ताजा सामाग्री

असारको पन्ध्र : दहीचिउरा खाने दिन

असारको पन्ध्र : दहीचिउरा खाने दिन को फोटो
No Comments , शुक्रबार, असार १५, २०७५ , by Krishna Pd. Koirala

असारको पन्ध्र । किसानहरुको महत्त्वपूर्ण पर्व । नेपाली समाजमा प्रत्येक वर्षको असार महिनाको पन्ध्र गतेका दिन दही–चिउरा खाई मनाउने प्रचलन छ । वर्ष दिनभरि खान पुग्ने अन्नको जोहो गर्नका निमित्त असार महिनाभरि कडा मिहिनेत र परिश्रमका साथ खेतीपातीको काममा खट्ने, जुट्ने र सोही महिनाको बीचमा पर्ने १५ गतेका दिन रोपाइँ गरी दहीचिउरा खाने चलन नेपाली परिवेशमा धेरै पहिलेदेखि चलिआएको हो । नेपाली समाजमा ‘असारको पन्ध्र दहीचिउरा खानू, साउनको पन्ध्र खीर’ भन्ने लोकोक्ति नै प्रचलित छ । पारम्परिक समाजमा खेतीपातीमा सक्रिय भई परिश्रम गर्नु पर्ने असार/साउनको दिनलाई ‘मानु खाई मुरी उब्जाउने समय’ हो भन्ने गरिन्छ ।
धानलाई भिजाएर वा उसिनेर सुकाई, त्यसपछि ओखल वा मिलमा कुटेर तयार गरिएको खाद्यपदार्थ विशेषलाई चिउरा भन्ने गरिन्छ । आम नेपालीको खानारखाजा आदिमा चिउराको ठूलो महत्त्व छ । सजिलै सँग जताततै उपलब्ध हुने, भण्डारण गर्न सकिने तथा ‘जुठो’मा समेत नगनिने भएकाले नेपालको खानपिनमा यो एकदमै प्रचलित परिकार हो । यो विना सितन पनि खान सकिन्छ, त्यसबाहेक आम जिब्रोमा ‘दहीचिउरा’, ‘मासुचिउरा’ आदि यससँग जोडिएको खाद्यपरिकार बन्न पुगेको देखिन्छ । चामललाई पकाउनु पर्ने तर चिउरा पकाउनु नपर्ने अनि नेपालीको प्रमुख खान्की भातको सट्टामा जतिबेला पनि प्रयोग गर्न सकिने खाद्यविशेष हो, यो । दही र चिउरा जहिले जतिबेला जुन रूपमा खाए पनि हुन्छ, तर दहीचिउरा खाने नेपाली समाजमा प्रचलित विशेष दिन असारको पन्ध्र गते हो । असारमा खेतीपातीको चटारोमा घरैमा बसी मिठोमसिनो र विभिन्न परिकार जुटाई खान पाउने समय हुँदैन । त्यसैले हतारहतार काममा जानका लागि असार/साउनमा दहीचिउरा खाने गरेकाले उतिबेला यो चलन सुरु भएको हुनसक्छ । तर हिजोआज यस दिन रोपाइँ गरी वा रोपाइँको हिलोमा लडीबडी गरी दही–चिउरा खानाले गति परिने भन्ने आहान र जनविश्वाससमेत चलिआएको देखिन्छ । त्यसैले असारको पन्ध्र गतेका दिन आफ्नो खेतीपाती नभएकाहरू पनि अर्काको खेतमा गएर वा आफ्नै करेसाबारीमा रोपाइँ गरेर हिलो छ्यापाछ्याप गरी रमाइलो गर्ने गर्दछन्  ।
खेतीपातीमा आश्रित जनजीवन भएकाले यस समयमा किसान अत्यन्त व्यस्त हुने गर्दछन् । यस समयमा खेतमा पानीको स्रोत फेला नपरेमा, खेत सुकेमा वा कुनै तरिकाले पानीको अभाव भएमा तिनीहरूले वर्षभरि भोकै बस्नु पर्ने परिस्थिति सिर्जना हुने गर्दछ । त्यसैले होला, यदि असारको कामको धमाधममा कसैको घरमा कोही मरि हाल्यो भने पनि ‘लासलाई घुमले छोपेर काममा जानुपर्छ’ भन्ने किम्वदन्ती नेपाली समाजमा चलेको देखिन्छ । त्यस्तै बोलीचालीको भाषामा आफ्नो व्यस्तता दर्शाउन ‘मलाई अहिले असारको पन्ध छ’ भन्ने गरिन्छ, यी उक्ति र आहानबाट पनि असार महिनामा एउटा किसानको दिनचर्या कतिसम्म व्यस्त हुँदो रहेछ र असारको महत्त्व रहेछ भन्ने कुरा छर्लङ्ग हुन्छ । रोपाइँ गर्दा आफ्ना दुःख, पीर तथा जीवनका अतीत घटनालाई गीतका रूपमा सँगेलेर यस दिन ‘असारे गीत’ पनि गाउने गरिन्छ । यसै अवसरमा केही समुदायमा असारे गीतका साथै जुहारी खेल्ने चलन पनि छ ।
हरियो डाँडा माथि हलो जोत्ने साथी
हो हो माले हो हो ।।। हो हो तारे हो ।
जनकवि–केशरी धर्मराज थापाको यो असारे लोकभाका होस् वा ‘आषाढस्य प्रथम दिवसे’ भन्दै आफ्नो काव्यरचना गर्न थाल्ने संस्कृतका महाकवि कालिदासको प्रसिद्ध खण्डकाव्य ‘मेघदूत’ होस् वा लेखनाथ पौड्यालको ‘वर्षाविचार’भित्र कुँदिएका मिठा श्लोक किन नहुन्, सबैमा आषाढ महिना र वर्षा ऋतुको राम्रो वर्णन भएको छ । असारसाउनका प्रणयप्रसङ्ग ओकल्ने कविताकाव्य, लोकभाका वा गीतसङ्गीत जे हुन्, तिनमा कसको मन रमाउँदैन होला । समयचक्र र प्रकृतिको प्रवृत्तिलाई अनुसरण गरी पूर्वीय सभ्यतामा पूर्ण वर्षलाई जम्मा छवटा ऋतुचक्र बनाई समय विभाजन गरिएको पाइन्छ । नयाँ पालुवा पलाउने र जताजतै फूल र मुजुरा टुसाउने वसन्त ऋतु, रुखबोटमा फल प्रदान गर्ने गृष्म ऋतु र त्यसपछि आगमन हुने वर्षाऋतु अर्थात् असार र साउन महिनाको प्राकृतिक छटालाई पूर्वीय काव्यशास्त्रका ऋग्वैदिक मनीषिदेखि कालिदास, माघ, वाणभट्ट हुँदै नेपाली साहित्यका लेखनाथ, देवकोटाप्रभृतिका धेरै कवि, कलाकार र साहित्यकारले चर्चा गरेको पाइन्छ ।
पूर्वीय सभ्यतामा आधारित जनजीवनको मुख्य आधार कृषि हो र यस पेसाका धारक किसानका लागि वर्षा ऋतुभित्र पर्ने असार र साउन महिना पवित्र पर्व समान हुन्छन्  । बीजको एक मानाले लाखौं मुरी अनाज उब्जाउने परिश्रमी किसानको महिमालाई शब्दमा व्यक्त गर्न सकिंदैन । मानव सभ्यताको आदिमकालमा मानव प्राणलाई धान्न सहज र सरल खाद्यपदार्थ अन्न हो भन्ने कुराको अन्वेषण गर्न आदिमानवले लामो समयसम्म माथापिच्ची गर्नु परेको थियो होला । यसरी लामो अन्वेषणपछि अन्न उत्पादन, खपत र वचतको भूमिका निर्वाह गर्ने किसानले नै समस्त मानव समुदायको प्राणत्राण गरी संसारलाई अहिलेको आधुनिक युगमा प्रवेश