ताजा सामाग्री

सुख, सम्मृद्धि, भोग र ऐश्वर्य प्रदान गर्ने व्रत – ‘शुक्र प्रदोष’ व्रतकथा र महात्म्य

सुख, सम्मृद्धि, भोग र ऐश्वर्य प्रदान गर्ने व्रत – ‘शुक्र प्रदोष’ व्रतकथा र महात्म्य को फोटो
No Comments , शुक्रबार, चैत ३०, २०७४ , by Krishna Pd. Koirala

आशुतोष भगवान् शिवले आफ्ना भक्तका प्रत्येक इच्छाआकाङ्क्षा र सुखसुविधा पूरा गर्ने गर्नुहुन्छ । त्रयोदशी शिवको अत्यन्त प्रिय तिथि हो । प्रत्येक महिनाको अमावस्या (औंसी) र पूर्णिमापछिको १३ औं दिन त्रयोदशी हो । अतः हरेक महिनाको शुक्ल र कृष्ण पक्षका दुबै त्रयोदशीका दिन शिवको उपासनाका निमित्त प्रदोष व्रत लिने गरिन्छ । प्रदोष व्रतले भिन्नभिन्न बारका आधारमा भिन्नभिन्न फल प्रदान गर्ने गर्दछ भन्ने मान्यता छ । शुक्रबारका दिन त्रयोदशी तिथिको संयोग परेको दिनलाई शुक्र प्रदोष भन्ने गरिन्छ । यस दिन व्रत लिएमा प्रदोषको व्रत गरी प्राप्त हुने फलका अतिरिक्त मनुष्यले धर्म, अर्थ, काम र मोक्ष यी चारवटै पुरुषार्थ प्राप्त गर्न सक्दछ । यसबाहेक उसको दाम्पत्य जीवन सुखमय हुन्छ, रूप र लावण्यमा बृद्धि हुन्छ, भोगविलास र सांसारिक सुखको अभिवृद्धि गर्न सघाउ पुग्छ । पूर्वीय ज्योतिषशास्त्रमा भवन, वाहनादि भौतिक सुख, प्रेमप्रसङ्ग, दाम्पत्य जीवन र यौनसुख, घरायसी परिबन्द तथा गृहस्थी सुख, भ्रमण, पर्यटन आदिको उपलब्धीमा शुक्र ग्रहको भूमिका विचार गर्ने गरिन्छ, शुक्र ग्रह शारीरिक सुखको कारक हो, सम्भोगदेखि हार्दिक प्रेमसम्मका सबै विषय शुक्र ग्रहको अधीनमा हुन्छन् । त्यसैले शुक्र ग्रहको थप ऊर्जा प्राप्त गर्न शुक्रप्रदोषको व्रत लिन सकिन्छ । यस दिनको व्रतको महात्म्य र कथा यस प्रकार छ :-

महाराज युधिष्ठिरले द्युतक्रीडामा सबै राजपाट गुमाएर वनवासको जीवन व्यतीत गर्दै थिए । अर्जुन तपस्याका लागि बदरिकाश्रम गएकाले भीम, नकुल, सहदेव र द्रौपदीमात्र उनीसँग उपस्थित थिए । अर्जुन नभएकाले अन्य पाण्डवगण एक दिन अर्जुनलाई स्मरण गर्दै उनकै विषयमा कुराकानी गर्दैथिए । त्यतिकैमा युधिष्ठिरको कुटीमा महर्षि वृहदश्व आइपुगे । धर्मराज युधिष्ठिरले उनको यथोचित स्वागत सत्कार गरे । दुबैका बीचमा एकआपसका कुशल-क्षेमका विषयमा कुराकानी भए । यस क्रममा युधिष्ठिरले आफ्ना समस्त दुःख र वेदनाको विवरण मुनिलाई सुनाउँदै भने, “हे महर्षि! जुवामा मैले आफ्नो राजपाट र श्रीसम्पत्ति सबै चीज गुमाएँ, त्यसैले मभन्दा दुःखी, पीडित र अभागी को हुन सक्छ र ? युधिष्ठिरका यस्ता वचन सुनेपछि महर्षि बृहदश्वले उत्तर दिए – ‘हे राजन् ! तपाईंले धैर्य धारण गर्नुपर्छ, तपाईंमात्र होइन, ठूलै र वरिष्ठ हुँ भनौंदा धेरै जनाले यस्ता त्रुटि गरेका छन् र कठोर सङ्कटसमेत भोगेको इतिहास छ । तर धैर्य र उपायको अवलम्बन गरी तिनले समस्याबाट मुक्ति प्राप्त गरेका छन् । यसको उदाहरणका रूपमा राजा नलको जीवनलाई लिन सकिन्छ । उनले पनि जुवा खेल्दा आफ्नो सर्वस्व गुमाएका थिए, तर पछि उनको राजपाट र वैभव पुनः फिर्ता भयो ।’ ऋषि बृहदश्वका यस्ता वचन सुनेपछि युधिष्ठिरले राजा नलको सम्पूर्ण जीवनी सुन्ने इच्छा व्यक्त गर्नुका साथै गुमेको सुखसौभाग्य र राजपाट फिर्ता लिने के उपाय हुनसक्छ भनी जिज्ञासा राखे । युधिष्ठिरलाई राजा नलको इतिहास सुनाउँदै मुनिले भने –

