ताजा सामाग्री

योगिनी एकादशी

योगिनी एकादशी को फोटो
No Comments , सोमबार, असार २५, २०७५ , by Krishna Pd. Koirala

आषाढ़ महिनाको कृष्ण पक्षमा पर्ने एकादशीलाई योगिनी एकादशी भन्दछन् । यो एकादशीको महिमा तीनै लोकमा प्रसिद्ध छ र यस एकादशीले समस्त पापहरूलाई नष्ट गर्ने सामर्थ्य वहन गरेको छ । यो एकादशी परेको दिन भगवान विष्णु र उनको लक्ष्मीनारायण स्वरूपको आराधना गर्नुपर्दछ ।

यस एकादशीको व्रत लिने श्रद्धालुले निम्न नियमहरू पालना गर्नु राम्रो हुन्छ :–

१– योगिनी एकादशीलगायत जुनसुकै एकादशीको व्रतको नियम अघिल्लो दिनबाट नै प्रारम्भ हुन्छ । यस एकादशीको पालना पनि दशमीको रात्रिकालबाट नै सुरु गर्नुपर्छ । व्रतालुले दशमीका दिनदेखि नै तन, मन र कर्मबाट पवित्रता र शुद्धताको आचरण गर्नुपर्छ, सात्विक भोजन ग्रहण गर्नुपर्छ र ब्रह्मचर्यको पालना गर्नु पर्छ ।

२– एकादशीका दिन सकिन्छ भने अहोरात्र (रात र दिनको २४ घण्टाको अवधि) निराहार बसेर उपवास गर्नु पर्छ । शारीरिक अस्वस्थता र उमेरका कारण निराहार बस्न सकिंदैन भने कम्तीमा पनि एकादशीका दिन अन्न त्याग्नु पर्छ वा भोजन नगरी केवल फलाहार गरेर व्रत-सम्पादन गर्नुपर्छ । त्यत्ति पनि सकिंदैन भने केवल चामल र चामलबाट बनेका पक्वान्न त्यागेर व्रत लिनुपर्छ । त्यो पनि सम्भव छैन भने एकभुक्त वा नक्तव्रत गर्नु पर्छ । एकभुक्त र नक्तव्रतको अर्थ हो – केवल एक समय त्यो पनि रात्रिकालमा मात्र भोजन गर्नु ।

३– एकादशीका दिन मनोरञ्जन गर्नु, जुवा खेल्नु, दिउँसो सुत्नु, दन्तधावन गर्नु, परनिन्दा, चुगली, चोरी, हिंसा, सम्भोग, क्रोध तथा असत्यवादन इत्यादि ११ किसिमका कर्म गर्नु हुँदैन ।

४– एकादशीका दिन बिहान ऊषाकालमा उठेर स्नानादि नित्यकर्मबाट निवृत्त भई भगवान् विष्णुको यथासम्भव विधिपूर्वक पूजाआजा गर्नुपर्दछ । पूजा आफैंले सकिन्छ भने आफैं गर्दा हुन्छ, तर पूर्ण हुन सक्दैन भन्ने लागेमा कुनै ब्राह्मण वा कर्मकाण्ड जानेको कुनै विद्वानको सहयोग लिएर भए पनि गराउन सक्नुहुन्छ । पूजा गर्दा स्वच्छ कपडा लगाएर मन्दिरअगाडि बसेर वा घरको पूजाकोठामा बसी सङ्कल्प गर्दै भन्नुपर्छ – हे परमेश्वर ! मैले जानीनजानी गरेका समस्त पापराशिको नाश गर्नुहोस् । मेरा शरीरमा भएका रोगव्याधि, चर्मरोग, कुष्ठरोग आदिको नाश गर्नुहोस् । दाम्पत्य सुखलगायत घरपरिवारमा सुखशान्ति होस् । तपाईंको भक्तिमा मन लागोस् । मरणोपरान्त जन्ममरणको चक्रबाट छुटकारा पाइयोस् र वैकुण्ठबास होस् (मम सकल–पापक्षयपूर्वककुष्ठादिरोगनिवृत्तिकामनया योगिन्येकादशीव्रतमहं करिष्ये) ।

