ताजा सामाग्री

कसरी खुसी बनाउने शनिदेवलाई ?

कसरी खुसी बनाउने शनिदेवलाई ? को फोटो
No Comments , शनिबार, चैत २४, २०७४ , by Krishna Pd. Koirala

आशुतोष भगवान् शिव शनिश्चर ग्रहका दीक्षागुरु मानिनु हुन्छ । त्यस्तै शनिदेव ग्रहसभाका दण्डनायक हुन्, उनले न्यायसम्पादन र दण्ड व्यवस्थापन गर्ने अधिकार पाएका छन् । यो पदाधिकार पनि शनिश्चरले भगवान् महादेवबाट नै प्राप्त गरेका हुन् । अतः देवता, दानव, मनुष्य, पशुपन्छी, कीटपतङ्ग र वनस्पति सबैलाई कर्मअनुसारको फल प्रदान गर्न र न्यायसम्पादन गरी दण्डित गर्ने अधिकार शनिमा नै छ ।
एक पटकको कुरो हो । शनि ग्रह ब्रह्माण्डमा विचरण गरिरहेका थिए । उनी हरदम भगवान् शिवको उपासना गर्दै अघि बढ्दै गर्दा उनलाई शिवको अलौकिक दर्शन भयो । मौका यही भन्ने ठानेर उनले सचेत गराउने उद्देश्यले अनुरोध गरे – ‘हे प्रभो ! ब्रह्माण्डको विचरण गर्दै हजुरको निवासस्थलमा पनि प्रवेश गर्नुपर्ने हुन्छ । यो विवरण सुनेर शिवजी विस्मित हुनुभयो र सोध्नुभयो – ‘शनिदेव ! कैलाशलोकमा तपाईंको विचरण कतिसमयका लागि हुनेछ ?’ शनिले शिवको जिज्ञासा शान्त तुल्याउँदै उत्तर दिए – प्रभु भोलि सन्ध्याकालमा सवा दुई प्रहरका निमित्त म कैलाशलोक र वरपरको क्षेत्रमा आइपुग्ने छु । हजुरले उक्त अवधिमा मेरो बक्र दृष्टिबाट जोगिनु पर्ने हुन्छ ।’ शनिको जवाफ सुनेर शिवजी चिन्ताग्रस्त हुनुभयो र शनिको टेढो दृष्टिबाट कसरी जोगिने होला भनी सोच्न बाध्य हुनुभयो । शिवले शनिको बक्रदृष्टिबाट जोगिन पृथ्वीतलमा झरेर हात्तीको रूप लिएर विचरण गर्ने विचार मनैमनमा गर्नुभयो । यसरी हात्तीको रूप धारण गरेमा शनिले आफूलाई चिन्न गाह्रो हुने तथा बक्रदृष्टिबाट सजिलै जोगिन पाउने कुरामा शिवजी ढुक्क हुनुहुन्थ्यो ।
अन्ततः कैलाश लोकमा शनिको विचरणको समय आयो । उक्त समय प्रारम्भ हुनुअघि नै शिवले एउटा हात्तीको रूप धारण गर्नुभयो । शिवले हस्तिरूप धारण गरी निकै समय पृथ्वीतलमा विचरण गर्नुपर्यो । किनभने कैलाशलोकको सवादुई प्रहर पृथ्वीतलमा लामो समय हुने गर्दथ्यो । बल्लबल्ल समय भुक्तान भयो, अब त शनि आफ्नो परिक्रमा मार्गमा अघि बढिसके होला भन्ने ठानी शिव कैलाशलोकमा फर्कनु भयो । शिवले शनिलाई पुनः दर्शन दिएर भन्नुभयो – ‘शनिदेव ! यस पटक त मैले तपाईंलाई झुक्याएँ र आफूमाथि तपाईंको बक्रदृष्टि पर्नै दिइन नि’ । आशुतोष भगवानको दर्शन पाएर गदगद भएका शनिले सधैं झैं घोसेमुन्टो बनाउँदै झुकेर अनुरोध गरे – ‘प्रभु ! मेरो बक्रदृष्टिबाट कोही पनि जोगिन सक्दैन । हजुरले पनि उक्त पीडा सहनु पर्यो । यो कुरो मैले चाल पाइसकेको छु ।’ शनिश्चरका कुरा सुनेर शिवजी फेरि छक्क पर्नुभयो र प्रतिप्रश्न गर्नुभयो – ‘मैले कसरी भोग्नु पर्यो र ?’ शनिले तुरुन्त उत्तर दिए – ‘प्रभो ! मेरो नजर परेकाले नै हजुरले देवस्वरूप त्याग्नु पर्यो र पशुयोनिमा वर्षौंसम्म मर्त्यलोकमा लुकेर बस्नुपर्यो । यसरी हजुरमा पनि मेरो बक्रदृष्टिको प्रभाव पर्न गयो र मेरो कर्तव्यपालनामा हजुरले पनि एउटा पात्रको भूमिका निर्वाह गर्नुपर्यो’ । शनिका कुरा सुनेर भगवान् प्रसन्न हुनुभयो र उनलाई आलिङ्गन गरी आशीर्वाद प्रदान गर्दै पदाधिकार र कर्तव्यपालनामा अविचल भई जिम्मेबार हुन निर्देशन गरी पुनः कैलाशधाम जानुभयो ।
आज शनिबार शनिलाई प्रसन्न तुल्याउन विविध उपाय अवलम्बन गर्न सकिन्छ । सबै भक्तजनले कुनै न कुनै शनिपूजाको उपाय अवलम्बन गरौं र शनिको बक्रदृष्टिबाट आफूलाई जोगाऔं । जय शम्भो, जय शनिश्चर ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!