राजन् ! निषध देशमा वीरसेन नामका राजा थिए । उनका शीलस्वभाव र सद्गुणले युक्त नल नाम गरेका पुत्र थिए । नललाई पनि तपाईंलाई जस्तै जुवा खेल्ने ठूलो सौख थियो । त्यतिवेला विदर्भ देशमा भीष्मक नाम गरेका राजाले शासन गर्दथे । तिनकी दमयन्ती नाम गरेकी अत्यन्त रूपवती कन्या थिईन् । नल एक दिन आफ्नै दरबारको उद्यानमा टहल गर्दै थिए । त्यतिबेलै त्यस उद्यानमा कतैबाट एउटा सुन्दर राजहंस आइपुग्यो । हाँस लोभलाग्दो थियो, नलले अनेकौं प्रयत्न गरी त्यसलाई समाते । राजकुमारको पन्जामा परेपछि हाँसले भन्यो – ‘हे युवराज ! म राजकुमारी दमयन्तीको हाँस हुँ, हाम्री राजकुमारी स्वर्गकी अप्सरा उर्वशीभन्दा पनि राम्री छन् । तिनको र तपाईंको जोडी असाध्यै सुहाउँछ । अहिले मलाई मुक्त पारेमा म तिनलाई तपाईंको सौन्दर्य र रूपका बारेमा बताउने छु ।’ यस्ता मीठा र लोभलाग्दा कुरा सुनेपछि राजकुमारले हाँसलाई छाडिदिए । राजहंस उड्दै सीधा विदर्भ देशमा पुग्यो र त्यहाँ दमयन्ती भए ठाउँमा गएर राजकुमार नलको रूप र लावण्यको चर्चा गर्न थाल्यो । हाँसले गरेको प्रशंसा सुनेर दमयन्तीको मनमा नलप्रति अनुराग जाग्यो, उनी नलप्रति आशक्त भईन् । केही समयपछि राजा भीष्मकले आफ्नी पुत्री दमयन्तीको स्वयंवरको घोषणा गरे । उक्त स्वयंवरमा स्वर्गबाट इन्द्र, अग्नि, वरुण, यम आदि देवगणलगायत देशविदेशका राजा/महाराजा र राजकुमारका साथमा नल पनि सहभागी भए । स्वयंवरमा दमयन्तीले नललाई वरण गरिन् ।

