ताजा सामाग्री

कुण्डलीमा चाण्डाल योग

कुण्डलीमा चाण्डाल योग को फोटो
No Comments , मंगलबार, कात्तिक २८, २०७४ , by Krishna Pd. Koirala

बृहस्पति र राहु वा केतुको युतिसम्बन्ध वा बृहस्पतिमाथि राहु वा केतुको पूर्णदृष्टिबाट गुरुचाण्डाल योगको सिर्जना हुन्छ । राहुको जाति चाण्डाल मानिन्छ, त्यसैले उसको स्वभाव पनि क्रूर, दुष्टतापूर्ण र नकारात्मक हुने गर्दछ । उसको सम्बन्ध सात्विक भाव भएको बृहस्पतिसँग हुन जाँदा यस योगलाई गुरु चाण्डाल योग भनिएको हो । चाण्डालको अर्थ संस्कार र चेतनाले विहीन निम्नस्तर र कुलको व्यक्ति विशेष हो । शास्त्रले चाण्डालको कार्यक्षेत्र मसानघाट र वरपरको क्षेत्र तोकेको छ । प्राचीन समाजमा श्मसान भूमिमा काम गर्ने नीच जातिका व्यक्तिको छायामात्र पनि ब्राह्मणादि उच्च जातिका मानिसहरूमा परेमा तिनीहरू अशुद्ध हुने गर्दथे । त्यसैले बृहस्पति (ब्राह्मण) मा छाया पर्नु भनेको उक्त ग्रह दोषयुक्त हुनु हो, यही परिस्थिति नै गुरुचाण्डाल योग हो । जसरी कुसङ्गतिको दुष्प्रभावले श्रेष्ठता वा सद्गुणमा विकार आउँछ, ठीक त्यसरी नै राहु जस्तो नीच ग्रहको सङ्गति प्राप्त गर्नाले शुभ फल प्रदान गर्ने बृहस्पति ग्रहले आफ्ना सद्गुणहरू गुमाएर नकारात्मक एवं दुष्प्रभाव ओकल्नु पर्दछ । अर्को शब्दमा जसरी हिङ र कुनै सुगन्धित पदार्थ (इत्र वा सेन्ट) एकै ठाउँमा राखेमा हिङको तीव्र गन्धले इत्रको सुगन्धलाई ढाकिदिन्छ, त्यसरी नै राहुले आफ्नो प्रबल नकारात्मकताको प्रभावमा बृहस्पतिको सौम्य र सकारात्मक पक्षलाई निष्क्रिय तुल्याइदिन्छ । तर यो अवस्था सबै पक्षमा लागु हुँदैन, जब बृहस्पति स्वयं कमजोर, निर्बल र अशुभ भावेश भएर कुण्डलीमा अवस्थित हुन्छ वा अकारक स्थितिमा रहेको हुन्छ, अनिमात्र राहु र बृहस्पतिको सम्बन्धद्वारा यस योगको नकारात्मक पक्ष सक्रिय भएको देखिन्छ ।

वास्तवमा देवगुरु बृहस्पति ज्ञान र विवेकको ग्रह हो, यसले बुद्धि प्रदान गर्दछ । यो ग्रह जातकको कुण्डलीमा शुभ, उच्च, स्वगृही वा बलवान् अवस्थामा रहँदा शुभ प्रभाव प्राप्त हुन्छ र व्यक्ति ज्ञानी, विवेकी, सज्जन र दृढविश्वासी बन्न सफल हुन्छ । तर जन्मकुण्डलीमा बृहस्पतिको कमजोरी रहेछ भने मानिसले बुद्धि र विवेकसम्बद्ध शुभता गुमाउनु पर्ने हुन्छ, किनकि यस ग्रहको अशुभताले व्यक्तिको ज्ञानमा कमी हुन्छ, उसको बुद्धि क्षीण बन्दछ, अव्यवहारिकता र असहिष्णुपना बढ्दछ अनि एकोहोरोपन, घोरण्डो, हठी, जिद्दीपना आदि उसका वैशिष्ट्य बन्न पुग्दछन् । राहु एउटा छाया ग्रह हो । यो भ्रम, सन्देह, अनावश्यक शङ्का र धूर्त्याइँको कारक हो । राहुको सम्बन्ध हुनासाथ बृहस्पतिले आफ्ना नैसर्गिक स्वभावलाई त्याग गर्दछ र निर्बल बन्न पुग्छ अनि व्यक्तिमा सात्विक चेतनाको अन्त्य भई ऊ तामसी प्रवृत्तिले ग्रस्त हुनपुग्छ ।

