ताजा सामाग्री

पाप र तापबाट मुक्ति : वरुथिनी एकादशी

पाप र तापबाट मुक्ति : वरुथिनी एकादशी को फोटो
No Comments , बिहीबार, चैत २९, २०७४ , by Krishna Pd. Koirala

वैशाख कृष्ण पक्षको एकादशी तिथिका दिन पर्ने एकादशीको व्रतको नाम बरुथिनी एकादशी हो ।
व्रतविधि
बरुथिनी एकादशीको व्रत लिने व्यक्तिले अघिल्लो दिन अर्थात् दशमीकै दिनदेखि अखाद्य मानिने माछामासु, लसुनप्याज, नुन, मादक पदार्थसमेत जौ, गहुँ र मुँगको दाल सेवन गर्नु हुँदैन । रात्रिकालमा भुइँमा ओछ्यान लगाई सुत्नुपर्छ । हुनसक्छ भने त्यस्तो ओछ्यान पूजा कोठा वा भगवान् विष्णुको प्रतिमाका छेउमा भएको जाति हुन्छ । पूर्ण सात्विक भावका साथमा काम, क्रोधादि दुष्प्रवृत्तिलाई शमन गर्नुपर्छ । पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्छ । एकादशीका दिन प्रातःकालमा निद्रा त्यागी उठेर नित्यस्नान गर्नुपर्छ । नित्यस्नान गर्दा शुद्ध माटो, तिल र अमलाको धूलो मिसाई शरीरमा लेप गरी स्नान गर्नुपर्छ । स्वच्छ वस्त्र धारण गर्नुपर्छ । पूजाकोठा लिपपोत गर्ने वा धोईपखाली गर्नुपर्छ । पूजाका लागि पाद्य, अर्घ्य, आचमन, पञ्चामृत, चन्दन, अक्षता, पुष्प, धूप, दीप आदि पूजा सामाग्री ठिक्क पार्नुपर्छ । पूजास्थलको मध्यभागमा खालीभुइँमा धान ओछ्याउनु पर्दछ । त्यसमाथि एउटा तामाको घडामा शुद्ध जल भरी त्यसको घाँटीमा रातो वस्त्र बेरिदिनु पर्छ । अनि कलशलाई अबिर, केशरी आदिले सिङारी दिनुपर्छ । त्यसपछि विधिवत् भुइँ, धान र कलशलाई धूप, दीप, चन्दन, अक्षतादिले पूजा गरिदिनु पर्छ । कलशको मुखमा काँसको वा चाँदीको अष्टदल कमलको आकृति बनाई त्यसमा शालिग्राम स्थापना गरी उक्त शालिग्राममा भगवान् विष्णुको प्राणप्रतिष्ठा गरी षोडशोपचार विधिले पूजाआजा गरिदिनु पर्छ । अन्तिममा प्रतिमामा फूलको वनमाला समर्पण गरी भगवान् नारायण र एकादशी माताको आरती, पुष्पाञ्जली आदि गर्नुका साथै ब्राह्मणलाई भोजन, दक्षिणादि प्रदान गर्नुपर्छ ।प्रातःकालको पूजा सम्पन्न भएपछि आफूले काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यादि दुष्प्रवृत्तिहरू त्यागी पूर्ण सात्विक भाव ग्रहण गरी भगवान् नारायणका नामसङ्कीर्तन गर्दै श्रीमद्भगवद्गीता, श्रीमद्भागवत महापुराणलगायत भगवान् नारायणका चरित्र र लीलाको चर्चा गर्नुपर्छ । सायंकालमा विहान पूजा गरे झैं नै भगवान् नारायण र एकादशीको पूजाआजा र आरती गरी रातभरि पुनः भजनकीर्तन गर्दै जागरण गर्नुपर्छ । भोलिपल्ट प्रातःकालका नित्यकर्म गरी पुनः पूजाआजा गरी गरिब, दुःखी, असहाय, विधवा र दीनहीन अवस्थाका व्यक्तिका साथमा ब्राह्मणहरूलाई यथेष्ट भोजन गराई वस्त्र, दक्षिणादि प्रदान गरी आफूले पनि भोजन ग्रहण गरी व्रतको समापन गर्नुपर्छ ।

