ताजा सामाग्री

बटसावित्री व्रत

बटसावित्री व्रत को फोटो
No Comments , मंगलबार, जेठ १, २०७५ , by Krishna Pd. Koirala

मिथिलाञ्चलका नारीले बट साबित्री व्रतका दिन बिहानैदेखि आ-आफ्ना पतिको दीर्घायुका लागि धार्मिक विधिपूर्वक वटसावित्री व्रत अर्थात बरसाइत पर्व मनाउने गर्दछन । प्राचीनकालमा  सावित्रीले आफ्ना पति सत्यवान्लाई यमराजको  हातबाट मुक्त गराई नयाँ जीवन दिलाउन सफल भएपछि यो पर्व सोही समयदेखि सुरु भएको धार्मिक विश्वास रही आएको छ । जेठ अमावस्याको तिथिमा प्रत्येक वर्ष मनाउने यस पर्वमा देवी पार्वती, सावित्री र नागनागिनीका साथै बरको बोटको पूजा गरी मनाउने गरिन्छ ।
बिहानैदेखि उपवासमा बसेर महिलाहरु स्नान गरी नयाँ बस्त्रधारण गरी पूजाको थालीमा आँप, केरा, हाते पङ्खा, मिठाई, चना,काँक्रो लगायतका सामग्री लिएर बरको रुखमुनि पुगेर बरको पूजा गरी ती प्रसाद सावित्री, नागनागिनी र पार्वतीलाई चढाएर यो पर्व मनाउने गर्दछन । खासगरी यो पर्व नवविवाहिता महिलाले बडो उत्साह र धूमधामका साथ मनाउने गर्छन् । नवविवाहिता महिलाले घरबाट माइतमा ल्याइएको नयाँ बस्त्र धारण गरी आ-आफ्ना सखी र महिलाहरुका साथमा विवाह र बरसाइत पर्वको पारम्परिक गीत गाउँदै बरको रुखमुनि पुग्छन् ।
नवविवाहिता महिलाको यो पर्व मनाउनका लागि घरबाट माइतमा नयाँ बस्त्र, १४ वटा हातेपङ्खा,चामल, चना, फलफुलका माटोको कलात्मक नागनागिनी, हात्ती बनाएर पठाइदिने चलन छ । नवविवाहिताको घरमा बरसाइत पूजा सम्पन्न भएपछि  चामल, बदाम र अन्य पकवान्नहरु गाउँभरि वितरण गर्ने नियमसमेत रही आएको छ ।
बटसावित्री व्रतको व्रतकथा
धर्मराज यधिष्ठिरले मार्कण्डेय ऋषिसँग सोधे, “हे ऋषिश्रेष्ठ! मलाई आफूले पाउने कष्टको चिन्ता छैन,तर यी द्रौपदीको दुःखलाई देखेर अत्यन्त क्लेश हुन्छ। जति कष्ट यिनले व्यहोर्दै छन्, त्यसभन्दा धेर कष्ट अरु कुनै पतिव्रता नारीले कहिल्यै भोगेका छैनन् होला ?” युधिष्ठिरका कुरा सुनेपछि मार्कण्डेय ऋषिले भन्नुभयो, “हे धर्मराज! तिम्रो यस जिज्ञासालाई मेटाउन म तिमीलाई पतिव्रता सावित्रीको कथा सुनाउँछु। मद्र देशका राजा अश्वपतिका कुनै पनि सन्तान थिएनन्, त्यसैले उनले सन्तान प्राप्तिका निमित्त सावित्री देवीको राम्ररी उपासना गरे। फलस्वरूप उनले एउटी अत्यन्त सुन्दर कन्या जन्माए। सावित्री देवीकै कृपाबाट उत्पन्न भएकी हुनाले ती कन्याको नाम पनि सावित्री नै राखियो। “सावित्रीको उमेर, रूप, गुण र लावण्य शुक्ल पक्षको चन्द्रमा झैं बढ्यो र तिनले युवावस्था प्राप्त गरिन्। अनि उनका पिता राजा अश्वपतिलाई उनको