ताजा सामाग्री

भूमिरज पर्व र कामाख्या भगवती

भूमिरज पर्व र कामाख्या भगवती को फोटो
No Comments , शुक्रबार, असार ८, २०७५ , by Krishna Pd. Koirala

कामाक्षी देवी (कामरूप कामाख्या)को विश्व प्रसिद्ध अम्बुवाची मेला

भारतको असम प्रदेशमा आराध्या देवी आदिशक्ति भगवती कामाख्याको शक्तिपीठ छ। के मान्यता छ भने योगी मत्स्येन्द्रनाथले यस शक्तिपीठमा निवास गरी आराध्या देवी कामाख्याको दर्शन पाएका थिए। यस पीठको सबैभन्दा ठूलो उत्सव “अम्बुवाची” नामक व्रतोत्सव हो। एउटा जनश्रुतिअनुसार नरकासुर नामको राक्षसले देवी कामाख्यासँग प्रेम गर्न थालेछ। ऊ उनीसँग विवाह गर्न उद्देश्यले प्रेम गर्दथ्यो। तर देवी कामाक्षालाई त्यस राक्षससित विवाह गर्न मन थिएन । त्यसैले उनले राक्षसबाट आफूलाई सुरक्षित तुल्याउन एउटा उपाय निकालिन् र त्यस नरकासुर नामको राक्षसलाई एकै रातमा मैले निवास गर्ने मन्दिरको निर्माण गरिदिएमा आफूले ऊसँग विवाह गर्न तैयार रहेको बताईन्।

नरकासुरले देवीको प्रस्ताव स्वीकार गर्यो र लगभग एकै रातमा मन्दिरको निर्माण पूरा गर्ने इरादाले काम थाल्यो। उता देवी नरकासुरले मन्दिर बनाइसक्नै लागेको थाहा पाएर  व्याकुल भईन्। मन्दिरभित्र पस्ने अन्तिम खुड्किलो बन्नुअघि नै देवीले एउटा कुखुराको भाले सिर्जना गरी त्यसलाई बास्न अह्राईन्। उज्यालो त भएको थिएन तर कुखुरो बासेकाले नरकासुरले उज्यालो भयो भन्ने ठानेर काम रोकिदयो र उसको कामाक्षादेवीसँग विवाह गर्ने लालसा पूरा हुन पाएन । अहिले पनि ‘कामाख्या मन्दिर’ नरकासुरद्वारा निर्मित त्यही मन्दिर हो भन्ने मान्यता छ। अर्को पौराणिक कथाबमोजिम कामाक्षा मन्दिर सतीदेवीको कामाङ्ग पतन भएको स्थान हो। सतीदेवीको मृत शरीरलाई शिवजीले बोकेर अचेत अवस्थामा पृथ्वीतलमा विचरण गर्दै गर्दा भगवान् विष्णुको सुदर्शन चक्रद्बारा खण्डित मृत सतीदेवीका जुनजुन अङ्ग सडेगलेर जहाँजहाँ झरेका थिए ती ती स्थान शक्तिपीठका रूपमा विकसित भएका हुन्। भारतको पूर्वोत्तर क्षेत्रमा पर्ने असम प्रदेशको नीलाञ्चल पर्वतमा सतीदेवीको मृतदेहबाट योनि झरेको थियो। त्यसैले त्यहाँ सतीदेवीको योनिको पूजाआजा हुने गर्दछ। यो शक्तिपीठ योनिपीठ हो।

धार्मिक मेला

नेपालमा असार ७  वा ८ गते सूर्यले आर्द्रा नक्षत्रमा प्रवेश गरेको दिन भूमिरज पर्व मनाउने चलन छ र यस दिन पृथ्वी खन्नखोस्रन निषेध गरिन्छ । यो दिन पृथ्वी रजस्वला भएको मान्यता छ। ज्योतिषीय मतमा सामान्यतया असार ७ वा ८ गते सूर्यले आर्द्रा नक्षत्रमा प्रवेश गर्दछ र भारतीय उपमहाद्बीपमा मनसुनको सुरुवात हुन्छ । सूर्यले आर्द्रा प्रवेश गरेको दिन पृथ्वीको जुन भागमा पानी पर्दैन त्यहाँ त्यो वर्ष सुखा लाग्ने र अनिकाल पर्नसक्ने अनुमान ज्योतिषीहरू गर्दछन्। उता पूर्वोत्तर भारत र बङ्गालमा सूर्य आर्द्रा नक्षत्रमा पुगेपछि सुरुको तीन दिनसम्म ‘पृथ्वीको रजोदर्शन काल’ मान्ने चलन छ र यस अवधिमा जोत्न, खन्नखोस्रन र बीउ छर्न मनाही गरिएको पाइन्छ। यसरी प्रत्येक वर्ष पृथ्वी रजस्वला हुने भनिएकै दिनदेखि तेस्रो दिनसम्म कामाक्षा मन्दिरमा अम्बुवासी मेला मनाउने गरिन्छ। यो मेला भारतवर्षमा मनाइने अनगिन्ती धार्मिक मेलाहरूमध्ये एउटा हो। मेलाको मुख्य अवधिमा कामाख्या मन्दिरको मूल मन्दिर भने बन्द हुन्छ। तर मन्दिरको परिसरमा देशविदेशबाट आउने श्रद्धालुहरूको घुइँचो लाग्छ। यस अवसरमा यहाँ अनेक किसिमका तान्त्रिक अनुष्ठानको आयोजना समेत हुन्छ। कामाख्या देवी रजोवती भएकी छन् भन्ने भावनाका कारण यस समयमा भक्तहरूले देवीको दर्शन गर्ने अनुमति नपाएका हुन्। मन्दिर बन्द भएको चौथो दिन प्रातःकालमा देवीलाई विधिपूर्वक स्नान गराई वस्त्रालङ्कारहरूद्बारा सुसज्जित तुल्याई मन्दिरको ढोका खोलिन्छ। देवीलाई नैवेद्य चढाएर आरती गरिन्छ र उपस्थित श्रद्धालु भक्तहरूलाई देवीको रजोदर्शनको प्रतीकका रूपमा रातो रङ्गको कपडाको टुक्रा प्रसाद स्वरूप प्रदान गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!