बरुथिनी एकादशीको व्रतकथा

युधिष्ठिरले भगवान् श्रीकृष्णसँग जिज्ञासा राख्नुभयो — हे वासुदेव ! वैशाख महिनाको कृष्ण पक्षमा के नाम गरेको एकादशी पर्छ ? त्यस एकादशीको महात्म्य सुन्ने धोको छ, कृपया सविस्तार वर्णन गर्नुहवस् ।

युधिष्ठिरका जिज्ञासालाई शान्त तुल्याउँदै बालगोपाल भगवान् श्रीकृष्णले आज्ञा गर्नुभयो — हे राजन् ! वैशाख कृष्ण पक्षको एकादशीको नाम बरुथिनी एकादशी हो । यो एकादशी यस लोक र परलोकमा पनि सुख र सौभाग्य प्रदान गर्ने एकादशी हो । यस व्रतको सम्पादन गर्नाले सदैव सुखसम्मृद्धिको आगमन तथा अधर्म र पापको नाश हुन्छ । यो यस सांसारिक जीवनका यावत् सुखसुविधा र भोगविलास प्रदान गर्ने एवं मरणोपरान्त मोक्ष प्रदान गर्ने एकादशी हो । बरुथिनी एकादशीको व्रतलाई विधिवत् पालना गर्नाले राजा मान्धाता र धुन्धुमार आदि मुक्त भएका थिए । दस हजार वर्षपर्यन्त तपस्या गर्दा जुन फल प्राप्त हुन्छ, त्यो फल केवल एक पल्ट बरुथिनी एकादशीको व्रत लिंदा प्राप्त हुन्छ । हे राजन् ! एउटा घोडाको दान गर्नुभन्दा एउटा हात्तीको दान गर्नुलाई ठूलो र श्रेष्ठ मानिन्छ । भूमिदान हात्तीदान गर्नुभन्दा ठूलो हो । यस्तै भूमिदानभन्दा पनि श्रेष्ठ तिलदानलाई मान्ने गरिन्छ । अन्नदानको कुरा गर्ने हो भने यसलाई तिलदानभन्दा पनि बढी फलदायी भन्ने मान्यता छ, किनभने देवता, पितृ र मनुष्य सबै अन्नका माध्यमबाट नै तृप्त हुन्छन् । विद्वज्जनले कन्यादान र अन्नदानको महत्त्व समान रहेको बताइन्छ, त्यस्तै कन्यादान र गोदानको पनि उत्तिकै महत्त्व छ । तर कन्यादान, गोदान र अन्नदानभन्दा पनि ठूलो विद्यादान हो । एक दशकसम्म विद्यादान गर्ने आचार्यले जुन पुण्य प्राप्त गर्दछ, त्यो पुण्य केवल एक पटक बरुथिनी एकादशीको व्रत सम्पादन गर्दा प्राप्त हुन्छ । जुन मनुष्यले लोभ र पापबाट ग्रस्त भई कन्याले आर्जन गरेको धनबाट आजीविका चलाउँदछ, पुण्य नाश भई तिनले नरकको कष्टप्रद यातना भोग्नु पर्ने हुन्छ । त्यसैले सकेसम्म कसैले पनि स्त्रीधन र कन्याधनको उपभोग गर्नु हुँदैन । तर त्यसरी जीवन धान्ने बाध्यता नै छ भने त्यस्ता व्यक्तिले जीवनमा एक पल्ट दीनहीन, असहाय, टुहुरा कन्याको उचित वरको खोजी गरी कन्यादान गरेमा ती पाप नष्ट हुन्छन् । जसले आफ्नो सामर्थ्य अनुसार वस्त्राभूषणले विभूषित तुल्याई पवित्र भावले कन्यादान गर्दछ, उसले केकति सङ्ख्यामा पुण्य आर्जन गर्दछ भनेर यमराजका सचिव चित्रगुप्तले पनि गणना गर्न सक्दैनन् । बरुथिनी एकादशीको व्रत लिने व्यक्तिले त्यसरी नै कन्यादान गरेको पुण्य सहजै प्राप्त गर्दछ । व्रत लिने व्यक्तिले दशमीका दिन काँसो, मास, मुसुरो, चना, कोदो, साग, मह, अर्काको घरबाट ल्याएको अन्न, दुई पटकको भोजन र मैथुन गरी यी दस वस्तुको त्याग गर्नुपर्दछ । एकादशीका दिन जुवातास खेल्नु, निदाउनु, पान खानु, दतिवन गर्नु, परनिन्दा गर्नु, सुलसुले लाग्नु (चियोचर्चो गर्नु), चोरी गर्नु, हिंसा गर्नु, मैथुन गर्नु, रिसाउनु र झूठो बोल्नु आदि एघार वस्तुको त्याग गर्नु पर्दछ । पुनः द्वादशीका दिन काँसो पात्र, मास, मदिरा, मह, तेल, नीच र पतितहरूसँगको वार्ता, व्यायाम, परदेशको यात्रा, दुई पटकको भोजन, मैथुन, गोरुगाडाको यात्रा र मुसुरो गरी बाह्र चिजको परित्याग गर्नुपर्दछ ।