विवाह गर्ने इच्छा भयो। एक दिन उनले सावित्रीलाई नजीकै बोलाएर भने- छोरी! तिमी अत्यन्त विदुषी छ्यौ, त्यसैले आफूअनुरूप पतिलाई खोजेर तिमी आफैंले स्वयम्वर गर। पिताको आज्ञा पाएपछि सावित्री एकजना वृद्ध तथा अत्यन्त बुद्धिमान मन्त्रीलाई साथमा लिएर पतिवरण गर्ने कामनाका साथ देशविदेशको भ्रमणमा निस्किन्। जतिबेला उनी भ्रमण सिद्ध्याएर आफ्नो घरमा फर्किन्, त्यतिबेला सावित्रीका पिता अश्वपति देवर्षि नारदसँग भगवत्चर्चा गरिहेको देखिन्। सावित्रीले दुवैजनालाई प्रणाम गर्दै भनिन्- पिता! तपाईंको आज्ञानुसार म पतिको छनौट गर्न अनेकौं देशको भ्रमण गरी फर्किएँ। शाल्व देशमा द्युमत्सेन नामले प्रख्यात एकजना ठूला धर्मात्मा राजा थिए। तर दैववश उनी अन्धा भए। उनी अन्धा हुँदा उनका पुत्र बालकै थिए। द्युमत्सेनको अन्धत्व र उनका पुत्रको बाल्यावस्थाको लाभ उठाएर उनका छिमेकी राज्यका राजाले उनको राज्यमाथि आक्रमण गरी खोसे। परिणामतः उनले आफ्ना पत्नी एवं पुत्रका साथमा वनमा जानुपर्यो। आफूमाथि आइलागेको विपत्तिबाट छुटकारा पाउन उनी कठोर व्रतको पालना गर्नथाले। उनको ती पुत्रको नाम सत्यवान् हो, ती अहिले युवावस्थामा छन्। मलाई त तिनै युवक मन परे, ती नै मेरा निमित्त योग्य छन्, त्यसैले तिनलाई नै मैले पतिका रूपमा छनौट गरेकी छु।
सावित्रीका कुरा सुनेर त्यहीं पितासँगै बसेका देवर्षि नारदले भने- हे राजन्! तपाईंकी छोरीले पतिका रूपमा सत्यवानको छनौट गरेर ठूलो भूल गरिन्। नारदजीलाई तुरुन्त अश्वपतिले चिन्तित हुँदै सोधे – हे देवर्षि! सत्यवानमा त्यस्तो कुनचाहिँ अवगुण छ र तपाईं यसो भन्दै हुनुहुन्छ? अश्वपतिको जिज्ञासा शान्त पार्दै नारदजीले पुनः भने, राजन्! सत्यवान त वास्तवमा सत्यकै रूप हुन् र उनी समस्त गुणका स्वामी पनि हुन् तर उनको आयु छोटो छ। उनी अब एकवर्ष मात्र बाँच्छन्, त्यसपछि उनको मृत्यु हुनेछ। देवर्षिका कुरा सुनेर राजा अश्वपतिले आफ्नी छोरी सावित्रीलाई भने, पुत्री! तिमी नारदजीका वचनलाई सत्य मानेर अन्य कुनै उत्तम गुणसम्पन्न पुरुषलाई आफ्ना पतिका रूपमा चयन गर। पिताको आग्रह सुनेपछि सावित्रीले भनिन्, बुवा! आर्यावर्तका सच्चरित्र नारीले आफ्नो जीवनकालमा एकपल्ट मात्र पतिलाई वरण गर्छन्, चाहे त्यो मानसिक सङ्कल्प नै किन नहोस्। अब अर्को जति नै सुन्दर र दीर्घायु व्यक्ति नै किन नहोस्, म अर्को पुरुषलाई आफ्नो लोग्नेका रूपमा चुन्दिन र स्वीकार पनि गर्न सक्दिन। सावित्रीको दृढतालाई देखेर देवर्षि नारद अत्यन्त प्रसन्न भए र उनलाई प्रणयभक्ति समुचित छ भन्दै उनले राजा अश्वपतिलाई कन्यादान गर्ने सल्लाह दिए। तदनुरूप सावित्रीको विवाह सत्यवानसँग नै भयो।