गराएका हुन् भन्दा अत्युक्ति नहोला । त्यसैले अहिलेका महान् उपलब्धिका स्रष्टा र सर्जक ती आदिम युगका कृषक हुन्, ती कृषि–वैज्ञांनिकहरू नै अहिलेको सभ्यताका मूल स्रष्टा हुन् । मानव सभ्यताको उद्विकासको क्रममा गुफा संस्कृति (जङ्गली जीवन) पछि कृषि युगमा प्रवेश गरेसँगै सभ्यताको विकास द्रुत गतिमा अघि बढेको पाइन्छ । नाइल नदीको किनारामा फस्टाएको मिश्र सभ्यता, गङ्गा र सिन्धु नदीको किनारामा पल्लवित सिन्धु र हडप्पा सभ्यता, चीनको ह्वाङ्गहो नदी किनारामा फैलिएको चिनियाँ सभ्यता, युफ्रेटस र टिग्रिस नदीमा विकसित मेसोपोटामिया सभ्यता आदि अति प्राचीन र विशाल सभ्यताको जगमा नियाल्ने हो भने एउटा किसानको भूमिका नै महत्त्वपूर्ण देखिन आउँछ ।
नेपाल कृषिप्रधान देश हो । नेपालमा खानपान, रहनसहन, आजीविकाको माध्यम र चाडपर्वको आधार पनि कृषिजीवनमा आश्रित पाइन्छ । त्यसैले मूलतः असारको पन्ध्रमा किसानलाई जति अरुलाई नबित्दो हो, तर पनि आम नेपालीले यस दिन असारको पन्ध्र भव्य रूपमा मनाउने गर्दछन् । उहिले राज्यकोष र दरबारको मुख्य आम्दानीको स्रोत कृषिक्षेत्रमा पूर्ण रूपमा निर्भर भएको हुनसक्छ, त्यसैले असारको पन्ध्र गतेका दिन ‘राजाले पनि हिलो खेल्नुपर्छ’ भन्ने मान्यता थियो । अहिले पनि बुढाबुढी असारको पन्ध्र गते राजाले पनि रोपाइँ गर्ने दिन भन्ने गर्दछन् । देशका राजामात्र नभएर अलि पहिलेसम्म गाउँघरमा राजाको पगरी गुत्न खोज्ने मुखिया, काजी, मास्टर, पर्धान आदि नामका गाउँटोलका सामन्त र ठालुहरू गाउँभरिका सोझा, सज्जन र गरीबगुरुबा जम्मा पारी आफ्नै खेतखलोमा असार पन्ध्र गतेकै दिन बेठी लगाउने गर्दथे । जे होस्, नेपाल मात्र होइन समग्र भारतीय उपमहाद्वीपको जनजीवन मुख्यतः कृषिजीवनमा नै आधारित छ अनि यहाँका किसानको पहिलो रोजाइ धानबाली हो, अनि धानको रोपाइँका लागि उपयोगी महिना असार नै हो । धानबालीका निमित्त पर्याप्त पानीको आवश्यकता हुन्छ । वर्तमान आधुनिक युग र नवीनतम कृषिऔजारको सहज उपलब्धता हुँदा समेत कतिपय खेतमा सिंचाइको पर्याप्त व्यवस्था हुन् सकेको छैन । आकाशमा आश्रित हुनु परेको छ, झन् प्रारम्भिक कालको समाजमा खेतीका लागि मात्र होइन, खानेपानीलगायत खेतीपातीका लागि पनि आकाश नै मुख्य स्रोत थियो । त्यसैले उहिलेदेखि अहिलेसम्म किसानले मुख्य बाली धान रोप्नका लागि मनसुनी वर्षासम्म पर्खनु पर्ने हुन्छ अनि असारको पहिलो वा दोस्रो हप्तामा हुने मनसुनको पानी छोप्न किसानहरूलाई ठूलो चटारो पर्छ । कडा मिहिनेत र दौडधूपका माझमा बल्लबल्ल धान रोपेर सिध्याइन्छ । साँच्चै बेलैमा धान रोपीमात्र सिध्याउनु भनेको त्यति बेलामात्र होइन, अहिले पनि ठूलै युद्धमा विजय हासिल गरेको भन्ठानेका हुन्छन् , किसानहरूले ।