हे राजन् ! यस कथाको एउटा दृष्टान्त सुनाउँदछु, ध्यानपूर्वक सुन । उहिले प्राचीन समयमा नर्मदा नदीको तटमा मान्धाता नाम गरेका राजा आफ्नो अकण्टक राज्यको राज्यसुख उपभोग गर्दै आनन्दपूर्वक जीवनयापन गरेर बसेका थिए्र राजकाजमा संलग्न भए पनि राजा मान्धाता अत्यन्त दानी, सज्जन, पवित्र आचरण भएका तथा तपस्वी राजा थिए । उनी नित्यप्रति भगवान् नारायणको भक्ति गर्नुका साथै प्रजालाई पितासमान व्यवहार गरी राज्य गर्दथे । उनको राजधानी बाहिर एकान्तस्थलमा भगवान् नारायणको विशाल मन्दिर थियो । प्रत्येक दिन प्रातःकालमा उनी उक्त मन्दिरमा गई भगवान् नारायणको पूजाआराधना गर्नुका साथै जप, न्यास र ध्यान गर्ने गर्दथे । एक दिन प्रातःकालमा उक्त मन्दिरमा राजा जप गरिरहेका थिए । त्यसै समयमा वनमा आहारा नपाएर भौंतारिएर कुनै भालु त्यस मन्दिरमा आइपुग्यो । भोकले व्यग्र भएको त्यस भालुले जापमा अचल र अटलभावले बसेका राजा मान्धातालाई देख्यो र यही जीव आजको मेरो आहारा हुनेछ भन्ने ठानी  राजाको खुट्टामा मुखले समातेर घिस्याउन थाल्यो । राजाको जापमा विघ्न त भयो, तर तापस धर्मअनुकूल हिंसा र क्रोधवृत्ति गर्नु उचित नहुने ठानी उनले जापकर्मलाई निरन्तरता दिइरहे । त्यस भालुले राजालाई घिसार्दै घिसार्दै वनमा लिएर गयो । गोडामा समातेर लामो समय घिसारेकाले राजाको खुट्टा काम नलाग्ने भइसकेको थियो । अब भालुले राजालाई खाने विचार गर्यो । मान्धाताको जाप सिद्धिसकेको थियो । अब के गरी भालुबाट फुत्किने होला भन्ने सोचविचार गरी राजाले भगवान् नारायणको प्रार्थना गर्दै आर्तपुकारा गर्न थाले । राजाको दीनतायुक्त प्रार्थना सुनेपछि भक्तवत्सल भगवान् नारायण प्रकट हुनुभयो र आफ्नो सुदर्शन चक्रको प्रयोग गरी त्यस भालुको उद्धार गर्नुभयो ।