बृहस्पति निर्बल वा कमजोर भएमा यसको प्रभावले जातकमा निम्न दुष्परिणाम प्राप्त हुनसक्छ :-

१) विशेष महत्त्वको कुनै प्रतियोगिता, परीक्षा वा मुद्दामा सबै कुरा आफ्नो पक्षमा सुनिश्चित हुँदा हुँदै पनि असफल हुनु ।

२) स्त्री जातकको हकमा पतिगृहमा कुनै न कुनै कलह भइरहनु र पति विभिन्न जालसाजी, दुर्घटना र कुचक्रमा फँसिरहनु आदि ।

३) ज्ञान र शिक्षा प्राप्त गर्ने उमेरमा कुसङ्गतमा फँस्नु, मादक पदार्थ र कुलतको सिकार हुनु ।

४) बकबक गर्नु वा व्यर्थका विषयमा तर्क र बहस गर्नु ।

५) पाखण्ड, ढोंग र आडम्बर प्रस्तुत गरी समाजमा आफू जान्नेबुझ्ने र विद्वान् हो भनी आत्मप्रचार गर्नु ।

६) पाचनतन्त्री (खासगरी आन्द्रा, कलेजो, पित्त, मलद्वार आदि) मा विभिन्न विकार आई बुढ्यौलीमा रोगग्रस्त हुनु ।

७)  ईर्ष्या, द्वेष, छलकपट तथा कुत्सित इच्छाले ग्रस्त हुनु, कामुकता, क्रूर, धूर्त, दरिद्र र षड्यन्त्रकारी बन्नजानु एवं दुर्भावना, फट्याइँ, धोखाधडी र धूर्त्याइँका कारण प्रशासनिक झमेलामा परिरहनु वा बन्दी जीवन बिताउन बाध्य हुनु ।

८) मातापिता र दाजु/दिदीसँग सुसम्बन्ध कायम नहुनु, कर्मचारीले हाकिमसँगको सम्बन्धलाई सुमधुर बनाउन नसक्नु, समाजका जान्नेबुझ्ने, सज्जन, ज्ञानी, पण्डितहरूको विरोध गर्नु ।

९) सन्ततिको विवाह, उन्नतिप्रगति र विकासमा विभिन्न बाधाअड्चन सिर्जना हुनु ।

१०) गुरु वा मान्यजनका कमीकमजोरी र छिद्रको खोजी गरी चियोचर्चो गर्नु, निन्दा गरी गुरुद्रोह गर्नु, गुरुको कार्य वा यश (जस)लाई आफ्नो हो भनी प्रचार गर्ने वा हडप्ने काम गर्नु, गुरुको सिद्धान्तलाई खण्डन गर्नु आदि ।

