ताजा सामाग्री

सोमप्रदोष व्रत

सोमप्रदोष व्रत को फोटो
No Comments , सोमबार, जेठ २८, २०७५ , by Krishna Pd. Koirala

सोमबारका दिन त्रयोदशी तिथिको संयोग भएको दिनलाई सोमप्रदोष भनिन्छ। प्रदोषकाल साँझको समयमा हुने भएकाले यस्तो संयोग पनि साँझको समयमा भयो भने सोमप्रदोषको व्रत लिइने गरिन्छ। यस व्रतको महात्म्य दर्शाउने कथाहरू विभिन्न धर्मग्रन्थमा उल्लेख भएको पाइन्छ । तिनैमध्ये एउटा कथाप्रसङ्ग यहाँ उल्लेख गरिन्छ :-

स्कन्दपुराणमा उल्लेख भएअनुसार प्राचीन कालमा एउटी विधवा ब्राह्मणी आफ्नो पुत्रको पालनपोषण गर्ने उद्देश्यले भिक्षाटन गर्दथिन् । गाउँगाउँमा भिक्षा मागी आएको अन्नादिबाट यिनको जीविका चलेको थियो । छोरालाई घरमैं छाडेर बिहानै बाहिरिन्थिन् र दिनभरि बटुलेको भिक्षा लिई साँझमा घर आउँथिन् । एकदिन त्यसरी नै भिख मागेर घर फर्कंदै थिईन्, उनले नदीको किनारमा धुलोमैलोले लतपतिएको एउटा सुन्दर बालकलाई रोईकराई विलाप गर्दै गरेको अवस्थामा देखिन् । वरपर कोही पनि थिएन । बालकको नजिकै गएर उसको परिचय लिने प्रयास गरिन् । विचरो बच्चो राम्ररी आफ्नो परिचय बताउन पनि सक्दैनथियो । आत्तिए झैं र असाध्यै डराए जसरी एकोहोरो रोई मात्र रहन्थ्यो । यिनको मातृहृदय मायाले ओतप्रोत भयो । उनले घरमा छाडेर आएको आफ्नै छोरालाई सम्झिइन् र त्यो बच्चोलाई टिपेर घरमा ल्याईन् । नुवाइधुवाइ गरी खानपान गराई फकाइफुल्याई गरी आफ्नो छोरो र उसलाई आफूसँगै सुताईन् । भोलिपल्टदेखि भिक्षामा बाहिर जाँदा आफूले बाटामा भेटेको बालकका मातापिता भेटिन्छन् कि भनी खोजीनीति पनि गरिन्, तर बालकको परिचय प्राप्त गर्न सकिनन् । समय बित्दै गयो, ब्राह्मणीका दुबै बालकहरू शुक्लपक्षको चन्द्रमा जसरी नै हुर्कंदै गए । ती ब्राह्मणीमा भगवान् शिवप्रति अगाध श्रद्धाभक्ति थियो तथा यिनी दया, ममता र परोपकारकी प्रतिमूर्ति नै थिईन् । दुबै बालकहरूलाई साथमा लिएर एकदिन ब्राह्मणी नजिकै रहेको शिवालयमा गएकी थिईन् । त्यहाँ उनको ऋषि शाण्डिल्यसित भेट भयो । शाण्डिल्य ऋषि ब्रह्मज्ञानी र त्रिकालदर्शी विद्वान थिए । उनले ब्राह्मणीले भेटेको बालकलाई देख्नासाथ चिने र बाहुनीलाई भने, हे ब्राह्मणी, तिमीसँग भएको यो सुन्दर बालक विदर्भ देशको राजकुमार धर्मगुप्त हो । यसका पिता यशोगुप्त शत्रुसँग भएको युद्धमा मारिएका हुन् । यसका पिताको मृत्युपछि शत्रुपक्षको राजाले विदर्भ देशको शासनाधिकार लगायत यिनीहरूको राज्यवैभव खोसेर यसकी आमाका साथमा यसलाई पनि राज्यबाट निकालिदियो । यत्रतत्र भौंतारिंदै गर्दा एउटा नदी तर्ने क्रममा यसकी आमालाई गोहीले खायो । त्यसै बेला नदीको किनारमा तिमीले यस बच्चालाई भेट्यौ र आफ्नो छोरासँगै पालनपोषण गर्न थालेकी हौ । त्यसपछि ऋषि शाण्डिल्यले ब्राह्मणीलाई प्रदोष व्रत लिने सल्लाह दिए । ऋषिको आज्ञा पाएपछि ती बाहुनी र उनका दुबै छोराले प्रदोष व्रत लिन थाले । संयोग तिनीहरूले प्रदोषको व्रत थालेको दिन र उद्यापन गरेको दिन पनि सोमबार परेको थियो । यसरी प्रदोषको व्रत गर्दै ब्राह्मणी परिवारका समयहरू बित्दै गए ।