विवाहपश्चात् सावित्रीले आफ्नो राजसी वस्त्राभूषण त्यागेर र वनवासीले धारण गर्ने वल्कल आदि धारण गरेर आफ्ना पति र सासुससुरासँग वनैमा दिन गुजार्न थालिन्। पति र सासुससुराको सेवालाई नै उनले आफ्नो कर्तव्य र धर्म ठहर्याइन्। तर जतिजति समय व्यतीत हुँदै जान्थ्यो, सावित्रीको मनमा डर पलाउँदै जान्थ्यो। अन्ततः त्यो दिन पनि आयो, जुन दिन सत्यवानको आयु समाप्त हुन्थ्यो, अर्थात् उनको पतिको मृत्युको मिति तोकिएको थियो। त्यस दिन सावित्रीले दृढ निश्चय गरिन्- त्यस दिन उनी आफ्ना पतिलाई एक पल पनि एक्लै छाड्ने छैनन्। सत्यवान दाउरा काट्न काँधमा बन्चरो बोकेर वनभित्र जान आँटेको देखेर सावित्रीले पनि आफू पनि सँगसँगै जाने आशय व्यक्त गरिन्। सत्यवानले उनलाई धेरै सम्झाए, बुझाउन खोजे, वनको मार्ग अत्यन्त दुर्गम भएकाले त्यहाँ जाँदा उनलाई अति कष्ट हुने कुरा पनि बताए, तर सावित्रीले आफ्नो मन अडिग बनाइन् र आफ्नो सासुससुरासित आज्ञा लिएर सत्यवानसँगै घना जङ्गलतर्फ लागिन्। दाउरा काट्न सत्यवान् एउटा रुखमा चढे, तर केही बेरमैं उनी अस्वस्थ भएर वृक्षबाट झरे। सावित्रीले उनको टाउकोलाई आफ्नो काखमा राखेर सुताइन्, ढल्कनासाथ सत्यवान् अचेत भए। सावित्रीले अब सत्यवानको अन्तिम समय आएको कुरा बुझिन् र मौन रहँदै अश्रु बगाउँदै ईश्वरसित प्रार्थना गर्न थालिन्।
अकस्मात् एउटा दृश्य देखापर्यो, सावित्रीले एकजना कान्तिमय, कृष्णवर्ण, हृष्टपुष्ट, मुकुटधारी व्यक्ति आफूसामु उभिएको देखिन्। सावित्रीले त्यससित प्रश्न गरिन्- हे देव! तपाईंको हो? उनले उत्तर दिए, सावित्री! म यमराज, पतिलाई लिन आएको हूँ। सावत्रीले जिज्ञासा राखिन्, हे प्रभो! सांसारिक प्राणिहरूलाई लिनका निम्ति त तपाईंका दूतहरू आउँछन्, तर के कारणले आज हजुरले आफैं उपस्थित हुनुपर्यो त? यमराजले उत्तर दिए- देवि! सत्यवान् धर्मात्मा तथा सद्गुणका समुद्र हुन्,मेरा दूतहरू उनलाई लिएर जान योग्य छैनन्, त्यसैले मैले आफैं आउनु पर्यो। यति भनेर यमराजले बलपूर्वक सत्यवानको शरीरलाई यमपाशमा बाँधेर हातको बुढीऔंला जत्रो जीवलाई बाहिर निकालेर दक्षिण दिशातर्फ लागे। सावित्री आफ्नो पतिलाई यमराजले लगेको देखेर आफूस्वयं पनि यमराजका पछिपछि हिंडिन्। केही पर पुगेपछि यमराजले सावित्री आफ्ना पछिपछि आँउदै गरेको चाल पाए, अनि उनलाई सोधे- हे सवित्री! तिमी मेरा पछि नआऊ किनकी तिम्रो पतिको आयु पूर्ण भइ सकेको छ र तिनलाई अब तिमीले फिर्ता पाउन सक्दिनौ। तिमी फर्कनुमा नै भलाइ छ। अब तिमीले