ताजा सामाग्री

आज प्रदोष व्रत – दु:खनिवारणको उपाय

आज प्रदोष व्रत – दु:खनिवारणको उपाय को फोटो
No Comments , शुक्रबार, वैशाख १४, २०७५ , by Krishna Pd. Koirala

व्रत लिनाले ज्ञानशक्ति, विचारशक्ति, बुद्धि, श्रद्धा, मेधा, भक्ति तथा पवित्रताको अभिवृद्धि हुन्छ र अन्तरात्मा शुद्ध हुन्छ । भगवान शङ्कर अनन्त अनि अविनाशी हुनुहुन्छ । यिनलाई प्रसन्न तुल्याउनका निमित्त विभिन्न धर्म ग्रन्थहरूमा कतिपय उपवास र व्रतका बारेमा उल्लेख गरिएको छ । यिनै विधानहरू मध्ये एउटा व्रत हो – प्रदोष व्रत ।

के हो प्रदोषकाल

प्रत्येक दिन सूर्यास्तपछिको दुई घडी (लगभग ४८ मिनेटको समय) प्रदोष काल हो ।(प्रदोषोऽस्तमयादूर्द्ध्वं घटिकाद्वयमिष्यते ॥) तर ज्योतििषीय मतमा  रात्रिकाल प्रारम्भ हुने साँझको लगभग साढे दुई घण्टाको अवधि (रात्रीमानको पाँचभागको सुरुको एक भाग)लाई प्रदोष काल भनिन्छ ।  कतैकतै सूर्यास्तपछि तीनप्रहरसम्म त कतै मध्यरात्रीपर्यन्त प्रदोषकाल रहने बताइएको पाइन्छ । सामान्यतया प्रदोषकाल प्रत्येक शुभ कार्यका निमित्त निषिद्ध समय मान्ने गरिन्छ । तर त्रयोदशी तिथिको संयोगले उक्त समय अमृत काल बन्ने गर्दछ । यस प्रसङ्गमा विभिन्न धर्मग्रन्थ र स्मृतिहरूमा निम्नानुसार वर्णन गरिएको भेटिन्छ :-

रात्रौ यामद्वयादर्वाम्यदि पश्येत्रयोदशीम् । सा रात्रिः सर्वकर्मघ्नी शङ्कराराधनं विना ? ॥ – बृद्धमनुः

(रात्री प्रारम्भ भएको दुई प्रहरभित्र त्रयोदशी तिथि देखिएमा भगवान् शङ्करको आराधना नगरेमा समस्त कर्मको नाश हुन्छ ।)

त्रयोदशी यदा रात्रौ यामस्तत्र निशामुखे। प्रदोष इति विज्ञेयो ज्ञानार्थी मौनमाचरेत् ॥ – बृद्धगार्ग्यः

(रात्रीकाल प्रारम्भ भएको समय यदि त्रयोदशी तिथि छ भने त्यसलाई प्रदोष मान्ने गरिन्छ, उक्त समयमा ज्ञानार्थी सज्जनहरूले मौन रहेर ईश्वर आराधना गर्नुपर्दछ ।)

भोजनं मैथुनं यानमभ्यङ्गं हरिदर्शनम् । अन्यानि शुभकार्याणि प्रदोषे नैव कारयेत् ॥ – बृद्धगार्ग्यः

(भोजन, मैथुन, यात्रा, शरीरमा तेल लगाउने, भगवान् श्रीहरिको दर्शन वा पूजाअर्चना लगायत अन्यान्य शुभकार्यहरू प्रदोषकालमा गर्नुहुँदैन)

त्रिमुहूर्त प्रदोषस्याद्रवावस्तङ्गते ततः । मितसन्ध्यस्त्रयोदश्यां न स्मरेचात्मनोऽहितम्’ ॥ – स्कन्दपुराण

(सूर्यास्तपछिको तीन मुहूर्तसम्म प्रदोष र त्रयोदशीको समागम भएको अवस्थामा व्यक्तिले आफ्नो अहित चिताउनु हुँदैन ।)

अहोऽष्टमांशसंयुक्तं रात्र्यर्धं मौनमाचरेत् । त्रयोदशी कलामात्रा दृष्टा यदि निशामुखे’ ॥ – स्कन्दपुराण

(दिनको अन्तिमको अष्टमांश समय तथा रात्रीकालको मध्यभागसम्म त्रयोदशी तिथि परेको अवस्थामा ज्ञानीजनहरूले मौन रहनु पर्दछ ।)

न प्रदोषे हरिं पश्येत् त्रयोदश्यामतत्क्रिया । यदि पश्येत्प्रमादेन द्वादशाब्दं न रक्षति ‘ ॥ – स्कन्दपुराण

