई हटाउन सक्ने यस्तो दक्षिणवक्त्रको स्वरूप हुन्छ । पश्चिमतर्फको गरुँड रूप भएको हनुमान- बाङ्गो चुच्चो भएको सम्पूर्ण बल र तागतहरू त्यही चुच्चोमा समावेश भएका, भुवाहरू रूपी गहनाले सुसज्जित भएका, सर्पहरूलाई नास गरेझैँ शत्रुलाई नाश गर्ने भएका यस्तो पश्चिमवक्त्रको स्वरूप हुन्छ । उत्तरतर्फको सुंगुर रूप भएका हनुमान- चम्किलो कालो स्वरूप भएका भूत, प्रेत बेताललाई पाताल लोकमा पठाउन समर्थ भएका, ज्वर आदि रोग निवारण गर्न सक्ने शक्ति भएको यस्तो उत्तरवक्त्रको स्वरूप छ । उध्र्वतर्फको- घोडाको रूप भएको हनुमान उध्र्वगामी अश्वमुख हनुमान दानवहरूलाई नाश गराउन समर्थवान्, महावली, ग्रह तारालाई पनि वशमा राख्न सक्ने, उध्र्ववक्त्र हनुमानको स्वरूप हुन्छ ।
हनुमान मुर्ति निर्माण
अग्निपुराणअनुसार हनुमानको मूर्ति बनाउँदा एउटा हातमा बज्र लिएका र उनको खुट्टा तल जमिन भास्सिएको देखाउनु पर्दछ । रावणले हनुमानको मूर्ति बनाउँदा रामको नाइटो, छाती वा तिघ्राभन्दा अलिकति माथिसम्म पुग्ने गरेर लम्बाई बनाउनु पर्दछ भनेका छन् । सप्तताल नापअनुसार ८४ लङ्गुर नापेर हनुमानको मूर्ति बनाउनु पर्दछ र दुईवटा हात मात्र बनाउनु पर्दछ । दायाँहात मुखनजिकै लगेको र देब्रे हात घुडाँसम्म लत्रिने गरेर बनाउनु पर्दछ । भक्त सेवकको जस्तो हनुमान अनुहार बनाउनु पर्दछ ।
हनुमान पूजन महत्व
वैष्णव सम्प्रदायमा हनुमानलाई ब्रम्हचारी, सङ्कटमोचक, सिद्धिदाता, शत्रुविजयको लागि पनि पूजा गर्ने गरिन्छ । उनको पूजा र उपासना गरेमा रोग व्याधिबाट, शत्रु बाधाबाट, राजाको भयबाट, प्राकृतिक शक्तिको बाधाबाट, पिचासी शक्तिबाट, भूतबाट, बोक्सीबाट, बतासबाट, खोलाबाट, आगोबाट, राक्षसी शक्तिको प्रकोपबाट र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने धारणा आज पनि वैष्णव सम्प्रदायका समर्थकहरूले विश्वास गर्ने गर्दछन् । वर्तमान समयमा मानिसहरू उनलाई सङ्कटमोचन, कष्टबाट मुक्ति, शत्रु विजय र भूत, पिचासबाट मुक्ति पाउनको लागि पूजा गर्दछन् । हनुमानको पूजा विशेषगरी सङ्कटबाट मुक्ति पाउनका लागि यस सम्प्रदायको मानिसहरूले गर्दछन् ।विशेष गरी प्रयाभिज्ञा शक्ति, ब्रम्हचार्य शक्ति, कठोर व्रत शक्ति, बुद्धि, माधुर्य शक्ति प्राप्त गर्नको लागि हनुमानको पूजा गरिन्छ । यस मतका अनुयायीहरूले उनलाई शत्रु विजय प्राप्त गर्नको लागि पनि पूजा गर्ने गर्दछन् । हनुमानलाई भक्तियोगको लागि महत्त्वपूर्ण मानिन्छ । उनले भक्तियोग र कर्मयोगद्वारा रामको सामिप्य प्राप्त गरेका थिए । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिको लागि पनि पूजा गर्ने चलन छ । आठ प्रकारका यौगिक शक्तिहरू अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व उनमा थिए । साथै हनुमानलाई परब्रम्हा र रौद्ररूपमा पनि स्मरण गरिन्छ ।