स्वयंवर सिद्धिएपछि इन्द्र आफ्नो पुरी अमरावतीतर्फ फिर्ता जाँदै गर्दा उनले बाटोमा कलियुगलाई भेटे । कलियुगलाई कता हिंडेको भनी इन्द्रले प्रश्न गरेपछि कलियुगले भन्यो – म दमयन्तीसित विवाह गर्न विदर्भ देश हिंडेको हुँ । इन्द्रले दमयन्तीको स्वयंवर सिद्धिएर आफू फर्किएको बताउँदै दमयन्तीले नललाई वरण गरेको समाचार सुनाइदिए । कलियुगलाई दमयन्तीसित विवाह गर्ने ठूलो धोको थियो । ऊ दमयन्तीलाई पाउन नसकेकोमा खिन्न भयो र राजकुमार नलसित डाहा गर्न थाल्यो । त्यसपछि कलियुगले नललाई दुःख दिने नियतले निषध देशमा प्रवेश गर्यो । ऊ हरदम नलको कमजोरी र त्रुटि पहिल्याएर प्रतीक्षा गर्न थाल्यो । कलियुग निषध देशमा पस्नासाथ नलका पिता वीरसेनको मृत्यु भयो । नल अब निषध देशका राजा बने । उनी धर्मात्मा र सदाचारी थिए, त्यसैले प्रजालाई सन्ततिवत पालनपोषण गर्दै सुखपूर्वक राजपाट सञ्चालन गरेर बसेका थिए । उनको आचरणमा कुनै खोट नभेटिएकाले कलियुग उनको शरीरभित्र पस्न सकेन । लगातार बाह्रवर्षसम्म कलियुगले प्रतीक्षा गर्नुपर्यो । यस बीचमा नल र दमयन्तीका दुई जना सन्तान उत्पन्न भए । यस्तैमा एक दिन राजा नल पिसाब फेरेर आएपछि हातखुट्टा पनि नधोई सन्ध्यावन्दन गर्न बसे । कलियुग यस्तै अपवित्र अवस्थाको खोजीमा थियो । मौका छोपी कलियुग नलको शरीरमा प्रविष्ट भयो । नलका पुष्कर नाम गरेका एक जना पराक्रमी र हिम्मती भाइ पनि थिए । एक दिन पुष्करले दाजुलाई जुवा खेल्ने निम्तो दिए । दाजुभाइ दुबै बसेर जुवा खेल्न थाले । शरीरमा कलियुगले प्रवेश गरेकाले नलले आफ्नो समस्त राजपाट, धनसम्पत्ति र वैभव हारे । जुवामा सबै चिज गुमाएपछि राजा नलले दमयन्तीलाई बालबच्चासहित माइतमा गएर बस्न आग्रह गरे । दमयन्तीले बालबच्चालाई त मावल पठाई दिईन्, तर आफू पतिका साथमा वनवास जाने हठ गरिन् । एकछिन अघि त्यत्रो महलमा बसी श्रीसम्पत्ति र वैभवको भोग गरिरहेका राजा र रानीको केही बेरमैं पाटीको बास भयो । ती दुईको शरीरमा अब एकसरो धोतीबाहेक अरु केही पनि थिएन । आजीवन सुखसयलमा बसेकी दमयन्तीलाई आफ्नो कारणले यस्तो विपत्ति आइलाग्यो भन्ने सम्झँदा नललाई ठूलो चिन्ता हुन्थ्यो । दमयन्तीलाई उनी सधैं समुचित व्यवस्था नहुन्जेल माइतमा गई बस्ने सल्लाह दिन्थे, तर दमयन्ती मान्दिन थिईन् ।

एक दिन दुबै जना जङ्गलमा भौंतारिंदै थिए । पेटमा बढीरहेको भोकको दावाग्निलाई शान्त तुल्याउने कुनै उपाय थिएन । नलले आफूले लगाएको धोतीलाई जालका रूपमा प्रयोग गरी चरा समाउने विचार गरे । विपत्तिमा आफूले खोजेजस्तै कहाँ हुन्छ र ! पन्छीहरू उनले फिंजाएको जालमा परे, तर जालमा फँस्नुको साटो उल्टै धोती नै बोकेर ती पन्छी उडेर गए । भोकको पीडा सहन नसकेर दमयन्ती एकातिर तन्द्रामा परेकी थिईन् । उनको दुःख देख्न नसकेका नलले रानीले लगाएको सारीको एक छेउ च्यातेर बेरे र दमयन्तीलाई त्यसै निर्जन वनमा छाडेर एकातिर लागे । निद्राबाट ब्युँझिएपछि दमयन्तीले राजालाई देखिनन्, वरपर चारैतिर निकै खोजिन्, तर पत्तो लागेन । नलले आफूलाई नदेखेपछि दमयन्ती माइत जानेछिन् भन्ने ठानेकी थिईन्, तर उनले त्यसो गरिनन् । उनी बटुवाहरूको साथ लागी चेदी देशका राजा सुबाहुको दरबारमा आई पुगीन् र नोकरीको याचना गरिन् । त्यहाँ उनले राजमाताको सेवासुश्रुषा गर्ने दासीको काम पाईन् ।