५– यसपछि भगवान् विष्णुको लक्ष्मीनारायण स्वरूपको यथोपचार पूजा गर्नु पर्छ, पञ्चामृतको अविच्छिन्न धाराले भगवानको श्रीविग्रह (प्रतिमा वा मूर्ति) को स्नान गराउनु पर्छ । स्नान गरेको पञ्चामृत व्रतालुले आफ्नो शरीरमा, घरवरिपरि र परिवारका सदस्यको अङ्गअङ्गमा छर्किनु पर्दछ । यसरी पञ्चामृत छर्किनाले विशेषतः शरीरमा आएका छालाका समस्या र कुष्ठादि चर्म  रोगको प्रकोप शान्त हुन्छ एवं पीडित व्यक्तिको पीडा समाप्त हुन्छ र ऊ रोगमुक्त हुन्छ । त्यसपछि चन्दन, फूल, अक्षता, धूप, दीप, नैवेद्यादि षोडशोपचार पद्धतिले भगवान् लक्ष्मीनारायणको पूजा गर्नुपर्छ ।

६– एकादशीको व्रत लिने व्रतालुले प्रत्येक एकादशीका दिन गीता, विष्णु सहस्रनामको पाठ, जाप एवं श्रीमद्भागवत, विष्णुपुराण, पद्मपुराण आदि भगवान् विष्णुको चरित्र र विशेषता जनाउने कथा सुन्नु र सुनाउनु पर्छ ।

७– व्रतालुले मन, वचन र कर्मद्वारा हिंसावृत्तिलाई ग्रहण गर्नुहुँदैन । सद्विचार र सद्व्यवहार राख्दै कसैको कुनै किसिमको कुभलो चिताउनु हुँदैन र गर्नु पनि हुदैन । सकिन्छ भने व्रत लिएको दिन राती पनि जागरण गर्नु पर्छ, भजन, कीर्तन र श्री हरिको स्मरण गर्दै रात बिताउनु पर्दछ ।

८– द्वादशीका दिन बिहान नित्यकर्मबाट निवृत्त भई पुनः यथोपचार नारायणको पूजा गरी ब्राह्मण र गरीबगुरुबालाई दान गरी आफूले पनि भोजन गरी व्रत समापन गर्नुपर्दछ ।

योगिनी एकादशीको व्रतकथा

अरु एकादशी जस्तै योगिनी एकादशीको पनि छुट्टै महिमा र आख्यान प्राप्त हुन्छ । पद्म पुराणको एउटा प्रसङ्गमा कृष्ण र युधिष्ठिरको संवादका बीचमा यस एकादशीको महात्म्यको उल्लेख गरिएको छ । उहिले महाभारत कालमा युधिष्ठिरले यस लोकमा सुखसुविधा र भोगविलास तथा परलोकमा मुक्ति दिने व्रत कुन छ भनेर प्रश्न सोधेपछि भगवान् श्रीकृष्णले आषाढ महिनाको कृष्ण पक्षमा पर्ने योगिनी एकादशी व्रतको माहात्म्य बताउनु भएको हो । प्राचीन कालमा हिमालयको उत्तरी क्षेत्रमा पर्ने सुन्दर नगरी अलकापुरीमा कुबेरको राजधानी थियो । सुन्दर वन, उपवन र वाटिकाले सुसज्जित अलकापुरी मानसरोवर तीर्थको छेउमा पर्दथ्यो । ती बरबगैंचाको सुरक्षा गर्न र उनको दरबारमा किसिमकिसिमका फूल र मालाको व्यवस्था गर्न कुबेरले धेरै मालीहरू नियुक्त गरेका थिए । तीमध्ये एउटा ‘हेम’ नाम गरेको मालीलाई उनले प्रातःकालमा भगवान् शङ्करको पूजा गर्नका लागि मानसरोवरबाट दिव्य सुवासले युक्त फूल लिएर आउनु पर्ने काममा खटाएका थिए । राजाले खटाएबमोजिम हेम नामको त्यो माली प्रतिदिन बिहान चाँडै नै मानसरोबर पुग्दथ्यो र राजाले पूजा थाल्नुअघि नै त्यहाँबाट फूल लिएर आउने गर्दथ्यो । यो उसको दिनचर्या थियो ।

हेम मालीकी एउटी सुन्दरी पत्नी थिईन्, तिनको नाम विशालाक्षी थियो । पतिपत्नीमा अगाध प्रेम थियो । दुबै एकअर्काप्रति आशक्त थिए र एकअर्काको वियोगमा एक दिन पनि छुट्टिएर बसेको अनुभव थिएन । घरमा सुखशान्ति थियो । धन र वैभवको कुनै कमी हुन पाएको थिएन । एक रात पतिपत्नीका बीचमा लामो समयसम्म दुःखसुखका कुरा भए । हासपरिहास र विनोदी पारामा कुराकानी गर्दागर्दै रात निकै बितेपछिमात्र तिनका आँखा लागे र निदाए । बिहान उठ्न अबेला भयो । राती हास्यविनोदमा अलमलिएकाले बिहानै राजाको काममा मानसरोवर जानुपर्छ भन्ने भेउ नै भएन । विचरा हेम माली आज राजालाई पूजा गर्ने बेलामा फूल ल्याइदिन नपाउने भएँ भन्दै चिन्तित हुँदै मानसरोबरतर्फ लाग्यो । त्यहाँ पुग्दा उसले सधैं ल्याउने फूल गन्धर्वहरूले चुँडेर लगिसकेका रहेछन् । त्यसैले उसले फूल टिप्न पाएन ।