आफ्ना पतिको मृतशरीरको अन्त्येष्टिको व्यवस्था गर। अहिलेको यो ठाउँभन्दा अगाडि तिमीले जाने अधिकार छैन। सावित्रीले तुरुन्त जवाफ दिईन्- हे प्रभो! आर्यावर्तकी आचरणशील नारी भएकाले मैले मेरा पतिको अनुगमन गर्नै पर्छ, यही नै मेरो धर्म हो र म यो स्थान त के, तपाईंका पछिपछि तपाईंको लोकसम्म नै पनि जान सक्छु किनभने मेरो पातिव्रत्य धर्मका बलका कारण मेरो गति कतै कहीँ पनि रोकिने छैन।
त्यसपछि सावित्रीलाई फर्काउने उपाय सोच्दै यमराजले भने, सावित्री! म तिम्रो पातिव्रत्य धर्मदेखि अत्यन्त प्रसन्न भएको छु, त्यसैले तिमी सत्यवानको पुनर्जीवनबाहेक कुनै एउटा वरदान माँग। यमराजको बठ्याइँलाई बुझेर सावित्रीले भनिन्- प्रभु! मेरा ससुरा ससुरा नेत्रहीन हुनुहुन्छ, कृपया उहाँको ज्योति फर्कने वरदान दिनुहवस्। यमराजले तथास्तु भन्दै पुनः फिर्ता जान आग्रह गरे। सवित्रीले पुनः अनुरोध गरिन्- भगवन्! जहाँ मेरा प्राणनाथ रहहुनेछ, त्यहीँ मेरो निश्चल र निश्चिन्त बसाइ हुनेछ। यसबाहेक मेरो एउटा अर्को पनि अनुरोध छ, त्यो हो मलाई आज तपाईंजस्ता देवताको दर्शन प्राप्त भयो, त्यसैले आजउप्रान्त देवदर्शन र संतसमागम हुँदा कहिल्यै निष्फल हुँदैन भन्ने शास्त्रीय प्रमाण छ, म आज कसरी खाली हात फर्कनु त? यमराजले उत्तर दिए, देवि! तिमीले भनेको कुरो राम्रो हो, तिमी ज्ञानी र विदुषी पनि रहिछ्यौ, त्यसैले सत्यवानको जीवनबाहेक फेरि पनि अर्को एउटा वर माँग। सावित्रीले भनिन् बोली, हे देव! मेरा ससुरा राज्यच्युत भएर वनवासी जीवन व्यतीत गर्दै हुनुहुन्छ। मलाई के वरदान दिनुहोस् भने मेरा ससुराले आफ्नो राज्यवैभव फिर्ता प्राप्त गर्नुहुस्। यमराजले पुनः ‘तथास्तु’ भन्दै सावित्रीलाई फर्कने आदेश दिए। सावित्रीले फेरि भनिन्, हे प्रभो! सनातन धर्मअनुसार मनुष्यहरूको धर्म हो सबैमा दया गर्नु। सत्पुरुषले त आफूनजीकै आएको शत्रुलाई पनि दया गर्छन्, त्यसैले म हजुरकी दयाकी पात्र हूँ। यमराजले भने- कल्याणी! तिमी असाध्यै बाठी र नीतिनिपुण रहिछ्यौ, तिर्खाएको मनुष्यलाई पानी खाँदा जुन आनन्द प्राप्त हुन्छ, तिम्रा कुरा सुन्दा त्यस्तै आनन्द प्राप्त हुन्छ। तिम्रा यस्ता मिठा कुराको कदर गर्दै म एउटा अर्को वरदान दिन चाहन्छु, आफ्ना पतिको जीवनबाहेक जे माग्छ्यौ, माग। अनि सावित्रीले मेरा पिता राजा अश्वपतिका कुनै पुत्र छैनन्, अतः हजुरले कृपा गरेर उहाँलाई पुत्र प्रदान गर्नुहवस्। यमराजले भने- ल मैले तिमीलाई यो वरदान पनि प्रदान गरें, अब त तिमी यहाँबाट फर्किएर जाऊ। सावित्रीले फेरि भनिन्- हे यमदेव! म आफ्नो पतिको अभावमा