यता राजा नल दमयन्तीको आधा सारी बेरेर व्याकुल भई वनमा यत्रतत्र भौंतारिन थाले । घुम्दाघुम्दै अचानक  डँढेलो लाग्यो, उनले यसअघि नै अग्निको डढ्नु नपर्ने आशीर्वाद पाएका थिए, त्यसैले उनलाई डँढेलोको असर परेन । तर उक्त वनमा नागराज कर्कोटकको निवास पनि थियो । नलले उसलाई आफ्ना साथमा राखे, आगोले नागलाई पनि केही गरेन । यसरी उनले नागराज कर्कोटकको प्राण जोगाइदिए । तर डँढेलो लागेको वनबाट बाहिरिने बितिक्कै कर्कोटकले नललाई डँस्यो । त्यस नागको विषको प्रभावले राजा नलको शरीर अँगारजस्तै कालो भयो । आफूलाई ठुँग्ने नागसित क्रोधित हुँदै मेरो उपकारको प्रत्युपकार यही हो ? भनेर नलले प्रश्न गरे । कर्कोटकले नम्र हुँदै बतायो – ‘मैले प्रत्युपकार गरेको होइन, तपाईंको शरीरमा कलियुगले प्रवेश गरेको छ । मेरो विषलाई सहन नसकेपछि केही दिनमा नै उसले तपाईंको शरीरलाई त्याग्नु पर्नेछ । शरीरबाट कलियुग बाहिरिएपछि तपाईंका सुदिन फिर्ने छन् । शरीरको रङ बदलिएकाले तपाईंलाई कसैले पनि चिन्दैन, त्यस्तै मेरो विषको प्रभावका कारण यस भयानक वनमा कुनै पनि हिंस्रक पशुले तपाईंलाई खाने छैन । अब तपाईं आफ्ना राम्रा दिन आउने उपायको खोजी गर्नुहोस् । बरु अब आफ्नो नाम फेरेर तपाईं अयोध्या नामको देशमा जानुहोस्, त्यहाँ ऋतुपर्ण नामको राजाले शासन गर्दैछ, ऊ द्युतकलामा अत्यन्त दक्ष र निपुण छ, तपाईंले उसलाई अश्वविद्या सिकाई दिनुभयो भने उसबाट जुवा खेल्ने चालबाजीको ज्ञान प्राप्त हुनेछ । यसरी द्युतविद्याका तिकडमलाई राम्ररी बुझेपछि हजुरले पुष्करसँग पुनः जुवा खेल्नु होला र उसलाई हराएर आफ्नो श्रीसम्पत्ति र वैभव फिर्ता लिनुहोला । म हजुरलाई एउटा वस्त्र दिन्छु, राज्य फिर्ता आउनासाथ त्यस वस्त्रलाई धारण गर्नुहोला, तपाईंको शरीरको रङ पुनः पहिलेको जस्तै हुनेछ ।’ कर्कोटक नागबाट यस्तो उपाय र सहयोग पाएपछि नल अयोध्या पुगे, आफ्नो नाम फेरेर बाहुक नामको सारथी भई परिचय दिए अनि ऋतुपर्णको आश्रयमा बस्न थाले ।

