ताजा सामाग्री

पिताको आदेशमा आफ्नै आमाको टाउको काट्ने पर्शुरामको जीवनगाथा

पिताको आदेशमा आफ्नै आमाको टाउको काट्ने पर्शुरामको जीवनगाथा को फोटो
No Comments , बुधबार, वैशाख ५, २०७५ , by Krishna Pd. Koirala

परशुराम राजा प्रसेनजितकी छोरी रेणुका र भृगुवंशीय ब्राह्मण जमदग्निका सुपुत्र हुन् । उनी भगवान् विष्णुका मुख्यमुख्य दशवटा अवतारमध्ये छैटौं अंशावतार हुन् । त्यस्तै उनी आशुतोष भगवान् शिवका परम भक्त मानिन्छन् । हिन्दु परम्परामा सदैव जीवित रहने भनी विश्वास गरिने आठ जना चिरञ्जीवीमध्ये यिनी पनि एक जना चिरञ्जीवीका रूपमा प्रतिष्ठित छन् ।

यिनले भगवान् शिवबाट परशु (बन्चरो आकारको अस्त्र विशेष) प्राप्त गरेका थिए । सुरुमा यिनको नाम ‘राम’मात्र थियो, तर पछि शिवबाट अमोघ अस्त्र परशु प्राप्त गरेका र सदैव परशुलाई धारण गर्ने भएकाले यिनको नामअगाडि ‘परशु’ शब्द गाँसिन गएकाले यिनलाई परशुराम भन्न थालियो । ऋषि जमदग्निका सुपुत्र भएकाले यिनलाई ‘जामदग्न्य’ नामले पनि चिनिने गर्थ्यो । यिनको जन्म अक्षय तृतीया (वैशाख शुक्ल तृतीया) का दिन भएको थियो । तृतीया तिथिको सन्ध्याकालमा जन्म भएकाले प्रत्येक वर्षको वैशाख महिनाको शुक्लपक्षको जुन दिन ठिक्क साँझ (सूर्यास्त)को समयमा तृतीया तिथिको संयोग हुन्छ, त्यसै दिन परशुराम जयन्ती मनाउने प्रचलन छ । यिनले ब्राह्मण वंशमा जन्म लिए पनि तत्कालीन समाजमा क्षत्रियहरूले पृथ्वीमा अन्याय, अत्याचार र धर्मको नाश गरी शासन गरेको हुँदा क्षत्रियहरूको अभिमान, घमण्ड र अहङ्कारलाई निस्तेज तुल्याई भूभार हरण गरेका थिए । यसरी क्रूर र अत्याचारी शासकहरूको अहङ्कारले भरिपूर्ण दमन, अन्याय र कदाचारबाट विश्वलाई मुक्ति प्रदान गर्न नै भगवान् विष्णुको अंशस्वरूप परशुरामको जन्म भएको थियो ।

 भृगुले आफ्ना छोरा ऋचिकको विवाहोत्सवपछि बुहारी सत्यवतीलाई आशीर्वाद दिंदै वर माग्न आग्रह गरे । उनकी नवविवाहिता बुहारीले आफ्ना  लागि साथै आफ्नी पुत्रहीन माताका निमित्तसमेत पुत्रप्राप्तिको कामना गरिन् । त्यसपछि महर्षि भृगुले पुत्रको कामनाले गरिने एउटा पुत्रेष्टि यज्ञको आयोजना सम्पन्न गरे । कुनै कुनै पुराणमा उक्त यज्ञ ऋषि ऋचिकको आचार्यत्वमा सम्पन्न भएको प्रसङ्ग लेखिएको पाइन्छ । जे होस्, आचार्यले  यज्ञको समापनमा अभिमन्त्रणा गरिएको जल र चरु खान भनी छुट्टाछुट्टै पात्रमा राखेर आमा र छोरी दुबैलाई दिंदा भए । दुबै जनाले ऋतुकालपछि स्नानादि गरी चरु र अभिमन्त्रित जल खाए, तर त्यसरी चरु र जल खाँदा उल्टोपाल्टो भयो । महर्षि भृगुले उक्त कुरो चाल पाए र बुहारी सत्यवतीलाई भने – ‘तिम्री आमाका गर्भबाट जन्म हुने छोराले क्षत्रिय कुलमा जन्म लिए पनि ब्राह्मणोचित कर्म सम्पादन गर्नेछ, अनि तिमीले पाउने छोराले ब्राह्मण कुलमा जन्म लिए पनि क्षत्रीयोचित कर्म गर्नेछ ।’ ससुराका यस्ता कुरा सुनेपछि सत्यवतीले ‘जे हुनु थियो भइ हाल्यो, तर मेरो पुत्रमा ब्राह्मणोचित संस्कार हुनु पर्छ, एउटा दिव्यज्ञान भएका ऋषिकी सहधर्मिणी भएकी हुँदा मैले पाउने छोरोले ऋषिकुलको परम्परालाई निर्वाह गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।  अतः हजुरले जसरी भए पनि आफ्ना योगबलले हामी आमाछोरीबाट भएको त्रुटिको निवारण गरिदिनु पर्यो ।’ निकै अनुनय र विनय गरेपछि भृगुले भने – ‘ठिकै छ, अहिले तिमीले पाउने छोरो ब्राह्मणोचित कर्म सम्पादन गर्ने नै हुनेछ, तर तिम्रो एउटा नातिमा क्षत्रीयोचित गुण प्राप्त हुनेछ ।’
त्यसपछि सत्यवतीको कोखबाट जमदग्निको जन्म भयो, उनकी आमाको कोखबाट राजर्षि विश्वामित्रको जन्म भयो  । जमदग्नि पनि पितामह भृगु र पिता ऋचिकजस्तै ब्रह्मवेत्ता र तेजस्वी ऋषि भए । उनले राजा प्रसेनजितकी छोरी रेणुकासित विवाह गरे । रेणुकाको गर्भबाट जमदग्निका पाँच भाइ छोराहरू जन्मिए । तिनीहरूमध्ये क्रमशः जेठा रुक्मवान्, माहिला सुषेण, साहिंला वसु, काहिंला विश्वावसु र कान्छा परशुराम थिए । त्यसरी आफ्नी हजुरामाले त्रुटिवश चरुभक्षण गरेको हुँदा त्यसको प्रभावले उत्पन्न हुने क्षत्रीयोचित गुणयुक्त ब्राह्मणका रूपमा परशुरामको जन्म भएको थियो ।
एक पटक गङ्गामा स्नान गरेर सद्यस्नाता रेणुका घर फर्कंदै थिईन् । गङ्गाको मनोरम तटमा गन्धर्वका राजा चित्ररथ स्वर्गका अप्सराहरूका साथमा हासपरिहास र केलिक्रीडा गरिरहेका थिए । रेणुकाले तन्मय भई चित्ररथ र अप्सराका क्रियाकलापलाई हेर्न थालिन् । उनलाई आश्रममा पुग्न केही विलम्ब भयो । उता उनी आश्रम पुग्नुअघि नै ऋषि जमदग्निले दिव्यदृष्टिबाट उक्त घटनाको जानकारी पाइसकेका थिए । उनमा क्रोधाग्निको ज्वाला दन्कीसकेको थियो । रेणुका आश्रममा आइपुग्नासाथ पतिले उनलाई मार्ने आदेश दिए र छोराहरूलाई डाक्दै त्यसरी परपुरुषका यौनमय क्रियाकलापप्रति अनुराग राख्ने आमाको हत्या गर्ने आदेश दिए । क्रमशः जेठा, माइला, साहिंला र काहिंला कुनै पनि छोराले उनको आदेशलाई स्वीकार गरेनन् । रिसले चुर्मुरिएका ऋषिले ती चारै भाइलाई जडबुद्ध (अचेतन र मूर्ख) हुनु भनेर श्राप दिइहाले । त्यसपछि कान्छो छोरो परशुरामलाई बोलाएर आफ्नो आदेश कार्यान्वयन गर्ने आज्ञा दिए । पिताको आज्ञालाई उनले तुरुन्त पालना गरे र आमाको बध गरिदिए । कान्छो छोरो परशुरामसित जमदग्नि प्रसन्न भए र इच्छामाफिकको वर माग्न आग्रह गरे । परशुरामले बाबुको आज्ञाको पालना त गरेका थिए, तर उनलाई आमाप्रति पनि अगाध माया र श्रद्धा थियो, उनलाई आफ्ना पितामा विशिष्ट सामर्थ्य छ भन्ने पनि थाहा थियो । त्यसैले मौकाको अनुकूलता विचार गरी उनले तुरुन्त वर माग्दै पितासँग विनम्र भावमा बिन्ती गरे – ‘हे पिता ! हजुर मदेखि साँच्चै नै प्रसन्न हुनुहुन्छ भने मेरी आमा पुनः जीवित तुल्याउनु हवस् र मेरा यी अचेत भएका दाजुहरूले हजुरको अवज्ञा गर्नाले जुन श्राप पाएका छन्, त्यसको समेत निवारण गरिदिनु होस् ।’ जमदग्नि कान्छो छोरो परशुरामको आज्ञाकारिता र चतुर्याइँबाट अतीव प्रसन्न भए र उनको इच्छामुताबिक वर दिए । त्यसबाहेक जमदग्निले परशुरामलाई चिरञ्जीवी र अमर हुने थप वरदानसमेत प्रदान गरे । त्यसैले परशुराम सप्त चिरञ्जीवीमध्ये एक जना चिरञ्जीवीका रूपमा प्रतिष्ठित हुनपुगे ।
एक दिन आश्रममा परशुराम, ऋषि जमदग्नि र उनका दाजुहरू नभएको वेलामा त्यतिवेलाको क्रूर शासक कार्तवीर्य आइपुग्यो । हजारवटा हात भएकाले उसको अर्को नाम सहस्रार्जुन पनि थियो । जमदग्निको आश्रममा कामधेनु गाई थियो । जे माग्यो त्यही दिने गाई देखेर त्यस्तो गाई त बाहुनका कुटिमा होइन, राजाका दरबारमा हुनुपर्छ भनी उसले रेणुकासँग गाई लिएर जाने कुरा गर्यो । रेणुकाले राजाका कुरा मानिनन् । त्यसपछि कार्तवीर्यले ऋषिपत्नी रेणुकालाई लछारपछार गर्नुका साथै आश्रम र गाइगोठलाई पनि तोडफोड गरेर फर्कियो । राजाको यस्तो अभद्र क्रियाकलापबाट क्षुब्ध भएका परशुरामले उससँग युद्ध गरी उसका हजारवटा हात काटेर सजाय दिए । त्यसपछि कार्तवीर्यका सेना आएर ऋषि जमदग्निको बध गरिदिए । त्यसपछि परशुरामले पनि संसारलाई क्षत्रियविहीन बनाउने भनी सङ्कल्प गरे र २१ पटक क्षत्रिय राजाहरूसँग ठूलाठूला युद्ध गरे । यसरी उनले क्षत्रियहरूलाई नाश गर्दै जाँदा क्षत्रियहरूको रगतले पाँच वटा तलाउ भरिएको थियो भन्ने भनाइ छ । उनले क्षत्रियहरूको बध गर्दा जम्मा भएको रगतले पितृहरूलाई तर्पण गर्ने गर्दथे । अन्तिममा आफ्नो नाति परशुरामको नृशंस कार्य देखेर उनका मृत पितामह ऋचिक पितृलोकबाट स्वयं उपस्थित भई ‘अबउप्रान्त युद्ध त्यागी ज्ञानमार्ग अवलम्बन गर्नू’ भनी आदेश गरी फर्किए । त्यसपछि परशुरामले क्षत्रियहरूसँग युद्ध गर्न छाडी तपस्या गर्न थाले ।
कालान्तरमा परशुरामले भगवान् शिवको आराधना गरी पिनाक धनु प्राप्त गरेका थिए । साथमा बोकेर हिंड्दा स्याहारसुसार गर्न असजिलो भएकाले केही समयका लागि मिथिलाका राजा शिरध्वज जनकका दरबारमा आफ्नो नासोका रूपमा राखिदिनु भनी उक्त धनु थन्क्याएका थिए । त्यो धनु यति भारी थियो कि निकै बलिया व्यक्तिले पनि उचाल्न र सार्न सक्दैन थिए । एक दिन आफ्नी छोरी सीताले बढारकुँडार गर्दा उक्त धनुलाई सजिलै वरपर सारेको देखेर राजा जनक छक्क परे । राजाले ‘जसले उक्त धनुमा ताँदो चढाउने सामर्थ्य राख्छ, त्यसैलाई मेरी छोरीको विवाह गरिदिन्छु’ भनी स्वयंवरको उर्दी जारी गरे । देशदेशान्तरमा यो खबर फैलियो । त्यतिवेला अयोध्याका राजकुमार राम र लक्ष्मण जनकपुर नजिकैको विश्वामित्र आश्रम (सप्तकोसीको आसपास, चतरा र रामधुनी) मा बसी विद्याध्ययन गर्दै थिए । संसारभरिका राजा र राजकुमारका साथमा रामचन्द्रले पनि उक्त धनुषयज्ञमा भाग लिए । उचालेर ताँदो हाल्नु त पर जाओस्, कसैले पनि धनुलाई टसको मस हल्लाउन पनि सकेन । तर रामचन्द्रले उचालेर ताँदो चढाउन खोज्दा पिनाक धनु भाँचियो । यसरी रामचन्द्रद्वारा शिवको धनुष भाँचिएको खबर सुनेर परशुराम क्रुद्ध भए र उक्त धनुष यज्ञमा पुगे । यसरी राम र परशुराम दुबै विष्णुका अंशावतारको त्रेता युगमा जनकपुरमा मिलन हुन पुगेको थियो । उनले सुरुमा रामचन्द्रलाई सामान्य राजकुमार ठानी भन्नु नभन्नु अनेक थोक बोलेर अपमान गर्न खोजेका थिए । तर पछि उनले रामचन्द्रसमक्ष आफ्नो धनुलाई पनि ताँदो चढाउनू भनी प्रस्ताव गरे । रामले उनको धनुमा पनि सजिलै ताँदो चढाएको देखेर उनलाई यी सामान्य मनुष्य होइनन्, विष्णुकै अवतार हुनुपर्छ भन्ने बुझ्न समय लागेन । त्यसपछि भुलचुकमा माफी माग्दै रामचन्द्रको वन्दना गरी परशुराम पुनः तपस्या गर्न वनतर्फ बाटो लागे ।
अर्को पटक रामको पराक्रमको वर्णन सुनेर उनी अयोध्या पुगे । दशरथले परशुरामको स्वागत गर्न रामचन्द्रलाई पठाए । आफ्नो आवाभगतमा आएका श्रीरामलाई देख्नासाथ परशुरामले उनको पराक्रमको परीक्षा लिने विचार गरे । परशुरामले रामलाई क्षत्रिय संहारक दिव्य धनुषमा प्रत्यञ्चा (ताँदो) चढाउन अनुरोध गरे । रामले ताँदो चढाए, त्यसपछि पुनः उक्त धनुमा एउटा दिव्यवाण राखी कतै प्रहार गर्नू भने । रामले त्यस धनुमा एउटा दिव्य वाण राखी उक्त वाण परशुरामको शरीरमा नै छाडिदिए । त्यस दिव्यास्त्रले परशुरामभित्र भएको समस्त शक्ति, सामर्थ्य र तेजलाई शोषण गरी पुनः उक्त धनुमा नै फिर्ता आयो । यसरी परशुरामको सामर्थ्य र शक्ति समाप्त भयो । त्यसपछि रामले तेजहीन भएका परशुरामलाई दिव्यदृष्टि प्रदान गरे, जसबाट उनले रामको यथार्थ स्वरूपको दर्शन पाए । यस घटनापछि एक सय वर्षसम्म लज्जित, तेजहीन र अभिमानशून्य भएर परशुराम तपस्यामा लीन भए, तदनन्तर पितृहरूको प्रेरणा प्राप्त गरी ‘वधूसर’ नाम गरेको नदीमा गई तीर्थस्नान गरेपछिमात्र उनले पुनः आफ्नो तेज प्राप्त गरेका थिए ।
परशुराम कुण्ड