कुण्डलीमा जुनसुकै भाव वा राशिमा बृहस्पति र राहु वा केतु ग्रहको मिलन भएमा गुरुचाण्डाल योगको सिर्जना हुने गर्दछ । परिणामका हिसाबले यो योग पूर्ण रूपमा सक्रिय हुन सामान्य कुण्डलीमा भन्दा पनि भाव कुण्डलीमा यस्तो मिलन हुनु अनिवार्य मानिन्छ । त्यसपछि पनि अंशात्मक रूपमा बृहस्पति र राहुको दूरी जति नजिकै छ, यसको परिणाम त्यति नै दुःखदायी बन्न पुग्दछ । कुनै दुई ग्रहको अंशात्मक दूरी ६ अंशभन्दा थोरै भएमा युतिसम्बन्धबाट प्राप्त हुने शुभअशुभ प्रभाव प्राप्त हुने कुरामा आम ज्योतिषीहरूको मतैक्य पाइन्छ । राहु वा केतुको दसौं घरमा पूर्णदृष्टि हुन्छ, अतः राहु वा केतुको दसौं भावमा बृहस्पति रहेछ भने पनि आंशिक रूपमा यो योग सक्रिय भएको मान्ने गरिन्छ । बृहस्पति कर्क राशिमा उच्च गृही मानिन्छ, त्यस्तै मकर राशि यसको नीचगृह हो । त्यस्तै धनु र मीन बृहस्पतिको आफ्नो राशि हो भने बुध र शुक्र नैसर्गिक शत्रु भएकाले वृष, मिथुन, कन्या र तुला राशि शत्रुगृह मानिन्छन् । त्यसबाहेक कुनै भावमा बृहस्पति एक्लै बसेको छ, यसमाथि कुनै ग्रहको पूर्णदृष्टि छैन, अनि यसको दोस्रो वा बाह्रौं घरमा पनि कुनै ग्रह छैनन् भने यस अवस्थामा पनि बृहस्पति निर्बल मानिन्छ । अतः बृहस्पति जुन राशिमा जति निर्बल वा बलशाली भएर बसेको छ, तदनुरूप यस योगको अशुभ फलमा कम वा बेसी देख्न पाइन्छ ।

गुरु चाण्डाल योगको प्रतिलोम

केतु पनि राहुकै स्वभावको ग्रह मानिन्छ । यो पनि छाया ग्रह नै हो । कुण्डलीमा राहुको सातौं भावमा केतुको उपस्थिति हुन्छ । त्यसैले केतु र देवगुरु बृहस्पतिको युति वा दृष्टि सम्बन्धलाई पनि गुरुचाण्डाल योग नै भन्ने गरिन्छ । तर यसको प्रभाव राहुद्वारा सिर्जना गरेको गुरु चाण्डाल योगभन्दा ठीक उल्टो हुने गर्दछ । केतुले बृहस्पतिको प्रभावलाई पराकाष्ठामा पुर्याउन मद्दत गर्ने गर्दछ । केतुको मुख्य प्रवृत्ति त्यागवृत्ति र प्रतिष्ठाका लागि महत्त्वाकाङ्क्षा हो । यसको प्रभावले व्यक्तिले कतिपय परिवेशमा सांसारिकताका भोग वृत्तिलाई त्यागेर सन्न्यास ग्रहण गरेको पनि देखिन्छ । केतु भोगविलासभन्दा टाढा बुद्धिविलास वा मानसिक विलासिताको पक्षधर भएको हुँदा यसले बृहस्पतिलाई वा बृहस्पतिको युति वा दृष्टिसम्बन्धका कारण व्यक्तिको जीवनमा श्रेष्ठ गुरु वा श्रेष्ठ शिष्य बन्ने अधिकार प्रदान गर्दछ । यस्ता जातकले जीवनमा ठूलो श्रेय र प्रतिष्ठा प्राप्त गर्ने गर्दछन् । अनेकानेक शिष्यका प्रमुख आचार्य बन्ने र शिष्यलगायत समस्त समाजलाई मार्गदर्शन गरी आदर्श समाजको स्थापनाका लागि प्रयासरत रहने गर्दछन् । यिनीहरू आफूस्वयं हरपल अनुसन्धान र शोधमा व्यस्त रहने गर्दछन् भने कतिपय शोधार्थीका निर्देशक भई ज्ञान र प्रज्ञाका क्षेत्रमा उच्चव्यक्तित्व बन्ने सौभाग्य प्राप्त गर्दछन् । यी केही राम्रा परिणाम केतु र बृहस्पतिको युति वा दृष्टिसम्बन्धले बनएको चाण्डाल योगमा प्राप्त हुने गर्दछ, यद्यपि अशुभ ग्रहको महादशा काल वा कतिपय परिस्थितिमा माथि लेखिएका अशुभ प्रभाव यस्तो चाण्डाल योग भएका जातकले पनि भोग्नु नै पर्दछ ।