यता विदर्भ देशका राजा भीष्मकले राजा नलले जुवामा आफ्नो राजपाट र श्रीसम्पत्ति सबै हारे भन्ने कुरा चाल पाए । आफ्ना छोरीज्वाइँ कहाँ होलान् भनी पत्ता लगाउन उनले चारै दिशामा दूतहरू खटाए । सुदेव नाम गरेको एउटा ब्राह्मण पनि त्यस काममा खटिएका थिए । उनी चेदी देशमा पुगे र दमयन्तीलाई चिनेर तिनलाई माइतमा लिएर आए । त्यसपछि तिनै सुदेव ब्राह्मणलाई राजा नलको पनि खोजी गर्ने जिम्मेबारी दिइयो । सुदेव एकजना कर्मकाण्डी र नैष्ठिक ब्राह्मण थिए । उनले राजा भीष्मक र दमयन्ती दुबैलाई जस्तोसुकै ठूला सङ्कट र दुःख निवारणका लागि आशुतोष भगवान् भोलेशङ्कर र उहाँको प्रियतम व्रत प्रदोषको ठूलो भूमिका छ भन्ने कुरा बताए । तपाईंहरू भगवान् शिवको उपासना गर्नुहोस्, म आफ्ना तरिकाले राजा नलको खोजतलास गर्नेछु भनी सुदेवले दुबै जनालाई आश्वस्त तुल्याए । सुदेवका कुरा सुनेपछि दमयन्तीले प्रदोषको व्रतको विधान के हो भनी प्रतिप्रश्न गरिन् । सुदेवले सुतजीले नैमिषारण्यमा बताएको प्रदोषको महात्म्य र विधिविधान बताउँदै भने – हे राजकुमारी ! शुक्रबार परेको प्रदोषलाई शुक्रप्रदोष भन्ने गरिन्छ । मनुष्यको तेज, वीर्य, बल, रूप, धनसम्पदा र वैभव प्राप्तिमा शुक्र ग्रहको ठूलो भूमिका हुन्छ । त्यसैले शुक्र प्रदोष व्रतको पुण्यप्रभावले मनुष्यले धर्म, अर्थ, काम र मोक्ष सबै पुरुषार्थ प्राप्त गर्नुका साथै धनसम्पत्ति, राज्यलक्ष्मी र वैभवसमेत प्राप्त हुने गर्दछ । सुदेवले यति भनेर नलको खोजी गर्न देशदेशान्तरको यात्रा प्रारम्भ गरे । उता दमयन्ती निष्ठा र भक्तिपूर्वक सुदेवले बताएको विधिलाई अनुसरण गरी भोलेशङ्करको उपासना गर्न थालिन् र शुक्रबार परेको प्रदोषका दिनदेखि प्रत्येक प्रदोषको व्रतसमेत सम्पादन गर्न सुरु गरिन् ।

घुम्दै जाँदा सुदेव ब्राह्मण अयोध्या पुगे । उनलाई राजा ऋतुपर्णको सारथी बाहुक नै राजा नल हुनुपर्छ भन्ने शङ्का त लाग्यो । तर जिउडाल र बोलीवचन नलको जस्तै भए पनि अनुहार र शरीरको रङ फरक भएकाले उनले टुङ्गो लाउन सकेनन् । विदर्भ देशको दूतका रूपमा अयोध्याको दरबारमैं बसेर उनले बाहुकको हरतरहले परीक्षण गरे । उनको शङ्का बढ्दै गयो । एक दिन उनले एकान्तमा बाहुकलाई भेटे र प्रश्न गरे – कस्तो आपतमा कुनै पनि पुरुषले निद्रित अवस्थामा नै निर्जन वनमा आफ्नी पतिव्रता साध्वी पत्नीलाई छाडेर भाग्दछ ?, सुदेवका प्रश्नले नल झस्किए तर कुनै प्रतिक्रिया नदेखाई झट्ट उत्तर दिए – भरणपोषणको जिम्मेबारीसमेत वहन गर्न नसक्दा मनुष्यले आफ्नी पतिव्रता स्त्रीलाई पनि त्याग गर्दछ ।’ उनको शङ्का बढ्दै गयो, यस्ता अनेक तरहले उनले बाहुकको परीक्षा लिई रहे । उता तन्मय र निष्ठाका साथमा दमयन्ती शिवाराधनामा लागेकी थिईन् । पूरा नियम र निष्ठाका साथमा प्रत्येक प्रदोषको व्रत, ब्राह्मण र गरिबगुरुबाको सेवासुश्रुषा तथा दानपुण्य कर्म गर्दथिईन् । प्रदोषको व्रत लिन थालेको एक वर्ष बित्न लागेको थियो । एक वर्षपछि पुनः अर्को शुक्र प्रदोषको आगमन भयो । उनले योग्य ब्राह्मणको सहयोग लिई व्रतको उद्यापन गरिन् र त्यसबाट आर्जित पुण्य जति सबै आफ्ना पतिलाई प्राप्त होस् भनी समर्पण गरिन् ।

