ताजा सामाग्री

आज गङ्गा दशहरा

आज गङ्गा दशहरा को फोटो
No Comments , बिहीबार, जेठ १०, २०७५ , by Krishna Pd. Koirala

आर्य संस्कृतिका अनुयायी तथा सनातन धर्ममा आस्था राख्ने समस्त नेपालीहरूको तालतलैया, खोलानाला, कुलाकुलेसा, नदी र पानीसित अन्योन्याश्रित सम्बन्ध रहेको कुरो उल्लेख गरिरहनु पर्दैन । गङ्गा, गङ्गाजल र अन्य असङ्ख्य नदीहरू हाम्रो मनमस्तिष्क र हृदयमा सन्निहित भएर बसेका छन् । हामी गङ्गालाई आमासरह पूजा र आराधना गर्दछौं । नामोच्चारण हुनासाथ शरीरमा जानीनजानी सञ्चित हुन पुगेका यावत् पापराशि पखालिन्छन् भनी एकाबिहानै नुहाउँदा वा मुख धुँदा गङ्गे च यमुने चैव ….. भन्दै मन्त्रपाठ गर्दछौं । जीवनको अन्तिम समयमा मृत्युशय्यामा छटपटाउँदासमेत मुखमा गङ्गाजलको एउटा थोपो परिदिए सीधै वैकुण्ठ पुगिन्छ भन्ने आमधारणा र विश्वास छ । साँच्चिकै गङ्गाको पानी पवित्र हुन्छ, विचार गर्नुस् त, उहिले तीर्थयात्राका क्रममा गङ्गा नदीमा पुगेका बखतमा कसैले गङ्गाजल लिएर आएको हुन्छ र वर्षौंवर्षसम्म साधारण सिसा वा बोतलमा घरको एउटा कुनामा थन्क्याइएको हुन्छ रपनि अहिले निकाल्दा पनि उक्त पानी ताजा झैं उस्तै निर्मल र कञ्चन देखिन्छ । वास्तवमा गङ्गाको अगाध जलराशिको अङ्ग बन्नपुगेका असङ्ख्य नदीनाला हाम्रै पाखापखेरा र पहाडपर्वतमा भेटिने औषधीय तत्त्वले युक्त ढुङ्गामाटो र जडीबुटीको रसलाई समेटेर बहेका हुन्छन् । त्यसैले पनि यस्तै शुद्ध र पवित्र जलले युक्त गङ्गा नदीको संसर्ग र स्नानबाट हाम्रा समस्त शारीरिक रोगव्याधि नाश हुनाका साथै हामीलाई मानसिक र आध्यात्मिक तुष्टिसमेत प्राप्त हुन्छ ।

प्रदूषण :  नदीसंस्कृतिको विडम्बना

विकसित र आदिम सभ्यताका प्रतीक मानिएका सहर र नगरमा कुनै ठूलो नदीको उत्तिकै महत्त्वपूर्ण योगदान र भूमिका रहेको पाइन्छ । नदीले बनाएका उपत्यकामा संसारका उत्कृष्ट सभ्यताको उद्भव र विकास भएको थियो, जुन मानवमात्रको प्राचीन इतिहास, वैभव र गौरव हो । मेची, कोसी, बागमती, गण्डकी, कर्णाली, काली लगायतका गङ्गाका प्रत्येक भँगालाहरू हाम्रो पुरातन संस्कृतिको परम पावन धरोहर पनि हो । ऋषि, महर्षि र मनीषीहरूले गङ्गालाई नेपालमात्र होइन, समग्र भारतवर्षको सुषुम्ना नाडी हो भनेर प्रशंसा गरेको पाइन्छ । तर विडम्बना नै मान्नुपर्छ, अहिले गङ्गाजलमात्र होइन, कुनै पनि नदीको पानी खानसक्ने त कुरै भएन, अचाउन सकिने परिस्थितिसमेत छैन । विगत केही वर्षदेखि विकसित भएका अनियन्त्रित भौतिक उन्नति र अन्धाधुन्ध औद्योगिकीकरणका साथमा प्रकृतिका साथमा गरिएको हेलचक्र्याइँले ऋषिमनीषीको यो पवित्र संस्कृतिलाई ध्वस्त तुल्याइएको छ । हिमालयबाट वहने अजस्र जलधारा बोकेका पवित्रतम नदीहरू अहिले संसारका सबैभन्दा प्रदूषित नदीहरूमा गणना हुन थालेका छन् ।

पतीतपावन गङ्गा नदीका तटमा ज्ञान, धर्म, अध्यात्म र सभ्यता-संस्कृतिका समुज्ज्वल किरणहरू प्रस्फुटित भएका थिए, जसका कारण आर्यावर्तमात्र होइन, समष्टिरूपमा विश्व नै आलोकित हुन पुगेको थियो ।  हिमालयबाट वहने यिनै नदीनालाको तटमा रामायण र महाभारतकालीन सभ्यताको उद्भव र विलय भएको थियो । वैदिक वाङ्मयका शतपथ, पञ्चविंश र गोपथ ब्राह्मण, ऐतरेय, कौशितकी र साङ्ख्यायन, आरण्यक, वाजसनेयी संहिता एवं रामायण, महाभारत तथा पौराणिक ग्रन्थहरूमा वर्णित घटनादेखि उत्तर वैदिककालीन उन्नत सभ्यताको विस्तृत जग र इतिहास गङ्गाको जलप्रस्रवण क्षेत्रबाट प्राप्त हुन्छ ।

