ताजा सामाग्री

सुस्वास्थ्य र निर्णय क्षमता बढाउन : आज रवि प्रदोष व्रत

सुस्वास्थ्य र निर्णय क्षमता बढाउन : आज रवि प्रदोष व्रत को फोटो
No Comments , आइतबार, वैशाख ३०, २०७५ , by Krishna Pd. Koirala

आइतबारका दिन साँझको समयमा प्रदोष व्रत पर्न गएमा रवि प्रदोष योगको निर्माण हुन्छ । सूतजीले स्कन्दपुराणमा वर्णन गर्नुभए बमोजिम रवि प्रदोषको व्रत सम्पादन गर्नाले आयुवृद्धि हुनुका साथै आरोग्यप्राप्ति समेत हुन्छ । त्यसैले रोगव्याधिबाट ग्रस्त भइरहने वा दीर्घरोग हुने व्यक्तिले आफुस्वयंले वा परिवारका कुनै सदस्यले यो व्रत लिनुपर्दछ, अर्थात् घरको बृद्धसदस्यको स्वास्थ्यमा लामो समयदेखि कुनै न कुनै समस्या देखिई रहने अवस्था छ भने पनि त्यस घरका कुनै सदस्यले भगवान् शिवको प्रसन्नताका निमित्त यो व्रत सम्पादन गरेमा व्रतको प्रभावले व्रतालुका साथै अभिभावकको लामो आयु, राम्रो स्वास्थ्य आदिको प्राप्ति हुन्छ भन्ने विश्वास छ । त्यस्तै राज्यपक्ष र प्रशासनमा झैझमेला बढेमा, मुद्दामामिलाबाट उन्मुक्तिका लागि पनि यस व्रतले सघाउ पुर्याउने गर्दछ, अनि जसको कुण्डलीमा सूर्य दूषित छ, बाल्यावस्थामा नै पितृसुखबाट जो विमुख हुन पुगेका छन् वा जसको निर्णयक्षमतामा कमजोरी छ तिनले रवि प्रदोष व्रतको विधिविधानपूर्वक पालना वा सम्पादन गर्दा तिनका उक्त दोषको नाश हुन्छ। यस व्रतको कथा यस प्रकार छ-

एउटा गाँउमा एक जना दीनहीन ब्राह्मण बस्दथे । उनकी धर्मनिष्ठा पत्नी प्रदोष व्रत लिने गर्दथिन् । ती दम्पत्तिको एउटा पुत्र थियो । एक पल्ट त्यो पुत्र गंगा स्नान गर्न गयो । दुर्भाग्यवश बटोमा उसलाई चोरहरूले घेरे र डर र त्रास सिर्जना गर्दै सोधे-‘तिम्रा पिताले गुप्त धन कहाँ लुकाएर राखेका छन् । बिचरा बालकले दीनतापूर्वक आफूहरू अत्यन्त निर्धन र दु:खी भएको कुरा बतायो । उसले पिताजीसँग गुप्तधन रहने प्रश्न नै नउठ्ने कुरा पनि भन्यो । चोरहरूले उसको अवस्था सुनेर दया राखी उसलाई छोडिदिए । ब्राह्मणबटु आफ्नो बाटो लाग्यो । हिंड्दाहिंड्दै ऊ थाकेर गल्यो र एउटा बरको वृक्षमुनि बस्यो, थाकेको हुनाले केही बेरमा निदायो । त्यतिखेरै त्यस नगरका सिपाहीहरू चोरलाई खोज्दै त्यहीं आइपुगे । तिनले ब्राह्मण बालकलाई चोर ठानेर बन्दी बनाए र राजासामु उपस्थित गरे । राजाले बालकका कुरा नबुझीकन उसलाई कारागारमा हाल्ने आदेश दिए । उता घरमा यी घटनाको अत्तोपत्तो थिएन । त्यस दिन रवि प्रदोषको दिन थियो, बालककी आमा प्रदोष व्रत गरिरहेकी थिइन् । आमाको व्रतको प्रभावले त्यसै दिन रात्रिकालमा राजाले सपनामा एउटा सन्देश सुने, त्यसमा भनिएको थियो- त्यो बालक निर्दोष छ यदि त्यसलाई कारागारबाट मुक्त तुल्याइएन भने तपाइँको राज्य र वैभव नष्ट हुनेछ । भोलिपल्ट बिहान उठ्ने बितिक्कै राजाले बालकलाई मुक्त तुल्याई सभागृहमा बोलाए र अघिल्लो दिनको घटनाबारे सोधे, बालकले राजालाई सत्यतथ्य बतायो । राजाले त्यस बालकका मातापितालाई दरबारमा झिकाए । ती बृद्धबृद्धालाई भयभीत भएको देखेर राजाले मुस्कुराउँदै भने- तपाइँहरूको छोरो निर्दोष र निडर छ । तपाईंहरूको दरिद्रताका बारेमा जानकारी पाएर मलाई दुःख लाग्यो, त्यसैले म तपाईंहरूको आजीविकाका निमित्त पाँचवटा गाँउ बिर्ता दिन्छु । यसपछि ब्राह्मणपरिवार आनन्दले रहन थाल्यो । भगवान् शिवजीको दयाले तिनको दरिद्रताको नाश भयो ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!