भारतवर्षको उत्तरपूर्वमा पर्ने असम प्रान्तको पूर्वी भाग (हालको अरुणाञ्चल प्रदेशको तेजु जिल्ला) बाट ब्रह्मपुत्र नदीले हिमालय पारीको यात्रा समाप्त गरी भारत वर्षमा प्रवेश गरेको देखिन्छ । ब्रह्मपुत्र नदीका निकै शाखाहरू छन्, तीमध्ये एउटा भङ्गालोको नाम हो – लोहित । उक्त नदीको किनारमा ‘परशुराम कुण्ड’ नामक तीर्थस्थल छ । परशुरामले उक्त स्थानमा तपस्या गरी भगवान् शिवबाट परशु प्राप्त गरेका थिए भन्ने मान्यता छ । पिताको आज्ञानुसार आमाको बध गर्न उक्त बन्चरो कै प्रयोग गरेको तथा २१ पटक क्षत्रियहरूको बध गर्न पनि उक्त अस्त्रकै प्रयोग भएकाले प्रायश्चित्तका लागि भारतवर्षका सारा तीर्थस्थलको दर्शन र स्नानपछि अन्त्यमा पुनः उक्त स्थानमा आई बन्चरो (परशु) पखाली उनले त्यसलाई विसर्जन समेत गरेको विश्वास गरिन्छ । यहाँ प्रत्येक वर्षको माघे सङ्क्रान्तिमा मकर स्नान गर्न देशदेशान्तरबाट असङ्ख्य भक्तजनहरू आउने गर्दछन् । भारत सरकारले सीमान्त क्षेत्र भएकाले संवेदनशील र आदिवासी क्षेत्रको घोषणा गरेकाले माघे सँग्रातीबाहेक अरु वेला त्यहाँ जान विशेष पास लिएरमात्र जान सकिने व्यवस्था छ । त्यसैले वर्षमा एक पटक माघे सङ्क्रान्तिमा त्यहाँ निकै भीडभाड हुन्छ ।
यस कुण्डको वरिपरि करिब ५० किलोमीटरको क्षेत्रभित्र उचित बजार र बसोबासको व्यवस्था नभएकाले अरु वेलामा पुग्ने भक्तजनले नजिकैको ठूलो बजार तेजु वा तीनसुकियाबाट प्राइभेट गाडी रिजर्ब गरी उक्त स्थानमा पुगी, दर्शन गरी पुनः फिर्ता आउनु वेस हुन्छ । हुन त परशुरामकुण्डमा क्षत्रियहरूको रगत सङ्कलन गरी तैयार गरिएका पाँच वटा कुण्ड छन् भन्ने भनाइ छ, भनिन्छ परशुरामले तिनै कुण्डको रगतले आफ्ना पितृहरूको तर्पण गरेका र दिव्यपितृहरूको दर्शन पाई आशीर्वाद प्राप्त गरेका थिए । तर अहिले प्रत्यक्षतः त्यहाँ कुण्ड (तलाउ वा पोखरीजस्तो) को आकृतिमा कुनै दह छैन । नजिकै वहने लोहित गङ्गाको तटमा बनेका ससाना डोबिल्काहरूलाई नै कुण्डका रूपमा लिइने गरिन्छ । लोहित नदीको अर्थ पनि रगत र रातो रङ भन्ने हुन्छ । अतः त्यसैलाई परशुराम कुण्डका रूपमा व्याख्या गरिएको हुनसक्छ ।
पुत्रको कामनाले गरिने तीर्थाटनमा परशुराम कुण्डको समेत चर्चा हुने गर्दछ । पुत्रप्राप्तिमा कठिनाइ भइरहेका दम्पतीले परशुराम कुण्डमा गई स्नानादि गरी पितृहरूको श्राद्धतर्पणादि गरी आशीर्वाद प्राप्त गर्न सकेमा कुलको नाम समुज्ज्वल बनाउने एउटा दीर्घायु पुत्र प्राप्त हुन्छ भन्ने विश्वास छ । तर त्यसरी जन्मिएको बालकलाई पनि पछि बाबुले उक्त कुण्डमा पुर्याई स्नानदर्शन गराउनु पर्दछ भन्ने भनाइ पनि छ । आमाको बध गरेको खुँडो सेलाएको स्थान भएकाले परशुराम कुण्डमा एकसाथ पुत्रका साथमा आमाले यात्रा गर्नुहुँदैन भन्ने लोकोक्ति पनि प्रचलनमा रहेको पाइन्छ ।

सम्बन्धित शीर्षकहरू:
अक्षय तृतीयापरशुराम जयन्ती

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!