नेपालमा हनुमान पूजन
नेपालका प्रसिद्ध कलाविद् लैनसिंह वाङ्गदेलले पाँचौँ शताब्दीदेखि नै हनुमानको पूजा परम्परा सुरु भइसकेको र मूर्तिहरू पनि बन्न थालेको कुरा फर्पिङ्गस्थित हनुमानको मूर्तिलाई आधार मानी पुष्टि गर्न खोज्नुभएको छ । मूर्तिको स्वरूप अध्ययन गर्दा र तत्कालीन समयको धार्मिक इतिहासको अध्ययन गर्दा यसमा अझै पनि सोच्नुपर्ने देखिएको छ । राम र हनुमान सम्प्रदाय पूर्व-मध्यकालदेखि नेपाली समाजमा लोकपि्रय हुन थाले तापनि हनुमानका मूर्तिहरू सत्रौँ शताब्दीदेखिका मात्र भेटिएका छन् । सत्रौँ शताब्दीदेखि हनुमान सम्प्रदाय प्रख्यात हुन थालेको देखिन्छ । जगतज्योति मल्ल, सिद्धिनरसिंह मल्ल, प्रताप मल्ल, श्रीनिवास मल्ल, भूपतिन्द्र मल्लजस्ता राजाहरूले हनुमान सम्प्रदायलाई लोकपि्रय बनाउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । शाहकालमा पनि हनुमान सम्प्रदायको विकास भएको कुरा विभिन्न मूर्तिहरूले पुष्टि गरेका छन् । वर्तमान समयमा पनि हनुमान सम्प्रदाय नेपालमा लोकपि्रय रहेको छ ।
लिच्छविमा कुनै पनि अभिलेख हनुमानको उल्लेख भएको पाइँदैन । राम अवतारको त्यति प्रचार नभएकोले उनका भक्त हनुमानको उल्लेख नहुनु स्वाभाविक नै हो तर नेपालको प्रख्यात कलाविद् लैनसिंह बाङ्गदेलले फर्पिङको शिखरनारायणमा प्राप्त हनुमानको मूर्तिलाई अघि सारेर लिच्छविकालदेखि नै नेपालमा हनुमानका मूर्तिहरू बन्दथे भन्ने कुरा प्रमाणित गर्न खोजिएको छ । शिखरनारायणमा भएको मूर्ति नराम्रोसँग खिइसकेको छ । आठवटा हात भएका हनुमानलाई उड्न लागेको मुद्रामा देखाइएको छ । उनको दायाँ गोडाका औँलाहरूले एउटा चट्टानमा बलियोसँग टेकेका छन् । बायाँ खुट्टाचाहिँ खुम्च्याएर सीताजीको खोजीमा जानलाई तयार भए जस्तो देखिएको छ । उनका पछाडिका दुईवटा हातले एउटा लामो वनमाला लिएको देखिन्छ । यो माला शिरको टुप्पाबाट झरेर घुडाँसम्म आएको छ । अरू चारवटा हातहरूमा भएका कुराहरू स्पष्ट देखिँदैनन् । हनुमानको दायाँ गोडाको अगाडि घुँडा टेकेर बसेकी स्त्री मूर्ति छ । हेर्दा हनुमानलाई केही केही चढाउन लागेकाले वा पद्मासनको तल्लो भाग समातिराखेको भन्न गाह्रो छ । दायाँ खुट्टाको मुनि आकार प्रकारले वानरजस्ता देखिएका दुईवटा स-साना मूर्ति घुडाँ टेकेर हात जोडी बसिरहेका छन् । बायाँ खुट्टानेरचाहिँ घुँडा टेकिरहेको एउटा बानरले पूजा गर्न लागेको देखिन्छ । यस शिलामूर्तिको आधा भाग शैलबुट्टाद्वारा भरिएको छ । यी बुट्टाहरू अलि खस्रो किसिमले कुँदिएका छन् । त्यसबाट यो शैलबुट्टा प्रारम्भिक अवस्थाको भन्ने थाहा पाइन्छ । इसाको पाँचौँ-छैटौँ शताब्दीको निर्धारण गर्न सकिने मृगस्थलीको उमामहेश्वरको मूर्तिमा धेरै नै साधारण किसिमका शैलबुट्टा देखिन्छ । फेरि इसाको आठौँ, नवौँ शताब्दीको अमर कान्तेश्वर उमामहेश्वरको मूर्तिमा यसमा विपरीत भएको शैलबुट्टा धेरै परिपक्व तथा विकसित अवस्थामा पुगिसकेको देखिन्छं । शैलबुट्टाको आधारमा कुदाइको ढुङ्गा र शैलीको आधारमा यसमा प्राचीन मूर्ति हुने लक्षण भएकोले यसलाई लिच्छविकालीन मूर्ति भन्न सकिन्छ भन्ने तर्क लैनसिंह बाङ्गदेलको रहेको छ ।
हनुमानका मूर्तिहरूमा देखिएको लामो वनमाला मध्यकालमा र आधुनिककालमा बनेका मूर्तिहरूमा समेत पाइन्छन् । भारतमा विशेष गरी आधुनिक कालमा बनेका स्थान्तक मूर्तिहरूमा घँुडासम्म नै वनमाला देखाइएको हुन्छ । मूर्ति धेरै मात्रामा खिइनुले प्रस्तरको स्तर र भक्तहरूको निरन्तर छुवाइको औसत अध्ययन गरी मात्र थाहा पाउन सकिन्छ । मूर्ति खिइएको आधारमा पुरानो हो भन्न पनि त्यति सान्दर्भिक देखिँदैन साथै फर्पिङको मूर्तिमा कुँदिएको शैलुबुट्टामा मात्र देखाउन कलाकारले खोजेको हुँदा पहाड खुट्टा पछिल्लो समयमा बनेका मूर्तिहरूमा पनि दिन खोजिएको छ । त्यसैले कुनै पनि मूर्तिको तिथि निर्धारण गर्दा केवल शैलीलाई मात्र आधार मान्न सान्दर्भिक देखिँदैन । त्यसका लागि तत्कालीन समाजको धार्मिक र सांस्कृतिक गतिविधि पनि गहिरिएर अध्ययन गर्नुपर्ने हुन्छ । लिच्छविकालमा विष्णुको राम अवतार परिचित भएको अनुमान गरिए तापनि उनको पूजा प्रचलित भएको देखिँदैन । तसर्थ हनुमानको मात्र यति राम्रो मूर्ति लिच्छविकालमा नबनेको । यदि लिच्छविकालमा हनुमानको मूर्तिहरू बनेका भए कुनै अभिलेखमा हनुमानको नाम आउँथ्यो । तान्त्रिक प्रभाव देखिएको यो मूर्ति ११-१२ औँ शताब्दीपछि मात्र बनेका हुनसक्छ भन्ने अनुमान गर्न सकिन्छ र यस मूर्तिको बारेमा अझै अध्ययन हुन सान्दर्भिक देखिन्छ ।
नेपालमा मध्यकालदेखि समाजमा रामायण र महाभारतका कथाहरू बढी मात्रामा प्रसिद्ध भए । साथै विष्णु विधित अवतारहरूमध्ये रामअवतारको लोकपि्रयताको साथै हनुमानको पनि लोकपि्रयता बढ्न थाल्यो । मध्यकालमा जयस्थिति मल्लदेखि नै राम सम्प्रदायका विभिन्न मूर्तिहरू निर्माण हुन थालेको देखिन्छ । जयस्थिति मल्लले पशुपतिमा लवकुशका मूर्तिहरू स्थापना गरेको उल्लेख पाइन्छ । हनुमानका मध्यकालका सबैभन्दा पुरानो मूर्तिहरूमध्ये पाटनको कृष्ण मन्दिरमा कुँदिएका रामायणसँग सम्बन्धित विभिन्न घटनाहरू चित्रण गर्ने क्रममा मन्दिरको तल्लो तलामा हनुमानका मूर्तिहरू कुँदिएका छन् । करिब १५ जति ठाउँमा हनुमानलाई प्रस्तुत गरिएको र तल्लो भागमा हनुमान भन्ने शब्द पनि नेवारी लिपिमा लेखिएको छ । यसरी सिद्धिनरसिंह मल्लको पालामा रामका भक्त हनुमानको पूजा समाजमा व्यापकरूपमा प्रचलित थियो भन्ने थाहा पाइन्छ । साथै सिद्धिनरसिंह मल्लका समकालीन भक्तपुरका राजा जगतज्योतिको समयमा लेखिएको ‘नरपतिजयचर्यास्वरोदयटीका’ नामक ग्रन्थमा हनुमान मूर्तिहरूको स्थापनाको महìव र हनुमानको मूर्ति कस्तो कस्तो निर्माण गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।
कृष्ण मन्दिरको भित्तामा कँुदिएको हनुमानका मूर्तिहरू पछाडि वि. सं. १७२९मा हनुमानढोका दरबार पस्ने सुवर्ण निर्मित्त मूलढोकाको दायाँपट्ट िप्रताप मल्लद्वारा निर्माण गर्न लगाइएको हनुमानको ठूलो मूर्ति महत्त्वपूर्ण मानिन्छ । यिनै हनुमानको नामले यस दरबारको नाम हनुमानढोका दरबार रहन पुग्यो । हनुमानका मूर्तिहरू स्थापना गर्नुपूर्व यस दरबारलाई गुनपो दरबार भनिन्थ्यो । राजा प्रताप मल्लले लडाइँमा विजयी प्राप्त होस् घरमा सुरक्षा होस् भन्ने कामनाले हनुमानको मूर्ति ढोकामा राखेको कुरो हनुमानको पादपीठमा कुँदिएको अभिलेखबाट बुझिन्छ । हनुमानढोका जस्तै अरू मल्ल दरबारमा पनि हनुमानका मूर्ति स्थापना गरिएका छन् । पाटनका राजा सिद्धिनरसिंह मल्ल र भक्तपुरमा भूपतिन्द्र मल्लले आफ्नो दरबार अगाडि हनुमानको मूर्ति राख्न लगाएका थिए । गोरखाका राजा पृथ्वीपति शाहले पनि आफ्नो दरबार अगाडि हनुमानको मूर्ति स्थापना गरेका थिए । यसरी मध्यकालदेखि हनुमानका मूर्तिहरू बन्न थालेका कुरा र उनको पूजा परम्परा व्यापकरूपमा सुरु भएको थाहा पाइन्छ ।
हनुमानको मूर्ति बनाउँदा काठ, धातु, ढुङ्गा आदि पदार्थको प्रयोग गर्नुपर्ने भनिएको छ । यसो गरियो भने अनिकाल पर्दैन, रोगको डर हुँदैन, शत्रु आउन सक्दैन, बज्र पर्दैन, बोक्सी, भूत, पिचास आदिको डर हँुदैन भनी ग्रन्थमा लेखिएको छ । यसरी मध्यकालमा हनुमानका केही महìवपूर्ण मूर्तिहरू बने जसले मध्यकालमा हनुमान सम्प्रदायको लोकपि्रयतालाई झल्काउँछ । मध्यकालमा हनुमानका मूर्तिहरूमा समेत तन्त्रको प्रभाव परेको थियो । भक्तपुरको भूपतिन्द्र मल्लद्वारा बनाउन लगाएको र प्रताप मल्लले बनाउन लगाएको पञ्चमुखी हनुमान मन्दिरबाट थाहा पाउन सकिन्छ । मध्यकालपछिको शाहकालमा राम र