ताजा सामाग्री

आमाको मुख हेर्नु अघि एकपटक पढ्नै पर्ने – किन आमाको सम्मान गर्ने ?

आमाको मुख हेर्नु अघि एकपटक पढ्नै पर्ने – किन आमाको सम्मान गर्ने ? को फोटो
No Comments , सोमबार, वैशाख ३, २०७५ , by Krishna Pd. Koirala

 

वैशाखकृष्ण अमावस्यालाई हिन्दु संस्कृतिमा आमाको मुख हेर्ने दिन मानिन्छ । यस दिनलाई अर्को शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ । यस दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न टाढा–टाढाबाट आएर ढोगभेट गरी आ–आफ्नो गच्छेअनुसारका खाद्यपदार्थ ख्वाइन्छ । नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर आफूले खाएको अन्न, जल, श्वास, संस्कार दिएर जन्म दिने र जन्मपछि पनि शिशुको स्याहार सुसार गरेर मनुष्यको आकारमा ढालिदिने आमाको महत्त्व कति छ हामीले व्यक्त गरिरहनुपर्दैन ।

आमा जन्म लिने बालकका लागि जगद्धात्री र जगज्जननीकी साकार स्वरूप हुन् । आमाको महिमा अपार छ, जति गाए पनि सकिँदैन । आमाको त्याग, तपस्या, समर्पण र उपकारबाट नै आज हामी यो रूपमा खडा भएका छौं । एउटी आमाले हामीप्रति गरेको उपकारको साटो हामीले आमालाई दिने केही पनि छैन । जीवनभर जति सेवा गरे पनि आमाको अभिभारा चुक्ता गर्न सकिँदैन । आमा धरती हुन्, हामी उनका साना सन्तान मात्र हौं । त्यसैले हामी अनुग्रहित मुद्रामा आमाले गरेको समर्पणका लागि जीवित आमाको मुख स्नेह पूर्वकले हेर्छौं, कर्तव्यले पाउ ढोग्छौं र श्रद्धाले खाना ख्वाउँछौं ।
आमा हुनेहरू आमालाई मन पर्ने भोजन ख्वाएर एवं उपहारहरू दिएर यो पर्व मनाउँछन् । आमा नहुनेहरू भने यस दिन काठमाडौं उपत्यकाको पश्चिम थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ कुण्डमा कपाल मुण्डन एवं स्नानशुद्धिपश्चात् आफ्नी आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । त्यहाँ भएको ठूलो पोखरीमा भित्री हृदयले शुद्ध भएर हेरेको खण्डमा आफ्नी मृत आमाको अनुहार देख्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । उक्त कुण्डमा हेर्दा दिवङ्गत माता प्रसन्न भै दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सुसम्पन्न भै महासुख भोग गर्न पाउँछन् भनिन्छ ।
मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो । भगवान् विष्णुको सातौं अवतारका रूपमा मर्यादापुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुग्नुभयो । उहाँलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे । फलस्वरूप श्रीराम र उनीहरूबीच घमासान युद्ध भयो । युद्धले गर्दा दुवै पक्ष आकुल–व्याकुल थिए । त्यही बेला माता सीताजीलाई प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीराम गङ्गामाताको स्तुति गर्न थाल्नुभयो । माता गङ्गासमो तीर्थ पिता पुस्करमेव च भन्दै तीनपटक मन्त्रोच्चारण गरी जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो । ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुङ्गाको मूर्तिमा कोरिन पुग्यो ।
त्यतिबेला त्यहाँ घना जङ्गल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालोले खाएको रोटी मुखमा नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ, उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर र्फकने वेलामा गोठालोले एक्लै फर्किन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भन्ने वाचाका साथ छोरालाई सम्झाई–बुझाई फर्काइछन् । दिवङ्गत आमाको दर्शन गर्न सकिने पवित्रस्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रहेको हो । यसरी विधिवत् रूपमा छोराछोरीहरू आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आ–आफ्ना आमाको मोक्ष प्राप्त गराउन यो तीर्थमा मेला भर्न आउँछन् । यो तीर्थमा सतीदेवीको अङ्ग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको वर्णन श्रीस्वस्थानी व्रतकथामा पाइन्छ । पुण्यप्राप्तिका लागि कोटी होम, यज्ञ, पूजापाठ एवं अनेक तीर्थव्रत गरेको भन्दा पनि यो तीर्थमा प्रवेश गर्दा बढी फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।
आमालाई माता, जननी, महतारी आदि शब्दले पनि चिनिन्छ । हामी कुनै दुःख–कष्ट आइपर्दा पहिले आमालाई नै सम्झन्छौं । आफ्नै अङ्गको कुनै ठाउँमा चोट लाग्यो वा ठेस लाग्यो भने पनि अनायासै ऐया आमा शब्द निस्कन पुग्छ । यसरी हामीले आमाबाट जन्मदेखि ठूलो हुन्जेलसम्म माया, ममता र संरक्षण पाइरहेका हुन्छौं । जननी र जन्मभूमि, स्वर्गभन्दा पनि ठूली भनेर श्रीरामचन्द्रले लङ्का जितेपछि लक्ष्मणलाई सम्झाउँदै भनेको प्रसङ्गबाट समेत आमाको महत्ता झन् स्पष्ट हुन्छ । हुन पनि हो, आमा र जन्मिएको धरती स्वर्गभन्दा पनि प्यारो हुन्छ । आमाको मन र ममताका विषयमा एउटा रोचक कथा :–
कुनै एउटी आमा आफ्नो छोरालाई असाध्यै माया गर्थिन् । रहँदाबस्दा छोरो ठूलो हुँदै गएछ र घरमा बुहारी पनि आइछ । बुहारीले उसलाई भिन्न बस्न बाध्य पारिछ । तैपनि छोरो बारम्बार आफ्नो आमालाई भेट्न गैरहन्थ्यो । बुहारीलाई आफ्नो लोग्ने आमालाई भेट्न गएको पटक्कै मन परेनछ । एक दिन उसकी स्वास्नीले उसलाई आमाको मुटु–कलेजो हातमा लिएर आउन जोड गरी । छोराले दुलहीको ढिपी टार्न सकेन । उसले त्यसै गर्यो । बाटो अँध्यारो थियो, जहाँबाट एउटा सानो वन छिचोलेर आउनुपर्थ्यो । बनको बाटो र रातको कालो अध्याँरो भएकाले ऊ ठेस लागेर लडेछ । ऊ लडेको चाल पाएर त्यो मृत आमाको मुटु कलेजोले भनेछ – बाबु तँलाई चोट त लागेन ? छोरो नाजवाफ भएछ ।
यस्तो हुन्छ आमाको स्नेह । त्यसैले शास्त्रमा आमालाई पनि देवतासरह मानिएको छ– मातृदेवो भव । आमालाई तीर्थका रूप पनि मानिएको छ । यसैले आमा हाम्री जननी हुन्, देवी हुन् । आमालाई कुनै पनि हालतमा श्रद्धा र सम्मान गर्न चुक्नुहुँदैन । आमाको अपमान गर्दा वा अपशब्द बोल्दा जो–कसैलाई पनि घोर पाप लाग्छ । आमाको जस्तो निष्कलंक, स्वच्छ माया अरू कसैले दिनसक्दैन । भनिएको पनि छ :– कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति ।