चाण्डाल योगको अशुभतामाथि नियन्त्रण गर्ने उपाय

१) आशुतोष भगवान् शिवको निरन्तरको आराधनाबाट गुरुचाण्डाल योगको दुष्प्रभावलाई निवारण वा न्यूनीकरण गर्न सकिन्छ ।

२) चाण्डाल योग भएका जातकको जीवनमा माथि लेखिएका कुनै पनि दुष्प्रभावको असर नपरोस् भन्ने उद्देश्यले प्रत्येक ग्रहणको अवसरमा राहुको दानसामाग्री नीच जातिका व्यक्तिलाई दान गर्नुपर्दछ ।

३) घरमा कपिला गाई पालेर निरन्तर राहु ग्रहको कुनै मन्त्रको जाप गर्दा पनि उक्त योगको दुष्प्रभाव कम गर्न सकिन्छ । गाई पाल्ने अनुकूलता नभएको अवस्थामा त्यस्तो गाई पाल्ने किसानलाई वर्षमा एकपटक (भरिसक्य जन्ममहिनामा पर्ने अमावस्याका दिन) एकसरो नयाँ लुगाका साथमा गाईले खाने चारो, घाँस वा चोकर दान गर्नु पर्दछ ।

४) हनुमान् चालिसाको नियमित पाठ गरेमा पनि चाण्डाल योगको दुष्प्रभाव पर्दैन ।

५)  मुखलाई नियन्त्रणमा राख्नु पर्दछ, व्यवहारमा अधिकतम सामाजिक हुने प्रयास गर्नु पर्दछ, कुनै निर्णय गर्नुपर्दा जान्नेबुझ्ने र ठूलाबडाको सल्लाहमा गर्नुपर्दछ, कुल र पितृको आराधनामा विशेष सतर्क र सजग हुनुपर्छ, खित्का छाडेर हाँस्ने गर्नु पर्दछ र हरदम प्रसन्न हुने कोसिस गर्नु पर्दछ ।

६) बृद्धाश्रमको जीर्णोद्धार गर्ने,  महिनामा एक पटक बृद्धाश्रममा पुगी त्यहाँ बस्नेहरूको वेदना सुन्ने र तिनलाई गुलियो पदार्थ खानदिने गर्नुपर्दछ । जीवित मातापिता र अग्रज (दाजु वा दिदी) को कुरा सुनिदिने, आग्रहलाई स्वीकार गर्ने वा मानिदिने, नम्रतापूर्वक आफ्ना विचार प्रस्तुत गर्ने र परिआएका तिनका समस्याहरूमा सकेको सहयोग गर्ने बानी बसाल्नु पर्दछ ।

७) योग्य गुरुको आश्रयमा गई शरणागति लिने, मनमा गुरुनिन्दा वा गुरुद्रोह जस्ता आपराधिक विचार आउन नदिने,  आश्रममा विद्याध्ययन गर्ने छात्रछात्रा वा अन्यत्रका निर्धन विद्यार्थीलाई पुस्तक, कापी, कलम, पहेंला कपडा आदि दान गर्नु राम्रो हुन्छ ।

८) नित्यपूजापछि सधैं पहेंलो (केसरीको) टीका लगाउने, आफू बस्ने घरको मूलदैलोमाथि भगवान् गणेश, लक्ष्मी र सरस्वतीको प्रतिमा स्थापना गरी त्यसमा नित्यपूजा र धूपधुँवार गरिदिनु पर्दछ । हिंडडुल गर्दा बाटामा देखिने देवालय, स्मारक वा ऐतिहासिक महत्त्वका भवनहरूलाई नमस्कार गर्ने बानी बसाल्नु पर्दछ ।

९) बिहीबारका दिन व्रत लिनुका साथै दिनैपिच्छे वर (बटबृक्ष) वा केराको फेदमा केसरीमिश्रित पहेंलो जल चढाउँदा पनि यस योग प्रकोप शान्त हुन्छ ।

सम्बन्धित शीर्षकहरू:
केहि पनि भेटिएन!