हनुमान सम्प्रदायको झन् विकास भयो । मध्यकालको तुलनामा शाहकालमा हनुमानका मूर्ति सङ्ख्यात्मक हिसाबमा बढी मात्रामा बनेको देखिन्छ भने शाहकालमा आएर हनुमानका मूर्तिहरू, मन्दिरहरू, घाटहरू, चोकहरू, राज्यका सीमाहरूमा बनेको देखिन्छन् । राजा प्रताप मल्लले पनि लडाइँमा विजय प्राप्त होस्, घरमा सुरक्षा होस् भन्ने कामनाले हनुमानको मूर्ति ढोकामा राखेका थिए । यो कुरा हनुमानको पादपीठमा कुँदिएको अभिलेखबाट थाहा पाइन्छ । मल्ल राजदरबार किल्लाको रूपमा बनाइने हुँदा किल्ला रूपको आफ्नो दरबारमा शत्रुहरू पस्न नसकून् भन्ने भावनाले प्रताप मल्लले ढोकामा हनुमान स्थापना गरेका थिए । पाटनको दरबार बाहिर पनि हनुमानको मूर्ति स्थापना गरेको छ । “सिद्धिनरसिंहले अघिका भन्दा सुन्दर गरी दरबार बढाइ सुनका ढोका बनाई राखिदिए । दरबारको दाहिनेबाट नरसिंह गणेश हनुमान स्थापना गरिदिया ।” त्यसैगरी भक्तपुरमा भूपतिन्द्र मल्लले आफ्नो दरबार अगाडि हनुमानको मूर्ति स्थापना गरेको कुरा उक्त मूर्तिको तल्लो भागमा भएको अभिलेखबाट थाहा पाइन्छ । उक्त अभिलेखमा ‘समुद्र नाघ्ने रावणको सुखलाई नाश पार्ने, लङ्का पोल्ने, रामचन्द्रले भनेको सधैँ मान्ने, सीतालाई खुसी पार्ने, बगैँचामा राक्षसलाई तर्साउने यी हनुमानले रघुवंशी भूपतिन्द्र मल्ललाई रक्षा गरुन्’ भनिएको छ ।
मल्लकालमा हनुमानको ठूलो महìव थियो भन्ने कुरा प्रताप मल्ल, सिद्धिनरसिंह मल्ल र श्रीनिवास मल्लले ‘हनुमदध्वज’ उपाधि लिएबाट थाहा पाइन्छ । यसरी मल्लकालमा विशेषगरी जगज्योति मल्लको पालादेखि हनुमान सम्प्रदायको व्यापकरूपमा विकास भएको थियो । उपत्यकामा मात्र हनुमानको महìव नभई बाहिरका राज्यमा समेत हनुमान सम्प्रदायको लोकपि्रयता थियो भन्ने कुरा गोरखाका राजा पृथ्वीपति शाहले आफ्नो दरबार नजिक हनुमानको मूर्ति बनाउन लगाएबाट थाहा पाइन्छ । मल्लकालपछि शाहकालमा पनि हनुमान सम्प्रदायको झन् व्यापकरूपमा विकास भएको कुरा काठमाडौँ उपत्यका विभिन्न ठाउमा बनेका राम मन्दिर र हनुमानका मूर्तिले पुष्टि गरेका छन् । मल्लकालमा जस्तै यस कालमा पनि हनुमानका मूर्तिहरूको पूजा गर्ने हेतु उही थियो र यस कालमा हनुमानलाई शुक्रबाट रक्षा गर्न स्थापना गर्नको साथै सङ्कटमोचकको रूपमा समेत लिएको देखिन्छ । साथै यिनैलाई कष्टमोचक सिद्धिदाताका रूपमा पनि पूजा गर्न थालियो ।