यता दरबारमा सधैं झैं पूजा गर्ने बेला भयो भनी कुबेर पूजाकोठामा पसे । उनी भगवान् शिवका परमभक्त थिए ।  पूजाकोठामा पूजाका लागि नयाँ फूल नआइपुगेको देखेर उनले सिपाहीसित फूलको खोजी गर्न भने । हेम मालीले फूल ल्याउने जिम्मा लिएको आज आइ नपुगेको कुरा सिपाहीले बतायो । उनले मालीलाई पक्राउ गर्ने आदेश दिए। सेवकले मालीलाई पक्राउ गरेर ल्यायो । विचरा मालीले आज फूल लिन गए पनि ल्याउन सकेको थिएन, उसले आफू हिजो राती पत्नीसित हासपरिहास गर्दागर्दै ढिलोसम्म निदाएको र बिहान उठेर हताहतार मानसरोबर पुग्दा फूल रित्तिएकाले ल्याउन नसकेको कुरा बतायो । यस्तो विवरण सुनेर क्रोधित भई कुबेरले उसलाई स्त्रीवियोग सहनु पर्ने र मृत्युलोकमा जन्म लिई कोढ रोगले ग्रस्त हुनुपर्ने श्राप दिए ।

कुबेरको श्राप सुन्नासाथ हेम मालीले पृथ्वीतलमा झर्नु पर्यो । कोढी भएर यत्रतत्र भौंतारिएर हिड्नु पर्यो । यस्तैमा ऊ एक दिन मार्कण्डेय ॠषिका आश्रममा पुग्यो । ॠषिले मालीलाई देख्नासाथ योगबलका माध्यमले ऊ दुखी हुनुपर्ने कारण थाहा पाए । उनले त्यस मालीलाई योगिनी एकादशीको व्रत लिन सल्लाह दिए । मार्कण्डेय ऋषिले निर्देशन गरेबमोजिम हेमले योगिनी एकादशीको व्रत लियो । व्रतको प्रभावले हेम मालीको कोढ रोग समाप्त भयो र ऊ दिव्य शरीर धारण गरी पुनः यक्षको राजधानी अलकापुरी फिर्ता गयो । लामो समयदेखि वियोग भएका पतिपत्नीको पुनः मिलन भयो । यसरी योगिनी एकादशीको शुभफल प्राप्त गरेको हुँदा हेम नाम गरेको मालीको जीवन पुनः पूर्ववत् सुखसुविधा, भोगविलास र आनन्दका साथमा बित्न थाल्यो । मरणकालपछि वैकुण्ठलोकमा गयो ।

भगवान् श्रीकृष्णले युधिष्ठिरलाई आज्ञा गर्नु भएको योगिनी एकादशीको कथा हो, यो । पद्म पुराणमा योगिनी एकादशीको व्रत सम्पादन गर्न नसके पनि यस व्रतको यो महात्म्य र कथालाई जसले विधिपूर्वक ब्राह्मणका मुखबाट सुन्दछ वा आफैंले वाचन गरी कम्तीमा एघार जनालाई सुनाउँछ, उसले सबै पापबाट मुक्ति प्राप्त गर्दछ, प्रेमसम्बन्ध सफल हुन्छ, जीवनमा कहिल्यै दाम्पत्य कलह र क्लेशको अनुभव गर्नुपर्दैन भनेर लेखिएको छ । त्यसैले योगिनी एकादशी व्रतको यसरी विधिविधानपूर्वक पालना गर्नाले सबै रोग र व्याधिको अन्त्य हुन्छ । आफन्तजन र पतिपत्नीका बीचको मनमुटावको अन्त्य हुन्छ, साथै मनमा आफन्तसित भिन्न भई बस्ने भावना हराउँछ अनि विछोड भएका वा छुट्टिएका पति, पत्नी, पुत्र, पुत्री, परिजन वा नातागोतासित पुनः मिलन हुन्छ । श्रीमन्नारायण ।

सम्बन्धित शीर्षकहरू:
महात्म्यव्रतकथाएकादशी

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!