(त्रयोदशी तिथिको प्रदोषकालमा शिवाराधन नगरी विष्णुको पूजाआजा गर्नुहुँदैन, गरेमा बाह्र वर्षसम्म मात्र आयु रहने सम्भावना हुन्छ ।)

अर्चकान् परिचारांश्च वैष्णवान् ज्ञानिनो यतीन् । दासीदासादिकांश्चैव प्रदोषो नैव बाधते ! ॥ – स्मतिग्रन्थः

(पूजारी, परिचर, वैष्णवजन, ज्ञानी, सन्न्यासी, दासदासी आदिलाई माथिको प्रतिबन्ध लागू हुँदैन, अर्थात् प्रदोषको दोष लाग्दैन ।)

प्रदोषोक्तषु दोषेषु पापं नैवेति शासनम् । असिते च सिते पक्षे प्रदोषो यदि सम्भवेत् ॥
श्रौतवद्देवमभ्यर्च्य वन्दनादीनि कारयेत् । आयुश्रीश्पुष्टिकामी च शत्रुसंहारमीयिवान् ॥
पुत्रक्षेत्रादिकामी च उदयास्तमयं चरेत् । स्त्रीभिश्च पुरुषैर्वापि भक्तियुक्तैस्सुखार्थिभिः ॥
यथाविधि च निर्वर्त्या स्नानदानादिकाः क्रियाः । कालोऽस्ति दाने कालोऽस्ति यज्ञे कालोऽति सज्जये ॥ – स्मतिग्रन्थः

(कृष्ण पक्ष वा शुक्लपक्षमा पर्ने त्रयोदशी युक्त प्रदोषमा श्रुतिस्मृतिको पालना गरी सन्तति, भूमि, आयु, सुखसम्मृद्धि, पुष्टि, शत्रुनाशको कामना गरी कुनै पुरुष वा स्त्रीले भक्ति र निष्ठापूर्वक स्नान, दान, यज्ञयागादिका साथमा देववन्दना गरेमा प्रदोषकालमा बताइएका माथिका प्रतिबन्ध र अनुशासन लागू हुँदैनन्, अर्थात् कुनै दोषको भागी हुनुपर्दैन ।)