सुदेवले नलको अन्तिम परीक्षा लिने तैयारी गर्यो र एउटा झुट्ठा खबर अयोध्याभरि फैलायो, खबरमा भनिएको थियो – ‘राजकुमारी दमयन्तीको पुनर्विवाह हुँदैछ, राजा भीष्मकले पुनः स्वयंवरको आयोजना गर्दैछन्, त्यसैले योग्य क्षत्रीय वीरहरूले उक्त स्वयंबरमा पाल्नु होला ।’ ऋतुपर्णले पनि यो खबर सुन्यो । ऊ पहिलेदेखि नै दमयन्तीको शीलस्वभाव र रूपलावण्यका बारेमा जानकार थियो । त्यसैले स्वयंवरमा भाग लिन ऊ पनि विदर्भ जाने भयो र आफ्नो सारथी बाहुकका साथमा विदर्भ देशका लागि प्रस्थान गर्यो । बाहुकको भेषमा भएका नलले पनि यो खबर सुने, दमयन्तीको पुनः स्वयंवर हुने कुराले उनको होस र चेत दुबै उडेका थिए । बाहुकले  घोडालाई हावाको चालमा हाँकी अत्यन्त छोटो समयमा नै ऋतुपर्णलाई लिई विदर्भ देश पुगे । त्यस दिन प्रदोष व्रतको साङ्गे हुँदै थियो । दरबारको आँगनमा यञ चलिरहेको थियो । राज ऋतुपर्णका साथमा आएको सारथी बाहुकलाई दमयन्तीले परैबाट देखिन् । रङ कालो नै भए पनि उनले आफ्ना पतिलाई चिनिहालिन् । ऋतुपर्णले पनि दमयन्तीको पतिको खोजी गर्न सुबाहुले यस्तो झुट्ठा खबर फैलाएका रहेछन् भन्ने थाहा पायो । ऊ राजा नलको नम्रता र अश्वविद्याबाट पहिले नै प्रभावित थियो, अहिले वास्तविक परिचय पाएपछि अझ बढी प्रभावित बन्नपुग्यो । अनजानमा नै राजा नललाई सारथी बनाएकोमा अहिले उसलाई अचम्म लाग्यो । त्यसपछि अहिलेसम्म नलमार्फत सिकेको अश्वविद्याको दक्षिणास्वरूप उसले नललाई द्युतविद्या सिकाई दियो । कलियुगले आफ्नो शरीर त्यागेको, पत्नीले प्रदोषको पुण्य समर्पण गरेको र कर्कोटक नागले दिएको वस्त्र धारण गरेकाले नल पूर्ववत सुन्दर र दिव्य स्वरूपमा परिणत भए । त्यसपछि उनले भाइ पुष्करलाई जुवा खेल्ने निमन्त्रणा दिए, जुवा खेलेर आफूले हारेको समस्त राज्यवैभव र श्रीसम्पत्ति फिर्ता लिए । आफ्नो राज्यवैभव सबै हारेपछि बल्ल पुष्करलाई आफूले गरेको गल्तीप्रति पछुतो भयो । तर राजा नलले पुष्करसित जितेको सम्पत्तिमध्ये पहिले आफूले हारेको धन र शासनसत्तामा मात्र कब्जा गरे, पुष्करको आफ्नो राजपाट र सम्पत्ति फिर्ता गरिदिए । दुबै दाजुभाइमा पूर्ववत मित्रता कायम नै रह्यो । त्यसपछि दमयन्ती र बालबच्चाका साथमा राजा नलले सुखपूर्वक जीवनयापन गरे । यति कथा भनी सकेर महर्षि बृहदश्वले भने – हे धर्मराज ! जुन मनुष्यले विपत्तिबाट हार नमानेर धैर्यताका साथमा विपत्तिकाललाई झेल्दछ, त्यही मानिस धीर र वीर हुन्छ । तपाईंले पनि शुक्रबार पर्ने प्रदोषको व्रत लिई देवाधिदेव महादेवको उपासना गर्नुहोस्, तपाईंका विपत्तिका दिनहरू जानेछन् एवं राज्यश्री र वैभवले तपाईंलाई पछ्याउने छन् ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!