गङ्गाको वैज्ञानिक महत्त्‍व

प्रयोगशालामा प्रमाणित भइसकेको छ, गङ्गाजलमा प्राप्त हुने बैक्टीरियोफेज नामक जीवाणुले यस जललाई विकृत हुनबाट जोगाउँछ । आर्यसंस्कृतिका ऋषिमनिषिहरूले वातावरण र पर्यावरणको सन्तुलनका निमित्त नदीनाला, पहाड, वनजङ्गल, पशुपन्छीलगायत समग्र जीवनजगतमा सहअस्तित्वको विशिष्ट अवधारणा विकसित तुल्याएका थिए । अहिले पनि नेपाल र भारतका करिब ५० प्रतिशत जनताको आजीविका हिमालय र यसबाट निःसृत नदीनालामा निर्भर रहेको देखिन्छ । कृषि, पर्यटन, राफ्टिङ (साहसिक खेल) र उद्योगधन्दाको विकासमा गङ्गा नदीलगायत यसका शाखाहरू कोसी, बागमती, नारायणी, कर्णाली आदिको महत्त्वपूर्ण भूमिका र देन छ । यी नदीनाला र तालतलैयाका तटमा अवस्थित ग्राम, नगर, तीर्थ र पर्यटकीय क्षेत्रहरू सनातन संस्कृतिको सामाजिक व्यवस्थाको महत्त्वपूर्ण अङ्ग हुन् ।

गङ्गा : देवलोकबाट धर्तीमा प्राप्त उपहार

पुराणमा उल्लेख भएअनुसार गङ्गा देवलोकबाट प्राप्त भएकी महनीय उपहार हुन् ।  यिनको उत्पत्तिप्रसङ्ग रघुकुलका पूर्वज राजा भगीरथको सत्प्रयास र पुरुषार्थसम्बद्ध मानिन्छ । ज्येष्ठ महिनाको शुक्ल पक्षको दशमीका दिन सूर्यवंशका राजा भगीरथको कठोर तपस्या सार्थक भएकाले स्वर्गमा रहेकी गङ्गा नदीले कैलाशपति भगवान् शङ्करको जटाजुट हुँदै पृथ्वीमा अवतरण गर्नु परेको थियो । स्कन्दपुराणमा उल्लेख भएअनुसार जुन दिन गङ्गाले पृथ्वीलोकमा अवतरण गरेकी थिईन्, त्यस दिन दसवटा ज्योतिषीय योग थिए, जस्तै : ज्येष्ठ महिना, शुक्ल पक्ष, दशमी तिथि, बुध बार, हस्ता नक्षत्र, व्यतिपात योग, गर करण, आनन्द योग, कन्या राशिको चन्द्रमा र वृष राशिको सूर्य । त्यसैले यस दिन गरिएको स्नानदानादिबाट दस किसिमका पापहरू हरण हुन्छन् भन्ने मान्यता छ । भगीरथको कठोर तपस्याका कारण पृथ्वीतलमा आइपुगेकी हुनाले देवनदी गङ्गाको अर्को नाम भागिरथी पनि रहन गयो । उनी सर्वप्रथम धर्तीमा ओर्लँदा उनको वेगलाई सम्हाल्ने दायित्व देवाधिदेव महादेवले लिनु भयो । त्यसपछि शिवजटाबाट पुनः प्रवाहित भएकी गङ्गाले ब्रह्माद्वारा निर्मित बिन्दुसर सरोवरमा अवतरण गरिन् । यस सरोवरको आकृति गाईको मुखजस्तो भएकाले यस स्थानको नाम गोमुख रहन गयो । गोमुखबाट गङ्गाका सातवटा धाराहरू विभक्त भए । त्यसपछि राजा भगीरथका पछि लाग्दै गङ्गा कपिलमुनिको आश्रममा पुगीन् र उनका पूर्वज साठीहजार सगरपुत्रहरूको उद्धार गरिन् ।

नेपालमा गङ्गा दशहरा

शरीर, मन र वचनले गरिने दश प्रकारका पाप ज्येष्ठ शुक्ल पक्षका दश दिन स्नान गरेर नाश हुने विश्वास नेपाली समाजमा पनि रहेको पाइन्छ । कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्रीगमन गर्नु, कठोर वचन र असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलबको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानि पुर्याउने इच्छा राख्नु र विनाकारण दुराग्रह राख्ने जस्ता पाप दश दिनसम्म गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ । त्यसैले गङ्गा दशहराका अवसरमा नेपालमा पनि विभिन्न पवित्र नदी र ताल (सरोवर)मा मेला लाग्ने गर्दछ । खास गरी रसुवाको गोसाइँ कुण्डमा ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म लगातार दस दिनसम्म भक्तहरू पुगी स्नानादि कर्म सम्पादन गर्ने गर्दछन् । त्यसबाहेक काठमाडौँको हत्यामोचनघाट, कपिलवस्तुको वाणगङ्गा, नवलपरासीको त्रिवेणीसङ्गमलगायत बराहक्षेत्र, कन्काइमाई, रिडी, देवघाट आदि तीर्थस्थलमा पनि यस दिन स्नानादि गर्ने प्रचलन रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!