जगतनारायणमन्दिर प्राङ्गणमा भएका हनुमानका मूर्तिहरू इस्वीको १८ औँ शताब्दीको मध्यतिर नेपालमा एउटा गजबको मन्दिर बनेको थियो । जुन समयकालीन अरू मन्दिरहरूभन्दा विशिष्ट खालको थियो । पाटनको शंखमुल स्थित जगतनारायणको मन्दिरको अभिलेखबाट इस्वी सम्वत् १८५५ सम्ममा यो मन्दिर बनिसकेको देखिन्छ । यो मन्दिरको निर्माण जङ्गबहादुरका भाइ जगतशमशेरले गर्न लगाएका थिए । विशाल प्रस्तर मूर्तिकलाको लागि यो मन्दिर प्रख्यात छ । यस मन्दिर प्राङ्गणमा दुईवटा हनुमान मूर्ति छन् । तीमध्ये मन्दिरको पूर्वतिर गरुडको साथसाथै भएको हनुमानको मूर्ति एक हो । शिवलिङ्गको जलहरी आकृति जस्तो ढुङ्गाको माथि बायाँ घुँडा जमिनमा राखी बसेको हनुमानका दुईवटा हात छन् तीमध्ये बायाँ हात वरद मु्द्रामा छ भने दायाँ हात अभय मुद्रामा छ । खुट्टामा ठूलाठूला कल्लीहरू, हातमा बाला, पाखुरामा केयुर, कानमा ठूलाठूला कुण्डलहरू लगाएको र घाँटीमा भक्तपुरको हनुमानको मूर्तिमा जस्तै गहना लगाएको यस मूर्तिको शरीरभरि सिन्दूर पोतिएको छ । तल्लो भागमा लङ्गौटी लगाएको अहिलेसम्म बनेका हनुमानका मूर्तिहरूमध्ये सबैभन्दा ठूलो मूर्ति हो । गोला आँखा र सिंह जस्तो मुखको दायाँबायाँ दाँत भएको हनुमानको मूर्ति शाहकालीन मूर्तिकलाको महत्त्वपूर्ण नमुना मान्न सकिन्छ । यो मूर्तिको निर्माण पनि मन्दिरको साथसाथै भएको हो । मूर्तिको आसनको वरिपरि बत्ती बाल्ने दियाहरू छन् भने दायाँबायाँतिर नेपाली झण्डा आकृति, धातुको पाताको अग्लो झण्डा छन् र मूर्तिको शिरमाथि तामाको छत्रावली छ ।
यसै मन्दिरको पश्चिम उत्तर कुनामा अर्को हनुमानको मूर्ति छ । यो मूर्ति आफ़्नै शैलीमा छ । स्थानक मुद्रामा भएको यो मूर्ति पहाड बोकी हिँड्न लागेको अवस्थामा छ । बायाँ खुट्टाले पुरुषको शिरमाथि टेकेको यो मूर्तिका दुईवटा हात छन् । जसमध्ये दायाँ हातले गदा समातेको छ भने बायाँ हातले पहाड समातेको छ । लङ्गौटी, कानमा कुण्डल, हातमा बाला घाँटीमा हार र कम्मरवन्ध लगाएको यस मूर्ति दायाँतिर पुच्छर उठिराखेको छ भन्ने लङ्गौटीको एक टुक्राले भुइँ छोएको छ । राम र लक्ष्मणलाई काँधमा राखेको मूर्तिको मुकुट अलंकृत छ । मूर्तिको पछाडि शिरमाथि सातवटा फणा भएको सर्प आकृति छ मूर्तिको पिठ्यूँमा दायाँबायाँ उड्न लागेका सिंह आकृतिहरू कुँदिएका छन् । शिरको माथि तामाको छत्रावली राखिएको भन्ने दायाँबायाँ नेपाली झण्डा आकृतिहरू राखिएका छन् । यस किसिमको मूर्ति नेपालमा अन्त पाइएको छैन । त्यसकारणले पनि यस मूर्तिको विशेष महìव रहेको छ । यो मूर्तिको निर्माण माथिको मूर्तिको भन्दा केही पछि बनेको कुरा मूर्तिमा भएको शैलीको आधारमा अनुमान गर्न सकिन्छ ।

सम्बन्धित शीर्षकहरू:
केहि पनि भेटिएन!

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!