कोक्रामा सुतेको नवजात शिशुले चिच्याएर रोईदिंदा घरधन्दा र मेलापातमा व्यस्त रहेकी आमा कुद्दैकुद्दै आउँछिन् र शिशुको मुख आफ्नो छातीको लाम्टोमा टाँस्दछिन् । शिशु चुप लाग्छ । आमाले ठान्दछिन्, अब यो भोक लाग्दा रोएर भएर पनि सूचना दिन जान्ने भयो । राती ओछ्यानमा सुतेका बेला फेरि शिशु चिच्याई चिच्याई रुन्छ, ओछ्यान चिसो भएको हुन्छ, आमा ब्युझिन्छिन् र ओछ्यान र नेपकिन फेरिदिन्छिन्, अनि सोच्दछिन् – अब मेरो बच्चा बुझ्ने भएको छ, म निदाए पनि ओछ्यान हिलो भएपछि रोएर भए पनि मलाई जानकारी गराउने गर्छ । बालक अब बामे सर्न थाल्छ, आमाले खेलाउन दिएको मोबाइल बारदलीमा पुगेर भुइँमा मिल्काइदिन्छ, तर आमा रिसाउँदिनन् र फेरि विचारमग्न हुन्छिन् र मनमनै गुन्दछिन् – अब मेरो नानीको बुद्धि छिप्पिंदैछ, उसमा केही गर्नु छ भन्ने भावना विकसित हुँदैछ । बच्चा हुर्कंदै जाँदा कुनै समयमा अचानक हुरीबतास चल्न थाल्छ, आकाशमा बिजुली चम्कन्छ । बालक डराएर आमाको आँचल समात्न आइपुग्छ । अब आमाले बुझिन्, आफ्नो बच्चाको बुद्धि निकै छिप्पिसकेछ, अब त यसले सामान्य दिन र आपतका दिन पनि चिन्न थालिसक्यो ।आमा त्यस्ती चरित्र हुन्, जसले आफ्ना छोराछोरीका कुनै पनि कमजोरी वा गल्तीलाई नकारात्मक ढङ्गले लिने गर्दिनन्, बरु ती परिघटनामा आफ्नो बच्चाको व्यक्तित्व र विकासका चिह्नहरू खोजी गरिरहन्छिन् । तर आधुनिक सभ्यताका नयाँ जीवनशैलीका केही तीता यथार्थ र अभिशापहरू देखिन थालेका छन्, तीमध्ये एउटा हो, यत्तिका दुःख, कष्ट, पीडा र वेदना सहेर जुन आमाले हामीलाई जन्म दिईन्, पालनपोषण गरिन्, व्यक्तित्व विकासका प्रत्येक आयाममा हाम्रो प्रेरणाको स्रोत बनिन्, आज हामी तिनलाई नै उपेक्षा र तिरस्कार गरिरहेका छौं ।