अब दुबै बालक किशोरावस्थाबाट युवावस्थामा पुगे । यस्तैमा एक दिन दुबै बालक एउटा सुन्दर र रमणीय वनमा विचरण गर्दै थिए । त्यसै वनमा गन्धर्वका छोरीहरू पनि भ्रमण गर्न आएका थिए । केटी देखेपछि दुबै केटाहरू तिनको हाउभाउ र रूपरङ्गमा लट्ठिए । ब्राह्मण बालक सात्विक भावको थियो, ऊ आफूलाई नियन्त्रण गर्दै वनबाट बाहिरिएर घर आयो, तर राजकुमार ती कन्यासित हासपरिहास गर्दै लामो समयसम्म वनमा नै अलमलियो । ती कन्याहरूमध्ये गन्धर्व देशका राजा चित्राकरकी पुत्री राजकुमारी अंशुमती पनि त्यहीं थिई । अंशुमती र राजकुमार एकअर्काप्रति आशक्त हुनपुगे । उनीहरूको पिरती बस्यो । त्यसपछि धर्मगुप्त र अंशुमतीको भेटघाटले निरन्तरता पाई रह्यो । उनीहरूमा एकआपसको प्रेम, सद्भाव र विश्वासले अझ मौलाउने र झाँगिने अवसर पायो । राजकुमारी अंशुमतीका पिता गन्धर्वराज चित्राकर पनि भगवान् शिवका परम भक्त थिए । चित्राकरलाई एक रात सपनामा भगवान् शिवले दर्शन दिनुभयो र भन्नुभयो हे, राजन्, तिम्री छोरी कुनै युवकको प्रेमजालमा लट्ठ परी समय यापन गर्दैछ, उसले माया गर्ने गरेको त्यो केटो विदर्भ देशको पूर्वराजा यशोगुप्तको छोरो धर्मगुप्त हो । ऊ पिता युद्धमा मारिएर राज्यवैभव खोसिएकाले एउटी विधवा ब्राह्मणीको शरणमा हुर्कंदै छ । त्यसलाई बोलाएर तिम्री छोरी अंशुमतीको विवाह गरिदेऊ । सपना भङ्ग भयो । राजा ब्युँझिए, सपनाको कुरो हो कि होइन ? के हो ? भन्ने खुल्दुली मेटाउन उनले छोरीलाई बोलाए र सपनाको कुरो बताए । राजकुमारीले एउटी गरीब परिवारमा हुर्कंदै गरेको युवासँग आफ्नो प्रेम रहेको बताई । राजाले सपनामा देखेको कुरो यथार्थ हो भन्ने चाल पाए र भगवान् भोलेनाथप्रति मनमनै कृतज्ञता प्रकट गरे ।

बुवाको स्वीकृति पाएपछि गन्धर्वकन्याले राजकुमारसमक्ष विवाहको प्रस्ताव लिएर आफ्ना पितासँग भेट गर्न जानू भनेर अनुरोध गरी । राजकुमारले गन्धर्वराज चित्राकरलाई भेट्यो, त्यसपछि भव्य समारोहका बीचमा ती दुबैको विवाह सम्पन्न भयो । यसपछि राजकुमार धर्मगुप्तले गन्धर्वदेशका सेनाको सहायता लिई आफ्नो पुर्ख्यौली राज्य विदर्भ देशमा पुनः कब्जा गर्यो । ब्राह्मणीलाई राजमाताको दर्जा प्राप्त भयो । उसले ब्राह्मणपुत्रलाई प्रधानमन्त्रीमा नियुक्त गर्यो । यसरी दुःख र सङ्कटमा गुज्रिरहेको राजकुमारको जीवनमा पुनः सुखसम्मृद्धि र वैभवले प्रवेश पायो । ब्राह्मणी र उनको छोराका दिन पनि फिरे । प्राप्तिको यो पराकाष्ठा ऋषि शाण्डिल्यको उपदेश र प्रदोष व्रतको प्रतिफलबाट प्राप्त भएको थियो । स्कन्दपुराणमा स्पष्टसँग उल्लेख गरिएको छ, जो भक्तजनले सोमबार परेको प्रदोषव्रतबाट थालनी गरी प्रत्येक प्रदोष व्रतको उपवास गर्दछ र प्रदोष परेको दिन शिवपूजा गरी मध्याह्न कालमा एकाग्र चित्तले प्रदोष व्रतको कथा श्रवण गर्दछ, त्यसले सय जन्मसम्म कहिल्यै पनि दरिद्रताको दर्शन गर्नु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!