राजाको ज्यान त जोगियो । तर भालुको दाँतले छिन्नभिन्नप्रायः भएको उनको गोडाले काम गरेन । उनी हिंडडुल गर्न नसक्ने भए । राजाको त्यो अवस्था देखेर भगवान् नारायणले आज्ञा गर्नुभयो — हे वत्स ! पूर्वजन्ममा तिमी एउटा व्याधा थियौ । व्याधा भए पनि तिमी मेरा परमभक्त थियौ र जीवनभरि सदाचार र निष्ठापूर्वक मेरो भक्ति गरेका थियौ । तर परम्परादेखि चलिआएको व्याधावृत्तिका कारण तिमी वनजङ्गलमा भौंतारिंदै पशु र पन्छीको हत्या गरी जीविकोपार्जन गर्दथ्यौ । भोकलाई सहन नसक्नु तिम्रो ठूलो कमजोरी थियो । एक दिन तिमी वनमा घुम्दाघुम्दै भोक र प्यासले विचलित बन्न पुग्यौ । भोक सहन नसकेर तिमीले आफूले शिकार गरेका पशुको काँचो मासु खान थाल्यौ । त्यही दोषका कारण तिमी पूर्वजन्ममा मेरा परम भक्त हुँदाहुँदै पनि मुक्त हुन सकेनौ । तर जीवनभरि भगवद्भक्ति र सदाचारको आचरण गरेको हुँदा तिमी यस जन्ममा राजा भएर जन्मलिन पुग्यौ । पूर्वजन्मको पुण्य र प्रभावका कारण मेरो भक्तिको मार्गमा तिमी यथावत् दृढ रहिरह्यौ । अब उक्त दोषको उन्मुक्तिका लागि तिमीले केही उपाय गर्नुपर्छ । ध्यानपूर्वक सुन, यहाँबाट नजिकै मैले श्रीकृष्णावतार ग्रहण गरेको मथुरा नामको पुरी छ । त्यहाँ गएर तिमीले मेरो वाराह अवतार लिंदा धारण गरेको स्वरूपको कल्पना गरी मूर्ति बनाई त्यसको निरन्तर पूजा गरेर बस । जब वैशाख महिनाको कृष्ण पक्षमा पर्ने बरुथिनी नामको एकादशी आउँछ । त्यस एकादशीको विधिवत् पालना गरी व्रत सम्पादनसमेत गर । उक्त व्रतका प्रभावले तिमी पुनस् सबलाङ्ग हुनेछौ । राजाले भगवान् मधुसूदनले बताउनु भएबमोजिम मथुरामा गई एकवर्षसम्म भगवानको वराहमूर्तिको आराधना गरी अपार श्रद्धाका साथमा बरुथिनी एकादशीको व्रत पूर्ण गरे । उक्त व्रतको प्रभावले उनको खुट्टामा पुनः बल प्राप्त भयो र सुन्दर अङ्गले युक्त भए । जीवनकालभरि अपार सुख र सम्मृद्धिका साथमा राज्यवैभवको भोग गरी जीवनोपरान्त उनी वैकुण्ठधाममा पुग्दा भए ।

श्रीकृष्ण युधिष्ठिरसँग भन्नुहुन्छ – हे राजन् ! त्यसैले बरुथिनी एकादशीको व्रत सम्पादन गर्नुपर्छ । रात्रीकालमा जागरण गरेर भगवान् मधुसूदनको पूजाआजा र नामसङ्कीर्तन गरी जसले यस व्रतको पालना गर्दछ, ऊ समस्त पापबाट मुक्त भई परमपदमा प्राप्त हुन्छ । अतः पापभीरु मनुष्यहरूले सकेसम्म प्रयत्न गरी यस एकादशीको व्रत लिनुपर्दन । यमराजको यातनाबाट डराउने प्रत्येक मनुष्यले अवश्यमेव यस एकादशीको व्रत पालना गर्नुपर्दछ । यसबाहेक व्रतको पालना गर्न नसक्ने भक्तजनले भगवान् नारायणले वराह अवतार ग्रहण गरेको कोशी नदीको तटमा अवस्थित पावन तीर्थस्थल वराहक्षेत्रमा गई कौशिकी र कोकाहा नदीको पवित्र सङ्गमस्थलमा यस एकादशीका दिन स्नान गरी भगवान् वराहको श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेमा जीवनभरि यस एकादशीको व्रत लिएको पुण्य प्राप्त गर्दछ । त्यस्तै एकादशीको व्रत लिनाले जुन फल प्राप्त हुन्छ, समयाभावले वा बाध्यतावश व्रत लिन नसक्ने मनुष्यले यस एकादशीको व्रतकथा र महात्म्य पढ्ने, सुन्ने र सुनाउने गरेमा पनि तदनुरूप नै फल प्राप्त गर्ने गर्दछ र ऊ पनि जानेर वा नजानीकन गरेका समस्त पापराशिबाट मुक्त भई जीवनकालका समस्त सांसारिक सुखभोग गरी मरणोपरान्त विष्णुलोकमा प्रतिष्ठित हुनपुग्छ ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!