आज मातातीर्थ औंसी, आमाको सम्मान गर्ने दिन, आमाको मुख हेर्ने दिन, शुभकामना पत्र दिएर, फूलको माला लगाईदिएर, स्याउसुन्तला वा मिठाइ खुवाउने काम गरी वा एकसरो सुतीको धोती (सारी) लगिदिने काम गरेर हामी हाम्रा कर्तव्यको औपचारिकता पूरा गर्दछौं । यो राम्रो कुरो हो, कमसेकम वर्षमा एक पटक यसै बहानाले आमालाई सम्झन्छौं, आदर गर्छौं, तर के यत्ति नै हो त आमाका लागि गर्नुपर्ने हाम्रो कर्तव्य ? गीतामा उल्लेख गरिएको छ, किशोरावस्था, यौवन र बृद्धावस्था तीनवटै अवस्था स्वाभाविक र अनिवार्य हुन् । जसले शरीर धारण गरेको छ, उसको जीवनमा बाल्यावस्था, किशोरावस्था, युवावस्था, बुढ्यौली आदि अवश्यमेव प्राप्त हुन्छन् । त्यसैले बुढाबुढी हुनु वा बुढ्यौलीलाई हामीले बोझ वा भार हो भन्ने ठान्नु भनेको शरीरधारी प्रत्येक जीवप्रति बोझ ठान्नु हो, अर्थात् प्रतीकात्मक अर्थमा आफैंप्रतिको निराशा हो । जुन व्यक्तिले आफ्ना बृद्ध मातापिताप्रति केवल बुढ्यौलीका कारण तिनका कुरा, जिज्ञासा र गनगन सुन्नुलाई बोझ वा भार ठानेका हुन्छन्, तिनले के सोच्नु पनि अनिवार्य छ भने एक दिन तिनको हबिगत पनि उस्तै हुन्छ । उनीहरू पनि ती आमाबाबुहरू झैं नै बुढाबुढी हुन्छन् ।
चाडका दिनमात्र होइन, सधैंसधैं आमाको आदर र सम्मान गर्नुपर्दछ । बूढो घर कुरेर गाउँको कुनामा कष्टकर जिन्दगी भोगिरहेका वा बाध्यतावश बृद्धाश्रममा पुयाइएका हाम्रा आमाहरूलाई लोकलज्जा निवारणका लागि वर्षमा एकदिन एकडेढ किलो स्याउ वा अङ्गुर अनि एकडेढ दर्जन केराको आडम्बरे कोसेली थमाउँदैमा उनीहरूको मुहार हँसिलो हुन सक्तैन र आमाको वास्तविक मुख हेरेको ठहरिन्न । त्यसैले आधुनिक पुस्ताका वर्तमान छोराबुहारी र छोरीज्वाईंहरूले यसप्रति संवेदनशील भएर आफूलाई जन्मदिने आमाहरूको एकदिन मात्र होइन वर्षदिनभरि मुख हेर्न अग्रसर हुनुपर्ने कुरामा सचेत हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!