प्रदोष व्रत

प्रत्येक पक्षको त्रयोदशीका दिन लिइने व्रतलाई प्रदोष व्रत भन्ने गरिन्छ । प्रदोष कालमा त्रयोदशी तिथिको संयोग परेको दिन नै प्रदोष व्रत सम्पादन गरिने दिन हो । यस व्रतमा भोले शङ्कर भगवान् महादेवको आराधना र पूजा गर्ने विधान छ । व्रतको दिन दम्पतिसहित व्रतालुले प्रातः ऊषाकालमा स्नान गरेर शिव, पार्वती र गणेशको संयुक्त आराधना गरी शिव मन्दिरमा गई शिवलिङ्गमा जलाभिषेक गर्नु पर्दछ र त्यसपछि पीपलको रूखमा जल चढ़ाई व्रतालुले दिनभरि पानी पनि नखाई व्रत सम्पादन गर्ने नियम छ । प्रात:कालमा स्नान गरी भगवान् शिवलाई बेलपत्र, गङ्गाजल, अक्षता, धूपदीपनैवेद्य सहित पूजा गर्नुपर्छ । सन्ध्याकालमा पुन: स्नान गरी बिहानकै विधिले शिवजीको पूजा गर्नुपर्दछ । यसरी प्रदोष व्रतको पूजा सम्पन्न गर्नाले व्रतालुले इच्छाएको कामना पूरा गर्न सक्दछ । सायंकालमा व्रत लिने व्यक्तिले फलामको कराईमा कालो दाल, मोटा चामल, तिल आदि मिसाएर खिचड़ी पकाएर भोजन गर्नुपर्दछ । त्यसरी पकाइएको खिचड़ीको चारभागको एक भाग कालो कुकुर वा गाईलाई खान दिनुपर्छ । प्रदोष व्रत ती व्यक्तिहरूका निमित्त मनोकाङ्क्षा पूर्ण गर्ने व्रत पनि हो, जसले चन्द्रमा ग्रहको पीडा भोग्नु परेको छ, त्यस्तै चन्द्रमा ग्रहको पीडाबाट मुक्ति प्राप्त गर्न वर्षभरि आउने समस्त प्रदोष व्रतलाई सम्पादन गर्नु, फलाम, तिल, कालोदाल, सुठुनी(शकरखण्ड), मूला, पिंडालु, कम्बल, जूत्ता र कोइला आदि दान गर्दा लाभ प्राप्त हुन्छ । शनिबार वा मङ्गलबार परेको प्रदोष व्रतका दिन भगवान् शिवजीको मन्दिर, हनुमानको मन्दिर वा भैरव मन्दिरमा पूजा मात्र गर्दा पनि लाभ प्राप्त हुन्छ । यद्यपि जुनसुकै बारमा परे पनि प्रदोष व्रतको महत्त्व उत्तिकै हुन्छ, तथापि सोमवार, मङ्गलवार र शनिवारका दिन परेको प्रदोष व्रतलाई अत्यधिक प्रभावकारी मानिएको छ । प्रदोष व्रतको निष्ठापूर्वक गरिने आराधनाको प्रभावले सांसारिक दुःखको निवृत्ति हुन्छ । केवल चन्द्रमाको दशानिवारण र सन्तानप्राप्तिका लागि मात्र होइन यस व्रतले सुखसम्पदायुक्त जीवन शैली, यश, कीर्ति, ख्याति र वैभव प्रदान गर्दछ । विशेषतः श्रावण, भाद्रपद, कार्तिक र माघ महिनामा पर्ने प्रदोष व्रतले वर्तमान युगको प्रभावबाट सिर्जना हुने समस्त शारीरिक र भौतिक कष्टको निवारण गर्न ठूलो सघाउ पुर्याउँछ ।
प्रदोष  व्रतको महात्म्य गङ्गा नदीको पावन तटमा कुनै समय वेदवेदाङ्ग शास्त्रका ज्ञाता एवं भगवान् नारायणका परम भक्त श्री सुतजीले सौनकादि ऋषिहरूलाई सुनाउनु भएको थियो । सुतजीले भन्नुभयो – कलियुगमा मनुष्य धर्मको आचरण विपरीत अधर्मको मार्गमा तत्पर हुन्छन्, चारैतिर अन्याय र अत्याचारको बोलबाला हुनेछ, मनुष्य आफ्नो कर्तव्यबाट विमुख भई नीच कर्ममा संलग्न रहने छन्, त्यस समयमा प्रदोष व्रत यस्तो व्रतका रूपमा प्रतिष्ठित हुनेछ, जसले मानवमात्रलाई भगवान् शिवको कृपापात्र बनाउन सक्नेछ र यस व्रतको विधिवत् सम्पादन गर्नाले मनुष्य नीच गतिबाट मुक्त भई उत्तम लोक प्राप्त गर्नेछ । त्रयोदशीको सायंकालमा (रात्रिकालको प्रारम्भको प्रथम प्रहर) मा जुन मनुष्यले यथायोग्य पूजनसामाग्रीका साथमा भगवान् शिवको मन्दिर गएर शिवलिङ्गको दर्शन गर्दछ, त्यसले समस्त पापबाट छुटकारा पाउँछ । सौनकादिक ऋषिहरूलाई सुतजीले आज्ञा गर्नुभयो – प्रदोष व्रतको पुण्यका कारण कलियुगमा मनुष्यका सबै किसिमका कष्ट र पाप नष्ट हुने गर्दछन् । यो व्रत अत्यन्त कल्याणकारी व्रत हो, यस व्रतको प्रभावले मनुष्यले मनोवाञ्छित अभीष्ट फल प्राप्त गर्दछ । बेग्लाबेग्लै बारमा परेका प्रदोष व्रतको बेग्लाबेग्लै फल पनि प्राप्त गर्न सकिन्छ, ती भिन्नभिन्न दिनमा लिएको प्रदोष व्रतका माध्यमबाट के लाभ हुन्छ भन्ने विषयमा पनि सुतजीले उक्त अवसरमा सविस्तार चर्चा गर्नु भयो । वहाँले सौनकादिक ऋषिहरूको जिज्ञासा शान्त तुल्याउँदै भन्नुभयो – प्रदोष व्रतको महात्म्य सर्वप्रथम भगवान् शङ्करले माता सतीदेवीलाई सुनाउनु भएको थियो । मैले यस व्रतको पावन कथा र विशिष्ट महात्म्य महर्षि वेदव्यासको मुखारविन्दबाट सुन्ने मौका पाएको हुँ र यो उत्तम व्रत एवं महात्म्य अहिले हजुरहरू ८८,००० मुनिहरूलाई श्रवण गराउने अवसर पाएको छु ।बारअनुसार प्रत्येक प्रदोषको छुट्टाछुट्टै महत्त्व छ, तिनको फरकफरक महत्त्व र वैशिष्ट्यको जानकारी लिन तलका लिङ्कहरूमा जानुहुन :-

 
 
 
 
 
 

सम्बन्धित शीर्षकहरू:
केहि पनि भेटिएन!

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!