एक क्षण पनि जीवित रहन सक्दिन। हजुर त सन्तहृदय हुनुहुन्छ र सत्संगले सहृदयता बढ्छ नै। त्यसैले सन्तलाई सबैले श्रद्धा, विश्वास र प्रेमभाव प्रदर्शन गर्छन्। यमराजले भने, तिम्रा यी शास्त्रसम्मत वचन असल छन्, यस्ता वचन सुनेर मलाई अझ एउटा वरदान दिन मन लाग्यो, त्यसैले सत्यवानको जीवनलाई छाडेर अब एउटा अन्तिम वरदान माग, तर यसपछि चाहिँ तिमीले फिर्ता जानै पर्छ नि। सावित्रीले एकछिन घोरिएर भनिन्, प्रभु यदि मसँग हजुर साँच्चै नै प्रसन्न हुनुहुन्छ भने मेरा ससुरा द्युमत्सेनको कुलको वृद्धि गर्न मेरा कोखमा सयभाइ पुत्र जन्म हुने वरदान प्रदान गर्ने कृपा गर्नुहोस्। यमराजलाई सावित्री पछ्याउँदै आएकी र नफर्केकी हुँदा झिंझो लाग्न थालेको थियो, त्यसैले सावित्रीका कुरा भुइँमा खस्न नपाउँदै उनको मुखबाट तथास्तु शब्द फुस्कियो, अनि उनले झर्कंदै सावित्रीलाई भने- लौ त मैले तिमीलाई यो वर पनि दिएँ, अब त जाऊ।
त्यसपछि पनि सावित्रीले यमराजलाई पछ्याउन छडिनन्, पछिपछि हिंडिरहिन्। अझ आफ्ना पछि लागेको देखेर यमराजले भने- सावित्री! तिमी त असाध्यै ढीट र जिद्दी रहिछ्यौ, हेर मेरा कुरा मान र फिर्ता जाऊ, सत्यवानको मृतशरीरको अन्तिम संस्कारको व्यवस्था गर, अन्तिम संस्कारको अभावमा तिम्रा पतिले यमालोकमा ठूलो विपत्ति सहनु पर्छ। अब सावित्रीको बोल्ने पालो थियो, उनले भनिन्, हे प्रभु! तपाईंले अहिले भर्खरै मेरा कोखबाट ससुरा द्युमत्सेनको वंश विस्तार गर्न सयभाइ छोरा जन्मने वरदान दिनुभएको छ, मेरा पतिको अन्तिम संस्कार भयो भने मबाट मात्र हजुरको त्यस वरदानको पूर्ति हुनेछैन र मेरा ससुराको वंशवृद्धि पनि हुनेछैन। सावित्रीका यस्ता तार्किक वचन सुनेर यमराज छक्क परे र अन्त्यमा उनले भने, सावित्री! तिमी त अत्यन्त विदुषी र चतुरी रहिछ्यौ, तिमीले आफ्न वाग्जालमा पारेर मलाई रनभुल्ल बनाई मबाट वचन चुकायौ। तिमी पतिव्रता छ्यौ त्यसैले जाऊ, म सत्यवानलाई जीवनदान दिन्छु। यति भनेर यमराज अन्तर्धान भए अनि सावित्री पनि फर्किएर सत्यवानको भौतिक शरीर भएको स्थानमा आइन्। सावित्री त्यहाँ पुग्दा सत्यवानको चेतना भर्खर फर्कंदै थियो।
यति कथा सुनाएर मार्कण्डेय मुनिले युधिष्ठिरलाई भने, हे राजन्! यसप्रकार पतिव्रता सावित्रीले आफ्ना ससुरापक्ष र माइतिपक्ष दुबै कुलको उद्धार गरिन्। त्यसरी नै यी पतिव्रता द्रौपदीले पनि हजुरहरू सबैको उद्धार गर्नेछिन्। त्यसैले समस्त चिन्तालाई त्यागेर सुदिन आउने प्रतीक्षा गर्नुहोस्।”

यो कथा सुन्न तलको भिडियो प्रयोग गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!