असार पन्ध्र गते : राष्ट्रिय धान दिवस
दहीचिउरा खाएर मात्र होइन, नेपालमा प्रत्येक वर्ष असार १५ गतेका दिन ‘राष्ट्रिय धान दिवस’ पनि मनाउने गरिएको छ । नेपालमा २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउन थालिएको हो । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । देशको अर्थतन्त्रमा धानले उल्लेखनीय भूमिका निर्वाह गरेको छ । कुल गार्हस्थ्य उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत हिस्सा धानबालीले ओगटेको देखिन्छ । नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत धानबाली लगाइन्छ ।
त्यसैले हाम्रो प्राथमिकतामा पर्ने खाद्य बालीका रूपमा धानलार्इ लिन सकिन्छ, अनि धान रोप्ने मुख्य महिना असार नै हो । असारको पन्ध्र गते ऋतुचक्रको वर्षा ऋतुअन्तर्गत सुरुको असार महिनाको मध्यविन्दुका दिन पर्दछ । अतः यो दिन धानखेती (रोपाइँ) गर्ने धमाधमको समय पनि हो । हाम्रो देशको प्रकृतिमा किसिमकिसिमका अन्नपात र तुलफूल उब्जने भए पनि यहाँको रीति र संस्कारबमोजिम देवीदेवतालार्इ पूजाआजा गर्दा होस् वा आफ्ना पितृका श्राद्धादि कर्ममा पिण्ड पकाउन नै किन नहोस्, भूतप्रेत, डाकिनी, शाकिनी, सिमे, भूमे, नागनगिनी वा कुलका नाममा प्रयोग गरिने तान्त्रिक विधिमा छरिने अक्षताका रूपमा चामलको प्रयोग हुने गर्दछ । त्यसबाहेक प्रयोग गर्ने विधिविधानमा विविधता वा रङाउने रङ्गमा फरक देखिए पनि यस राष्ट्रमा बसोबास गर्ने प्रत्येक जनजातीका व्यक्तिले आफ्ना पारम्परिक शुभ/अशुभ संस्कारको निर्वाह गर्न कुनै न कुनै किसिमले धान वा चामलको प्रयोग गरी छाड्छ । अतः खानका लागि खाद्यान्नका रूपमा मात्र होइन, पूजाआजा र संस्कार निर्वाहका लागि पनि धानको महत्त्व सर्वोपरि रहेको देखिन्छ । यी कारणहरूले गर्दा धान र असारको पन्ध्र दुबै हाम्रो निम्ति महत्त्वपूर्ण भएको हो । समग्रमा भन्ने हो भने यो दिन हाम्रो धर्मकर्म, देवीदेवता, कुलपितृ र आम जनताको मुख्य खाद्यान्न धान उत्पादन गर्ने तथा श्रमको दिव्य पसिनाले सिञ्चन गरी आफूमात्र पालिने नभएर आफ्नो उपजले जोजहाँ जस्तो हैसियतमा भए पनि तिनको प्राणको त्राण गर्ने किसानहरूलाई सम्मान गर्ने राष्ट्रिय दिवस हो ।

सम्बन्धित शीर्षकहरू:
लोक संस्कृतिदहीचिउराकिसानमनसुन

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!